Saturday, February 12, 2011

सरकार माग्दै यौन हडताल


ब्रसेल्स, बेल्जियम (एजेन्सी), माघ २९ - लामो समय सरकार बनेन भने के गर्नुपर्ला ? दिक्क भएपछि बेल्जियमकी एक सांसदले भने यौन हडताल घोषणा गरेकी छन् ।
आठ महिनासम्म सरकारविहीन बेल्जियमकी सिनेटर मार्लिन टम्मरम्यानले इमेल, टेलिफोनलगायत धेरै माध्यमबाट देशवासीलाई आह्वान गर्दै भनेकी छन्- 'सरकार नबनुन्जेल यौनसम्पर्क नगरौं ।'
गत महिना केन्यामा गएका बेला उनले यो उपाय सुझाएकी थिइन् । सन् २००९ मा केन्यामा महिलाले यौन हडताल गरेको एक सातामै सरकार बनेको थियो । सोसलिस्ट सिनेटर टम्मरम्यान केन्यामै हुँदा बेल्जियमका कलाकार बेनोइट पोइलभोर्डेले 'सरकार नबनेसम्म दाह्री नकाट्ने' अभियान चलाए । तर अहँ त्यसले राजनीतिकर्मीको रौंसमेत हल्लाएन । त्यही भएर उनी झन् कडा र फरक अभियान लिएर फर्किइन् ।
आफ्नो यौन हडताल अभियानमा धेरैले साथ दिएको उनको दाबी छ । गत जुन १३ को चुनावमा कुनै दलले बहुमत नल्याएपछि बेल्जियममा निरन्तर राजनीतिक गतिरोध छ ।
त्यसो त केन्याबाहेक धेरै मुलुकमा समस्या समाधानका लागि महिलाले यौन हडताल गरेका उदाहरण छन् । कोलम्बियाका महिलाले सन् २००६ मा आतंककारीलाई हतियार छाड्न दबाबका लागि यौन सम्बन्ध बहिष्कार गरेका थिए । त्यो पनि निकै प्रभावकारी भएको थियो । प्राचीन ग्रीसमा इसापूर्व ४११ मा पेलोपोनेसियाली युद्ध अन्त्यका लागि महिलाले यौन हडताल गरेको एरिस्टोफन्सले लेखेको 'लिसिस्त्राता' नाटकमा उल्लेख छ ।
बेल्जियममा उत्तरका डचभाषी र दक्षिणका फ्रेन्च भाषी नेताहरू सरकारका नाममा झगडा गरिरहेका छन् । विस्तारै दुवै भाषी समुदायबीच स्थायी सम्बन्ध विच्छेदको डर चुलिएको छ । राजा अल्बर्ट द्वितीयले दुवै पक्षलाई मिलाउन विशेष दूत तोकेका छन् । तर सबै प्रयास असफल भएका छन् । संसद्मा सबैभन्दा ठूलो दल बनेको न्यु फ्लेमिस एलाइन्सले १ सय ५० मध्ये २७ सिट जितेको छ । त्यसैले गठबन्धन बनाउन त्यति सजिलो छैन । समाधान ननिस्किए वार्ताकार एवं कामचलाउ अर्थमन्त्री दिदिएर रेन्डर्सले अर्को साता मध्यस्तता 'मिसन' समेत सिध्याउने घोषणा गरिसकेका छन् ।
बेल्जियम विश्वमै लामो समय (२ सय ८९ दिन) सरकारविहीनताको रेकर्ड राखेको इराकलाई समेत उछिन्ने अवस्थामा छ । बेल्जियममा सरकार नभएको २ सय ४१ दिन भइसकेको छ । धन्य नेपाल, जहाँ २ सय १९ दिनमा भर्खरै सरकार बनेको छ !
लामो समय सरकार नपाएपछि बेल्जियममा हालै हजारौंले राष्ट्रिय झन्डा फहराउँदै 'लज्जा' प्रदर्शन गरेका थिए । सरकार नहुँदा नीति र कार्यक्रम रोकिएका
छन् । टेलिभिजन कार्यक्रमहरूले व्यंग्यात्मक रूपमा बेल्जियमलाई ट्युनिसियासँग दाँज्ने गरेका छन्, जहाँ शासकलाई सडकबाट ढालिएको थियो । 'चराहरू गाइरहेका छन्, घाँस हरियै छ, सबै शान्त छन्, केही परिवर्तन भएको छैन,' व्यंग्यकार थोमस गुन्जिगले गत महिना ब्रसेल्समा प्रदर्शनपछि भनेका थिए । 
यौन हडताल कति प्रभावकारी होला त ? 'धेरै महिलाले यसो गर्न सक्लान् जस्तो त मलाई पनि लाग्दैन,' टम्मरम्यान भन्छिन्, 'तर यसले व्यंग्यात्मक सन्देश भने गतिलै पुर्‍याउँछ ।' आफ्नैबारे भने उनले यस्तो जवाफ दिइन्, 'मेरा पति अचेल केन्यामा छन्, त्यसैले गाह्रो छैन !'

No comments:

Post a Comment