Sunday, February 20, 2011

पत्रकारको पार्टी



अखण्ड भण्डारी



'तपाईंको अध्यक्ष उम्मेदवार को ?'
'बल्खुले निर्णय गर्छ !'
'तपाईंको नि ?'
'खोइ, सानेपाले कसलाई बनाउँछ !'
'अनि, तपाईंको चाहिँ ?'
'त्यो त पेरिसडाँडालाई मात्र थाहा छ !'
अचेल पत्रकार-पत्रकार भेट भयो भने यस्तै प्रश्नोत्तर चल्छन् । किनकि, पत्रकार महासंघको चुनाव नजिकिँदै छ । पत्रकारमाझ यसको गर्मी निकै बढेको छ । तर, अध्यक्षसहित मुख्य पदाधिकारीमा को-को उम्मेदवार हुनेछन् भन्ने स्वयं उठ्नेलाई पनि थाहा छैन । कारण- व्यावसायिक पत्रकारको साझा चौतारी भनिएको यो संस्थाको नेतृत्व छान्न 'टिकट' दिने निकाय अरू नै छन् । आफूलाई प्रतिस्पर्धी भनेर प्रचारमै उत्रिइसकेका पत्रकार पनि राजनीतिक मुख्यालयले प्यानलमा पार्छ कि पार्दैन भन्दै मुख ताकिरहेका छन् । परेनन् वा पारिएनन् भने उठ्ने रहर त्यत्तिकै त्यागे पनि हुन्छ ।
उम्मेदवार बन्न चाहने हामी अचेल पत्रकारमाझ भोट माग्न होइन, पार्टी नेताका दैलामा टिकट थाप्न धाइरहेका छौं । हामी व्यावसायिक हौं भन्छौं तर दलको बैठकले गरेको निर्णयका आधारमा मैदानमा लड्छौं । स्वतन्त्र भनेर गफ लाउँछौं तर नेतृत्वमा पुग्न राजनीति र त्यसका खेलाडीको फेर समाउँछौं ।
राजनीतिक परिवर्तन र खुला वातावरणले हाम्रो देशमा सबैभन्दा फस्टाएको व्यवसाय सम्भवतः आमसञ्चार नै हो । छोटो समयमै यहाँ गतिला पत्रपत्रिका, ठूलठूला टेलिभिजन हाउस, छ्याप्छ्याप्ती रेडियो
भए । गोजीको मोबाइलदेखि काखको कम्प्युटरसम्म समाचारका साथी भइसके । पत्रिका, रेडियो र टेलिभिजनको कुरा त धेरै माथि पुगिसक्यो । ती सबै माध्यममा समाचार भर्ने आधार भएका हामी पत्रकारको जमात अब सानो छैन । अहिले पत्रकारिता विषय नराखेका स्कुल-क्याम्पस कमै होलान् । पढेर, परेर वा गरेर सबै किसिमले हामी पत्रकार भएका छौं । यो अवस्थामा पनि हामी आफूलाई पूर्ण व्यावसायिक बनाउन सक्दैनौं भने अरूलाई दोष दिनु व्यर्थ छ ।
यो माहोलमा सबैको संगठन भनिने महासंघको वास्तविकता अलि निराशाजनक छ । राजनीतिक दलका भ्रातृसंगठनको लघुउद्योग भएकैले यसमा सदस्यता दिँदा व्यावसायिकभन्दा 'भोट बैंक' रोजिन्छ । कति व्यावसायिक पत्रकार यसका सदस्य छैनन् -कतिले त हुनु इज्जतिलो ठान्दैनन्) भने धेरै अपत्रकार यसमा मज्जैले घुसेका छन् । कतिपय ठाउँमा पहुँचवालाले परिवारका सबै जनालाई सदस्य बनाएका छन् । यसको अग्रभागमा राजनीतिक दलमा क्रियाशील व्यक्ति छन् । त्यसैले पनि यो दलहरूको भ्रातृसंगठनको साझा खलो बनिरहेको छ । त्यसमा नारिएर दाइँ गरिरहेका छन् केही सोझासीधा पत्रकार । उनीहरू मात्र हरेक तीन वर्षमा भोट हाल्ने मेसिन बन्दै आएका छन् । 
लोकतान्त्रिक गणतन्त्र भएको देशमा दल विशेषमा आस्था राख्नु अस्वाभाविक होइन । चुनावमा कुनै दलको कुनै व्यक्तिलाई मत दिनु नाजायज मानिँदैन । त्यो अधिकारै हो । त्यसको मतलब हरेक पेसा-व्यवसायको साँचो राजनीति, राजनीतिक दल र त्यसका नेता हुनैपर्छ भन्ने छैन । अर्काका कुरा अर्कैका लागि प्रकाशन/प्रसारण गर्ने माध्यम भएकाले हामी पत्रकार तटस्थ हुनुपर्छ भन्ने अपेक्षा समाजले गर्छ । राजनीतिक नेताहरूसमेत 'तपाईंहरू स्वतन्त्र र तटस्थ हुनुस्' भनेर सुझाव
दिन्छन् । तर सधैं उपयोग गर्छन् । हामी पत्रकार त्यस्तै ! व्यावसायिक भन्ने फुइँ हाँक्छौं तर निणर्ायक क्षणमा तिनै दलको पाउपूजा गर्न पुग्छौं । पत्रकार महासंघको अध्यक्ष, महासचिवजस्ता पदको टिकट एमाले, कांग्रेस र माओवादीका मुख्यालयबाट बाँडिनु राजनीतिको कस्तो परिपाटी हो ? अनि यति 'गरिमामय' ठानिएको पेसागत संगठनमा प्रतिस्पर्धा गर्ने हामी पत्रकार टिकटको भीख माग्दै बल्खु, सानेपा र पेरिसडाँडा धाउनु कहाँसम्मको दरिद्रता हो ?
पत्रकार महासंघकै निर्देशिकामा राजनीतिक दलमा क्रियाशील व्यक्तिलाई सदस्यता नदिने र भएकाको पनि नवीकरण नगर्ने प्रावधान राखिएको छ । व्यवहारमा भने ठीक उल्टो छ । राजनीतिक दलले सिफारिस नगरेको व्यक्ति जत्रै पत्रकार भए पनि सदस्यता पाउन गाह्रो छ । पार्टीका सोझै भ्रातृसंगठनका रूपमा पत्रकारका संस्था छन् । तिनमा कार्यरत नै महासंघका पनि हर्ताकर्ता हुन् । अनि, कसरी रोक्न सम्भव छ महासंघमा राजनीतिको भेल ?    
वास्तवमा महासंघ व्यावसायिक पत्रकारको सिर्जनशील थलो बन्नुपथ्र्यो । तर राजनीतिक दलहरूको औजार बनेको छ ।  कतिपय शाखामा दलगत प्यानल बनेकै कारण व्यावसायिक पत्रकार पार्षदमै ढालिएका छन् । सदस्यता दिँदा जुन दलको बाहुल्य छ, उसले कार्यकर्ता खोज्दै भर्ती गरेको छ । पार्टी जिल्ला कमिटीमा रहेका व्यक्ति त महासंघका सदस्य कति छन् कति, दलका केन्द्रीय सदस्यसमेत यसमा घुसेका छन् । व्यापारीदेखि मजदुरसम्म, कलकारदेखि सञ्चार संस्थाका कुचीकारसम्मले यसमा सदस्यता पाएका छन् । अनि, यसलाई कसको साझा संगठन भन्ने ? 
कुनै नेता बैठकबाट निस्कँदा पत्रकारले घेर्छन् । नेता भने कुइनाले घँचेट्दै गाडीमा छिर्छन् र हेपेको शैलीमा अघि बढ्छन् । भात-पानी माया मारेर ढोका कुरेका पत्रकार र फोटो पत्रकार जिल्ल परेर र्फकन्छन् । यहाँ किन यस्तो हुन्छ ? किनकि अधिकांश हामी पत्रकारभन्दा कार्यकर्ता बनेका छौं । राजनीतिकर्मीले यसलाई इज्जतिलो पेसाका रूपमा हेर्न सकेका छैनन् । उनीहरूलाई कतै हामीले त्यो वातावरण दिइरहेका त होइनौं ? आफ्नो स्तर राख्न नसकिरहेका त छेनौं ?
त्यसैले जबसम्म हामी पत्रकार राजनीतिका अगाडि धनुष्टंकार भइरहन्छौं, तबसम्म चौथो अंग भनेर फुर्ती लाउनु बेकार छ ! जबसम्म महासंघका पदाधिकारीको टिकट बल्खु, सानेपा र पेरिसडाँडाबाट पाइरहन्छौं, तबसम्म 'स्वतन्त्र' र 'व्यावसायिक' विशेषण झुन्ड्याउनु बेकार छ !

No comments:

Post a Comment