Saturday, February 12, 2011

मुबारकले फोनबाटै तलाक दिए


समुन्द्र पौडेल, तनहुँ, माघ २८- सम्बन्ध विच्छेद गर्नका लागि वर्षौदेखी अदालत धाउने धेरै छन्। तर तनहुँकी एक महिला श्रीमानले फोनबाटै तलाक दिएपछि अन्यौलमा परेकी छिन्। तनहुँ दुलेगौडा–८ गल्छिना मस्जिद चोक निवासी २७ वर्षीय सल्मा अलीलाई श्रीमान्ले फोनबाटै तलाक दिएपछि न्यायको खोजी गर्न थालेकी छिन्।
 दुबईमा कार्यरत श्रीमान् मुबारक अलीसंग फोनमा कुरा गर्न खोज्दा ११ वर्ष अगाडी विवाह बन्धनमा बाधिएकी सल्मालाई श्रीमान्ले उल्टै फोनबाटै तलाक दिएको घोषणा गरे। उनले भनिन्, 'फोनमा सलाम बालेकुम भन्दा उनले आजदेखी त मेरो छैनस् भन्दै तलाक भन्यो।' उनले भनिन, 'प्रेम विवाह गरेको श्रीमान्ले तलाक भन्ने वित्तिकै फोन फाले।'
घरायसी सामान्य विवादका कारण ३ वर्ष देखी नबोलेका श्रीमान्ले एक्कासी तलाक दिएपछि सल्मा अन्यौलमा परेकी हुन्। 'इस्लाम कानुनमा ३ पटक बोलेपछि त्यो नै अन्तिम हुन्छ।' सल्माले रुदै भनिन, 'मैले सुन्न नसकेर फोन फाल्दा ससुराले पुनः फोन गरेर गाउँले सामु तलाक दिएको घोषणा गर्न लगाए।' उनले आफू अन्यायमा परेको भन्दै न्यायका लागि सबैसंग आग्रह गरेकी छिन्। 'सासुले देशमा कानुन बनाउँदै हुनुहुन्छ।' उनले भनिन्, 'म भने आफै अन्यायमा परेकी छु।' मुबारक अली एमाले समानुपातिक सभाषद हसिना बेगमकी देबरका छोरा हुन्।
परिवारका सदस्यले आफूमाथी अन्याय गरेको उनले आरोप लगाइन्। उनले भनिन्, 'मेरा कुनै पनि गल्ती छैन्।' मुबारक अली १२ वर्षदेखी दुबईमा कार्यरत छन् भने उनकी श्रीमती परिवारको पालनपोषणका लागि करिब ३ वर्षदेखी दुलेगौडा बजारमा ठेलामा चप्पल बिक्री गर्दै आएकी छिन्। सल्मा र मुबारकका १० र ४ वर्षका दुई छोरी छन्।
इस्लाम कानुनमा तालकको छुट्टै प्रक्रिया भएको मुस्लिम संघ नेपालका निवर्तमान केन्द्रिय सचिव शेख हनिफ (गोरा) मियाले बताए। 'कसैले एकतर्फी तलाक दिदैमा तलाक हुदैन्।' उनले भने, 'दुबै पक्षका अभिभावकको रोहबरमा ३ पटक तलाक भन्दा बल्ल तलाक हुन्छ।' उनले इस्लाम कानुको तलाक प्रक्रिया नबुझेकै कारण थुपै महिलाले पीडा खेप्नुपरेको बताए। 'इस्लाम पुरुषले मात्रै तलाक दिएर तलाक हुने न त सरकारी व्यवस्था छ न त इस्लाम कानुनमै।' उनले भने, 'तलाक नबुझ्दा धेरै इस्लाम महिलाले दुःख पाएका छन।'

No comments:

Post a Comment