Saturday, January 31, 2015

तुइनमा जिन्दगी

सानुबाबु तिमिल्सिना-

त्रिशूली नदीमाथिको जीर्ण तुइन तर्ने वेलामा रवीन्द्र नेपाललाई सधैँ दुई वर्षअगाडिको घटनाको याद आउँछ । विद्यालय जाने क्रममा तुइन तर्दा रवीन्द्र तुइनबाट खसेर त्रिशूलीमा परेका थिए । पौडी खेल्न जानेका कारण केही तल पुगेर पार लागे । भन्छन्, ‘के गर्नु यही थोत्रो तुइन नतरी सुख पनि छैन । झोलुंगे पुल खोज्दै जाँदा दुई घन्टाभन्दा बढी घुम्नुपर्छ ।’
त्रिशूलीवारि घर, पारि विद्यालय । घर–विद्यालय जोड्ने पुल छैन । घुमेर गए भन्डै एक घन्टा हिँडेपछि झोलुंगे पुल भेटिन्छ । विद्यालय पुग्न जम्मा दुई घन्टा लाग्छ । तर, धादिङको खरमटारका विद्यार्थी तुइनकै भरमा विद्यालय जान्छन् ।
तुइन तरिसकेपछि १० मिनेटमै विद्यालय पुगिन्छ । तर, तुइन जीर्ण भएका कारण दिनमा दुईपटक ज्यान धरापमा पर्ने गरेको छ । तुइन चलाउँदा चलाउँदै हात गलेर छोडिँदा नदीमा खस्नु, तुइनले आँैला च्यापिनु र किताब–कापी नदीले बगाउनु सामान्य भइसकेको छ । धन्न अहिलेसम्म त्यस्तो अनर्थ सोच्नुपरेको छैन खरमटारबासीले ।

Tuesday, January 27, 2015

ज्यानभन्दा ज्ञानै प्यारो

  • रामेश्वर कार्की
  • मङ्गलबार १३ माघ, २०७१
  • धादिङ-बिहानै उठ्यो, घरधन्दा सक्यो, अनि किताबको झोला र ट्युब च्यापेर लाग्यो स्कुलतिर। ज्यानभन्दा ज्ञान प्यारो लागेरै होला, उनीहरू ज्यानको आसै मारेर दिनहुँ त्रिशुलीमा हेलिन्छन्। स्कुल नगई धरै छैन, सहारा भने केही छैन, कोही छैनन्। त्यही टालटुल पारेर हावा भरिएको ट्युबबाहेक।
    १४ वर्षीया सरिता चेपाङ र १५ वर्षीया राममाया चेपाङ गोरखाको भुम्लिचोक–८, हुइलिङबेसीबाट धादिङको जोगिमारा–९, मझिमटारस्थित शंखादेवी उच्च मावि धाउँछन्। कक्षा ६ अध्ययनरत उनीहरूलाई बीचमा त्रिशुलीले बाटो छेक्छ। पढ्ने मन भएपछि अनेक कष्ट झेल्न पनि हिम्मत आउँछ । त्यही ट्युबको सहाराले उनीहरू दिनहुँ नदीमा हेलिन्छन् र चप्पलले खियाउँदै पारि पुग्छन्।