Monday, September 2, 2013

भर्चुअल दुनियाँका सेलिब्रेटीहरू


जब मोडल शिवानी सिंह थारूले नेपाल टेलिभिजनको पर्दामा आउने चर्चित कार्यक्रम 'मेरो गीत मेरो सन्देश' छाडिन्, तब उनलाई धेरैले बिर्सन थालिसकेका थिए। तर, झन्डै एक दशकपछि सहरमा उनको चर्चा पुनः चुलिएको छ, सोसल मिडियाकर्मीको अवतारमा। नौं महिनाअघि त्रिभुवन विमानस्थल अध्यागमन एकाइका कर्मचारीकै मिलेमतोमा बलात्कारको सिकार बनेकी सीता राईबारे समाचार पढ्नासाथ उनलाई अचानक यति रसि उठेछ कि माइक्रोब्लगिङ् साइट ट्वीटरमा तत्कालै दुई हरफको प्रतिक्रिया लेखिन्, जुन यस्तो थियो, 'लथालिंग देशका भताभुंग प्रधानमन्त्रीसित के सुरक्षा मगाई भयो ? बलात्कारीको लिंग काट्ने महिला स्क्वाड बनाउन पाए बरू राहत हुन्थ्यो।'


'ग्ल्यामरस' पृष्ठभूमिबाट आएकी उनको यो ट्वीटलाई लिएर सोसल मिडिया त मज्जैसँग तात्यो नै, मूलधारका पत्रपत्रिकाले पनि त्यसलाई आफ्नो खुराक बनाए। उनी सम्झन्छिन्, "कसैले मेरो मोडलिङ् पृष्ठभूमिसँग जोड्दै उसको ध्यान नै लिंगमा गयो भनेर उडाए भने अर्काथरीले त्यति धेरै आक्रामक नहुन सुझाए।" शिवानीले ट्वीट गर्नुअघि त्यसको प्रभाव त्यतिधेरै होला भन्ने कत्ति सोचेकी थिइनन्। उनलाई लाग्छ, यसअघि ग्ल्यामर पृष्ठभूमिसँग जोडेर धेरैले उनलाई कोमल हृदय भएकी 'स्विट गर्ल' मात्र सोच्थे तर त्यसलाई सोसल मिडियाले बदलिदिएको छ। भन्छिन्, "म वास्तविक जीवनमा यस्तै स्वभावकी हुँ, जुन सोसल मिडियाका कारण मानिसले बल्ल बुझिरहेका छन्।" तर, ट्वीटरमा आएदेखि उनले एउटा नयाँ तथ्य बुझेकी छन्। भन्छिन्, "महिलाका विचारमा केही बहस हुन थाल्यो भने मानिसहरू उसका व्यक्तिगत जीवनसँग जोडेर आक्रमण गर्छन्, जुन पुरुषहरूको हकमा त्यति धेरै हुँदैन।"