Thursday, April 21, 2011

त्रिशुलीमा डुब्दा

"दाई मलाई त साहै्र डर लाग्यो तपाई यता आउनुन"-हामीसँगै डुंगामा रहेकी युवतिले साहारा माग्दै मलाई बोलाईन । तर आफुलाई पौडन आएपो उनीभा' तिर जानु । नडराउ केहि हुदैन भन्दै सान्त्वना दिए । बरु म भन्दा उनीनै पौडिन जान्ने रहिछिन । छाप्लाङ छुप्लुङ गर्दै मेरो हात समात्न आइपुगिन् । 


शनिवार त्रिशुलीमा रयाफ्टिङ जाने हो  साथी कन्चनले यो प्रस्तावले राख्ने वित्तिकै मैले यसलाई सहर्ष स्वीकार गरे । शनिवार सार्वजनिक विदाको दिन तर अरुवेला सधै शनिवार अफिसमै वित्छ । तर यो पटकको शनिवार त्रिशुलीको किनारमा विताउने टुंगो भयो । विहान ७ बजे काठमाण्डौं खाल्टोबाट त्रिशुली जाने तयारी भयो । यात्राका लागि हामीले मोटरसाइकललाई रोज्यौ । विहान ७ बजे सडकमा खासै सवारी साधनहरु छैनन् । मध्यम गतिमा हामी त्रिशुलीमा रयाफ्टिङका लागि हुँइकियौं ।
नाकढुंगाको ओरालो सकिना साथ नौविसे नपुग्दै एउटा होटलमा चिया पिउन वसियो । लौ मिठो चिया ख्वाउनुस त साउजी साथी कन्चनको मुखबाट यो प्रश्न के निस्केको थियो । उनले प्रतिउत्तर दिइहाले दुधै दुधको बनाइदिउँ त साह्रै मिठो हुन्छ पैसा चै अलि बढि लाग्छ । राजमार्गमा बसेर व्यापार गर्ने यी साउजी साह्रै बाठा । मोटरसाइकलमा गएका ठिटाहरुलाई देखेपछि यीनले त पक्कै पैसा झार्छन भनेर मौकामा चौका हानिहाले । हामी नि के कम थियौ र  चिया मिठो भएन भने नि  ती साउजीलाई सोध्यौ । मिठो नभए पैसा नदिनु उनले यस्तै जवाफ दिए । करिव २० मिनेट तीनै साउजीका व्यावसायिक गफ सुन्दै चिया पिएर हामी गन्तव्यतिर लाग्यौ ।
राजधानि प्रवेशको मुख्य राजमार्ग यहि हो । तर यो राजमार्ग सुरक्षाका हिसावले निकै संवेदनशिल । जता ततै दूर्घटना र क्षत विक्षत सवारी साधन राजमार्गमा व्यग्रल्ती देखिन्थे । यस्ता दृष्य देख्दा गाडीमा बसेर यात्रा गर्नेहरुका मनमा के के कुरा खेल्दाहुन् । २/३ पटक आफै पनि दूर्घटनामा परिसकेको मलाई चै यस्ता दृष्य देख्दा जीउ सिरिङ सिरिङ भैरन्थ्यो । मोटरसाइकल करिव ५०/६० को स्पिडमा छ । तर यात्रा भर जति पटक यस्ता दृष्य देखिन्थे म झस्किरहन्थे ।
दूर्घटनामा परेका यस्ता केहि सवारीको तस्वीर लिदै करिव साँढे २ घण्टाको यात्रा पछि हामी सकुसल रोयल विच क्याम्प पुग्यौ । जहाँ विहानको पहिलो रयाफ्टिङ टोलि हाम्रै प्रतिक्षामा थिए । हतार हतारमा ब्रेक फाष्ट लिएर त्रिशुलीको किनार तिर हामी दौडियौं ।
हाम्रा गाइड रहेछन् हिमाल । दुब्लो शरिर नाम जस्तै अग्लो कद भएका साँच्चै रमाइला र फुर्तिला । हात हातमा प्याडल लिएर हामी त्रिशुलीको छालसँगै बग्न थाल्यौ । रयाफ्टिङको समयमा हुने जोखिम र त्यसबाट बच्ने उपायको बारेमा हिमालले हामीलाई बेला बेलमा सर्तक गराइ रहन्थे । नदीका छाललाई विभिन्न उपनाम दिइएको रहेछ । उनी त्यसबारे पनि हामीलाई बताइरहन्थे । सकेसम्म मज्जा लुट्नु पर्छ । हाम्रो टिममा भएका ७ जनालाई उनी जोस्याइरहन्थे ।
करिव डेढ घण्टा त्रिशुलीमा बगेपछि उनले ढुंगा पल्टाएर रमाइलो गर्ने हो भनेर सोधे । तर मलाई त पौडि खेल्न नि आउँदैन । हुन त लाइफ ज्याकेट लगाइएको थियो त्यै पनि मन न हो काँहा मान्थ्यो र भित्र भित्रै डर भने लागिरहेको थियो । तर सबैजनाले सहमति जनाए पछि जेपर्ला पर्ला मैले नि हुन्छ भनिदिए ।
त्रिशुलीको बहाव कम भएको तर निकै गहिरो गरी पानी जमेको ठाउँमा पुगेपछि हिमाल डुंगा पल्टाउन कम्मरमा डोरी कसेर तयार भए । पानीले भिजेर निथु्रक्क भएको मन कता कता डरले पनि चिसो भयो । यत्तिकैमा उनले नदीकोवीचमा हामी चढेको डुगा  पल्टाए । पौडि खेल्न जान्नेले त हात र खुट्टा हल्लाए । तर आफु हात खुट्टा जति फट्कारे पनि जहाँको ताही नदिको बहावले बगाएको बाहेक आफनो बुताले एक इन्च पनि दायाँ वायाँ लागिएन । तर लाइफ ज्याकेटले गर्दा त्रिशुलीको मध्य भागमा म लगायतका पौडिन नजान्नेहरु पनि तैरिरहेका थियौं ।
"दाई मलाई त साहै्र डर लाग्यो तपाई यता आउनुन"-हामीसँगै डुंगामा रहेकी युवतिले साहारा माग्दै मलाई बोलाईन । तर आफुलाई पौडन आएपो उनीभा तिर जानु । नडराउ केहि हुदैन भन्दै सान्त्वना दिए । बरु म भन्दा उनीनै पौडिन जान्ने रहिछिन । छाप्लाङ छुप्लुङ गर्दै मेरो हात समात्न आइपुगिन् ।
हुन त म सुनकोशिको गड्तिरको गाउँमा जन्मिएको हुँ । तर पनि पौडि खेल्न जान्दिन । केटाकेटी उमेरमा बुबा आमाले डुवेर मर्लान भनेर नदिमा जान दिनुभएन । अलि उमेर बढेपछि पढाइको सिलसिलामा काठमाण्डौ आइयो । यहाँ पौडि खेल्ने वातावरण नै मिलेन । त्यसैले म पौडि खेल्न जान्दिन । तर म त्यतिबेला त्रिशुली नदीको मध्य भागमा बसेर हात हल्लाउदै साथी कन्चनलाइ हाई भनिरहेको थिए ।
करिव १० मिनेट सम्म त्रिशुलीको मध्य भागमा जलकि्रडा गरेर हामी फेरी डुंगामा चढ्यौ । करिव आधा घण्टा पछि हामी कुरिन घाटमा गएर किनारा लाग्यौ । लौ हाम्रो गन्तव्य आइपुग्यो । हिमालले यो कुरा भनिरहदा म भने डुंगा पल्टाएर गरेको त्यो रमाइलो सम्झिदै थिए । यसपछि हामी कुरिनटार उक्लियौ र फेरी एक पटक र् याफ्टिङ गर्न आउने बाचा गर्दै गाडी चढेर रिभरविच क्याम्प फर्कियौ । जहाँ हामीलाई हाम्रो मध्यान्नको खानाले पर्खिरहेको थियो । जे होस यो मेरो लागि एउटा विल्कुलै नयाँ अनुभव थियो । साँच्चै रमाइलो अनुभव । धन्यवाद कन्चन । 

Tuesday, April 5, 2011

पत्रकार महासंघमा राजनीतिक सिण्डिकेट अन्त्य गरौ

कहिले काहि त पत्रकार महासंघ कुनै दल विशेषको भातृ संगठन त होइन भन्ने भ्रम पो हुन थालेको छ । कहिले एनजिओको रुपमा अनि कहिले राजनीतिक दलको भातृ संगठनको हैसियतले पत्रकार महासंघ अगाडी आउन थालेको छ । यो आम पत्रकारहरुको हितमा पक्कै पनि छैन । यदि यस्तै पारा रहि रहने हो भने केहि वर्ष पछिको महासंघको चुनावमा उठ्ने पुस्ताले त दलकै झण्डा र चुनाव चिन्ह बोकेर महासंघको चुनावमा उम्मेदवारी दिन के वेर ?


यहि बैशाख महिनाको तेश्रो साता नेपाल पत्रकार महासंघको केन्द्रिय अधिवेशन आयोजना हुदैछ । यो अधिवेशनले महासंघका नया नेतृत्व चयन गर्ने छ । तर दुखका साथ भन्नु पर्छ व्यवसायिक र पत्रकार साथीहरको वीचमा राम्ररी भिजेका अग्रज पत्रकारहरु नै राजनीतिक दल विशेषको टिका लगाएर पत्रकार महासंघको निर्वाचनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ आम पत्रकारहरुको विशुद्ध छाता संगठन हुनु पर्ने हो । तर अग्रज पत्रकारहरुका कारण महासंघमा राजनीतिक सिण्डिकेटले नराम्ररी जरो गाडेको छ ।

जसले गर्दा कहिले काहि त पत्रकार महासंघ कुनै दल विशेषको भातृ संगठन त होइन भन्ने भ्रम पो हुन थालेको छ । कहिले एनजिओको रुपमा अनि कहिले राजनीतिक दलको भातृ संगठनको हैसियतले पत्रकार महासंघ अगाडी आउन थालेको छ । यो आम पत्रकारहरुको हितमा पक्कै पनि छैन । यदि यस्तै पारा रहि रहने हो भने केहि वर्ष पछिको महासंघको चुनावमा उठ्ने पुस्ताले त दलकै झण्डा र चुनाव चिन्ह बोकेर महासंघको चुनावमा उम्मेदवारी दिन के वेर ?

त्यसैले नेपाल पत्रकार महासंघको नजिकिदो निर्वाचनमा दल विशेषको उम्मेदवारको रुपमा आउने साथीहरुलाई रोज्ने कि विशुद्ध पत्रकरिता गर्ने र पत्रकारहरुको हितमा अगाडी बढ्ने साथीहरुलाई चयन गर्ने लौ साथीहरु यस विषयमा बहस चलाउ ।