Thursday, July 28, 2011

भ्रष्टाचार मुद्दाको कसीमा न्यायालय

हरिबहादुर थापा


अदालतले मागेको 'करोड' को धरौटी प्रहरीका हाकिमहरूले अचल सम्पत्ति बैंकमा राखी सजिलै जुटाइरहेका छन् र जमानतमा छुटिरहेका छन् । 'तिनले त्यति ठूलो परिमाणमा अचल सम्पत्ति कसरी जोड्न सफल भए ?' 
धेरैको शंका यसैमा छ । 

सुडान प्रकरणमा अभियुक्तहरूसँग जसरी धरौटी रकम मागिएको छ, विगतमा पनि विशेष अदालतले यस्तै कार्यशैली देखाएको भए भ्रष्टाचारका सवालमा समाजमा फरक दृश्य देखिने निश्चित थियो । तर भ्रष्टाचारजस्तो गम्भीर आर्थिक अपराधका मुद्दामा अदालतको ध्याउन्न अभियुक्तलाई कसरी सफाइ दिने भन्ने रह्यो । दण्डहीनताका कारण मुलुकमा भ्रष्टाचार मौलाउँदै गयो । दुई वर्षयता सर्वाेच्च र विशेष अदालत दुवैले भ्रष्टाचारका सवालमा पुरानो 'उदारवादी नीति' मा फेरबदल गरेपछि फरक किसिमको माहोल बन्दै छ ।
सुडान प्रकरणमा प्रहरीका हाकिमहरूसँग ठूलो परिमाणमा धरौटी रकम मागिएपछि अदालतले धेरैको ध्यान आफूतिर तान्न सफल भएको छ । प्रहरीका पूर्व तथा वर्तमान हाकिमहरू ओमविक्रम राणा १५ करोड, रमेशचन्द ठकुरी ७ करोड, हेमबहादुर गुरुङ ५ करोड, दीपेन्द्रबहादुर विष्ट १ करोड, श्यामबहादुर खड्काले ७० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । ठूलो परिमाणमा धरौटी रकम बुझाउने, बुझ्ने क्रम जारी छ । अदालतको प्रारम्भिक अध्ययनबाट तिनीहरूको संलग्नताको शंकासहित धरौटी रकम मागिएको हो । यद्यपि अहिले धरौटी रकम मात्रै मागिएको हो, भ्रष्टाचार भएको हो या होइन भन्ने ठहर गर्न भने बाँकी छ ।
यतिखेर 'विशेष अदालतमा न्यायाधीशहरू फेरिएको खण्डमा नयाँ आउनेले पनि भ्रष्टाचारका मुद्दालाई यत्तिकै गम्भीरतासाथ लेलान् त ?' भन्ने गम्भीर प्रश्न खडा भएको छ । सर्वाेच्च र विशेष अदालतले भ्रष्टाचारका मुद्दामा विगतमा अपनाएको रवैया हेर्ने हो भने 'दुःखदायी' तस्बिर देखा पर्छ । कतिपय न्यायाधीशले भ्रष्टाचारका अभियुक्तलाई छुटकारा दिनेमा आफूलाई केन्दि्रत गरेका छन् भने कतिपयले अभियोग ठहर गर्नेमा । त्यसकारण धरौटी मागिनु मात्र ठूलो होइन, कसुर स्थापित गर्नु प्रमुख सवाल हो । अब विशेष अदालतमा न्यायाधीश फेरिएमा 'कानुन नै परिवर्तन भएको' अनुभूति गराउने विगतको जस्तो शैली दोहोरिनु हुँदैन ।
अख्तियारबाट सुडान प्रकरणमा गोलमाल तवरमा मुद्दा दायर भएको थियो । यस्तो जटिल प्रकृतिको मुद्दामा पनि कसलाई कति बिगो भराउने भन्ने हिसाबै नगरी सबैका हकमा एकै प्रकृतिको अभियोग लगाएपछि अख्तियारको नियतमा प्रश्न उब्जिन पुग्यो । त्यही कारण विशेष अदालत आफैंले कसुर हिसाब गरी सोहीअनुरूप धरौटी माग्नुपर्ने अवस्थामा छ । सुडानमा तैनाथ प्रहरीका लागि बन्दोबस्तीका सामान खरिद बैठकमा उपस्थित रहेकामध्ये कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिने कामसमेत अख्तियारबाट भएको देखियो । समान भूमिका निर्वाह गरेका कसैलाई मुद्दा चलाउने र कसैलाई नचलाउने अख्तियारको निर्णयमाथि अदालत आफैंले विवेक प्रयोग गरी साधारण तारेखमा छाड्ने आदेशसमेत गर्नुपर्‍यो ।
अर्कोतर्फ सुडान प्रकरणका अभियुक्त प्रहरीका हाकिमहरू त्यति ठूलो परिमाणको धरौटी रकम तत्कालै जोहो गर्न 'सक्षम' बनेको देखेर सरोकारवाला मात्र होइन, आममानिस पनि आश्चर्यमा परेका छन् । अदालतले मागेको 'करोड' को धरौटी प्रहरीका हाकिमहरूले अचल सम्पत्ति बैंकमा राखी सजिलै जुटाइरहेका छन् र जमानतमा छुटिरहेका छन् । 'तिनले त्यति ठूलो परिमाणमा अचल सम्पत्ति कसरी जोड्न सफल भए ?' धेरैको शंका यसैमा छ । यो प्रकरणसँगै उनीहरूले अकूत सम्पत्ति जोडेका रहेछन् भन्ने पुष्टि हुँदै छ । अख्तियारले सुडान प्रकरणसँगै तिनको सम्पत्तिको पनि छानबिन गरेको भए थप प्रमाण फेला पर्ने कुराको पुष्टि प्रहरीका हाकिमले तत्कालै जोहो गरेको करोडको धरौटीले गरेको छ । तर उसले त्यसरी गहिराइमा पुग्नेभन्दा झारा टार्ने शैलीमा अनुसन्धान प्रक्रिया अघि बढायो । त्यही कारण आशंकाको घेरामा परेका राजनीतिकर्मीसँग सामान्य सोधपुछ गर्ने हिम्मतसमेत अख्तियारले गर्न सकेन ।
अख्तियारले २०६१ साउन २९ मा एकै दिन तीन पूर्वमहानिरीक्षक प्रदीपशमशेर राणा, मोतीलाल बोहरा र अच्युतकृष्ण खरेलविरुद्ध 'स्रोत नखुलेको' सम्पत्ति जोडेको अभियोगमा मुद्दा दायर गरेपछि उनीहरूको अकूत सम्पत्तिबारे समाजमा ठूलो बहस भएको थियो । अदालतले बोहरा र खरेलको मुद्दा 'हदम्याद' का आधारमा खारेज गर्‍यो भने राणाको सम्पत्ति वैध ठहर्‍यायो । तर त्यो फैसलाबाट असन्तुष्ट अख्तियार सर्वाेच्च अदालत पुगेको छ, जसमा अन्तिम फैसला हुन बाँकी छ ।
सिद्धान्ततः प्रहरी समाजका रक्षक हुन् र प्रहरी संगठन समाजमा हुर्किने विकृतिविरुद्ध लड्ने संयन्त्र हो । तर एकपछि अर्को गरी भ्रष्टाचारमा मुछिएका घटनाले प्रहरी 'रक्षक नभई भक्षक हुन्' भन्ने कुरा स्थापित हुँदै छ । समाजमा अनेक आपराधिक विकृति मौलाउनुमा पनि प्रहरी नेतृत्वमा अनुचित सम्पत्ति कमाउने मोह जाग्नु हो । विगतमा अनुचित काम गर्दा कारबाही हुन्छ भन्ने सामान्य तथ्यसमेत स्थापित गर्न नसकेका कारण सुडान घोटाला प्रकरण सिर्जना हुन पुगेको
हो । सुडान प्रकरण त प्रहरी नेतृत्वले आफ्नै प्रहरीको जीवनमाथि गरेको खेलवाड हो । सुडानका शक्तिशाली विद्रोही समूहसँग पुराना बन्दोबस्तीका सामानमा सामना गर्न पठाई प्रहरी नेतृत्वले आफ्ना सिपाहीको जीवनमाथि खेलवाड गरेको घटना हो । त्यसैले यो अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम गराउने मानवता विरोधी अपराध पनि हो ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय पहरेदार संस्था ट्रान्सपरेन्सी इन्टरनेसनले २००२ मा दक्षिण एसियाली मुलुकको सर्वेक्षणका क्रममा सबैभन्दा 'भ्रष्ट संस्था' प्रहरी भएको निष्कर्ष निकालेको थियो । त्यसपछि दोस्रो भ्रष्ट क्षेत्रका रूपमा न्यायिक निकायलाई ठहर्‍याएका थिए- आम मानिसले । सर्वेक्षण भारत, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकामा केन्दि्रत थियो । सर्वेक्षणपछि ट्रान्सपरेन्सीले गहकिलो सुझाव दिएको थियो- 'यी संस्थाका भ्रष्ट क्रियाकलाप नियन्त्रण नगर्ने हो भने यिनले आफ्नो वैधता गुमाउनेछन् ।'
प्रहरीको अनुचित बिगबिगी बढ्ने तर कारबाही नहुने प्रवृत्तिका कारण विकृतिहरू मौलाएका हुन् । खराब काममा अदालतले पनि तार्किक निर्णय शैली नअपनाउँदा दुवै भ्रष्ट संस्थाका रूपमा चित्रण हुनपुगेका थिए । अनुचित तवरमा सम्पत्ति आर्जन गरी 'विलासीपूर्ण जीवन' बिताउनेमाथि कारबाही सुरु भएपछि एकताका मुलुकमा असल शासन स्थापित हुने माहोल बढेको थियो । शासन र शक्तिको दुरुपयोग गरी अकूत सम्पत्ति जोड्नेका बारेमा समाजमा प्रश्न उठाउने क्रमसँगै तिनले 'लाज र डर' मान्नुपर्ने अवस्था सिर्जना गरेको थियो । तर आयोगले अकूत सम्पत्तिविरुद्धको अभियान दुई वर्षका लागि मात्र चलायो ।
विगतमा विशेष अदालतको एउटा कालखण्ड अकूत सम्पत्ति कमाएकालाई उन्मुक्ति दिनमै बितेको थियो । प्राविधिक आधार देखाई मुद्दाभित्र प्रवेश नै नगर्ने र गरेकामा पनि अदालतले उचित जाँगर देखाउन नसक्दा भएका फैसलाबाट अभियुक्तहरू नै लाभान्वित हुन्थे । चारैतिरबाट भ्रष्टाचार बढेको र मुलुक संकटमा परिरहेको आवाज उठ्दै गएपछि बल्लबल्ल दायर भएका एकाध मुद्दामा पनि अदालतबाट 'सफाइ' पाएका घटनाले धेरैलाई निराश तुल्याएको थियो । सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा जब रामप्रसाद श्रेष्ठले नियुक्ति पाए, तब भ्रष्टाचारका मुद्दालाई गम्भीर रूपमा लिने परम्पराको सुरुवात भयो । उनकै पालामा विशेष अदालतबाट भएका कतिपय फैसलालाई 'बदनियतपूर्ण' ठहर्‍याइएको थियो, जसले भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतलाई गम्भीर बनाएको हो ।
अकूत सम्पत्तिसम्बन्धी बहुचर्चित मुद्दाहरूमा २०६३ भदौ १२ देखि २०६५ साउन २६ सम्म विशेष अदालतको फैसलाबाट धेरैले चोखिने अवसर पाए । यो अवधिमा स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दामा भएका फैसलामा कोही पनि दोषी ठहरिएन्- त्यसकारण अभियुक्तहरू सबैको सम्पत्ति वैध ठहरियो । त्यो कालखण्डमा भूपध्वज अधिकारीको अध्यक्षतामा विशेष अदालत क्रियाशील थियो, उनको समूहले दुई वर्षे अवधिमा ३५ वटा अकूत सम्पत्तिका मुद्दामा फैसला सुनाएको थियो । पहिलो कालखण्डका तपबहादुर मगर र गोविन्दप्रसाद पराजुलीले पनि भ्रष्टाचार ठहर गर्नेतिरै आफूलाई केन्दि्रत गराएको तथ्यांकहरूले देखाउँछन् भने त्यसपछिका हरिबाबु भट्टराई र गौरीबहादुर कार्कीको समूहले अकूत सम्पत्तिमा उम्किन नदिने रणनीति लिएको देखिन्छ । गलत नजिर स्थापित गर्ने न्यायाधीशहरूकै क्रियाकलापबारे पटक-पटक शंका उत्पन्न नभएका होइनन् । तर न्यायापरिषद्ले मौनता साधेपछि 'बदनियत फैसला प्रकरण' ओझेलमा पर्‍यो ।
न्यायाधीशहरूको बेन्च फरक पर्नासाथ भ्रष्टाचारका मुद्दा हेर्ने 'दृष्टिकोण' फरक पर्ने गरेको देखिन्छ । त्यही कारण ठूलो परिमाणमा धरौटी माग्ने न्यायाधीशहरूको समूह परिवर्तन भयो भने विशेष अदालतबाट 'अन्यथा' फैसला आउन सक्ने सम्भावना उत्तिकै छ । त्यसमाथि राजनीतिक नेतृत्व सुडान घोटाला प्रकरण अघि बढेकामा खुसी छैन । ससाना विषयलाई समेत प्रकरणमा परिणत गर्न माहिर राजनीतिक दलले 'सुडान काण्ड' मा भने रहस्यमय तवरमा मौनता साधेका छन् । यसको अर्थ हो- राजनीतिक नेतृत्वबाट यो प्रकरणलाई दबाउने प्रयास भरपुर हुनेछ ।
सुडान प्रकरणमा बहस गर्न पुगेका कानुन व्यवसायीहरू फरक अनुभूति बटुल्दै छन् । उनीहरू भन्छन्, 'पब्लिक ट्रायल अर्थात् अदालती क्रियाकलापमा जनताको अत्यधिक चासो बढेको छ । अब न्यायाधीशहरूले विगतमा जसरी फैसला दिन सक्ने अवस्था छैन, न्यायाधीश पनि 'पब्लिक ट्रायल' मा परेका छन् ।'
साभार: ईकान्तिपुर अनलाइन 

Wednesday, July 27, 2011

मासुभात र भोका पेट

रवीन्द्र मिश्र
मासुभातको स्वादको सपना देख्दै दिनभरि भोकै बस्न बाध्य केटाकेटी हाम्रो देशमा प्रशस्तै छन्। अर्कातिर हरेक दिन बेस्सरी मासु कोचेर खाने र जाँड धोकेर खाएको जति छाद्ने वर्ग पनि छ हामीकहाँ । 

'दाइ, काठमाडौँ गौशालाको तिलगंगामा एउटा 'केटाकेटी निःशुल्क विद्यालय' छ। त्यहाँ काठमाडौँबाहिरबाट आएका गरिब श्रमिकका २ सय ५० बालबालिका निःशुल्क पढ्दारहेछन्। स्कुलमा सरहरूले 'बिहान के खाएर आयौ?' भनी सोध्दा बडो अफ्ठेरो मानेर कसैकसैले 'मासुभात खाएर आ'को सर' भन्दारहेछन्। 
वास्तविकताचाहिँ के रहेछ भने, उनीहरूमध्ये कतिपय भोकै स्कुल आउँदारहेछन्। विद्यार्थीले भोक छोप्न त्यसरी ढाँटिरहेको थाहा पाएपछि स्कुलले उनीहरूका लागि जसोतसो दिउँसोको खाना व्यवस्था गर्न थालेछ। स्कुललाई चाहिँ खानाखर्च जुटाउन साह्रै गाह्रो परिरहेको छ। त्यसैले हाम्रो संस्था अनुभूति इन्टरनेसनलले त्यस स्कुललाई केही पैसा संकलन गर्न एउटा कार्यक्रम आयोजना गर्दैछ। त्यसमा तपाईँ पनि आइदिनुपर्‍यो भनेर फोन गरेको।'
शिशिर खनाल र स्वस्तिका श्रेष्ठ दम्पती मैले भेटेका मध्ये अत्यन्त प्रेरणादायी दुई युवा हुन्। अमेरिकामा राम्रो शिक्षा पाएका उनीहरू सम्पन्न पारिवारिक पृष्ठभूमि नभए पनि नेपालमै केही गर्नुपर्छ भनेर केही वर्षअघि फर्केका थिए। त्यही भावनाको परिणामस्वरूप उनीहरूले त्यस विद्यालयलाई सहयोग गर्ने तत्परता देखाएका थिए। मलाई सहयोग गर्न आग्रह गर्दै फोन गर्ने शिशिर खनाललाई 'तपाईँहरूले के गरेर पैसा संकलन गर्न लागेको?' भनी प्रश्न गर्दा उनले बढो रचनात्मक र रोचक योजना सुनाए।
'हामी यहाँका राम्रा­राम्रा कलेजमा पढ्ने करिब दुई सय विद्यार्थीलाई भोक कस्तो हुन्छ भन्ने थाहा दिन काठमाडौँको व्यापारिक केन्द्र सिभिल मलमा जम्मा गराएर एक दिनभरि भौकै बस्न आग्रह गर्दैछौँ। उनीहरूले भोक अभियानमा भाग लिनुअघि साथीभाइ, परिवार र नातागोताबाट 'केटाकेटी निःशुल्क विद्यालय' का केटाकटीका खानाका लागि कम्तीमा एक हजार रुपियाँ उठाउनुपर्नेछ। गगन थापा, तपाईँ र अन्य केहीले ती युवालाई प्रेरणाका केही शब्द बोलिदिनुहोला भन्ने हाम्रो अपेक्षा हो।'समयले भ्याएसम्म त्यस्तो सत्कार्यमा सहभागी नहुने कुरै थिएन। असार ३२ गते शनिबार म कार्यक्रममा सहभागी हुन सिभिल मल पुगेँ। त्यहाँको वातावरण देखेर द्रविभूत भएँ। त्यहाँ दुई सय होइन, झन्डै पाँच सय छात्रछात्रा भोकविरूद्ध टीसर्ट लगाएर नाचगान गर्दै, सिभिल मलमा किनमेल गर्न आउनेसँग चन्दा उठाइरहेका थिए। खनाल र श्रेष्ठ दम्पतीले दुई लाख रुपियाँ उठाउने लक्ष्य राखेका थिए। उनीहरूले त्यो दिन कार्यक्रम आयोजनाको खर्च कटाएर चार लाखभन्दा बढी रकम जम्मा गरे। स्पष्ट छ, उनीहरूकै प्रयासका कारण भोकै स्कुल आउन बाध्य कैयन् केटाकटीले अब महनौँसम्म मासुभात खाएको कल्पना गर्दै दिनभरि भोको बस्नुपर्ने छैन।
मासुभातको स्वादको सपना देख्दै दिनभरि भोकै बस्न बाध्य केटाकेटी हाम्रो देशमा प्रशस्तै छन्। अर्कातिर हरेक दिन बेस्सरी मासु कोचेर खाने र जाँड धोकेर खाएको जति छाद्ने वर्ग पनि छ हामीकहाँ। सम्पन्न समुदायको चेतनाको दायरा अधिकांश स्थितिमा आफ्नो वर्गको सीमा नाघेर पर जान नसक्ने रहेछ। तिनको चेतनामा मानवीय संवेदनाका तन्तुहरू जागृत नभएसम्म हाम्रो जस्ता समाजको रूपान्तरण सम्भव हुँदैन। त्यसैले बारम्बार राम्रा कामबारे चर्चा गरिरहन जरुरी छ, जसले गर्दा, क्षमता भएर पनि आफैँ र आफ्नै व्यापार व्यवसायमा सीमित सम्पन्न समुदायलाई या त राम्रो काम गर्न प्रेरणा मिलोस् वा तिनलाई 'म त साँच्चिकै स्वार्थी रहेछु' भन्ने महसुस होस्।
खनाल र श्रेष्ठको चर्चा गर्दैगर्दा यस स्तम्भकारलाई बुढानिलकण्ठमा पढेका र अमेरिकाको राम्रै विश्वविद्यालयमा स्नातक गरेका अर्का एक युवा सुभाष घिमिरेको सम्झना भइरहेको छ। उनले आमा सरस्वती घिमिरेको स्मृतिमा आफ्नो गाउँ गोर्खाको आरूपोखरीमा तल्ला तप्काका द्वन्द्वपीडित बालबालिकाका लागि आफ्नै अग्रसरतामा सरस्वती शान्ति विद्यालय निर्माण गरेका छन्। उनलाई त्यस विद्यालयका लागि अझै केही सहयोगको खाँचो छ। उनी भोको पेट हुँदाहुँदै 'इज्जत' बचाउन 'मासुभात खाएँ' भन्न बाध्य बालबालिकाको जीवन परिवर्तन गर्न प्रतिबद्ध छन्। खनाल, श्रेष्ठ र घिमिरेले पनि संसारका अधिकांश मानिसले जस्तै आ­आफूले अँगालेको पेसामा इमानदारीपूर्वक काम गरे। त्यसैबाट समाजको सेवा भइहाल्छ भन्ने सहज मान्यता बोकेका भए न त 'केटाकेटी निःशुल्क विद्यालय' का बालबालिकाले महिनौँका लागि तातो दालभात खान पाउने व्यवस्था हुन्थ्यो, न गोर्खाको विकट आरूपोखरी गाउँमा स्कुल जाने पाउने अत्यन्त न्यून सम्भावनाका विपन्न बालबालिकाका लागि विद्यालय बन्थ्यो।
केही समयअघिको कुरा हो, पत्रकार कनकमणि दीक्षितले स्थापना गरेको स्पाइनल (मेरूदण्ड) इन्जुरी पुनर्स्थापना केन्द्रका बिरामीको उपचारका लागि आर्थिक संकट पर्‍यो। दीक्षितले चाहेको खण्डमा दिनदिनै मासुभात खानसक्ने धन र अलि ठूलो मन पनि भएका काठमाडौँबासी सय जनालाई प्रतिव्यक्ति दस हजारको टिकट राखेर छोरा इलम दीक्षितद्वारा निर्देशित र अभिनित एउटा नाटकको विशेष प्रस्तुति हेर्न आमन्त्रण गरे। उनले त्यस प्रयासबाट झन्डै दस लाख संकलन गरे। यसले गर्दा दालभात खान पनि धौधौ पर्ने र त्यसमा पनि झन् मेरूदण्डमा चोट लागेका कारण हिँडडुल गर्न नसक्ने कैयन् बिरामीले उपचार पाउने भए। यस्ता काम गर्ने अन्य कैयन् नेपाली छन् जसको चर्चा समय र सन्दर्भ पर्दा अनि जानकारी पाउँदा हामीजस्ता पत्रकारले गर्नु समाजका लागि हितकारी हुन्छ। 
शिशिर खनाल, स्वस्तिका श्रेष्ठ र सुवास घिमिरेजस्ताले निश्चय पनि 'नेपालको स्थिति त्यस्तो खराब छ, फर्किएर के गर्ने?' भन्नेहरूलाई एक पल्ट सोच्न अवश्य बाध्य तुल्याउनेछन्। ती तीनै जना कुनै सम्पन्न पारिवारिक पृष्ठभूमिका युवा होइनन्। उनीहरू सबै अमेरिकामा राम्रै काम गरेर बस्ने क्षमता भएका व्यक्ति हुन्। पत्रकार दीक्षितका हकमा कुरा गर्दा उनी पनि अमेरिकाबाट राष्ट्रसंघको जागिर छाडेर युवा अवस्थामै नेपाल फर्किएका हुन्। धेरैले उनको जति धन भए हामी पनि फर्किन्थ्यौँ' भन्लान् तर वास्तविकता के हो भने उनीजस्ता सम्पन्नहरू नफर्किएका धेरै उदाहरण छन्। जो फर्किएका छन्, तीमध्ये धेरै आफ्नै व्यापार र वृत्ति विकासमा लिन भएर अनि त्यसैबाट समाजलाई ठूलो योगदान पुर्‍याएको छु भन्ने भ्रम पालेर बसेका छन्। त्यस्ता दिगभ्रमितहरूलाई प्रश्न तेर्स्याउँदै दीक्षितले जस्तै उनीहरू पनि एकएक वटा अस्पताल स्थापना गर्ने अग्रसरता लिन किन सक्दैनन्? त्यसरी अग्रसरता लिँदा सहयोगी हात धेरै भेटिँदा रहेछन् भन्ने प्रशस्त उदाहरण छन्। तर, गर्नसक्ने क्षमता भएका धेरैजसो, सरकारले यसो गरिदिएन र उसो गरिदिएन भनेर गुनासोमात्रै गरेर बस्छन्। कामचाहिँ कि त गर्दैगर्दैनन्, गरिहाले 'भएर पनि गरेन' भन्ने लाज छोप्न सांकेतिक मात्र गर्छन्। त्यस्ता मानिसको बाहुल्य हुँदा यो समाज राम्रैराम्रा खोक्रा कुरा अनि नराम्रैनराम्रा वास्तविकताले आक्रान्त बन्नु स्वाभाविक हो। तर, पनि राम्रा कामको चर्चा सञ्चारमाध्यममा हुँदै जाने हो भने, काम नगर्ने, कुरामात्र गर्ने ठूलाठालुलाई स्वतः लाज हुन्छ र केही गर्न नैतिक दबाब पर्छ। 
यथार्थ के हो भने, सबै मानिसबाट माथि उल्लेख गरिएजत्तिकै स्तरमा समाजप्रतिको दायित्व निर्वाह होस् भन्ने अपेक्षा गर्न सकिँदैन। सबै सक्षम मानिसले जेजति सम्भव छ, त्यति अवश्य गर्न सक्छन्। त्यो अपेक्षा गर्नु अस्वाभाविक हुँदैन किनभने हामी सामाजिक प्राणी हौँ र हामी सबै सुसंस्कृत र विकसित समाज हेर्न चाहन्छौँ। त्यसका लागि अलि सक्नेले अलि बढी गर्नुपर्ने हुन्छ। उदाहरणका लागि काठमाडौँको प्रतिष्ठित 'भोजन गृह' का मालिक भरत बस्नेतले हरेक महिना निर्धनहरूको विद्यालय भनेर चिनिने समता स्कुललाई तीस हजार रुपियाँ सहयोग गर्ने गरेको यस स्तम्भकारलाई थाहा छ। मैले थाहा नपाएका अन्य धेरै त्यस्ता सहयोग भइरहेका होलान्। अधिकांश नेपालीले त्यति ठूलो रकम खर्च गर्न सक्दैनन्। तर, वियर खानेहरूले महिनाको एक बोतल बियर कम खान वा चिया खानेहरूले महिनाको आठ­दस कप चिया कम खान भने अवश्य सक्छन्। सक्नेहरूले त्यति गरेर, महिनाको सय रुपियाँमात्र नसक्नेका लागि जम्मा गरिदिने हो भने पनि ती सय रुपियाँहरू जम्मा हुँदा यस देशका कैयन् बालबालिकाकाले सहजै एक छाक तातो दालभात खान पाउने छन्। त्यति गर्दा सय रुपियाँ दिनेको जीवनमा तात्विक असर पर्दैन। बरु उसलाई ठूलो सन्तुष्टिको अनुभव भने अवश्य हुन्छ। त्यही सोचबाट प्रेरित भएर हुनुपर्छ, मासिक तलब त्यति धेरै नहुने अर्धसरकारी जागिर भए पनि हालसालै नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालको अग्रसरता तथा प्राधिकरणको एकमात्र कर्मचारी युनियनको सक्रियतामा झन्डै तीस कर्मचारीले महिनाको सय रुपियाँ जम्मा गर्ने अभियान थालेका छन्। निर्देशक खनाल भन्छ्न्, 'महिनाको सय रुपियाँ ठूलो रकम नहोला तर कर्पोरेट सोसल रेस्पोन्सिबिलटी (सीएसआर) को अवधारणालाई कर्पोरेट' अर्थात् संस्थागत जिम्मेवारीमात्र नसम्झिएर त्यसलाई 'सिटिजन्स' अर्थात् नागरिकको सामाजिक जिम्मेवारीका रूपमा पनि बुझ्नुपर्छ भन्ने हाम्रो मान्यता हो। हामी जे गर्दैछौँ, त्यो सारा सरकारी र अर्धसरकारी कार्यालयमा सुरु हुने हो भने त्यो नागरिक जिम्मेवारीका हकमा क्रान्ति हुनेछ। त्यसबाट दसौँ हजार असहाय बालबालिकाको गाँसबासको प्रबन्ध हुनसक्छ। हामी अधिकांश कर्मचारी आफ्नो खाजा र चिया खर्चबाट त्यति बचाउन नसक्ने छैनौँ। आफूले गर्नसक्ने काम किन नगर्ने भन्ने हाम्रो सोच हो।'
आखिर कुरा धनभन्दा बढी मनको रहेछ। कुरा, बिहान केही नखाईकन स्कुल आउने अनि सरले 'आज घरमा के खायौ?' भनेर सोध्दा भोको पेटको पीडा र भोको हुनुको लाज लुकाउँदै 'मासुभात खाएँ सर' भनेर जबाफ दिने बालबालिकाका संवेदनाले हाम्रो संवेदनालाई कुन हदसम्म स्पर्श गर्दोरहेछ भन्नेमा भर पर्दोरहेछ। जिन्दगीको के भरोसा! हामी पनि केही गरिहाल्ने कि?
साभार: नागरिक दैनिक

Saturday, July 23, 2011

यसरी बाहिरियो फोन हयाकिङ

प्रायः हरेक डेढ वर्षमा गार्जियनका अनुभवी लेखक निक डेभिज मेरो कार्यालयभित्र छिर्छन् । ढोका बन्द गर्छन् र केही अचम्मका कुरा गर्छन् ।
गत वर्ष जुनमा उनले जुलियन असान्जबारे मलाई जानकारी दिन चाहेका थिए । उनले त्यतिखेर त्यति चर्चामा नरहेका ती हयाकरबारे पढेका थिए, जसले अमेरिकी रक्षा र विदेश मन्त्रालयबाट चुहिएका लाखौं गोप्य दस्तावेज सार्वजनिक गर्न लागेका थिए । उनको योजना असान्जलाई खोज्नु थियो जसबाट गार्जियनले ती सबै प्रकाशन गर्न सक्थ्यो । 
२००९ को सुरुतिर यस्तै कुराकानी भएको थियो । उनले जेम्स मर्डोकले आफ्नो मिडिया उद्योग (न्युज कर्पोरेशन) का आपराधिक गतिविधिको प्रमाण लुकाउन गोप्य सम्झौताका लागि १० लाख  डलर रकम तिरेको पत्ता लगाएका थिए । मर्डोक शक्तिशाली निजी समाचार मिडिया उद्योगी (रुपर्ट मर्डोक) का छोरा एवं उनका उत्तराधिकारी थिए ।
निकले गरेका कुराप्रति मैले समर्थन जनाएको थिएँ । सँधै नसुहाउँदो गरी जिन्स र छालाको खैरो ज्याकेटमा देखिने निक यस्तै गम्भीर खालका समाचार सुनाएपछि यस्तै जोखिमपूर्ण कामका लागि कार्यालयबाट हराउँथे ।
विकलिक्सको अवसान कसरी भयो भन्ने सबैलाई थाहा छ, जसले गोप्य पत्राचार, युद्धका दस्तावेज, कूटनीतिक लापर्वाहीका कुरा सार्वजनिक गरेर विश्वमै हलचल ल्याइदियो । र अहिले मर्डोकको समाचार कसरी अवसान भयो भन्ने सबैलाई थाहा छ, उनका कर्मचारीले गरेका घृणित काम र एकदमै ठूलो संसदीय मतले उनको हजारौं अर्ब डलर व्यवसायको तरिका रोकिदिएको छ । दसौं लाख प्रति सातामा बिक्री हुने नाफामा रहेको पत्रिका न्युज अफ द वल्र्ड बन्द भयो । बेलायती सञ्चार नियमन गर्ने संस्था बेकामी देखियो ।
मर्डोकको समाचार अझै सकिएको त छैन । तर नीति निर्माण, राजनीति, सञ्चार, नियमन निकाय लगायत बेलायती र अमेरिकी जीवनका धेरै पक्षमा यो पुगेको छ । यो समाचार अझै केही महिना वा अझै वर्षौंसम्म निरन्तर जानेछ । यसमा संलग्न थप व्यक्तिको थप गिरफ्तारी धेरैले चाहेका छन् । बेलायती अदालतले कानुनी कारबाही अघि बढाएको छ । दुइटा नागरिक छानबिन आयोगले सञ्चार र प्रहरी गतिविधि अनुसन्धान गर्ने भएको छ ।
न्युज अफ द वल्र्डका राजपरिवारसम्बन्धी संवाददाता क्लिभ गुडम्यान राजदरबारको फोन हयाक गरेकोमा समातिएका थिए । उनको पत्रिकाका निजी लगानीकर्ता ग्लेन मुलकेयरसँग सहकार्य थियो । फोन सन्देशमा पहुँच र पिन नम्बरजस्ता कुनै पनि सुरक्षा संयन्त्र भत्काउन सक्ने विज्ञ थिए, गुडम्यान । त्यसले मृतकलाई जीवित बनाउन सक्थ्यो । ती दुवैलाई प्रहरीले पक्राउ गरेको थियो । न्युज इन्टरनेसनलले प्रेस, संसद्, प्रहरी, नियमन अधिकारीलाई गुडम्यान मात्र 'कुहिएको स्याउ' भनेका थिए । घटनापछि पूर्व सम्पादक एन्डी कोल्सनले राजीनामा दिए ।  आफूलाई केही थाहा नभएको भन्दै प्रतिवाद गरेका थिए । उनीहरूले यो खेल सकिएको ठानेका थिए ।
तर, जुलाई ९, २००९ मा गार्जियनको समाचारले उनीहरूको खास कर्तुत बाहिर ल्यायो । प्रोफेसनल फुटबलर्स एसोसिएसनका प्रमुख कार्यकारी गोर्डन टेलरलाई पठाएको 'भ्वाइस म्यासेज' लाई अर्का एक कनिष्ठ संवाददाताले ह्याक गरेर टिपेको समाचार छापेका थियौं । ती संवाददातले यो सन्देश न्युज अफ द वल्र्डका प्रमुख संवाददाता नेभिली थर्लबेकलाई पठाएका थिए । अब यो थाहा पाउने अन्य दुई पत्रकार थपिए । केही कार्यकारीले ती कनिष्ठ संवाददातालाई निर्देशन दिएको हुनुपर्छ । ह्याकिङ थाहा पाउन अर्का एकजना बढे । ती कार्यकारीले  सूचना लुकाउन टेलरलाई उक्त रकम दिने सम्झौतमा हस्ताक्षर गरेका थिए ।
जेम्स मर्डोक जसले यसरी मुलाउन सुझाव दिएका थिए । फेरि उनले मनोरञ्जनसम्बन्धी पत्रिका प्रकाशन म्याक्स क्लिफोर्डको फोन हयाकिङमा पनि यसै गरेका थिए ।
प्रहरीले एउटा छानबिन घोषणा गरेको केही घन्टामै थप अनुसन्धान आवश्यक नभएको बतायो । यस्तो नभएपनि २००५ मा बरामद गरिएका मुल्केयरको ११ हजार पेजको सूचना पनि त्यत्तिकै थाती रह्यो । न्युज इन्टरनेसनलले प्रहरीको भनाई आफ्नो प्रमाणको रूपमा देख्यो । गार्जियनले जानजानी बेलायती सर्वसाधारणलाई गलत सूचना दिइरहेका उसको कुरा थियो । प्रेस उजुरी आयोगले पनि आफ्नै छानबिनबाट गुडम्यान मात्र दोषी देख्यो । यही अडान न्युज इन्टरनेसनलले गरिरहँदा अनुगमन निकाय पनि बेकम्मा जस्तै देखियो ।
संसदीय समिति सकेसम्म गहिराइमा पुग्न खोज्यो । तर न्युज इन्टरनेसनलकी प्रमुख कार्यकारी, सन र न्युस गरेको बताए । कारबाही अघि बढेन । अधिकांश सञ्चार राम्रा थिएनन् । भावी प्रधानमन्त्रीको रूपमा लिएका डेभिड क्यामरोनले कोल्सनलाई प्रेस प्रवक्ताको रूपमा नियुक्त गरे । कोल्सनको नकारात्मक कुरातिर प्रधानमन्त्री बन्नै लागेका क्यामरोनले वास्ता गरेनन् ।
पूर्व न्युज अफ द वल्र्डका एक पत्रकारलाई तात्कालिन कोल्सनको दुव्र्यवहारबाट पीडित भएको भन्दै नोभम्बर २००९ मा लन्डनको रोजगारसम्बन्धी अदालतले १० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला गर्‍यो । तर यो क्षतिपूर्ति तिरेको समाचार गार्जियनले बाहेक अरुले छापेनन् । यसले गार्जियन एक्लिएको महसुस भयो । ब्रुक्सले आफ्ना साथीहरूलाई 'एलेन रसबि्रजरले दयाको भीख माग्दै घुँडा टेकेपछि समाचार सकिन लागेको छ भनेर' आफ्ना साथीहरूलाई भनेको सुनाएका निक डेभिजले सचेत गराएका थिए । 'उनीहरूले हामीलाई खत्तम पार्न सक्छन्,' डेभिसले भनेका थिए, 'सकेमा गार्जियन बन्द गर्न सक्छन् ।'
अधिकांश पत्रिकाले बेवास्ता गरिरहँदा निक क्लेग मात्र लेखलाई निरन्तरता दिइरहेका थिए । मैले न्युयोर्क टाइम्सका बिल केल्लरलाई फोन गरें । केही दिनपछि उक्त पत्रिकाका तीन संवाददाताहरू आइपुगे । यसबारे निकले जानकारी दिए, जसबाट उनले थुप्रै संवाददाता, कानुन व्यवसायी र प्रहरी अधिकृतको वर्षौंदेखिको खिसी टिउरीबाट छुट्कारा पाउन सक्थे ।
टाइम्सका पत्रकारले महिनौंको असाधारण र पीडादायी कामबारे अनसन्धान गरेपछि निकले लेखेका सबै सत्यलाई स्थापित गर्‍यो  । उसको समाचारले प्रहरीको कमजोर छानबिन कमजोर मात्र देखाएन, अरुलाई पनि समाचार प्रकाशन गर्न साहस दियो । थुप्रै टेलिभिजनले पनि समाचार प्रसारण गरे । दुईमध्ये एक पीडितले अदालतमा मुद्दा दायर गरे । प्रायः ले 'यस्तो हुनसक्छ' र यसका पछाडि केही छ भन्न थाले ।
चुनावको केही समयअघि मात्र फोन ह्याकिङबारे कोल्सनलाई थाहा भएको र कानुनी रुपमा यो कुरा प्रकाशन गर्न नसक्ने जानकारी मैले क्यामरोनलाई दिएको थिएँ । कोल्सनको न्युज अफ द वल्र्डले सात वर्ष जेल सजाय भोगेर निस्किएका जोनाथन रिजलाई अनुसन्धानकर्ता नियुक्त गरेका थिए, जो निर्दोष एक महिलालाई कोकिन राखिदिएको अभियोग थियो । गार्जियनले दुई लामा लेख प्रकाशन गर्‍यो, रिजको न्युज अफ द वल्र्ड र भ्रष्ट प्रहरी अधिकारीसँगको सम्बन्धबारे ।
गार्जियनले आमचुनावअघि योबाहेक केही प्रकाशन गर्न सकेको थिएन किनकि बेलायती कानुनले आपराधिक मुद्दा झेलिरहेका व्यक्तिबारे लेख्न पत्रिकालाई बन्देज लगाएको छ । तर मैले भनेको थिएँ, क्यमरोनलाई आफ्नो सरकारी टोलीलाई नियुक्त गर्नु अघि थाहा हुन सक्छ भनेर । यो कुरा मैले त्यतिबेलाका प्रधानमन्त्री गोर्डन ब्रोन र अहिलेका सहायक प्रधानमन्त्री निक क्लेगलाई सुनाएको थिएँ ।
क्यामरोनले यो साता आफ्ना कर्मचारीले यो विषयले आफूलाई सताउनेबारे सचेत नगराएको बताएका छन् । तर कोल्सनलाई नियुक्त गर्न यो खतरनाक थियो भन्ने उनले यो बुझ्नुपर्छ ।
यो वर्षको सुरुतिर केही समय यो कुरा उठ्यो । कानुनी कारबाहीको कुरा उठ्यो । अन्तिममा प्रहरी गम्भीर रूपमा संलग्न भयो । र, उसले २००६ मा नगरेको काम गर्न ४५ जनाको टिम नियुक्त गर्‍यो । नियमन निकायले आफ्ना पुराना प्रतिवेदन मूल्यहीन रूपमा लियो । त्यसपछि निक डेभजले न्युज अफ द वल्र्डले बेपत्ता किशोरी मिल्ली डोलरको फोन ह्याक गरेको कुरा लेखेका थिए । अर्को नयाँ सुन्न सक्ने बनाउन उनका भ्वाइस म्यासेज हटाएर ह्याक गरिएको उनको लेखमा उल्लेख थिए । मिलि जीवित भएको न्युज अफ द वल्र्डको समाचारले मिलीका बाबुआमालाई उनको हत्याको पुष्टि हुनुअघिसम्म आशा जगाएको थियो । न्युज अफ द वल्र्डले पुनर्जीवित पाउन कठिन भएपछि उक्त समाचारका कारण अहिले पत्रिका बन्द गर्न बाध्य भएको छ । राजनीतिकर्मी, पत्रकार, प्रहरी अधिकारी र नियमनकारीलाई टीभीको स्क्रिनबाट बाहिर राख्न उसले सकेन । अहिले थुप्रै प्रहरी अधिकारीहरूले माफी मागेका छन् । सांसदहरूले सार्वजनिक रूपमा भनिरहेका छन्, उनीहरूमाथि कारबाहीको कुरा ।
पहिले 'मर्डोकको फड्को' भनेर कोहीले भनेका थिए । व्यापक स्वीकारोक्ति थियो कि एउटा वा थप पुस्ताका लागि बेलायती सार्वजनिक जीवनशैली आफैं मर्डोकले आकार दिएको छ
भनेर । कम्पनी निकै व्यापक हुँदै गएको थियो र धेरै सफलता हात पारेको थियो । राष्ट्रिय पत्रिकाको ४० प्रतिशत र बीबीसीको भन्दा दोब्बर प्रसारण संस्थाको कमाइ हुन थाल्यो । तर अहिले हामीले थाहा पाएका छौं कि आपराधिक अनुसन्धानकर्ताको सानो टोली जुन कुनै नागरिकको काममा नियुक्त गरेको छ । अहिले सर्वस्वीकार्य विश्वास छ कि यी व्यक्तिहरू खराब हुन भनेर । बेलायतमा मर्डोकलाई धेरैले स्वीकार गरेका थिए । धेरै राजनीतिकर्मीले विश्वास गरेका थिए । कहिल्यै सार्वजनिक रूपमा नबोलेका मर्डोकले अहिले माफी मागेका छन् । तर यो  निश्चित भएको छ कि उनले भ्रष्टाचार गरिरहेका थिए । र अहिले एउटा समाचारले र संसद्मा विवादरहित एकमतले उनको त्यो जादुमयी आकर्षण सकिएको छ ।
लेखक  गार्जियनका सम्पादक हुन्

प्रकाशित मिति: २०६८ श्रावण ७ ११:२३

Wednesday, July 20, 2011

अमेरिकी मिडिया र नयाँ प्रविधि

बालकृष्ण बस्नेत
 दैनिक पत्रिकाले पहिले र अहिले पाठकमाझ पुर्‍याउने विषयवस्तु, शैली र प्रस्तुतिमा भिन्नता छ । इन्टरनेटको सञ्जाल र आर्थिक मन्दीले भने उतार-चढाव ल्याएको छ । त्यसले अनुसन्धानमूलक पत्रकारिताको विकासमा समेत ठेस पुर्‍याएको छ ।
 वृत्तचित्र निर्माता आन्ड्रेउ रोसीले अमेरिकाको एक लोकपि्रय दैनिक पत्रिकालाई आधार बनाई एउटा वृत्तचित्र निर्माण गरेका छन्- 'पेजवन ः इनसाइड द न्युयोर्क टाइम्स ।' एउटा पत्रिकालाई मुख्य विषयवस्तु बनाइए पनि कथावस्तुले भने पूरै अमेरिकी छापामाध्यमका चुनौतीलाई प्रतिनिधित्व गरेको छ । खासगरी इन्टरनेटमार्फत भइरहेको समाचार क्रान्तिले कसरी त्यहाँको दैनिक छापामाध्यमलाई धरापमा पार्दैछ भन्ने सन्देश त्यसमा छ । दैनिक पत्रिकामाथि परेको संकट विश्व सञ्चार जगतलाई बुझाउने गतिलो माध्यम हो यो ।  अनुसन्धानमूलक संवाददाता र सम्पादकहरू (आईआरई) को वाषिर्क भेलाका क्रममा जुनको दोस्रो साता फ्लोरिडा राज्यको ओरलान्डोमा उक्त वृत्तचित्र देखाइएको थियो । जहाँ अमेरिकाका छापा, विद्युतीय, अनलाइन सबै माध्यमका अग्रज पत्रकारहरू भेला भएका थिए । तीनदिने उक्त सम्मेलनमा इन्टरनेसनल भिजिटर्स लिडरसिप प्रोगाम -आईभीएलपी) अन्तर्गत अमेरिका पुगेका विभिन्न २८ देशका पत्रकारहरू पनि सहभागी थिए । इन्टरनेटको सहज पहुँच भइनसकेको नेपालजस्तो मुलुकबाट सहभागी मेरो मनमा भने विश्वप्रसिद्ध ठूला पत्रिकाले भोग्नुपरेको चुनौती देख्दा ठूलो कौतुहल उब्जेको थियो ।  आईआरई सम्मेलनमा छलफलका लागि सञ्चार क्षेत्रका दर्जनौं विषयहरू तोकिएका थिए । तर दुई/तीनवटामा मात्र सबैको ध्यान केन्दि्रत भएको थियो । पहिलो, अमेरिकी छापामाध्यम र अनुसन्धानमूलक पत्रकारिताको अवस्था । दोस्रो, सञ्चारमा नयाँ प्रविधिले ल्याएको क्रान्ति र अर्कोचाहिँ विश्वमा तरंग ल्याएको विकिलिक्सको खुलासा र त्यसमाथि अमेरिकी सञ्चारमाध्यमको दृष्टिकोण ।      सम्मेलन र अन्य अन्तरक्रियामा विकिलिक्सको खुलासा, पत्रकार आचारसंहिता, अनुसन्धानको तरिकाबारे पर्याप्त छलफल भए । विकिलिक्सले खुलासा गरेको गोप्य सूचनाहरू के सबै सत्य थिए ? कसरी सार्वजनिक भयो ? के त्यो अनुसन्धान पत्रकारिता हो ? त्यसले अमेरिकी रक्षा प्रणालीमा कस्तो प्रभाव पर्‍यो ? त्यसलाई अमेरिकी सञ्चारमाध्यमले कसरी प्रस्तुत गरे ? जस्ता प्रश्नहरू कार्यक्रमभर ओइरिएका थिए । जवाफ करिब-करिब एकै थियो- 'सञ्चारमाध्यमका लागि यो एक प्रारम्भिक जानकारी थियो । अनुसन्धानका लागि त्यो एक आधार हुनसक्थ्यो ।'  एकातिर इन्टरनेटको तीव्र विकास र अर्कोतिर आर्थिक मन्दीले दैनिक छापामाध्यममा सिधा असर परेको पत्रकारहरूले सुनाए । यद्यपि छापाको अस्तित्व जोगाउन विभिन्न तहमा भइरहेका प्रयास र विकल्पहरूबारे पनि खुला छलफल भएको थियो । सबै पुस्तामा पुगेको इन्टरनेटको पहुँच, वेभ सूचनाको बढ्दो लगाव, अनलाइनको प्रभावकारिता र मोबाइलका आकर्षक संस्करणहरू वास्तवमा दैनिक पत्रिकाका लागि टाउको दुखाइ नै बनेका छन् । विज्ञापनदाताको ध्यान पनि क्रमशः इन्टरनेट प्रविधितिरै गएपछि ठूला दैनिक पत्रिकाहरूमा असर परेको हो । केही वर्षयता त्यस्ता सञ्चार माध्यमहरूमा लगानी  र आय घट्दै जाँदा धेरैले जागिरबाट हात धुनुपरेको र पत्रकारिता पेसा परिवर्तन गर्न बाध्य हुनुपरेको तीतो पनि पत्रकारहरूले सुनाए ।  'यसले हामीलाई पुनरावलोकन गरी अघि बढ्ने अवसरसमेत दिएको छ', द न्युयोर्क टाइम्सका इन्भेस्टिगेटिभ एडिटर म्याथ्यु प्रुडीले सुनाए ।  वासिङटन डीसीस्थित अमेरिकी सञ्चार संग्रह 'न्युजियम' मा राखिएको तथ्यांकअनुसार हरेक १० मध्ये ६ जना अमेरिकीले समाचारका लागि इन्टरनेटको प्रयोग गर्छन् । हरेक ४ जनामा एकले मोबाइलबाट समाचार थाहा पाउने गर्छन् । अबको १० वर्षमा अधिकांशले मोबाइल प्रविधिमार्फत नै समाचार खोज्छन् । त्यसो भए ठूला दैनिक पत्रिकाको बाँच्ने आधार के त ? वासिङटन पोष्टका पत्रकार जेफ लिन भन्छन्- 'एउटा प्रस्तुतिमा फरकपन र अर्को नयाँ प्रविधितर्फको यात्रा ।'  अमेरिकाभरि करिब २ हजार दैनिक पत्रिका प्रकाशित हुन्छन् । मुख्य पत्रिकाहरू प्रायः सबैमा अनुसन्धानमूलक पत्रकारिताको लागि बेग्लै ब्युरो हुन्छ । जहाँ शाखा सम्पादकको नेतृत्वमा बढीमा १५ जनासम्म पत्रकार हुन्छन् । 'यो संख्या घट्दै गएको हो', वासिङटन पोष्टका इन्भेस्टिगेटिभ ब्युरो उपप्रमुखसमेत रहेका लिन भन्छन्- 'तर अनुसन्धानमूलक पत्रकारिता नै छापा जोगाउने प्रमुख हतियार हुन् ।'  अमेरिकी पत्रकारिताको अनुसन्धान गर्दै आएको संस्था 'प्रोजेक्ट अफ एक्सेलेन्स इन जर्नालिजम'को तथ्यांकमा तीन वर्षयता करिब २० हजार छापामाध्यमका पत्रकारहरू विस्थापित भएका छन् । उनीहरूमध्ये धेरै विश्वविद्यालयमा पढाउने, गैरसरकारी संस्था र अन्य पेसामा जागिर खान थालेका छन् । केहीचाहिँ पत्रकारितामै अनुसन्धानमूलक काममा संलग्न छन् । उक्त संस्थाका निर्देशक टम रोसेन्सियलले पत्रिकाको विज्ञापनदर अहिले ४८ प्रतिशतले घटेको र त्यो पैसा गुगल, क्रेगलिष्ट, ग्रुपनजस्ता अनलाइन प्रविधितर्फ छरिएको बताए ।   प्रुडीका अनुसार, दैनिक पत्रिकाहरूले पहिले र अहिले पाठकमाझ पुर्‍याउने विषयवस्तु, शैली र प्रस्तुतिमा भिन्नता छ । तर आर्थिक मन्दीले अनुसन्धानमूलक पत्रकारिताको विकासमा कहीँ न कहीँ प्रभाव पारेको छ । विषयवस्तुलाई विस्तृत रूपमा पस्कने, तथ्ययुक्त र पूर्ण बनाउने, निरन्तर फलोअप गर्ने शैली ठूला दैनिक पत्रिकाहरूले अपनाएका छन् । वासिङटन पोष्ट, न्युयोर्क टाइम्स, वाल स्टि्रट जर्नल, युएसए टुडेजस्ता दैनिक पत्रिकाको पहिलो पृष्ठमा कसले फरक समाचार दिन्छ भन्ने प्रतिस्पर्धा हुन्छ । हरेक राज्यबाट प्रकाशित भइरहेका दैनिक पत्रिकामा समेत त्यो प्रतिस्पर्धा छ । राष्ट्रपतिका अभिव्यक्तिदेखि सिटीका मेयरका गतिविधिसम्मलाई अमेरिकी जनताले इन्टरनेट सञ्जालमार्फत केही छिनमै जानकारी लिइसकेका हुन्छन् ।  प्रायः व्यक्तिको हात-हातमा आइफोन, ब्ल्याक बेरी र अन्य सुविधायुक्त मोबाइल फोन देखिन्छ । आइप्याडको प्रयोग बढ्दैछ । घर र कार्यालयहरूमा जहींसुकै इन्टरनेट सुविधा छ । सार्वजनिक यातायातमा समेत इन्टरनेट चलाउन सक्ने सुविधाले पि्रन्ट मिडिया नथिचोस् पनि किन ? सन् १९७० देखि फष्टाएको अमेरिकी  छापामाध्यमले एउटा साख भने जोगाएकै रहेछन् । अझै पनि ठूला राष्ट्रिय एजेन्डा तय गर्नचाहिँ छापामाध्यमकै भर पर्नुपर्ने रहेछ ।  'अनलाइन प्रविधिले तत्कालको तिर्खामात्र मेटाउँछन्', लिनको अनुभव छ- 'एजेन्डा तय गर्ने र पूर्ण अनुसन्धानमूलक समाचारको मजा त पेपरले मात्र दिँदै आएका छन् ।' प्रतिस्पर्धी बजारमा बाँचिराख्न दैनिक पत्रिकाहरूले 'मोबाइल प्रविधि'लाई पनि अपनाउने गरेका छन् । केहीको 'आइप्याड एडिसन' छ । विद्यार्थी र युवा पुस्ताले रुचाएपछि त्यस्तो संस्करण बढ्दै गएको छ ।  छापाको संकट टार्ने प्रयासस्वरूप पत्रकारिता सम्बद्ध विभिन्न अनुसन्धान केन्द्रसमेत खुलेका छन् । ठूला विश्वविद्यालयमा आबद्ध भई अनुभवी पत्रकारहरूले त्यसलाई सञ्चालन गरेका छन् । त्यहीमध्ये एक हो, बोष्टन युनिभर्सिटीको 'न्यु इङल्यान्ड सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ ।' लामो समयदेखि छापामाध्यममा अनुसन्धानमूलक समाचारको अनुभव बटुलेका जोइ बर्गेन्टिनो त्यसका प्रमुख छन् । 'म मेरो पत्रकारिताको करियरमै रमाउन चाहन्छु', उनी भन्छन्- 'अहिलेको चुनौतीकै बीच कसरी छापाको प्रभावकारितालाई बचाउन सकिन्छ भन्ने खोजीमै हामी लागेका छौं ।'  यही सेरोफेरोमा घुमेको वृत्तचित्रमा प्रमुख पात्र न्युयोर्क टाइम्सकै स्तम्भकार डेभिड कार छन् । पत्रिकालाई अमेरिकी नयाँ पुस्ता, विभिन्न समुदाय, टाइम्सकै पूर्वसहकर्मीले कसरी बुझ्छन् ? न्युजरूम भित्रको काम कसरी भएको छ ? पत्रिकाले कस्तो प्रतिक्रिया पाएको छ भन्नेसमेत रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । 'जतिसुकै संकट होस्', त्यसको सार छ- 'अन्य माध्यमबाट नपाइने सन्तुष्टि पत्रिकामा छ ।'