Wednesday, August 31, 2011

राष्ट्रिय पोसाकको गरिमा

बुद्धिनारायण श्रेष्ठ

नेपाल सरकारले २०६७ भदौ ७ गते सार्वजनिक सूचना प्रकाशित गरी नेपालीको राष्ट्रिय पोसाक दौरासुरुवाल, कोट र चोलो-सारी हो भनी घोषणा गरेपछि यसबारे बहस चलेको छ । यसैबीच देशमा एक सयभन्दा बढी जातजाति भएको र हरेकको आफ्नै सांस्कृतिक पहिरन भएकाले दौरासुरुवाल सबैको पोसाक हुन नसक्ने भन्दै अधिवक्ता सुनिलरञ्जन सिंहले नेपाल सरकारको निर्णय विभेदपूर्ण भयो भनी सर्वोच्चमा रिट दायर गरे । सर्वोच्चका तीन सदस्यीय बेन्चमा बहुमतले नेपाल सरकारको सूचनाका पक्षमा निर्णय दिएपछि यसका नकारात्मक पक्षतर्फ चर्चा अझ अगाडि बढ्न पुग्यो । नाम चलेका चार मैदानी नेताले संयुक्त हस्ताक्षर गरी राष्ट्रिय पोसाक भनिएको दौरासुरुवाल सार्वजनिक रूपमा जलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएपछि नेपालको राष्ट्रिय पोसाक कुनलाई मान्ने भन्ने कुरामा जलाइएको दौरासुरुवालको आगो अरूतिर पनि सल्कयो । यो आगोको फिलिंगो व्यवस्थापिका संसद्को बैठकमा पनि पुग्यो । मैदानी मागका लोकतान्त्रिक मधेसी मोर्चा र अन्य साना दलका सभासदले राष्ट्रिय पोसाकबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै संसद्को बैठक अवरोध गरे । मोर्चाका कार्यकर्ताहरूले सडकमा विरोध प्रदर्शन पनि गरे ।

Monday, August 29, 2011

बेपत्ता पारिएकाको सङ्ख्या ९ सय ३१ (Tear of War)

राज्य र गैरराज्य पक्षबाट २०५२ फागुन १ गतेदेखि २०६८ साउनसम्मको अवधिमा ९३१ जना नेपाली नागरिकलाई बेपत्ता पारिएको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनमा राज्यबाट ८२१ र गैरराज्यपक्षबाट ११० व्यक्तिलाई बेपत्ता बनाएको उल्लेख छ।
बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा एड्भोकेसी फोरम नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आज यहाँ सार्वजनिक भएको 'उनीहरू कहाँ छन्?' नामक प्रतिवेदनसहितको पुस्तकमा देशका सबै जिल्लामा बलपूर्वक बेपत्ता पारिएकाहरूको सूचीसमेत प्रकाशित गरिएको छ।
पुस्तकमा सबैभन्दा बढी बेपत्ता पारिने पाँच जिल्लामा बर्दिया, दाङ, बाँके, सल्यान र रोल्पा रहेका छन्। तर, बलपूर्वक बेपत्ताका घटना नपाइएका जिल्लामा तेह्रथुम, सर्लाही, देलखा, मनाङ, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, डोल्पा, हुम्ला, बझाङ र दार्चुला रहेका छन्।

तथ्याङ्कमा मात्र घट्दैछ गरिबी

श्यामशङ्कर जोशी 



विश्व बैंकको प्राविधिक सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले अहिले गरेको तेस्रो नेपाल जीवनस्तर सर्वेक्षण २०१० का अनुसार २०६० देखि २०६६ सम्ममा गरिबीको रेखामुनि रहेका जनसङ्ख्याको अनुपात १८ प्रतिशत बिन्दुले घटेर १३ प्रतिशतमा आएको देखाएको छ । राजनीतिक अस्थिरता र सुस्त आर्थिक वृद्धि हुँदाहुँदै मुलुकमा गरिबको सङ्ख्या हृवात्तै घटेको तथ्याङ्कले धेरैलाई आश्चर्यचकित बनाएको छ ।  



नेपालमा गरिबको सङ्ख्या र गरिबीको मात्रा बढेको छ कि घटेको छ ? यो विवादित विषय बनेको छ । २०१३ सालदेखि योजनाबद्ध विकासको थालनीसँगै हरेक पञ्चव बर्षीय योजनामा कुनै न कुनै रूपमा गरिबी निवारणलाई प्राथमिकता दिएको पाइन्छ । कृषि, यातायात, शिक्षा, स्वास्थ्य जुनसुकै क्षेत्रलाई प्राथमिकतामा राखे पनि आखिर त्यस क्षेत्रको विकासबाट गरिबी निवारण हुनुपर्ने हो । लामो समयदेखि गरिबी निवारणका कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ५५ वर्षको अवधिमा हालसम्म उपलब्धि भने अत्यन्तै कमजोर देखिएको छ । बरु हालसम्मको विकास प्रयासबाट धनी अझ बढी धनी भएका छन् र गरिबको गरिबी बढ्दै गइरहेको पाइन्छ ।
 नेपाल सरकारको तथ्याङ्क सधै  मिथ्याङ्कका रूपमा पाइन्छ किनभने अन्तर्राष्ट्रिय परिभाषा अनुसार एक दशक अघि १५० अमेरिकी डलर प्रतिव्यक्ति आय हुनेलाई गरिब मानिन्थ्यो । त्यस हिसाबले नेपालमा ७१ प्रतिशत जनता गरिबीको रेखामुनि पर्न आउँथे । तर सरकारी तथ्याङ्कले २०४८ सालसम्मको अवधिमा अर्थात् दुई दशक अघि नै आठौं योजना सुरु हुँदा ४९ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको भनी योजनाको अन्त्यमा सो घटेर ४२ प्रतिशतमा झरेको देखाइयो । त्यस्तै नवौँ योजनाकालमा यो प्रतिशत ४२ बाट घटेर ३८ प्रतिशत भयो भनियो । दसौं योजनामा ३८ प्रतिशतलाई ३० प्रतिशतमा झार्ने लक्ष्य लिइयो तर योजनाको अन्त्यसम्ममा ३१ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइयो । तीनवर्षे अन्तरिम योजना २०६४।६५ देखि २०६६।६७ ले यो सङ्ख्यालाई घटाएर २४ प्रतिशतमा झार्ने लक्ष्य लियो र राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो लक्ष्य लगभग पूरा भएको देखाइयो । 

Sunday, August 21, 2011

"We are not Indian" नेपाली संचार माध्याममा राष्ट्रियताको खडेरी लागेको हो ?

 पत्रकार र संचार माध्याम डामेर छाडेका साँढे होइनन् जसले जतिवेला जहाँ गएर जे गरेपनि र जे खाएपनि कसैले केहि गर्न नसक्ने । पत्रकारिता एउटा संवेदनशिल पेशा मात्रै होइन एउटा गहन जिम्वेवारी पनि हो ।

यो नारा नेपाली टेलिभिजन च्यानलहरुमा सगर्व बजीरहे 
पत्रकारितालाई राज्यले चौथो अंगको मान्यता दिएको छ । राजनीतिक दलका नेताका भाषण देखि कथित नागरिक समाज र साचारका कथित हस्तिहरु पत्रकारिता वा साचार क्षेत्रको बारेमा केहि बोल्नु पर्यो भने यहि पटक पटक बोलिरहन्छन् । राजनीतिशास्त्रले कार्यपालिका न्यायपालिका र व्यवस्थापिकालाई राज्यका तीनवटा प्रमुख अङको रुपमा मानेको छ । अनि यीनै तीन अङले साचालन गर्ने काम कारवाहिलाई निष्पक्ष भएर खवरदारी गरोस् र वफादार भएर जनसमक्ष ती कुरालाई पुर्याओस भन्ने उदेश्यका साथ पत्रकारितालाई राज्यले चौथो अंग को मान्यता दिएको हो भन्ने मेरो बुझाइ छ ।
हुन त म पत्रकारिताको विद्याथी र पेशाले पत्रकार पनि । तर आज नेपाली संचार जगतले जुन धरातलमा उभिएर पत्रकारिताको अभ्यास गरिरहेको छ । यसलाई हेर्दा चाहि नेपाली पत्रकारिता जगतलाई राज्यको चौथो अङ हो भनेर भन्न मलाई लाज लाग्छ । विगत केहि महिना देखि यस्तै एउटा प्रसंङ निरन्तर रुपमा नेपाली टेलिभिजन च्यानलहरुमा देखिइरहेको छ । त्यो पनि आफूलाई स्वाभिमानी अनि राष्ट्र राष्ट्रियता र जनता प्रति वफादार भएको दावी गर्ने नेपाल टेलिभिजन कान्तिपुर न्यूज २४ एभिन्यूज जस्ता टेलिभिजन च्यानलहरुमा ।

Tuesday, August 16, 2011

बाइकमा चिप्लेटि खेल्दै नमोबुद्ध

भाग-१
"मेरो बाईक लेउमा चिप्लियो । धन्न बाटो छोडेर कान्लामुनि बाईक झरेको ! जसोतसो कन्ट्रोल गरियो । बाईक र त्यसमा सवार म अनि विवेक तीनै सकुसल थियौं ।"
नमोबुद्ध जान तयार हाम्रो टीम 
धेरैले यात्रा गर्नु पूर्व आइपर्ने कठिनाईलाई न्यूनिकरण गर्न थुप्रै तयारी गर्छन् । तर मैले गर्ने अधिकाश यात्रा भने पूर्व तयारी विना नै हुने गरेका छन् । सायद त्यसैले होला पछिल्लो समयमा अधिकांश यात्रामा मैले निकै चुनौतिहरुको सामना गर्नु पर् यो । ती चुनौतिले यात्रालाई यादगारमात्रै बनाएनन् साहासिक यात्राका लागि मलाई थप प्रोप्साहित समेत गरेको छ । 

यात्राको यस्तै रोमाचक अनुभूति बटुल्दै साथीहरुसँग घुम्ने क्रममा धुलिखेलको कालिमन्दिर पछि हाम्रो यात्रा फेरी नमोबुद्ध तिर मोडियो । हाम्रो यात्राको लिष्टमा यी दुवै स्थान थिएन । मैले अगाडी नै बताइसके कि मेरा पछिल्ला यात्राहरु पूर्वतयारी विना नै भइरहेका छन् । यी दुई यात्रा पनि त्यसैको उदाहरण बने ।

मिसन दोलालघाट


सबैको सहमतिमा सुन्दरीजल हुँदै्र चिसापानी यात्रामा जाने निर्णय भएको थियो । तर मध्य वर्षात्को समय भएकोले चिसापानी यात्रा पुरा गर्न नसकिने भयो । २०६८ असार १७ गते शुक्रबार हाम्रो १० जनाको टोलि दरवार हाइस्कूलमा जम्मा भएर चिसापानिका लागि हिड्ने कार्यक्रम थियो । तर साथीहरु समयमै आउन सकेनन् । समय ढिला भइसकेको थियो । त्यसैले चिसापानी जान नभ्याइने भएपछि हाम्रो गन्तव्य सिन्धुपाल्चोकको तातोपानी क्षेत्रतिर लाग्ने निर्णय भयो । 

सजल र सुमन बाइकमा
फोटो खिचाउदै हामीहरु 
चिसापानी जान जोरपाटीसम्म पुगेका हामीहरु समयको अभावका कारण तातोपानी तिर लाग्यौं । ५ वटा मोटरसाइकल १० जाना साथीहरु यात्रा रमाइलो भइरहेको थियो । धुलिखेलबाट ओरालो लाग्ना साथ पानी पर्न थाल्यो । रेनकोट बोकेको भए पनि त्यो वेला परेको पानीका लागि रेनकोटले काम गरेन । सबै जसो साथीहरु आधा जति भिजिसकेका थियौं । ओरालो सकेर तामाघाट पुगियो । पानी पर्न केहि कम भएको थियो । यात्रामा समस्या शुरु भयो ।

मिसन चिसापानी


The Fun Starts here.....

यात्रा स्मरणिय होस् हिन्दिमा यादगार होस र अंग्रेजीमा मेमोरेवल होस् । यात्रामा निस्कनु अघि यी तीन भाषाका तर एउटै अर्थ लाग्ने शब्दलाई म सकेसम्म दिमागमा राखिरहन्छु । किन कि यदि यात्राका क्रममा कुनै रमाइला घटना वा परिघटना भएनन भने त्यो यात्रा स्मरणिय हुँदैन् परिणामस्वरुप चाँडै नै दिमागबाट इरेज हुन्छ । 

जीन्दगीको यो दौडलाई एउटायात्रा मान्ने हो भने अहिलेसम्म अनगिन्ति यात्राहरु गरिए । तर ती मध्ये निकै थोरै यात्रा मात्र सम्झनामा छन् । अनि ती थोरै मध्येका पनि केहि औलामा गन्न सकिने यात्राहरु मात्रै जीवनभरीका लागि सम्झनयोग्य छन्् । यसको मतलव यो होइन कि ती यात्रा सुखद थिए त्यसैले यादगार भए ती मध्ये धेरैजसो नसोचेकेा दुख व्यहोर्नु परेका कारण पनि मेमोरेवल बनेका हुन् ।

Tuesday, August 9, 2011

सुनको आँखामा सुनै संसार

बिगत केहि दिन देखि सुनको बजार मूल्य नीकै बढेको छ . यसले खास गरेर युवाहरुमा हलचल नै ल्याईदीएको छ . सायद त्येही कारण हुनुपर्छ बिगत दुइदिन देखि फेशबुकका स्टाटसमा सुनको मूल्यका बारेमा नीकै रमाइला कुराहरु लेखिएका छन् . सुनको मूल्यसँगै युवाहरुको पारो तातेको छ. आहिले जताततै सुन चर्चा छ . नुन खान नपाय नि सुन लाउनु पर्छ भन्ने मान्यताले ग्रस्त आधी आकाश ढाकेका हाम्रा दिदि बहिनिहरु त छक्क परेकै छन् . त्यो भन्दा नि बढी हाम्रा अबिबाहित पुरुष साथीहरु छक्क परेका छन हेरौ सुनको मूल्य वृद्धिले ल्याएको तरङ्ग :

 
"अब चाहिँ बेलैमा बिहे नगरेको भनेर पछुताउने भइयो। सुनले ढाड सेकाउँदै गएको छ। अझै कति हान्ने हो, थाहा छैन। अब सुनभन्दा कम छैन हराएमा डर छैन जिन्दाबाद ....."-कन्चन आधिकारीको स्टाटस

"सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ पुग्यो.....अब हामि अविवाहित साथीहरुले मिलाएर गर्नुपर्ने भयो है....."- बाशुदेव न्यौपानेको स्टाटस


"Gold ????????? 49, 400 ??????????? kasari milaune ho ta aba ?????????????? bafre...........khai k khai k....Gold nai use nagari bihe garnu parla vanne po lagyo ta sir.......................​.."- सन्तोष घिमिरेको स्टाटस

Saturday, August 6, 2011

(Ten guys after Ten years)

दश बर्ष पछिको त्यो जमघट 



नुवाकोट दरवार जाँदै
फेसबुकका कारणले एक वर्ष अघि स्कूल पढ्ने १० जना साथीहरु सम्पर्कमा आइयो । एक दशक पछि स्कूले साथीहरुसँग भेट भयो तर यो भेटलाई यादगार बनाउने उदेश्य स्वरुप कर्तै घुम्न जाने कार्यक्रम तय भयो । फेसबुकबाटै मोवाइल साटासाट भयो । च्याटमा कुराकानी भयो । अनि त्रिशुली गन्तब्य बनाएर । एक रात उतै विताउने गरि यात्रा तय गरियो । 
नुवाकोट दरवारको बाटोमा फोटो खिचाउँदै

बालाजु बाइपासबाट दिउसो ३ बजेतिर हामी १० जना साथीहरु त्रिशुलीयात्राका लागि तयार भयौं । ५ वटा मोटरसाइकल तयार थिए ।
 भदौ महिना थियो तर पनि यात्रा शुरु हुनु अगाडी देखि नै झरीले हामीलाई रुझाउन थाल्यो । निथुक्क भिजेर वेलुका करिव सुढे सात बजे तिर हामीहरु त्रिशुलीको बट्टार बजार पुग्यौ । 

साथी सुमन बोगटीले त्याहाँको दरवार होटलमा कोठा बुक गराएका थिए । हामी दरवार हाईस्कूलका पूर्व विद्यार्थी अनि बस्ने होटल पनि दरवार अनि घुम्न जाने ठाउँ पनि नुवाकोट दरवार । तीनवटा दरवारका यी कुरा हाम्रोलागि संजोग नै थियो । यात्रा भरी नै यो कुराले सबै साथीहरुलाई निकै रमाइलो अनुभूति दिइरहयो । तर यति हुदाँ हुँदै पनि हामीहरु मध्ये कोहि पनि दरवारीया भने थिएनौ । यो कुरा भन्दै हामीहरु बेला बेला रमाइलो गरिरहन्थ्यौं । 
दरबार होटल अगाडी

लगातार चार घण्टासम्म झरीमा मोटरसाइकलको यात्रा गर्दा हामी मध्ये कोहि पनि सुख्खा बाकि थिएनौ । याहाँसम्म कि हामीले लगाएका भित्रि कपडा समेत भिजेका थिए । मोवाइल र पस्रलाई भने प्लाष्टिकमा बेरेर सुरक्षा गरेका थियौं । बेलुका दरवार होटलमा पुगियो । तर सबै जना भिजेका थियौ त्यसैले बजरमा तत्कालिन अत्यावश्यक कपडाहरु किनियो ।

नाम जस्तै दरवार होटल रमाइलो र व्यवस्थित रहेछ । त्याहाँको खाना र बस्ने रुमको त साथीहरु अहिले पनि चार्चा गरिरहन्छन् । मध्यरात सम्म रमाइलो गरियो । एक दशकको अवधिमा साथीहरुले गरेका प्रगतिका कुराहरु साटासाट गरियो । विवेकको गित पनि यादगार थियो । 

नुवाकोट दरबारमा हाम्रो टिम
भोलिपल्ट विहानै नुवाकोट दरवार गइयो । बाटा बाटामा फोटो पनि खिचियो । डाडाको चुचुरामा रहेको नुवाकोट दरवार घुमियो । अनि बट्टार बजार झरेर खाना खाइयो । केहि समय बजार घुमियो र काठमाण्डौका लागि फिर्ति भइयो । 

बालाजु बाइपासमा आएर चिया खाइयो र यो जमघटको छोटो समिक्षा गरियो । थकान र रुझाइका बाबजुद लामो समयपछि साथीहरुको यो जमघट निकै उपलब्धि मुलक रहयो सबैको निष्कर्ष यहि थियो । त्यसैले यस्तो जमघटलाई कम्तिमा पनि बर्षदिनमा एक पटक आयोजना गर्ने निर्णय गरियो । 
(२०६७ सालको पहिलो जमघट)

Thursday, August 4, 2011

फेसबुकको (कु)लत

ति भए खति हुन्छ भन्ने उखान बूढापाकाहरुले त्यसै बनाएका हैनन्। अति सर्वत्र वर्जयेत। तपाइँले दिनदिनै चलाउने फेसबुक मात्र त्यसको अपवाद हुन सक्दैन। यसको लत लागू पदार्थको लत जस्तो हानिकारक हुन सक्छ। लागू पदार्थको कुलतबाट जोगाउन पुनर्स्थापन केन्द्रहरु नेपालमा पनि धेरै ठाउँमा खोलिएका छन्। अब त्यस्तै पुनर्स्थापन केन्द्र फेसबुकको लतबाट जोगिनलाई पनि खुलेको छ।
डान पेगुइन र सियाभोस अरासटेहको पुनस्थार्पन सल्लाह केन्द्रमा तपाईँलाई स्वागत छ। उनीहरुको अनलाइन पुनर्स्थापन कार्यक्रम फेसबुकको लग लागेकाहरु प्रति लक्षित छ। हाम्रो सल्लाह मान्नुभयो भने तपाईँहरुले दुई हप्ता मै फेसबुकको प्रयोग घटाउन सक्नुहुनेछ, उनीहरु भन्छन्। यसको उद्देश्य हो तपाइँको स्वास्थ्य, काम गर्ने क्षमता वा अरु क्षमता पहिले जस्तै बनाउनू।
अनौठो कुरा, यो कार्यक्रमका संस्थापकद्वय स्वयं आफूहरुकै फेसबुक प्रयोग घटाउन लागिपरेका छन्। साउन ९ गतेदेखि मात्रै उनीहरुले यो कार्यक्रम सुरु गरेका हुन्।
सोसलटाइम्सलाई अन्तर्वार्ता दिँदै उनीहरुले भनेका छन्, फेसबुकको उपयोग स्वस्थ तरिकाले हुनुपर्छ भन्नेमा हामी विश्वस्त भयौँ। त्यसैले दुई हप्तासम्म हामीले मोबाइल होस् वा डेस्कटप वा ल्यापटप, दिनमा दुई पटकभन्दा बढी फेसबुक लग इन नगर्ने निर्णय गर्‍यौँ। हामीले हाम्रो लग इन रेकर्डलाई अनलाइनमा सार्वजनिक गर्ने निर्णय गर्‍यौँ र इच्छुक साथीहरुलाई पनि निम्त्यायौँ।
उनीहरुको यो अभियान यति लोकप्रिय भयो कि उनीहरुले आफ्नै छुट्टै डोमेन बनाए फेसएनोनाइमस डट कम। यसको होमपेजमा यो प्रि लन्च भएको घोषणा गरिएको छ।
 
  कसरी थाहा पाउने? फेसबुक अति चलाउनेहरुका लागि प्रयोग हुने शब्द हो फेसबुक एडिक्सन डिसोर्डर। चिकित्सा विज्ञानका मोटा मोटा ठेली पल्टाउनु भयो भने यो शब्द र यसका लक्षणहरु तपाइँ देख्न पाउनु हुन्न। तर पनि धेरैलाई यो लतले छोइसकेको छ। केही विज्ञहरुले विश्वका ३५ करोड मान्छे फेसबुक एडिक्सन डिसोर्डरबाट पीडित भएको हुनसक्ने बताएका छन्। यो फेसबुकको कूल सदस्य सख्याको आधा हो। तपाइँ पनि त्यसमा पर्नुहुन्छ त? तलका केही लक्षणहरु हेर्नुस्, कुनै पनि तपाइँसँग मिल्छ भने तपाईँलाई यो रोग लागेको छ।
• बिहान बिहानै उठ्ने बित्तिकै चिया वा कफी खानुभनद्या अघि तपाईँको दिन आफ्नो ल्यापटप वा मोबाइलमा फेसबुक लग इन गरेर सुरु हुन्छ?
• बिहानै, दिउँसै वा राति, शौचालयमा होस् वा बसटेम्पोका यात्रामा, कलेजमा होस् वा क्यान्टिनमा हँदा यस्तो स्टायट्स लेख्छु फेसबुकमा भनी सोच्नुहुन्छ?
• फेसबुक चलाउँदा चलाउँदै ढिला भएर गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई दिएको डेटमा ढिलो पुगेर गाली खानुभएको छ? कलेजमा ढिला पो पुग्नुभएको छ कि?
• तपाइँका फेसबुके साथीहरुलाई तपाइँ कहिले बाथरुम पस्नुभयो देखि कहिले खानुभयो, कहिले सुत्नुभयो, सब थाहा हुन्छ?
• ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड वा दाजुभाइ दिदीबहिनीसित फेसबुकबाट मात्र कुरा हुन्छ कि?
• स्टुडियो सेभेन, डिजिटल प्लस, फोटो हलिउड, फोटो कर्न्सन जस्ता महँगा फोटो स्टुडियोहरुमा फोटो खिचाएर फेसबुकको प्रोफाइल पिक्चरमा राखेर सबलाई दङ पारौँला भनेर सोच्नुभएको छ? लौ न एउटा दामी फेसबुकको प्रोफाइल पिक्चर राख्ने गरी फोटा खिचिदिनुस् भनेर क्यामेरा बोक्ने साथीभाइलाई भन्ने गर्नुभएको छ?
• फेसबुक फ्रेन्डको लिस्ट धेरै बनाउने नाममा नचिनेकाहरुलाई पनि आयड गर्नुभएको छ?
• फेसबुकमा भेटिएर अचानक हराएका साथीलाई बेपत्तासँग खोज्नुभएको छ?
• साथीसँग झगडा पर्‍यो भनेर फेसबुकको रिलेसनसिप स्टायटस चेन्ज गर्नुभएको छ?
• अफिसमा फेसबुकमा प्रतिबन्ध लगाइयो भनेर जागिर छाड्नुभएको छ? फेसबुकमा प्रतिबन्ध लगाउने कुरा अफिसमा भयो भनेर चर्को विरोध गर्नुभएको छ?
• फेसबुकबाटै कुराकानी हुने हुनाले धेरै कम बोल्न थाल्नुभएको पो छ कि?
• आँखा पो टट्टाउँछ कि धेरै फेसबुक चलाइरहेको कारण?
 
माथिका प्रश्नहरु मध्ये कम्तिमा एउटा प्रश्नको उत्तर छ वा होमा दिनुभएको भए तपाईँ पक्कै पनि फेसबुक एडिक्सन डिसोर्डरबाट पीडित हुनुहुन्छ। स्वागत छ फेसबुक लत लागेकाहरुको क्लबमा।
यदि तपाइँ हामी जस्तै फेसबुकको लग लागेका हुनुहुन्छ भने चिन्ता गर्नुपर्दैन। तपाइँको औँलालाई छिनछिनमा आराम दिने गरी चुप राखेसम्म र वास्तविक विश्वमा के भइरहेका छ भनी पनि जानकारी बेलाबेलामा लिइराख्ने गर्नुभएसम्म खासै चिन्ता गरिरहनु पर्दैन। फेसबुकको लत लागेकाहरुको सयौँ ग्रुप फेसबुकमा छन्। त्यहाँ उनीहरु आफ्ना अनुभव सुनाउँछन्। तपाइँ करोडौँमा एक हुनुभएको त हो नि।
साभार -नागरिक

Wednesday, August 3, 2011

हाम्रा धर्मग्रन्थमा यौनिकताका कुरा

डा. अरुणा उप्रेती
 
हाम्रा धार्मिक ग्रन्थहरूमा के यौन र यौनिकताको बारेमा छलफल भएको छ ? यौन सम्बन्धले के हाम्रो संस्कृतिमा स्थान पाएका छन् ? यस्ता प्रश्न अहिलेका युवा जमातमा सोध्यो भने युवा तिनले भन्लान्, 'कतै हाम्रो पवित्र धार्मिक ग्रन्थहरूमा पनि यस्ता कुरा लेखिन्छन् र ? तिनमा त मानवजीवनका सुन्दरतम पक्षहरूमात्र उल्लेख गरिएका हुन्छन् । दान, धर्म आदिका कुरामात्र त लेखिएका हुन्छन् ।' महाभारतका महिला पात्र कुन्ती र द्रौपदीको कथालाई अध्ययन गर्ने हो भने मानवजीवनको एक पक्ष यौनिकतालाई सहज रूपमा समेटिएको देखिन्छ । विवाह नभइकन नै कुन्तीबाट कर्णको जन्म भएको प्रसंगलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
कर्णको जन्मपछि कुन्तीको पाण्डुसँग विवाह भएको थियो । पाण्डुको सन्तान जन्माउन सक्ने क्षमता थिएन, तर उनलाई जसरी भए पनि सन्तान चाहिएको थियो । त्यसैले कुन्तीलाई अन्य पुरुषसँग सम्बन्ध राखेर गर्भवती बनाउन विवश गराइयो । कुनै पनि विवाहित महिला पतिबाहेक अन्य व्यक्तिसँग सम्बन्ध राखेर गर्भवती हुने इच्छा गर्दिनन्, तर कुन्तीले अलग-अलग व्यक्तिसँग सम्बन्ध राखेर बच्चा जन्माउनुपर्‍यो । यतिमात्र होइन, जुन-जुन व्यक्तिबाट संसर्ग गरेर कुन्तीको बच्चा भएका थिए, उनीहरूकै नामबाट कुन्तीका छोराहरूको नाम राखियो । युधिष्ठिरलाई धर्मराज पुत्र भनियो । अर्जुन इन्द्रबाट प्राप्त भएकाले, इन्द्रको उनीप्रति विशेष मोह भएकाले इन्द्रले त उनलाई अनेक अस्त्र नै दिएका थिए । 
"यौनिकता भनेको शारीरिक सम्बन्ध राख्ने विषयमात्र होइन । शारीरिक विकास, महिनावारी र स्वप्नदोषको बारेमा छलफल र निराकरण सबै यौनशिक्षा र यौनिकताका विषय हुन् । मानवीय वनशक्तिका सम्पूर्ण पक्षहरू यौनिकताभित्र पर्छन् ।
त्यसैगरी द्रौपदीलाई सती भनिन्छ, तर अर्कोतिर द्रौपदी त पाँच पाण्डवकी पत्नी थिइन्, कसरी उनी सती भइन् त ? त्यो बेलाको समाजले पनि द्रौपदीको यो सम्बन्धलाई त कुनै पनि हालतमा स्वीकार नगर्नुपर्ने थियो, तर द्रौपदीको अति सौन्दर्यताबाट प्रभावित भई पाण्डवहरू उनीमाथि आफ्नो अधिकार चाहन्थे । पत्नीका रूपमा उनीसँग यौनसम्बन्ध चाहन्थे । यदि द्रौपदीले अर्जुनलाई मात्र पति रोजेकी भए सायद पञ्च पाण्डव आपसमा झगडा गर्थे र आफैं नष्ट हुन्थे भन्ने कुरा कुन्तीले राम्ररी बुझेकी थिइन् । त्यसैले उनले द्रौपदीलाई पाँचै भाइसँग विवाह गर्न लगाइन् । अनि प्रत्येक पाण्डवले द्रौपदीसँग सम्बन्ध राख्न पाए । उनको यौनिकतामा पाँचै भाइ पाण्डवको नियन्त्रण भयो र उनीहरूको एकता भंग हुन पाएन । द्रौपदीको शरीरले वा अर्को शब्दमा उनीसँगको यौनसम्बन्धले सबै पाण्डवलाई एकैठाउँमा राख्न सक्यो ।
तर अहिले आएर यौन र यौनिकतालाई के-के न हो जस्तो बनाइएको छ । यसका बारेमा छलफल गर्दा समाज त खत्तम भएको छ भन्ने कुरा निस्किन्छ, अनि परिवार नियोजनका बारेमा किशोर-किशोरीलाई जानकारी दिन खोज्दा मानिसहरू भन्छन्, 'लौ यो समाज बिगार्ने कुरा भयो ।' सायद कुन्तीलाई परिवार नियोजनका बारेमा थाहा भएको भए उनले कर्णलाई जन्माएर बगाउनु पर्दैन थियो । कर्णलाई पानीमा बगाएको दुःखले कुन्तीलाई कहिल्यै छाडेन । अहिले पनि विवाह गरेपछि लामो समय गर्भवती नभएपछि भैरवको उत्तेजित लिंगको पूजा गर्ने चलन छ । अर्थात् धर्मले लिंगको पूजा गरेपछि महिला गर्भवती हुन्छिन् भनेपछि त धर्मले नै यौनलाई मानवजीवनमा कति ठूलो स्थान दिएको रहेछ भन्ने स्पष्ट हुँदैन र ?
यौन सम्बन्धको स्वतन्त्रतालाई हेर्ने हो भने व्यासको जन्म पराशर ऋषिको मत्स्यगन्धासँग सम्बन्ध भएर भएको थियो, तर त्यसले त मत्स्यगन्धालाई केही फरक परेन । उनले व्यासलाईर् जन्म दिइन् र पुनः परिवारमा नै बस्न थालिन् । जब राजा शान्तनु उनीप्रति मोहित भए र उनको विगतको कुरालाई पनि केही विचार नगरी उनलाई महारानी बनाएर भित्र्याए, सत्यवती कुमारी आमा भएर पनि उनले अपमानित भएर जीवन बिताउनुपरेन । अहिलेका युवालाई यौन, यौनिकता र यौनसम्बन्धका बारेमा बुझाउँदा यी कथाहरू सुनाएर सहजीकरण गर्न सकिन्छ कि ? किनभने यौन र यौनिकताप्रति धेरै भ्रम रहेका छन् । आत्मियता प्रेम, स्नेह आदि पनि यौनिकताका विषय हुन् भनी छलफल गर्दा धेरै किशोर-किशोरी वा ठूला व्यक्ति पनि अलमलमा पर्छन् । सूचनाको कमीले किशोरहरू 'स्वप्नदोष' भएपछि अति कमजोर भइन्छ भन्ने भ्रममा बस्छन् र उनीहरूको यो भ्रमलाई केही ठगहरूले 'व्यापार' गरेर अनेक औषधी बनाएर बेच्छन् ।
यौनिकता भनेको शारीरिक सम्बन्ध राख्ने विषयमात्र होइन । शारीरिक विकास, महिनावारी र स्वप्नदोषको बारेमा छलफल र निराकरण सबै यौनशिक्षा र यौनिकताका विषय हुन् । मानवीय वनशक्तिका सम्पूर्ण पक्षहरू यौनिकताभित्र पर्छन् । यौनिकता भनेको जीवनशक्तिको मुख्य स्रोत हो भन्ने कुरा परिवार र समाजलाई बुझाउन जरुरी भएको छ । हाम्रो देशका विभिन्न सांस्कृतिक चलनहरूले यौनिकताको महत्त्वलाई विभिन्न नृत्यहरू, रोदी घरको भेटघाट, धाननाच आदिजस्ता विभिन्न सांस्कृतिक चलनका माध्यमबाट अपनाइएको छ । यस चलनको माध्यमबाट उमेर पुगेका युवक-युवतीहरू एकअर्कासँग भेटघाट गर्छन्, मायापि्रती गाँस्छन् र अन्त्यमा विवाहको बन्धनमा बाँधिन्छन् । 

साभार: ईकान्तिपुर अनलाईन