Sunday, October 2, 2016

किन पलायन नहुने प्रेम बानियाँहरु ?

"मलाई प्रेम बानियाँ अमेरिका गएकोमा हैन रामचन्द्र पौडेलका छोरा रोजगारीका लागि विदेशिएको कुराले बढि चकित बनाएको छ । "
केहि वर्ष देखि नेपाली टेलिभिजन च्यानलमा एउटा सम्भावना बोकेको युवाको आगमन भयो । परम्परागत भन्दा भिन्न प्रस्तुति शैलिका कारण उ छोटो समयमै सबैका अगाडी चिनिन पुग्यो । तर विडम्बना त्यो सम्भावना बोकेको टेलिभिजनकर्मीलाई देशको अस्थिर राजनीतिले र यहाँको अस्तव्यस्त अवस्थाले विदेश पलायन हुन बाध्य बनायो । मैले यहाँ कुरा गरेको पत्रकार प्रेम बानियाको हो । उनीसँग मेरो सामान्य चिनजान हो । उनी मेरा घनिष्ठ मित्र होइनन तर एउटा मिडियाकर्मीकै नाताले उनी प्रति सामाजिक सञ्जालमा आएका नकरात्मक र खोक्रो राष्ट्रवादीहरुका उत्तेजक अभिव्यक्तिले मलाई केहि कुरा लेख्न मन लाग्यो । यो मेरो व्यक्तिगत धारणा हो तपाईलाई मन पर्नु पर्छ भन्ने छैन । 

एउटा समान्य परिवारबाट माथि उठेको युवाको सपना केहि वन्ने र केहि कमाउने नै हुन्छ । त्यो भन्दा ठूलो सपना कमैले देख्छन् । यस्तै सपना बोकेर विदेश पलाएन नभएको भए शेष घले अहिले यहि देशको राजनीतिक दुष्चक्रको शिकार बनेर हातमुख जोर्नकै लागि संर्घषरत हुन्थे होलान । हामी हरेक कुरालाई नकरात्मक हिसावले मात्रै हेर्छौ । मूलुक भित्र बसेर राष्ट्रवादी हुने अनि विदेश गएर रगत पसिना चुहाएर कमाएको पैसा यो मूलुकमा पठाउने हजारौ लाखौ नेपालीहरु राष्ट्रबादी नहुने यो कस्तो मापनको आधार हो । 
यो त्यहि मूलुक हो जुन मूलुकका अधिकांश नेता र मन्त्रीका सन्तानहरु विदेशमै छन । देश बनाउने ठेक्का लिएका ती नेताहरुका सन्तान यो देशमा आफनो सुरक्षित भविष्य देख्दैनन अनि धेरै जसो उत्तै पलाएन भएका छन् । जब नेताका सन्तानहरु नै आफना बाउ आमाबाट शासित भएर बस्दा आफनो भविष्य सुरक्षित देख्दैनन भने एउटा सामान्य नागरिकले राष्ट्रवादको खोक्रो नारा बोकेर यहि मूलुक भित्रै बस्नु पर्छ भन्ने सोचाई गलत हो । 
केहि समय अगाडी यहि मूलुकमा केहि गर्न भनि आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोरा यो देशमा केहि गर्न नसकिने देखेरै फेरि विदेश फर्किए । मलाई प्रेम बानियाँ अमेरिका गएकोमा हैन रामचन्द्र पौडेलका छोरा रोजगारीका लागि विदेशिएको कुराले बढि चकित बनाएको छ । जुन देशमा यो तप्काका नेताका छोरा छोरीले आफनो भविष्य देख्दैनन त्यो देशमा हामी जस्तो भुईमान्छेले आफनो दैनिक जीवन चलाउनकै लागि कत्तिको संघर्ष गर्नु पर्ला ?
नेपालमै बसेर केहि काम नगर्ने अनि फेसबुक र ट्विटरमा नेता, मन्त्रि र प्रशासन संम्यन्त्रलाई गालि गर्दैमा चरम राष्ट्रवादी भइन्छ भने मेरो भन्नु केहि छैन । त्रिभुवन विमानस्थलको प्रस्थान कक्षसम्म पुग्दा चरम राष्ट्रवादीहरु त्याहाँबाट चेक इन गरेर विमान चढ्नासाथ  देशद्रोहि हुने मापदण्ड बनाउने कथित बुज्रुकहरुलाई मेरो प्रश्न : 
  • खोक्रो राष्ट्रवादले पेट भरिन्छ ? 
  • व्यक्तिले आफनो उन्नति प्रगतिका लागि केहि गर्न चाहान्छ भने त्यो गलत हो ? 
  • २१ औ शताब्दिमा एक मूलुकबाट अर्काे मूलुकमा काम गर्न वा बस्न जानु सवैभन्दा ठूलो गल्ति हो ?

अमेरिकाले यो वर्ष पनि इडिभि खुलाएको छ । जो जसले प्रेम वानियाँ विदेशिनुलाई घोर महापाप देख्नु भएको छ । कृपया तपाई त्यो इडिभि ठाउँहरुमा गएर हेर्नुस त्याहाँ व्यापार कत्तिको चलेको छ ? कतै त्यो भिडमा तपाई आफु पनि मिसिनु भएको त छैन ? 
प्रेम वानियाँ विदेशिनुलाई यो देशमा केहि गर्छु भन्ने युवाहरुका लागि उचित वातावरण नहुनुले नै हो । हामीले त्यस्तो वातावरण तयार नर्गर्ने सरकार र नेताहरु प्रति दवाव दिदैनौ तर सुरक्षित भविष्यको खोजीमा विदेशिने युवाहरु प्रति धारे हात लगाउँदै अफूलाई कथित चरम राष्ट्रवादी बनाएका छौ । यो कति सहि हो कति गलत आफै निर्णय गर्नुस । 

No comments:

Post a Comment