Wednesday, September 28, 2016

छापा पत्रकारिताका अन्तिम दिन

डा आनन्द प्रधान

विकसित देशमा पत्रकारिता संकटमा छ, किनकि मानिस अखबार पढ्दैनन् । टेलिभिजनमा श्रोता घटिरहेका छन् । मानिस न्यु मिडिया अर्थात् सोसल मिडियामा छन् । यो अवस्थामा कति दिन चल्छन् छापा मिडिया ? 


चार वर्षअघि अमेरिकाका प्रोफेसर फिलिप मेयरले किताब लेखे ‘द भ्यानिसिङ न्युजपेपर’ । अमेरिकामा पत्रिकाको संख्या घटिरहेको र आम्दानी पनि घटिरहेको सन्दर्भमा अमेरिकामा समाचारपत्रहरूको के अवस्था होला भन्नेबारे उनले गज्जबको मूल्यांकन गरे । उनको गणितीय मूल्यांकनअनुसार अमेरिकामा अप्रिल २०४२ मा अन्तिम प्रिन्ट कपी छापिनेछ । त्यसपछि समाचारपत्र छापाका रूपमा रहनेछैनन् ।

हावर्डका प्रोफेसर अर्थशास्त्री थोमस पिकेटिकले समाजमा बढिरहेको असमानताबारे लेखेको किताब अहिले खुब चर्चामा छ । उनकी श्रीमती जुलिया केज पनि हावर्ड विश्वविद्यालयमा पढाउँछिन् र उनी पनि वरिष्ठतम अर्थशास्त्री हुन् । उनले लेखेको किताब ‘सेभिङ द जर्नालिजम’ पनि खुब चर्चामा छ । पत्रकारितालाई कसरी बचाउने भन्नेमा उनको किताब केन्द्रित छ । विकसित देशमा पत्रकारिता संकटमा छ, किनकि मानिसहरू अखबार पढ्दैनन् । टेलिभिजनमा श्रोता घटिरहेका छन् । मानिसहरू कहाँ छन् त ? निश्चय पनि उनीहरू न्यु मिडिया वा सोसल मिडियामा छन् । 
न्यु मिडियाका कारण पत्रकारितामा ठूलो चुनौती उत्पन्न भएको छ । पत्रकारिता, अखबार परम्परागत माध्यम बन्न पुगेका छन् । अब अखबार र टेलिभिजनको भविष्य के होला ? अहिले दुनियाँसँग हातमा भएको मोबाइल फोनमै सारा संसार उपलब्ध छ । बिस्तारै सबै यतैतिर सिफ्ट हुने क्रममा देखिन्छन् । मानिसहरू सबै कुरा सित्तैँमा पढिरहेका छन्, देखिरहेका छन् । जब समाचार सित्तैँमा पाइन्छ, तपाईं हाम्रो (पत्रकारको) तलबभत्ता कसले दिन्छ ? पत्रकारिता कसरी बच्ला ? यदि तपाईं पत्रकारमाथि लगानी गर्नुहुन्न भने, तलब दिनुहुन्न भने पत्रकारिता कसरी रहला ? जुलिया केजको किताब यसैमा केन्द्रित छ र पत्रकारितालाई बचाउने केही मोडेल उनले उल्लेख गरेकी छिन् । उनले उठाएको विषयबस्तु लामो छलफलको विषय हुनसक्छ । म त्यतातिर जान चाहन्न । उनले गैरनाफामुखी, सहकारी, ट्रस्टजस्ता मोडालिटी, सरकारले करमुक्त गर्नेजस्ता केही मोडालिटी प्रस्ताव गरेकी छिन् । पश्चिमा मुलुकमा उनको किताबमाथि बहस भइरहेको छ ।
दुनियाँका विकासशील देशहरू भारत, चीन, ब्राजिल, अफ्रिकामा समाचारपत्रको सर्कुलेसन तीव्र रूपमा बढिरहेको छ । विकासशील देशमा टेलिभिजन च्यानल, रेडियो स्टेसन, डिजिटल प्लेटफर्म पनि बढिरहेका छन् । यस्तो लाग्छ कि आममानिसमा अखबार पढ्ने भोक जागेको छ । भारतमा १९७७ पछि समाचारपत्रको क्षेत्रमा एक क्रान्ति आयो । समाचारपत्रको धेरै संस्करण छापिन थाले । विभिन्न भाषाका समाचारपत्र छापिए । तमिल, तेलगू, मलयालम, बंगला, हिन्दीलगायतका भाषामा अखबार आए । ७० को दशकमा अंग्रेजी अखबार शीर्ष स्थानमा थिए, आज यो परिवर्तन भएको छ । अहिले अंग्रेजी अखबार नवौँ वा दशौँ स्थानमा छ । सबैभन्दा बढी सर्कुलेसनमा विभिन्न भाषाका समाचारपत्र छन् । पाँचौँ स्थानसम्म हिन्दीका छन्, त्यसपछि तमिल, मलयालम, बंगला, मराठी भाषाका अखबार छन् । पछिल्लो आँकडाअनुसार ३२ करोड भारतीय यस्ता छन्, जो अखबार पढ्न सक्छन् तर उनीहरू खरिद गर्दैनन् । यसको मतलब जब ३२ करोड मानिसले अखबार खरिद गर्न सुरु गर्छन्, आगामी २०–२५ वर्ष समाचारपत्रको सर्कुलेसन बढिरहनेछ । तर, उनीहरूले नकिने पत्रिका कसरी चल्ने ?
यो यथार्थ हो कि अखबारको साथमा टेलिभिजन, डिजिटल प्लेटफर्म, रेडियो स्टेसनहरू छन् । प्रतिस्पर्धा निश्चय पनि बढिरहेको छ । अखबारमाथि ठूलो चुनौती थपिएको छ । दश वर्षअघि भारतमा यो ठूलो चुनौतीका रूपमा थियो । भारतमा अहिले आठ सय टेलिभिजन च्यानल छन् । यीमध्ये चार सयजति समाचार च्यानल छन् । यी विभिन्न भाषामा छन् । टेलिभिजनले सबै लाइभ देखाइरहेको छ । मानिसहरू साँझ सोफामा पल्टेर टेलिभिजन हेरिरहेका छन् भने भोलिपल्ट किन अखबार पढ्ने ? कसले पढ्ने ? अखबारलाई कसरी सान्दर्भिक बनाउने भन्नेबारे कैयौँ अखबारमा बहस भयो । र, अखबारले आफूलाई धेरै हदसम्म परिवर्तन गरे । टेलिभिजन रंगीन भएको हुँदा तस्बिरको महत्व बढ्यो । टेलिभिजन हेर्नेहरूको दिमागमा तस्बिर बनिरहेको हुन्छ । दोस्रो, नेपालको नयाँ पत्रिका दैनिककै सन्दर्भमा, तपाईंहरू हाइलाइट्स दिइरहनुभएको छ । समाचारलाई छरितो बनाउने यो चलन सान्दर्भिक छ । किनभने, अहिले समय कम छ । सर्भेमा यो पनि देखियो कि मानिस फुर्सदको समयमा अखबार पनि पढ्छन्, टेलिभिजन पनि हेर्छन्, रेडियो पनि सुन्छन्, डिजिटल प्लेटफर्ममा पनि जान्छन् र मोबाइलमा सामाजिक सञ्जालमा पनि व्यस्त हुन्छन् । यो सत्य हो कि मानिसको अखबार पढ्ने समय घटिरहेको छ ।
टेलिभिजनले सबै देखाइसकेपछि भोलिपल्ट निस्कने अखबारलाई कसरी सान्दर्भिक बनाउने ? मजस्ता पत्रकारिता पढाउनेहरूले फाइभ डब्लू वान एच भनिरहेका छौँ । अब सिक्स डब्लू आएको छ । त्यो भनेको ‘ह्वाट नेक्स्ट’ ? अब के हुन्छ ?’ टेलिभिजनमा खबर हेरिरहेका हामी भोलिपल्ट पढ्न लालायित हुन्छौँ कि घटनाक्रम अब कतातिर जाँदै छ ? साँझ प्रधानमन्त्री र कोहीबीच झगडा हुन्छ भने अब के हुन्छ भन्नेमा दैनिक अखबार केन्द्रित हुनुपर्छ, हुन्छ । अखबारले पिक्चराइज सुरु गरे, दैनिक स्टोरी सुरु गरे, हाइलाइट्स दिन सुरु गरे र अब इन्फोग्राफिक्सको पनि महत्व बढ्यो । अखबारमा ग्राफिक्स डिपार्टमेन्टको महत्व बढेर गएको छ । कन्टेन्ट कम होस्, इन्फोग्राफिक्स बढी होस् भन्ने पाठकको चाहना स्वाभाविक हो । यसका साथै गहिराइमा स्टोरी पनि हुन जरुरी छ । विश्लेषणात्मक पनि हुन जरुरी छ ।
टेलिभिजनलाई हामी भन्छौँ– बुद्धुको बाकस । यो विचारको माध्यम होइन । मिडिया पढाउनेहरू मान्दछौँ कि टेलिभिजन हेर्नेहरूको सोच्ने वा कल्पना गर्ने शक्ति कमजोर हुन्छ । तपाईं सोफा, बेड वा कुर्सीमा बसेर टेलिभिजन हेर्नुहुन्छ र त्यो यस्तो एब्जर्बिङ हुन्छ कि तपाईंलाई सोच्ने मौका उसले दिँदैन । तर, मानिस जब अखबार पढ्छन्, उनीहरू कल्पना गर्न थाल्छन् । उनीहरूलाई सोच्ने मौका मिल्छ । अखबारको तागत यही हो ।
द इन्डियन एक्सप्रेसले एक पेज सुरु ग-यो– इन्डिया एक्स्प्लेन्ड । मेन स्टोरी जस्तो जिएम (जेनेटिकली मोडिफाइड मस्टर्ड) अर्थात् सस्र्युंको तेललाई अनुमति दिनुपर्छ । धेरैलाई लाग्छ, जिएम के हो ? हाफ पेजमा एक्सप्रेसले यसको प्रविधिबारे छाप्ने गर्छ । अर्को उदाहरण दिउँ, अहिले भारत र पाकिस्तानमा बहस चलिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँगको इन्डोज रिभर ट्रिटीबारे बैठक बोलाए । धेरै पाठकलाई थाहा छैन कि १९६० मा भएको त्यो ट्रिटीमा के छ ? इन्डियन एक्सप्रेसले सो पेजमा यस्ता विषयमा पृष्ठभूमिसहितको सामग्री छाप्ने गर्छ । यो सान्दर्भिक किन पनि हुन्छ भने पाठकले यसबारे विस्तृतमा पढ्न चाहन्छन् । जो विद्यार्थी, शिक्षक, पढ्नेलेख्ने मानिसको रुचि हो यो । 
अहिले उल्टो पिरामिड शैलीमा समाचार लेख्ने प्रचलन बदलिएको छ । सबैभन्दा मुख्य विषय सुरुमा लेख्ने, त्यसपछि अरू लेख्ने विषयको लेखकीय शैलीलाई भारतीय अखबारले परिवर्तन गरेका छन् । अंग्रेजी, हिन्दी वा अन्य भाषाका अखबारले परिष्कृत गरेका छन् । अब फिचराइज्ड शैलीमा लेख्न सुरु भएको छ । टेलिभिजन, रेडियोमा आइसकेको उही खबरलाई पृथक शैलीमा अखबारले प्रस्तुत गरिरहेका छन् । यो महत्वपूर्ण विषय हो र अखबारले अब यो शैली अपनाउनु आवश्यक छ । अब के हुन्छजस्ता शैली र गहिराइको रिपोर्टिङमा जानुको विकल्प छैन । 
मैले थाहा पाएँ कि तपाईंहरूको अखबार (नयाँ पत्रिका)को फिक्स्ड डिजाइन वा लेआउट हुँदैन, स्टोरीका आधारमा परिवर्तन भइरहन्छ र हरेक दिन फरक–फरक हुन्छ । हो, अब विनाइनोभेसन कुनै मिडिया चल्नेवाला छैन । तपाईंहरूको हात पाठकको स्नायुमा पुग्नुपर्छ । अहिले पाठकले के सोचिरहेका छन् ? सोचाइमा के परिवर्तन आइरहेको छ ? यसलाई केन्द्रमा राख्नैपर्छ । र, यो पनि सोच्नुपर्छ कि आजको पाठकको हातमा विभिन्न विकल्प छन् । म सानो छँदा एक–दुई अखबार थिए, विकल्प थिएनन् । टेन्डर सूचनासमेत पढ्न छुटाइँदैनथ्यो । किनभने, पढ्ने समय काफी थियो, विकल्प थिएन । अहिले यो अवस्था छैन । एक आँकडाअनुसार ६५ प्रतिशत अमेरिकी पहिलो खबर सामाजिक सञ्जालमार्फत थाहा पाउँछन् । यसको मलतव ६५ प्रतिशत मानिस अखबारबाट त्यता सिफ्ट भइसके । त्यसकारण, सामाजिक सञ्जालमा पनि अखबारको उपस्थिति जरुरी छ । तपाईंको खबर, वेबसाइटमा आओस्, डिजिटल प्लेटफर्ममा आओस् । भारतका सबै अखबारमा सामाजिक सञ्जालको टिम राखिएको छ । डाटा पत्रकारिताको जबर्जस्त आवश्यकता बढेको छ, अनुसन्धानमूलक रिपोर्टिङको आवश्यकता बढिरहेको छ । फिचरको महत्व झन् बढेको छ । अब अखबारले यही तरिकाबाट मात्रै आफ्नो महत्व स्थापित गर्न सक्नेछन् । 
साभार: नयाँ पत्रिका दैनिक 

No comments:

Post a Comment