Wednesday, April 5, 2017

बर्सेनि १० प्रतिशतले बढ्दै लागुऔषध दुर्व्यसनी : यसरी फस्दैछ 'प्लस टु' पुस्ता

काठमाडौं : नेपालमा हरेक वर्ष १० प्रतिशतभन्दा बढीले लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ। सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता प्लस टु अध्ययनरत विद्यार्थी  र होस्टलमा बस्ने छात्रछात्रा रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार करिब ३१ प्रतिशत प्रयोगकर्ता प्लस टु मा पढ्ने विद्यार्थी हुन्। धेरैजसोमा स्कुलको पढाइ सकेर क्याम्पस जाने समयमा लागुऔषध प्रयोग गर्ने गरेको देखिएको ब्युरोका निमित्त प्रमुख एसएसपी धीरु बस्न्यातले बताए। 'होस्टलमा बस्ने युवाले पनि लागुऔषध लिने गरेको पाइएको छ,' उनले भने।
ब्युरोले लागुऔषध प्रयोगलाई नियन्त्रण गर्न होस्टेल सञ्चालकहरुसँग पनि छलफल गरिसकेको छ। सर्वेक्षण अनुसार ७१ प्रतिशत मानिस साथीभाइ मार्फत लागुऔषध सेवनमा फस्ने गरेका छन्। त्यस्तै ३८ प्रतिशत प्रयोगकर्ताले मेडिकलहलमा बेचिने लागुऔषध सेवन गर्ने गरेको देखिएको छ। सामाजिक सञ्जालको माध्यमबाट पनि लागुऔषध प्रयोग गर्नेहरु बढिरहेका छन्।