Tuesday, June 11, 2013

म त फष्ट डिभिजनमा पास भएछु !

 सिम्बोल नं ०२९९५४७ "ए " अर्थात म 




सेकेण्ड डिभिजनमा नम्बर नअटेर थर्ड डिभिजन तिर हालिदिएकी मैले थर्ड डिभिजनको लिष्ट हेरें । त्याहाँ पनि मेरो सिम्बोल नंम्बर थिएन । 




भोली तेरो एसएलसिको रिजल्ट आउँदै छ रे ! माइजुले भन्नु भा'को, जनक शिक्षामा काम गर्ने विनिता माइजुको हवाला दिदै मंमिले भन्नु भो । अघिल्लो दिन दिउँसो यो कुरा सुनेदेखि परिक्षाको रिजल्ट नहेरुनजेल मलाई कम्ति छटपटी चलेन । म औसत विद्यार्थी, पढाइ र मेरो कहिल्यै ठ्याक नमिल्ने । त्यसैले नतिजा जहिले पनि मैले सोचेभन्दा फरक आउथ्यो  । तर विद्यालयका अन्य परिक्षामा भन्दा एसएलसिको परिक्षामा मैले जीन्दगीमा नगरेको मेहनत गरेको थिए । मैले पढेको देखेर हजुर आमा पनि छक्क पर्नु हुन्थ्यो । हुन पनि परिक्षा अवधिभर दिनमा मुस्किलले एक घण्टाको फुर्सद र रातमा त्यस्तै ३ देखि ४ घण्टासम्मको सुताई हुन्थ्यो । नत्र ओछ्यानको विचमा पंलेटी कसेर म बस्थे अनि छरपष्ट कितावले मलाई घेर्थे । यति मेहनत गरेर पढेको नतिजा भोलि हुँदैछ भन्ने सुने पछि मलाई छटपटि नचल्ने  त कुरै थिएन । कतिखेर विहान होला र नतिज हेर्न पाइएला ? म विहानको प्रतिक्षामा अत्यन्तै व्यग्र थिए । 

नढाँटी भन्ने हो भने भने स्थिीती यस्तै भाथ्यो ....
२४ घण्टाको दिन हो । तर मलाई यो २४ घण्टा ४२ घण्टा झै लागिराथ्यो । नतिजा कस्तो आउला ? कतै विग्रियो भने के गर्ने ? वा आफूले भने झै नतिजा आएन भने के गर्ने यस्तै यस्तै कुरा खेलीरहयो मनमा । यस्तै छट्पटाहटवीच नियमित झै विहान भयो । हत्पत मुख धोएर गोरखापत्र किन्न नयाँ बानेश्वर तिर निस्किए । अहिलेको जस्तो मोवाइल र इन्टरनेटको सुविधा थिएन । त्यसैले गोरखापत्रले मात्रै एसएलसिको नतिजा प्रकाशित गर्थ्यो  । तर स्टेशनरीमा पत्रिका आइपुगेकै थिएन । नयाँ बानेश्वरबाट पत्रिका पसल चाहार्दै म अनामनगरसम्म पुगें तर पनि कतै पत्रिका पाइएन । त्यसैले म करिव ७ बजे तिर गोरखापत्र किन्न न्यूरोडमा रहेको पत्रिकाकै कार्यालय मै पुगें । 
न्यूरोड गेट देखि नै विद्यार्थी र अभिभावकको चहलपहल देखिन्थ्यो । पत्रिकाको कार्यालय अगाडी त भिड कति हो कति । प्रहरीले भूगोलपार्क भित्रसम्म पनि मान्छेलाई छिर्न दिएनन् । निकै संघर्ष गरेर ९ बजे तिर ५ रुपैयाँको गोरखापत्रलाई ५० रुपैयाँ तिरेर हात पारियो । अव पालो आयो नतिजा हेर्ने । यसो पत्रिका पल्टाएको मान्छेहरुले घेरिहाले, पत्रिका नै च्यातौला झै गर्न थाले । मेरो पालो पत्रिका नै नहेरी पोकोपारेर खल्तिमा कोचे र न्यूरोड गेट तिर लागे । 
 म त फष्ट डिभिजनमा पास भएछु । 
अघिसम्म गोरखापत्र किन्न त्यत्रो हानाथाप गरेको मलाई अब त्यो पत्रिका पल्टाएर नतिजा हेर्न निकै गाह्रो भइरहेको थियो । म टुडिखेल छिरे, विहान विहानै मान्छेहरु शारिरीक व्यायममा व्यस्त थिए । बडो डराइ डराई सेकेण्ड डिभिजनको लिष्ट हेरे, तर त्यसमा मेरो सिम्बोल नं थिएन । यहाँ थुप्रै साथीहरुको नम्बर भने भेटे । मुटुको धड्कन उच्च हुनथाल्यो । अब थर्ड डिभिजनको लिष्ट हेर्ने कि फष्ट डिभिजनको म दोधारमा परे । सेकेण्ड डिभिजनमा नम्बर नअटेर थर्ड डिभिजन तिर हालिदिएकी मैले थर्ड डिभिजनको लिष्ट हेरें । त्याहाँ पनि मेरो सिम्बोल नंम्बर थिएन । हंसले ठाउं छोड्यो, मन निकै अत्तालियो । अब बाँकि फष्ट डिभिजनको लिष्ट मात्रै थियो । म औसतको विद्यार्थी तर परिक्षामा गरेको मेहनत अनुसार कतै फष्ट डिभिजनमा त पास भइएन ? विस्तारै लिष्ट पल्टाए । फष्ट ब्वाई र अरु दुई जना साथीसँगै मेरो सिम्बोल नं ०२९९५४७ ए फष्ट डिभिजनको लिष्टमा रहेछ । शुरुमा त विश्वास लागेन । प्रवेश पत्र भूईमा राखें र एक एक गरि नम्बर रुजु गरें । हो रै छ म त फष्ट डिभिजनमा पास भएछु । 
मनमा खपि नसक्नुको उन्माद छायो । मैले आफूमा यतिको खुसिको अनुभूति कहिल्यै गेरको थिइन । युद्ध जितेको सैनिकले युद्ध मैदानबाट विजयोउत्सब मनाउँदै फिरे झै म टुडिखेलबाट झण्डै २० मिनेट मै हिडरे मिनभवन स्थित कोठामा पुगे । मेरो अनुहार हेरेरै सबैले परिक्षाको नतिजा राम्रो भएको अड्कल निकाल्नु भयो । घरमा लड्डु आइपुग्यो । नतिजाले खुसि त ल्यायो । तर यो खुसिले मलाई अर्को  तनाव थप्यो । अब कुन कलेजमा के विषय लिएर  पढ्ने ? आखिर नतिजा सोचे भन्दा राम्रो आएको छ । म फेरी छट्पटिन थालें । 
आइरन गेट पार गरेको त्यो दिनको ब्यग्रताले  १४ बर्ष पार गरिसके छ । 

No comments:

Post a Comment