Friday, November 4, 2016

सप्तरंगी टीका र सयपत्रीको मालामा फरमुल्लाह मन्सुर

नेपाली कांग्रेसका नेता एवम् सांसद फरमुल्लाह मन्सुर जात र धर्मका आधारमा मुस्लिम समुदायभित्र पर्छन्। उनी आफ्नो धर्म संस्कृति र परम्पराप्रति जति प्रतिबद्ध छन् त्योभन्दा ज्यादा उनको विश्वास सामाजिक सद्भाव, भाइचारा र एकतामा छ।
त्यसैले त उनले यसपटक नेपाली हिन्दुको दोस्रो ठूलो चाड तिहारमा अरु हिन्दु धर्म र परम्परामा विश्वास गर्ने नेपालीले सरह भाइटीकाको दिन सप्तरंगी टिका र सयपत्री फूलको माला लगाए। एउटा फरक सम्प्रदायको व्यक्तिले यसरी अर्को सम्प्रदायको धर्म, संस्कृति र परम्परा अनुसार भाइटिका र माला लगाएर आफ्नो फेसबुकमा फोटो राखेको देख्ने जोकोहीलाई एकपटक उनको विषयमा सोच्न बाध्य बनाउँछ।
भाइटिका र माला लगाएको फोटोको विषयमा सेतोपाटीसँग कुरा गर्दै नेता मन्सुरले भने, ‘विगतमा जस्तै यस पटकपनि मैले सांसद बहिनी मधु शाहीको हातबाट टिका र माला लगाएर तिहार मनाएँ।’ बारा जिल्लाबाट निर्वाचित सांसद तथा कांग्रेसका नेता मन्सुरका अनुसार, उनले २०५६ सालदेखि शाहीसँग तिहारको टिका लगाउँदै आएका छन्।
जन्मको आधारमा एउटा मुस्लिम धर्म र सँस्कृति मान्ने परिवारमा जन्मिए पनि ब्राह्मण समुदायमा जन्मेका कांग्रेस नेता बिपी कोइरालाको सिद्धान्त, विचार र आदर्शबाट प्रभावित भएर उनकै मार्गनिर्देशनमा आफू विद्यार्थीकालदेखि नै मुलुकमा प्रजातन्त्र र नागरिक अधिकारका लागि ज्यानको बाजी लगाएर हिँडेको उनले बताए। घर परिवारका सदस्यले आफूलाई बाल्यकालदेखि नै आफ्नो धर्म, संस्कृति र परम्पराअनुसारको व्यवहार, जीवनशैली र पेशा अपनाउन सुझाव दिएपनि उनी त्यो सबैकुरा छाडेर विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा लागे।
रगतको नाता भन्दा विचारको नाता नजिक र बलियो हुन्छ भन्ने बिपी कोइरालाको सिद्धान्तको पक्षपाती भएको दाबी गर्दै मन्सुरले भने, ‘आपसी सम्बन्ध र अपनत्व कुनै जात, धर्म र सम्प्रदायभन्दा माथि हुन्छ र त मैले तिहारमा भाइटिका लगाउँछु।’
‘सामाजिक परिवर्तनका लागि समाजसेवामा लागेका राजनीतिकर्मीले नै आफ्ना गतिविधि र व्यवहार मार्फत समाजमा आपसी एकता, सदभाव र भाइचारा भावनालाई बृद्धि गर्दै बलियो बनाउनु पर्छ,’ उनले भने। बारा जिल्लामा अरु धर्म, संस्कृति र रितिरिवाज मान्ने थुप्रै साथीभाइ भएको बताउने नेता मन्सुरको बाराकै प्रभात गौतमको परिवारसँग अझै बढी गहिरो र आत्मीय पारिवारिक सम्बन्ध भएको बताउँछन्।
‘बारामा मेरो धेरै साथी र शुभचिन्तक अरु जात र धर्मका छन् तर उनीहरुसँग मेरो सम्बन्ध दाजुभाइकै जस्तो छ,’ उनले भने।तिहारमा भाइटिका र माला लगाएपनि आफूले दशैंमा हिन्दुधर्म परम्परा मान्ने साथीभाइले जस्तै टिका नलगाए पनि भेटघाट र शुभकामना दिने गरेको उनले बताए। त्यसैगरी हिन्दु महिलाहरुको चाड तीजमा भने उनले बाराका सिमरा, पथलैया लगायतका क्षेत्रमा बस्ने आफू निकटका साथीभाइ र तिनका परिवारलाई गच्छेअनुसार लुगाफाटा उपहार दिने गरेको उनले बताए।
बिद्यार्थी जीवनकालको स्मरण गर्दै मन्सुरले भने, ‘आजभन्दा ४० वर्ष पहिले जिल्लामा हुने राजनीतिक र सामाजिक जमघटमा अरु सम्प्रदायका मानिसहरुले म मुस्लिम समुदायको व्यक्ति भएको कारण मैले छोएको चिया, खाना खाँदैनथे। समाजमा विस्तारै बढ्दै गएको शिक्षा र सामाजिक जनचेताले छुवाछुतको भेदभाव हट्दै गयो र मानिसबीचको आपसी सम्बन्ध र व्यवहारमा ठूलो परिवर्तन आयो।’
पछिल्लो समयमा उनलाई जिल्लामा हिन्दु समुदायका मानिसहरुले आयोजना गर्ने महायज्ञमा पनि प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने गरेको उनले बताउँदै भने, ‘यस्ता धार्मिक कार्यक्रममा म अतिथिको रुपमा सहभागी हुने मात्रै होइन आफूले सकेको सहयोग पनि गर्छु।’
साभार http://setopati.com/raajneeti/56091/

No comments:

Post a Comment