Wednesday, August 3, 2011

हाम्रा धर्मग्रन्थमा यौनिकताका कुरा

डा. अरुणा उप्रेती
 
हाम्रा धार्मिक ग्रन्थहरूमा के यौन र यौनिकताको बारेमा छलफल भएको छ ? यौन सम्बन्धले के हाम्रो संस्कृतिमा स्थान पाएका छन् ? यस्ता प्रश्न अहिलेका युवा जमातमा सोध्यो भने युवा तिनले भन्लान्, 'कतै हाम्रो पवित्र धार्मिक ग्रन्थहरूमा पनि यस्ता कुरा लेखिन्छन् र ? तिनमा त मानवजीवनका सुन्दरतम पक्षहरूमात्र उल्लेख गरिएका हुन्छन् । दान, धर्म आदिका कुरामात्र त लेखिएका हुन्छन् ।' महाभारतका महिला पात्र कुन्ती र द्रौपदीको कथालाई अध्ययन गर्ने हो भने मानवजीवनको एक पक्ष यौनिकतालाई सहज रूपमा समेटिएको देखिन्छ । विवाह नभइकन नै कुन्तीबाट कर्णको जन्म भएको प्रसंगलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
कर्णको जन्मपछि कुन्तीको पाण्डुसँग विवाह भएको थियो । पाण्डुको सन्तान जन्माउन सक्ने क्षमता थिएन, तर उनलाई जसरी भए पनि सन्तान चाहिएको थियो । त्यसैले कुन्तीलाई अन्य पुरुषसँग सम्बन्ध राखेर गर्भवती बनाउन विवश गराइयो । कुनै पनि विवाहित महिला पतिबाहेक अन्य व्यक्तिसँग सम्बन्ध राखेर गर्भवती हुने इच्छा गर्दिनन्, तर कुन्तीले अलग-अलग व्यक्तिसँग सम्बन्ध राखेर बच्चा जन्माउनुपर्‍यो । यतिमात्र होइन, जुन-जुन व्यक्तिबाट संसर्ग गरेर कुन्तीको बच्चा भएका थिए, उनीहरूकै नामबाट कुन्तीका छोराहरूको नाम राखियो । युधिष्ठिरलाई धर्मराज पुत्र भनियो । अर्जुन इन्द्रबाट प्राप्त भएकाले, इन्द्रको उनीप्रति विशेष मोह भएकाले इन्द्रले त उनलाई अनेक अस्त्र नै दिएका थिए । 
"यौनिकता भनेको शारीरिक सम्बन्ध राख्ने विषयमात्र होइन । शारीरिक विकास, महिनावारी र स्वप्नदोषको बारेमा छलफल र निराकरण सबै यौनशिक्षा र यौनिकताका विषय हुन् । मानवीय वनशक्तिका सम्पूर्ण पक्षहरू यौनिकताभित्र पर्छन् ।
त्यसैगरी द्रौपदीलाई सती भनिन्छ, तर अर्कोतिर द्रौपदी त पाँच पाण्डवकी पत्नी थिइन्, कसरी उनी सती भइन् त ? त्यो बेलाको समाजले पनि द्रौपदीको यो सम्बन्धलाई त कुनै पनि हालतमा स्वीकार नगर्नुपर्ने थियो, तर द्रौपदीको अति सौन्दर्यताबाट प्रभावित भई पाण्डवहरू उनीमाथि आफ्नो अधिकार चाहन्थे । पत्नीका रूपमा उनीसँग यौनसम्बन्ध चाहन्थे । यदि द्रौपदीले अर्जुनलाई मात्र पति रोजेकी भए सायद पञ्च पाण्डव आपसमा झगडा गर्थे र आफैं नष्ट हुन्थे भन्ने कुरा कुन्तीले राम्ररी बुझेकी थिइन् । त्यसैले उनले द्रौपदीलाई पाँचै भाइसँग विवाह गर्न लगाइन् । अनि प्रत्येक पाण्डवले द्रौपदीसँग सम्बन्ध राख्न पाए । उनको यौनिकतामा पाँचै भाइ पाण्डवको नियन्त्रण भयो र उनीहरूको एकता भंग हुन पाएन । द्रौपदीको शरीरले वा अर्को शब्दमा उनीसँगको यौनसम्बन्धले सबै पाण्डवलाई एकैठाउँमा राख्न सक्यो ।
तर अहिले आएर यौन र यौनिकतालाई के-के न हो जस्तो बनाइएको छ । यसका बारेमा छलफल गर्दा समाज त खत्तम भएको छ भन्ने कुरा निस्किन्छ, अनि परिवार नियोजनका बारेमा किशोर-किशोरीलाई जानकारी दिन खोज्दा मानिसहरू भन्छन्, 'लौ यो समाज बिगार्ने कुरा भयो ।' सायद कुन्तीलाई परिवार नियोजनका बारेमा थाहा भएको भए उनले कर्णलाई जन्माएर बगाउनु पर्दैन थियो । कर्णलाई पानीमा बगाएको दुःखले कुन्तीलाई कहिल्यै छाडेन । अहिले पनि विवाह गरेपछि लामो समय गर्भवती नभएपछि भैरवको उत्तेजित लिंगको पूजा गर्ने चलन छ । अर्थात् धर्मले लिंगको पूजा गरेपछि महिला गर्भवती हुन्छिन् भनेपछि त धर्मले नै यौनलाई मानवजीवनमा कति ठूलो स्थान दिएको रहेछ भन्ने स्पष्ट हुँदैन र ?
यौन सम्बन्धको स्वतन्त्रतालाई हेर्ने हो भने व्यासको जन्म पराशर ऋषिको मत्स्यगन्धासँग सम्बन्ध भएर भएको थियो, तर त्यसले त मत्स्यगन्धालाई केही फरक परेन । उनले व्यासलाईर् जन्म दिइन् र पुनः परिवारमा नै बस्न थालिन् । जब राजा शान्तनु उनीप्रति मोहित भए र उनको विगतको कुरालाई पनि केही विचार नगरी उनलाई महारानी बनाएर भित्र्याए, सत्यवती कुमारी आमा भएर पनि उनले अपमानित भएर जीवन बिताउनुपरेन । अहिलेका युवालाई यौन, यौनिकता र यौनसम्बन्धका बारेमा बुझाउँदा यी कथाहरू सुनाएर सहजीकरण गर्न सकिन्छ कि ? किनभने यौन र यौनिकताप्रति धेरै भ्रम रहेका छन् । आत्मियता प्रेम, स्नेह आदि पनि यौनिकताका विषय हुन् भनी छलफल गर्दा धेरै किशोर-किशोरी वा ठूला व्यक्ति पनि अलमलमा पर्छन् । सूचनाको कमीले किशोरहरू 'स्वप्नदोष' भएपछि अति कमजोर भइन्छ भन्ने भ्रममा बस्छन् र उनीहरूको यो भ्रमलाई केही ठगहरूले 'व्यापार' गरेर अनेक औषधी बनाएर बेच्छन् ।
यौनिकता भनेको शारीरिक सम्बन्ध राख्ने विषयमात्र होइन । शारीरिक विकास, महिनावारी र स्वप्नदोषको बारेमा छलफल र निराकरण सबै यौनशिक्षा र यौनिकताका विषय हुन् । मानवीय वनशक्तिका सम्पूर्ण पक्षहरू यौनिकताभित्र पर्छन् । यौनिकता भनेको जीवनशक्तिको मुख्य स्रोत हो भन्ने कुरा परिवार र समाजलाई बुझाउन जरुरी भएको छ । हाम्रो देशका विभिन्न सांस्कृतिक चलनहरूले यौनिकताको महत्त्वलाई विभिन्न नृत्यहरू, रोदी घरको भेटघाट, धाननाच आदिजस्ता विभिन्न सांस्कृतिक चलनका माध्यमबाट अपनाइएको छ । यस चलनको माध्यमबाट उमेर पुगेका युवक-युवतीहरू एकअर्कासँग भेटघाट गर्छन्, मायापि्रती गाँस्छन् र अन्त्यमा विवाहको बन्धनमा बाँधिन्छन् । 

साभार: ईकान्तिपुर अनलाईन

No comments:

Post a Comment