Wednesday, July 27, 2011

मासुभात र भोका पेट

रवीन्द्र मिश्र
मासुभातको स्वादको सपना देख्दै दिनभरि भोकै बस्न बाध्य केटाकेटी हाम्रो देशमा प्रशस्तै छन्। अर्कातिर हरेक दिन बेस्सरी मासु कोचेर खाने र जाँड धोकेर खाएको जति छाद्ने वर्ग पनि छ हामीकहाँ । 

'दाइ, काठमाडौँ गौशालाको तिलगंगामा एउटा 'केटाकेटी निःशुल्क विद्यालय' छ। त्यहाँ काठमाडौँबाहिरबाट आएका गरिब श्रमिकका २ सय ५० बालबालिका निःशुल्क पढ्दारहेछन्। स्कुलमा सरहरूले 'बिहान के खाएर आयौ?' भनी सोध्दा बडो अफ्ठेरो मानेर कसैकसैले 'मासुभात खाएर आ'को सर' भन्दारहेछन्। 
वास्तविकताचाहिँ के रहेछ भने, उनीहरूमध्ये कतिपय भोकै स्कुल आउँदारहेछन्। विद्यार्थीले भोक छोप्न त्यसरी ढाँटिरहेको थाहा पाएपछि स्कुलले उनीहरूका लागि जसोतसो दिउँसोको खाना व्यवस्था गर्न थालेछ। स्कुललाई चाहिँ खानाखर्च जुटाउन साह्रै गाह्रो परिरहेको छ। त्यसैले हाम्रो संस्था अनुभूति इन्टरनेसनलले त्यस स्कुललाई केही पैसा संकलन गर्न एउटा कार्यक्रम आयोजना गर्दैछ। त्यसमा तपाईँ पनि आइदिनुपर्‍यो भनेर फोन गरेको।'
शिशिर खनाल र स्वस्तिका श्रेष्ठ दम्पती मैले भेटेका मध्ये अत्यन्त प्रेरणादायी दुई युवा हुन्। अमेरिकामा राम्रो शिक्षा पाएका उनीहरू सम्पन्न पारिवारिक पृष्ठभूमि नभए पनि नेपालमै केही गर्नुपर्छ भनेर केही वर्षअघि फर्केका थिए। त्यही भावनाको परिणामस्वरूप उनीहरूले त्यस विद्यालयलाई सहयोग गर्ने तत्परता देखाएका थिए। मलाई सहयोग गर्न आग्रह गर्दै फोन गर्ने शिशिर खनाललाई 'तपाईँहरूले के गरेर पैसा संकलन गर्न लागेको?' भनी प्रश्न गर्दा उनले बढो रचनात्मक र रोचक योजना सुनाए।
'हामी यहाँका राम्रा­राम्रा कलेजमा पढ्ने करिब दुई सय विद्यार्थीलाई भोक कस्तो हुन्छ भन्ने थाहा दिन काठमाडौँको व्यापारिक केन्द्र सिभिल मलमा जम्मा गराएर एक दिनभरि भौकै बस्न आग्रह गर्दैछौँ। उनीहरूले भोक अभियानमा भाग लिनुअघि साथीभाइ, परिवार र नातागोताबाट 'केटाकेटी निःशुल्क विद्यालय' का केटाकटीका खानाका लागि कम्तीमा एक हजार रुपियाँ उठाउनुपर्नेछ। गगन थापा, तपाईँ र अन्य केहीले ती युवालाई प्रेरणाका केही शब्द बोलिदिनुहोला भन्ने हाम्रो अपेक्षा हो।'समयले भ्याएसम्म त्यस्तो सत्कार्यमा सहभागी नहुने कुरै थिएन। असार ३२ गते शनिबार म कार्यक्रममा सहभागी हुन सिभिल मल पुगेँ। त्यहाँको वातावरण देखेर द्रविभूत भएँ। त्यहाँ दुई सय होइन, झन्डै पाँच सय छात्रछात्रा भोकविरूद्ध टीसर्ट लगाएर नाचगान गर्दै, सिभिल मलमा किनमेल गर्न आउनेसँग चन्दा उठाइरहेका थिए। खनाल र श्रेष्ठ दम्पतीले दुई लाख रुपियाँ उठाउने लक्ष्य राखेका थिए। उनीहरूले त्यो दिन कार्यक्रम आयोजनाको खर्च कटाएर चार लाखभन्दा बढी रकम जम्मा गरे। स्पष्ट छ, उनीहरूकै प्रयासका कारण भोकै स्कुल आउन बाध्य कैयन् केटाकटीले अब महनौँसम्म मासुभात खाएको कल्पना गर्दै दिनभरि भोको बस्नुपर्ने छैन।
मासुभातको स्वादको सपना देख्दै दिनभरि भोकै बस्न बाध्य केटाकेटी हाम्रो देशमा प्रशस्तै छन्। अर्कातिर हरेक दिन बेस्सरी मासु कोचेर खाने र जाँड धोकेर खाएको जति छाद्ने वर्ग पनि छ हामीकहाँ। सम्पन्न समुदायको चेतनाको दायरा अधिकांश स्थितिमा आफ्नो वर्गको सीमा नाघेर पर जान नसक्ने रहेछ। तिनको चेतनामा मानवीय संवेदनाका तन्तुहरू जागृत नभएसम्म हाम्रो जस्ता समाजको रूपान्तरण सम्भव हुँदैन। त्यसैले बारम्बार राम्रा कामबारे चर्चा गरिरहन जरुरी छ, जसले गर्दा, क्षमता भएर पनि आफैँ र आफ्नै व्यापार व्यवसायमा सीमित सम्पन्न समुदायलाई या त राम्रो काम गर्न प्रेरणा मिलोस् वा तिनलाई 'म त साँच्चिकै स्वार्थी रहेछु' भन्ने महसुस होस्।
खनाल र श्रेष्ठको चर्चा गर्दैगर्दा यस स्तम्भकारलाई बुढानिलकण्ठमा पढेका र अमेरिकाको राम्रै विश्वविद्यालयमा स्नातक गरेका अर्का एक युवा सुभाष घिमिरेको सम्झना भइरहेको छ। उनले आमा सरस्वती घिमिरेको स्मृतिमा आफ्नो गाउँ गोर्खाको आरूपोखरीमा तल्ला तप्काका द्वन्द्वपीडित बालबालिकाका लागि आफ्नै अग्रसरतामा सरस्वती शान्ति विद्यालय निर्माण गरेका छन्। उनलाई त्यस विद्यालयका लागि अझै केही सहयोगको खाँचो छ। उनी भोको पेट हुँदाहुँदै 'इज्जत' बचाउन 'मासुभात खाएँ' भन्न बाध्य बालबालिकाको जीवन परिवर्तन गर्न प्रतिबद्ध छन्। खनाल, श्रेष्ठ र घिमिरेले पनि संसारका अधिकांश मानिसले जस्तै आ­आफूले अँगालेको पेसामा इमानदारीपूर्वक काम गरे। त्यसैबाट समाजको सेवा भइहाल्छ भन्ने सहज मान्यता बोकेका भए न त 'केटाकेटी निःशुल्क विद्यालय' का बालबालिकाले महिनौँका लागि तातो दालभात खान पाउने व्यवस्था हुन्थ्यो, न गोर्खाको विकट आरूपोखरी गाउँमा स्कुल जाने पाउने अत्यन्त न्यून सम्भावनाका विपन्न बालबालिकाका लागि विद्यालय बन्थ्यो।
केही समयअघिको कुरा हो, पत्रकार कनकमणि दीक्षितले स्थापना गरेको स्पाइनल (मेरूदण्ड) इन्जुरी पुनर्स्थापना केन्द्रका बिरामीको उपचारका लागि आर्थिक संकट पर्‍यो। दीक्षितले चाहेको खण्डमा दिनदिनै मासुभात खानसक्ने धन र अलि ठूलो मन पनि भएका काठमाडौँबासी सय जनालाई प्रतिव्यक्ति दस हजारको टिकट राखेर छोरा इलम दीक्षितद्वारा निर्देशित र अभिनित एउटा नाटकको विशेष प्रस्तुति हेर्न आमन्त्रण गरे। उनले त्यस प्रयासबाट झन्डै दस लाख संकलन गरे। यसले गर्दा दालभात खान पनि धौधौ पर्ने र त्यसमा पनि झन् मेरूदण्डमा चोट लागेका कारण हिँडडुल गर्न नसक्ने कैयन् बिरामीले उपचार पाउने भए। यस्ता काम गर्ने अन्य कैयन् नेपाली छन् जसको चर्चा समय र सन्दर्भ पर्दा अनि जानकारी पाउँदा हामीजस्ता पत्रकारले गर्नु समाजका लागि हितकारी हुन्छ। 
शिशिर खनाल, स्वस्तिका श्रेष्ठ र सुवास घिमिरेजस्ताले निश्चय पनि 'नेपालको स्थिति त्यस्तो खराब छ, फर्किएर के गर्ने?' भन्नेहरूलाई एक पल्ट सोच्न अवश्य बाध्य तुल्याउनेछन्। ती तीनै जना कुनै सम्पन्न पारिवारिक पृष्ठभूमिका युवा होइनन्। उनीहरू सबै अमेरिकामा राम्रै काम गरेर बस्ने क्षमता भएका व्यक्ति हुन्। पत्रकार दीक्षितका हकमा कुरा गर्दा उनी पनि अमेरिकाबाट राष्ट्रसंघको जागिर छाडेर युवा अवस्थामै नेपाल फर्किएका हुन्। धेरैले उनको जति धन भए हामी पनि फर्किन्थ्यौँ' भन्लान् तर वास्तविकता के हो भने उनीजस्ता सम्पन्नहरू नफर्किएका धेरै उदाहरण छन्। जो फर्किएका छन्, तीमध्ये धेरै आफ्नै व्यापार र वृत्ति विकासमा लिन भएर अनि त्यसैबाट समाजलाई ठूलो योगदान पुर्‍याएको छु भन्ने भ्रम पालेर बसेका छन्। त्यस्ता दिगभ्रमितहरूलाई प्रश्न तेर्स्याउँदै दीक्षितले जस्तै उनीहरू पनि एकएक वटा अस्पताल स्थापना गर्ने अग्रसरता लिन किन सक्दैनन्? त्यसरी अग्रसरता लिँदा सहयोगी हात धेरै भेटिँदा रहेछन् भन्ने प्रशस्त उदाहरण छन्। तर, गर्नसक्ने क्षमता भएका धेरैजसो, सरकारले यसो गरिदिएन र उसो गरिदिएन भनेर गुनासोमात्रै गरेर बस्छन्। कामचाहिँ कि त गर्दैगर्दैनन्, गरिहाले 'भएर पनि गरेन' भन्ने लाज छोप्न सांकेतिक मात्र गर्छन्। त्यस्ता मानिसको बाहुल्य हुँदा यो समाज राम्रैराम्रा खोक्रा कुरा अनि नराम्रैनराम्रा वास्तविकताले आक्रान्त बन्नु स्वाभाविक हो। तर, पनि राम्रा कामको चर्चा सञ्चारमाध्यममा हुँदै जाने हो भने, काम नगर्ने, कुरामात्र गर्ने ठूलाठालुलाई स्वतः लाज हुन्छ र केही गर्न नैतिक दबाब पर्छ। 
यथार्थ के हो भने, सबै मानिसबाट माथि उल्लेख गरिएजत्तिकै स्तरमा समाजप्रतिको दायित्व निर्वाह होस् भन्ने अपेक्षा गर्न सकिँदैन। सबै सक्षम मानिसले जेजति सम्भव छ, त्यति अवश्य गर्न सक्छन्। त्यो अपेक्षा गर्नु अस्वाभाविक हुँदैन किनभने हामी सामाजिक प्राणी हौँ र हामी सबै सुसंस्कृत र विकसित समाज हेर्न चाहन्छौँ। त्यसका लागि अलि सक्नेले अलि बढी गर्नुपर्ने हुन्छ। उदाहरणका लागि काठमाडौँको प्रतिष्ठित 'भोजन गृह' का मालिक भरत बस्नेतले हरेक महिना निर्धनहरूको विद्यालय भनेर चिनिने समता स्कुललाई तीस हजार रुपियाँ सहयोग गर्ने गरेको यस स्तम्भकारलाई थाहा छ। मैले थाहा नपाएका अन्य धेरै त्यस्ता सहयोग भइरहेका होलान्। अधिकांश नेपालीले त्यति ठूलो रकम खर्च गर्न सक्दैनन्। तर, वियर खानेहरूले महिनाको एक बोतल बियर कम खान वा चिया खानेहरूले महिनाको आठ­दस कप चिया कम खान भने अवश्य सक्छन्। सक्नेहरूले त्यति गरेर, महिनाको सय रुपियाँमात्र नसक्नेका लागि जम्मा गरिदिने हो भने पनि ती सय रुपियाँहरू जम्मा हुँदा यस देशका कैयन् बालबालिकाकाले सहजै एक छाक तातो दालभात खान पाउने छन्। त्यति गर्दा सय रुपियाँ दिनेको जीवनमा तात्विक असर पर्दैन। बरु उसलाई ठूलो सन्तुष्टिको अनुभव भने अवश्य हुन्छ। त्यही सोचबाट प्रेरित भएर हुनुपर्छ, मासिक तलब त्यति धेरै नहुने अर्धसरकारी जागिर भए पनि हालसालै नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालको अग्रसरता तथा प्राधिकरणको एकमात्र कर्मचारी युनियनको सक्रियतामा झन्डै तीस कर्मचारीले महिनाको सय रुपियाँ जम्मा गर्ने अभियान थालेका छन्। निर्देशक खनाल भन्छ्न्, 'महिनाको सय रुपियाँ ठूलो रकम नहोला तर कर्पोरेट सोसल रेस्पोन्सिबिलटी (सीएसआर) को अवधारणालाई कर्पोरेट' अर्थात् संस्थागत जिम्मेवारीमात्र नसम्झिएर त्यसलाई 'सिटिजन्स' अर्थात् नागरिकको सामाजिक जिम्मेवारीका रूपमा पनि बुझ्नुपर्छ भन्ने हाम्रो मान्यता हो। हामी जे गर्दैछौँ, त्यो सारा सरकारी र अर्धसरकारी कार्यालयमा सुरु हुने हो भने त्यो नागरिक जिम्मेवारीका हकमा क्रान्ति हुनेछ। त्यसबाट दसौँ हजार असहाय बालबालिकाको गाँसबासको प्रबन्ध हुनसक्छ। हामी अधिकांश कर्मचारी आफ्नो खाजा र चिया खर्चबाट त्यति बचाउन नसक्ने छैनौँ। आफूले गर्नसक्ने काम किन नगर्ने भन्ने हाम्रो सोच हो।'
आखिर कुरा धनभन्दा बढी मनको रहेछ। कुरा, बिहान केही नखाईकन स्कुल आउने अनि सरले 'आज घरमा के खायौ?' भनेर सोध्दा भोको पेटको पीडा र भोको हुनुको लाज लुकाउँदै 'मासुभात खाएँ सर' भनेर जबाफ दिने बालबालिकाका संवेदनाले हाम्रो संवेदनालाई कुन हदसम्म स्पर्श गर्दोरहेछ भन्नेमा भर पर्दोरहेछ। जिन्दगीको के भरोसा! हामी पनि केही गरिहाल्ने कि?
साभार: नागरिक दैनिक

No comments:

Post a Comment