Wednesday, July 20, 2011

अमेरिकी मिडिया र नयाँ प्रविधि

बालकृष्ण बस्नेत
 दैनिक पत्रिकाले पहिले र अहिले पाठकमाझ पुर्‍याउने विषयवस्तु, शैली र प्रस्तुतिमा भिन्नता छ । इन्टरनेटको सञ्जाल र आर्थिक मन्दीले भने उतार-चढाव ल्याएको छ । त्यसले अनुसन्धानमूलक पत्रकारिताको विकासमा समेत ठेस पुर्‍याएको छ ।
 वृत्तचित्र निर्माता आन्ड्रेउ रोसीले अमेरिकाको एक लोकपि्रय दैनिक पत्रिकालाई आधार बनाई एउटा वृत्तचित्र निर्माण गरेका छन्- 'पेजवन ः इनसाइड द न्युयोर्क टाइम्स ।' एउटा पत्रिकालाई मुख्य विषयवस्तु बनाइए पनि कथावस्तुले भने पूरै अमेरिकी छापामाध्यमका चुनौतीलाई प्रतिनिधित्व गरेको छ । खासगरी इन्टरनेटमार्फत भइरहेको समाचार क्रान्तिले कसरी त्यहाँको दैनिक छापामाध्यमलाई धरापमा पार्दैछ भन्ने सन्देश त्यसमा छ । दैनिक पत्रिकामाथि परेको संकट विश्व सञ्चार जगतलाई बुझाउने गतिलो माध्यम हो यो ।  अनुसन्धानमूलक संवाददाता र सम्पादकहरू (आईआरई) को वाषिर्क भेलाका क्रममा जुनको दोस्रो साता फ्लोरिडा राज्यको ओरलान्डोमा उक्त वृत्तचित्र देखाइएको थियो । जहाँ अमेरिकाका छापा, विद्युतीय, अनलाइन सबै माध्यमका अग्रज पत्रकारहरू भेला भएका थिए । तीनदिने उक्त सम्मेलनमा इन्टरनेसनल भिजिटर्स लिडरसिप प्रोगाम -आईभीएलपी) अन्तर्गत अमेरिका पुगेका विभिन्न २८ देशका पत्रकारहरू पनि सहभागी थिए । इन्टरनेटको सहज पहुँच भइनसकेको नेपालजस्तो मुलुकबाट सहभागी मेरो मनमा भने विश्वप्रसिद्ध ठूला पत्रिकाले भोग्नुपरेको चुनौती देख्दा ठूलो कौतुहल उब्जेको थियो ।  आईआरई सम्मेलनमा छलफलका लागि सञ्चार क्षेत्रका दर्जनौं विषयहरू तोकिएका थिए । तर दुई/तीनवटामा मात्र सबैको ध्यान केन्दि्रत भएको थियो । पहिलो, अमेरिकी छापामाध्यम र अनुसन्धानमूलक पत्रकारिताको अवस्था । दोस्रो, सञ्चारमा नयाँ प्रविधिले ल्याएको क्रान्ति र अर्कोचाहिँ विश्वमा तरंग ल्याएको विकिलिक्सको खुलासा र त्यसमाथि अमेरिकी सञ्चारमाध्यमको दृष्टिकोण ।      सम्मेलन र अन्य अन्तरक्रियामा विकिलिक्सको खुलासा, पत्रकार आचारसंहिता, अनुसन्धानको तरिकाबारे पर्याप्त छलफल भए । विकिलिक्सले खुलासा गरेको गोप्य सूचनाहरू के सबै सत्य थिए ? कसरी सार्वजनिक भयो ? के त्यो अनुसन्धान पत्रकारिता हो ? त्यसले अमेरिकी रक्षा प्रणालीमा कस्तो प्रभाव पर्‍यो ? त्यसलाई अमेरिकी सञ्चारमाध्यमले कसरी प्रस्तुत गरे ? जस्ता प्रश्नहरू कार्यक्रमभर ओइरिएका थिए । जवाफ करिब-करिब एकै थियो- 'सञ्चारमाध्यमका लागि यो एक प्रारम्भिक जानकारी थियो । अनुसन्धानका लागि त्यो एक आधार हुनसक्थ्यो ।'  एकातिर इन्टरनेटको तीव्र विकास र अर्कोतिर आर्थिक मन्दीले दैनिक छापामाध्यममा सिधा असर परेको पत्रकारहरूले सुनाए । यद्यपि छापाको अस्तित्व जोगाउन विभिन्न तहमा भइरहेका प्रयास र विकल्पहरूबारे पनि खुला छलफल भएको थियो । सबै पुस्तामा पुगेको इन्टरनेटको पहुँच, वेभ सूचनाको बढ्दो लगाव, अनलाइनको प्रभावकारिता र मोबाइलका आकर्षक संस्करणहरू वास्तवमा दैनिक पत्रिकाका लागि टाउको दुखाइ नै बनेका छन् । विज्ञापनदाताको ध्यान पनि क्रमशः इन्टरनेट प्रविधितिरै गएपछि ठूला दैनिक पत्रिकाहरूमा असर परेको हो । केही वर्षयता त्यस्ता सञ्चार माध्यमहरूमा लगानी  र आय घट्दै जाँदा धेरैले जागिरबाट हात धुनुपरेको र पत्रकारिता पेसा परिवर्तन गर्न बाध्य हुनुपरेको तीतो पनि पत्रकारहरूले सुनाए ।  'यसले हामीलाई पुनरावलोकन गरी अघि बढ्ने अवसरसमेत दिएको छ', द न्युयोर्क टाइम्सका इन्भेस्टिगेटिभ एडिटर म्याथ्यु प्रुडीले सुनाए ।  वासिङटन डीसीस्थित अमेरिकी सञ्चार संग्रह 'न्युजियम' मा राखिएको तथ्यांकअनुसार हरेक १० मध्ये ६ जना अमेरिकीले समाचारका लागि इन्टरनेटको प्रयोग गर्छन् । हरेक ४ जनामा एकले मोबाइलबाट समाचार थाहा पाउने गर्छन् । अबको १० वर्षमा अधिकांशले मोबाइल प्रविधिमार्फत नै समाचार खोज्छन् । त्यसो भए ठूला दैनिक पत्रिकाको बाँच्ने आधार के त ? वासिङटन पोष्टका पत्रकार जेफ लिन भन्छन्- 'एउटा प्रस्तुतिमा फरकपन र अर्को नयाँ प्रविधितर्फको यात्रा ।'  अमेरिकाभरि करिब २ हजार दैनिक पत्रिका प्रकाशित हुन्छन् । मुख्य पत्रिकाहरू प्रायः सबैमा अनुसन्धानमूलक पत्रकारिताको लागि बेग्लै ब्युरो हुन्छ । जहाँ शाखा सम्पादकको नेतृत्वमा बढीमा १५ जनासम्म पत्रकार हुन्छन् । 'यो संख्या घट्दै गएको हो', वासिङटन पोष्टका इन्भेस्टिगेटिभ ब्युरो उपप्रमुखसमेत रहेका लिन भन्छन्- 'तर अनुसन्धानमूलक पत्रकारिता नै छापा जोगाउने प्रमुख हतियार हुन् ।'  अमेरिकी पत्रकारिताको अनुसन्धान गर्दै आएको संस्था 'प्रोजेक्ट अफ एक्सेलेन्स इन जर्नालिजम'को तथ्यांकमा तीन वर्षयता करिब २० हजार छापामाध्यमका पत्रकारहरू विस्थापित भएका छन् । उनीहरूमध्ये धेरै विश्वविद्यालयमा पढाउने, गैरसरकारी संस्था र अन्य पेसामा जागिर खान थालेका छन् । केहीचाहिँ पत्रकारितामै अनुसन्धानमूलक काममा संलग्न छन् । उक्त संस्थाका निर्देशक टम रोसेन्सियलले पत्रिकाको विज्ञापनदर अहिले ४८ प्रतिशतले घटेको र त्यो पैसा गुगल, क्रेगलिष्ट, ग्रुपनजस्ता अनलाइन प्रविधितर्फ छरिएको बताए ।   प्रुडीका अनुसार, दैनिक पत्रिकाहरूले पहिले र अहिले पाठकमाझ पुर्‍याउने विषयवस्तु, शैली र प्रस्तुतिमा भिन्नता छ । तर आर्थिक मन्दीले अनुसन्धानमूलक पत्रकारिताको विकासमा कहीँ न कहीँ प्रभाव पारेको छ । विषयवस्तुलाई विस्तृत रूपमा पस्कने, तथ्ययुक्त र पूर्ण बनाउने, निरन्तर फलोअप गर्ने शैली ठूला दैनिक पत्रिकाहरूले अपनाएका छन् । वासिङटन पोष्ट, न्युयोर्क टाइम्स, वाल स्टि्रट जर्नल, युएसए टुडेजस्ता दैनिक पत्रिकाको पहिलो पृष्ठमा कसले फरक समाचार दिन्छ भन्ने प्रतिस्पर्धा हुन्छ । हरेक राज्यबाट प्रकाशित भइरहेका दैनिक पत्रिकामा समेत त्यो प्रतिस्पर्धा छ । राष्ट्रपतिका अभिव्यक्तिदेखि सिटीका मेयरका गतिविधिसम्मलाई अमेरिकी जनताले इन्टरनेट सञ्जालमार्फत केही छिनमै जानकारी लिइसकेका हुन्छन् ।  प्रायः व्यक्तिको हात-हातमा आइफोन, ब्ल्याक बेरी र अन्य सुविधायुक्त मोबाइल फोन देखिन्छ । आइप्याडको प्रयोग बढ्दैछ । घर र कार्यालयहरूमा जहींसुकै इन्टरनेट सुविधा छ । सार्वजनिक यातायातमा समेत इन्टरनेट चलाउन सक्ने सुविधाले पि्रन्ट मिडिया नथिचोस् पनि किन ? सन् १९७० देखि फष्टाएको अमेरिकी  छापामाध्यमले एउटा साख भने जोगाएकै रहेछन् । अझै पनि ठूला राष्ट्रिय एजेन्डा तय गर्नचाहिँ छापामाध्यमकै भर पर्नुपर्ने रहेछ ।  'अनलाइन प्रविधिले तत्कालको तिर्खामात्र मेटाउँछन्', लिनको अनुभव छ- 'एजेन्डा तय गर्ने र पूर्ण अनुसन्धानमूलक समाचारको मजा त पेपरले मात्र दिँदै आएका छन् ।' प्रतिस्पर्धी बजारमा बाँचिराख्न दैनिक पत्रिकाहरूले 'मोबाइल प्रविधि'लाई पनि अपनाउने गरेका छन् । केहीको 'आइप्याड एडिसन' छ । विद्यार्थी र युवा पुस्ताले रुचाएपछि त्यस्तो संस्करण बढ्दै गएको छ ।  छापाको संकट टार्ने प्रयासस्वरूप पत्रकारिता सम्बद्ध विभिन्न अनुसन्धान केन्द्रसमेत खुलेका छन् । ठूला विश्वविद्यालयमा आबद्ध भई अनुभवी पत्रकारहरूले त्यसलाई सञ्चालन गरेका छन् । त्यहीमध्ये एक हो, बोष्टन युनिभर्सिटीको 'न्यु इङल्यान्ड सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ ।' लामो समयदेखि छापामाध्यममा अनुसन्धानमूलक समाचारको अनुभव बटुलेका जोइ बर्गेन्टिनो त्यसका प्रमुख छन् । 'म मेरो पत्रकारिताको करियरमै रमाउन चाहन्छु', उनी भन्छन्- 'अहिलेको चुनौतीकै बीच कसरी छापाको प्रभावकारितालाई बचाउन सकिन्छ भन्ने खोजीमै हामी लागेका छौं ।'  यही सेरोफेरोमा घुमेको वृत्तचित्रमा प्रमुख पात्र न्युयोर्क टाइम्सकै स्तम्भकार डेभिड कार छन् । पत्रिकालाई अमेरिकी नयाँ पुस्ता, विभिन्न समुदाय, टाइम्सकै पूर्वसहकर्मीले कसरी बुझ्छन् ? न्युजरूम भित्रको काम कसरी भएको छ ? पत्रिकाले कस्तो प्रतिक्रिया पाएको छ भन्नेसमेत रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । 'जतिसुकै संकट होस्', त्यसको सार छ- 'अन्य माध्यमबाट नपाइने सन्तुष्टि पत्रिकामा छ ।'

No comments:

Post a Comment