Sunday, February 20, 2011

महानगरको पार्कमा जोडीलाई स्वागत 'आर्थिक अभावले प्रेम बगैंचा बनाउन सकिएन'

जितेन्द्र साह
काठमाडौं, फाल्गुन ७ - जोडीका लागि खुसीको खबर । डेटिङका लागि पशुपति वा स्वयम्भूमा बन्देज लगाइएपछि काठमाडौं महानगरपालिकाले सभ्य प्रेम गर्न महानगरका पार्क खुला रहेको जनाएको छ । महानगरपालिकाको वातावरण विभाग प्रमुख शान्ताराम पोखरेलले जोडीहरूलाई धार्मिक र मर्यादित प्रेम प्रदर्शन गर्न महानगरका खुला पार्कमा आउने निम्तो दिएका हुन् । 'गरिब प्रेमीहरूले भावना साटासाट गर्न हाम्रा पार्कहरू गए हुन्छ, त्यहाँ कसैले लखेट्दैन,' उनले शुक्रबार कान्तिपुरसँग भने । पोखरेलले महानगरपालिकाको बालाजु बाइस धारा पार्क, रत्नपार्क, शंख पार्क र सहिद पार्कमा प्रेमजोडीलाई स्वागत भएको बताए । उनले लगानीकर्ता नभेटिएर 'प्रेम बगैंचा' निर्माण गर्न नसकिएको बताए । 'प्रायोजनकर्ताको अझै खोजी गरिरहेका छौं,' उनले भने । 
पशुपति क्षेत्र विकास कोषले दुई सातामा अमर्यादित ढंगले प्रेम प्रदर्शन गर्ने जोडीलाई लखेट्ने अभियान जारी राख्ने बताएको छ । सशस्त्र प्रहरी बल र कोषको संयुक्त टोलीले बिहीबार फेला पारेका ८ जोडीमध्ये ५ लाई र शुक्रबार १५ जोडीमध्ये १० लाई जनही २ सय जरिवाना गरेको छ ।  कोषले सोमबारदेखि शुक्रबारसम्म पाँच दिनको अवधिमा एक सय दुई जोडीलाई जरिवाना तिराउने र चेतावनी दिएको छ । 
पन्ध्र दिनको अभियान पूरा भएपछि यसको असरबारे अध्यन गर्ने कोषका सदस्यसचिव सुशील नाहाटाले जानकारी दिए । स्वायत्त संस्था भएकाले कोषलाई आफ्नो क्षेत्र व्यवस्थित गर्न जरिवाना तोक्ने अधिकार रहेको दाबी गरे । कोषको कार्यसम्पादन समितिको बैठकमा विधिवत् प्रस्ताव राखेर पारित गरिएको हुनाले कुनै पनि कानुनले यसलाई अवैध ठहर गर्न नसक्ने उनले बताए । नियन्त्रणमा लिइने अधिकांश जोडीमा पढेलेखेका हुने गरेको र उनीहरूले चुप लागी रसिद कटाएर दुई सय रुपैयाँ जरिवाना तिरेर जान्छन् ।
व्यक्तिगत र पारिवारिक जीवनको गोपनीयता भंग हुने जोडीकै आग्रहअनुरूप तस्बिर खिचेर राख्ने काम बन्द गरिएको उनले बताए । नाहाटाले भने, 'तस्बिरको दुरुपयोग नहोस् भनेर खटाइएको टोलीलाई दिएका दुई क्यामेरा फिर्ता लिइएको छ ।' कोषलेझैं स्वयम्भू प्रहरी प्रभागलेसमेत धार्मिक आस्थामा खलल पुग्ने गतिविधि हुन नदिन भन्दै स्वयम्भूको मन्दिर र जंगल क्षेत्रबाट जोडीलाई लखेट्न छाडेको छैन ।
'जोडीहरूले सीमा नाघेर गर्ने गतिविधिले आवागमनमा बाधा पुर्‍याउनुका साथै असुरक्षालाई समेत बढाएको थियो,' प्रभागका निरीक्षक कुवेर चन्दले भने, 'अपि्रय घटना हुन नदिनलाई पनि सतर्कता अपनाइएको हो, यो जोडीहरूकै पनि हितमा हो ।' दुई वर्षअघि जंगलभित्र केही जोडी लुटिएको र गुण्डाहरूले बदनाम गर्ने धम्की दिंदै केही युवतीमाथि बलात्कार प्रयास भएको प्रभागले जनाएको छ ।
समाजशास्त्री तथा अधिवक्ता चन्द्रकान्त ज्ञवालीले मन्दिर क्षेत्रका सांकेतिक टुँडालले धर्म र संस्कृतिमा पनि प्रेमको अस्तित्व रहेको मात्र बताउन खोजेको बताए । 'त्यसले धर्मको नाममा अपराध गर्न भनेको होइन,' ज्ञवालीले भने ।
उनका अनुसार सीमा नाघेर गरिने क्रियाकलाप कानुनी दायरामा पर्ने हुनाले यो केही सार्वजनिक अपराधमा पर्छ । सहरीकरण र भूमण्डलीकरणले प्रेम गर्नुलाई प्रतिष्ठा र पहिचानको विषय बनाएको ज्ञवालीले बताए । 'अरूलाई देखाउन र हीनताबोधबाट बच्न पनि केटा र केटी साथी बनाउने चलन छ,' उनले भने, 'प्रेम गर्नुबाट कसैलाई वञ्चित गरिनुपर्छ भन्न खोजेको होइन तर नैतिकतामा ताकेर गरिने
प्रदर्शन र गलत बुझाइले यसलाई कमजोर बनाउँछ ।' सरकारले खुलापनलाई प्रोत्साहित गर्न नहुने एवं सजग भएर कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने उनले बताए । 
प्रकाशित मिति: २०६७ फाल्गुन ७

No comments:

Post a Comment