Sunday, February 20, 2011

त्यो अविस्मरणीय साँझ


दिनेश वाग्ले/सुरज कुवर
काठमाडौ, फाल्गुन ८ - प्रख्यात अमेरिकी रक गायक बब सेगरको नेपाली राजधानीप्रति समर्पित गीत 'आई थिङ्क आईएम गोईङ टू क्याटमान्डु' -लाग्छ म काठमान्डु जाँदै छु/साँच्चै म त्यहीँ जाँदै छु/क्या..क्या..क्या..क्याटमान्डु) गाएपछि स्टेजमा आफ्नो परिचय दिएका ब्रायन एडम्सले केही गीत गाएपछि मिलेको विश्राममा आफू काठमान्डु आउन पाएकोमा 'बिछट्टै' खुसी व्यक्त गरे ।
Photo by : Suman Luitel
'नेपालमा आएर सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने पहिलो पश्चिमा गायक हुन पाउँदा म बिछट्टै गौरवान्वित छु,' एडम्सले भने । यो नै पश्चिमा संगीतप्रेमीहरू नेपालीहरूका लागि अन्तिम कार्यक्रम भने नहुने पनि उनले प्रस्ट पारे । 'आशा छ, आजको यो कन्सर्ट तपाईंहरूसामु प्रस्तुत हुने अबका थुप्रै (पश्चिमा) सांगीतिक कार्यक्रमहरूमध्येको पहिलो हुनेछ,' उनले भने ।
आफ्ना गीत र प्रस्तुतीहरूमार्फत दर्शकहरूलाई जुरुक्कै उचालेका ब्रायनले काठमान्डुकी एउटी 'भाग्यमानी' युवतीलाई चाहिँ स्टेजमा आफ्ना हातैले उचाले । पुरानो बानेश्वरकी वृन्दा सिंहले स्टेजमै गएर ब्रायनसँगै 'बेबी ह्वेन यु आर गन आई रियलाइज आई एम इन लभ' -पि्रय, तिमी गएपछि मैले आफू प्रेममा परेको महसुस गरेँ) गीत गाइन् ।
'प्लिज फर्गिभ मी' (मलाई माफ गरिदेऊ, म तिमीलाई माया नगरी रहन सक्दिनँ) गीत गाएपछि स्टेजबाट हराएका ब्रायन लगत्तै एउटा प्रस्तावसहित देखा परे । 'कन्सर्टको यो त्यस्तो भाग हो जहाँ म सही पनि हुनसक्छु, गतल पनि ठहरिन सक्छु,' ब्रायनले भने, 'तपाईंहरूमध्ये एकजनालाई स्टेजमा बोलाएर 'बेबी ह्वेन यु आर गन' सँगै गाउन चाहन्छु ।' अनि उनले हात उठाएका दर्शकहरूलाई 'पक्का हो ? सबै शब्दहरू आउँछ ? हैन भने स्टेजबाट धकेल्छु है' भन्दै आश्वासन लिन खोजे । एक जना विदेशी त फलामे बारै नाघेर स्टेजतिर दौडिए । तर उनलाई प्रहरीहरूले समातेर दर्शकदीर्घातिर फ्यालिदिए । प्रहरीले त्यसो गरिरहँदा ब्रायन छ फिटको स्टेजमा उभिएर दर्शकको आश्वासन लिनै व्यस्त थिए । केही क्ष्ाणमै उनले 'लु, त्यो गुलाबी टीसर्ट लगाउने केटी आऊ' भन्दै एउटीलाई बोलाए ।
अनि त हत्तपत्त खडा गरिएको भर्‍याङ चढेर मैदानकी वृन्दा फुत्तै स्टेजमा उक्लिइन् । आत्मविश्वासले पूर्ण रूपमा भरिएकी जस्ती देखिने वृन्दाले नडराई, हाँसीहाँसी ब्रायनका केही प्रश्नको उत्तर दिइन् । जस्तो ः  तिम्रो घर कहाँ हो ? काठमान्डुमा चाहिँ कहा हो ? तिमी के गछ्र्यौ ?
'ब्याङ्कमा काम गर्छु,' ब्याङ्क अफ काठमान्डुकी २७ वर्षे कर्मचारीले चिच्याउँदै भनिन्, 'ब्याङ्कर हुँ म । आई विल रक ।' (तपाईंसँगै गाएर म रमाइलो गर्छु ।)
गीत गाएपछि आफूलाई ग्वाम्लाङ्ग अँगालो हालेकी वृन्दालाई गितार बोकिरहेका ब्रायनले जुरुक्क उचाले । चार साथीहरूसँग रंगशाला पुगेकी वृन्दालाई आफ्नो तस्बिर छापिएका पाँच वटा टीसर्ट दिएपछि ब्रायनले नेपाली युवतीको प्रस्तुतिको प्रशंसा गरे ।
'मैले त्यसरी ब्रायनसँगै गाउन पाउँला भन्ने आशा गरेकी थिएँ,' ब्रायनले दिएको सेतो टीसर्ट (काला उनले साथीहरूलाई दिइन्) लगाएकी वृन्दाले नपत्यारिलो ढंगमा कान्तिपुरसँग भनिन् । ब्रायनका सबै गीत र 'प्लिज फर्गिभ मी' विशेष रूपमा मन पराउने वृन्दाले छ कक्षामा पढ्दादेखि उनका गीत सुन्न थालेको बताइन् । इलाइट कोएड स्कुलमा पढेर काठमाडौं विश्वविद्यालयबाट एमबीए र त्रिभुवनबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी युवतीले ब्रायनसँग गाएर 'नेपालको नाम राखेको महसुस गरिरहेको' कान्तिपुरलाई बताइन् ।
साँझ पौने आठ बजे स्टेजमा उत्रेर गाउन थालेका गायकले लगातार अढाई घन्टा प्रेम, सम्बन्ध र जीवनबारेका गीतहरू गाए । थुप्रै गीतहरूमा ब्रायनलाई सँगै गाएर साथ दिएका दर्शकहरूले चम्किला मोबाइल फोन देखाउँदै हात हल्लाउँदा रंगशालाको छाता नभएको दर्शक दीर्घा ताराहरूले भरिएको हल्लिएको आकाश जस्तो देखिएको थियो । त्यो दृश्यले गायकको ध्यान विशेष तानेको थियो । कार्यक्रमको अन्त्यमा गितारको साटो हाते क्यामेरा लिएर स्टेजमा उभिएका गायकले दर्शकहरूलाई भने, 'लौ म फिल्म खिच्दै छु । तपाईंहरूको पूर्ण सहयोग चाहिन्छ । मोबाइल फोनहरू अँठ्याएर हात हल्लाउनुहोला । म नेपाल यस्तो छ भनेर विश्वलाई देखाउन चाहन्छु ।'
ब्रायनको त्यो पछिल्लो वाक्यमा बुझ्नेले दुइटा अर्थ पाउन सक्थे । एक, उनले नेपाली दर्शकको छवि सौम्य पाए । अर्को, ती सबै मोबाइल फोन दैनिक चौध घन्टा जाने बिजुली बल्लबल्ल आएको बेला चार्ज गरिएका थिए जसले नेपालको वास्तविकता झल्काउँथे ।
नेपाली श्रोतामाझ विशेष रूपमा पि्रय 'समर अफ सिक्स्िटनाइन' (उनान्सत्तरी सालको त्यो ग्रीष्म) गाएपछि दर्शकले ठूलो स्वरमा 'वान्स मोर' भने । एउटा क्ष्ाण स्टेजको बायाँपट्ट िदौडिएर आएका ब्रायनले स्टेजमै ढेपिएर उभिएका केही पत्रकार, फोटोग्राफर र आयोजकहरूलाई आफूले बजाइरहेको गितार छुन दिएका थिए । त्यस्तै, अर्को लोकपि्रय गीत 'लेट्स मेक अ नाइट टु रिमेम्बर' को एउटा पूरै वाक्य दर्शकहरूले एकै स्वरमा गाउँदा पूरै रंगशाला गुञ्जायमान भएको थियो । एकपटक ब्रायनले पूर्णकारको चन्द्रमा देखाउँदै भने, 'तपाईंहरूले चन्द्रमा देख्नुभएको छ ? क्यानाडामा हामी यस्तो चन्द्रमा देख्दा के गर्छौं, तपाईंहरूलाई थाहा छ ?' लगत्तै उनले लामो स्वरमा 'ऊऊऊ' गर्दा मायालाग्दो कुकुर कराएको आवाज निकाले जसले दर्शकमा उनीप्रति थप भावनाको सिर्जना गरायो ।
स्टेजमा आउनुअघि रंगशालामै सोल्टी होटलबाट ल्याइएको खाना खाएका ब्रायनले त्रिभुवन विमानस्थलमा आफूलाई गरिएको स्वागतबाट खुसी भएको प्रस्ट पारेका छन् । 'एअरपोर्टमा भव्य स्वागत' भन्दै एउटा तस्बिर उनले सामाजिक संजाल वेबसाइट ट्वीटरमा प्रकाशित गरेका छन् । विमानस्थलबाट प्रहरी स्कर्टिङमा सोझै सोल्टी गएका एडम्स त्यहाँ केही समय आराम गरेर रंगशाला पुगेका थिए ।
निजी विमान बिग्रेपछि ढाकाबाट डेढ घन्टा ढिलो विमान बंगलादेशको प्लेनमा आएका एडम्सलाई स्वागत गर्नेहरू झुक्किए । आयोजकले स्वागतका लागि निम्तो नदिए पनि उत्साहित भै खाँदा बोकेर विमानस्थलको भीआईपी कक्ष पुगेका कर्मचारी र प्रहरीले ब्रायनलाई नभई उनका सहयोगीको शिरमा माला र खादा हालेका थिए । आयोजकका अनुसार, ब्यान्ड सदस्यलगायतको भीडको बिचमा आउँदै गरेका बेला कर्मचारी र प्रहरीले अघिल्तिर खाली हात हिँडिरहेका सहयोगीलाई खादा पहिर्‍याएका थिए । कालो ह्याट लगाएका र झोला बोकेका ब्रायनपछिल्तिर थिए । स्वागत अर्कैले पाएपछि ब्यान्ड सदस्यहरूबीच हाँसो चलेको थियो ।
आयोजकको निम्तो नपाई विमानस्थलभित्र उच्च प्रहरीका परिवार र छोरीहरू विमानस्थलको सुरक्षा हेर्ने डीआईजी रमेशविक्रम शाहका साथ अध्यागनमै पुगेका थिए । अध्यागनमा केही बेरको भिसा प्रक्रियाको काम भैरहँदा प्रहरीका छोरीहरू र पत्नीले ब्रायनसँग फोटो सेसन गरेका थिए । विमानस्थलबाट बाहिरिँदै गर्दा ब्रायनको तस्बिर खिच्न सञ्चारकर्मीबाहेक ट्याक्सी चालक  र पाहुना लिन पुगेका होटलका कर्मचारीले पनि उत्साहित हँुदै खिचेका थिए ।
उनलाई विमानस्थलबाट आयोजकले सानो जापानी कार कम्पनी मित्सुवोकाको हातले बुनिएको र सन् ५० को दशकमा बेलायतमा लोकपि्रय मोडलमा आधारित गाडीमा सोल्टी पुर्‍याएका थिए । ब्रायनको सवारीमा उक्त कार प्रयोग गरी शनिबारैदेखि नेपाली बजारमा ल्याइएको सेल्सबेरी मोटरका सुशील श्रेष्ठले बताए । गाडीलाई कन्सर्ट आयोजक ओडिसी नेपालका निर्देशक सीमान्त गुरुङले हाँकेर सोल्टीसम्म पुर्‍याएका थिए । ब्रायनको सुरक्षामा डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले बताएको छ । 
प्रकाशित मिति: २०६७ फाल्गुन ८ 

No comments:

Post a Comment