Sunday, February 20, 2011

ब्रायनसित झुम्यो काठमाडौँ

काठमाडौं, फागुन ८ (नागरिक)– विश्वविख्यात गायक ब्रायन एडम्सले आफ्नो प्रस्तुतिसँगै नेपाल अब सम्पूर्ण संगीतकर्मीहरूका निम्ति खुला भएको घोषणा गरेका छन्। 'मैले थाहा पाएसम्म पहिलो पटक यहाँ यस्तो कन्सर्ट आयोजना भएको हो,' दर्शकको निरन्तर तालीबीच उनले शनिबार भने, 'र, अब विश्वास गर्छु, यससँगै विश्वभरका रक गायकहरूको प्रस्तुतिले निरन्तरता पाउनेछ।' 
सरल शब्दबाटै गम्भीर भाव दिने गीतका कारण गैर अंग्रेजीभाषी माझ सर्वाधीक चर्चित ब्रायन नब्बेको दशकमा विश्वकै सबैभन्दा मन पराइएका गायकमध्ये थिए। यी ५१ वर्षे क्यानेडेली गायकको बेग्लै स्वाद बोकेको 'हस्की' स्वर नक्कल गरेर गाउनेहरू लगभग सबैजसो मुलुकमा भेटिने गर्छन्। अहिले पनि उत्तिकै लोकप्रिय उनका गीत सजिलै बुझिने भएकाले अंग्रेजीका नियमित श्रोताबाहेक पनि ठूलो संख्याले उनलाई सुन्ने गर्छ।

 
रेकर्ड सुनेरै 'फ्यान' भएका झण्डै २० हजार दर्शकले भरिएको दशरथ रंगशालामा ब्रायनले दुई घन्टाकै बीच आफु उत्तिकै सशक्त स्टेज प्रस्तोता पनि रहेको साबित गरे। सुरुमै त्यसको छनक उनले काठमाडौंसँग जोडिएको एउटा पुरानो गीत सुनाएर दिएका थिए।
बब सेगरको 'आइ एम गोईंग टु काठमाडौं' का भावले अमेरिकी जीवनबाट बाहिरिनेहरूका निम्ति यो पहाडी मुलुक कति प्रिय छ भन्ने उल्लेख गर्छ। तर, ब्रायनको यो गीत छनौट केवल दर्शक प्रभावित पार्न मात्र नभएर उनको आफ्नै मनको अभिव्यक्ति थियो भन्ने पुष्टि पछिसम्मकै व्यवहारले देखाएको थियो।
त्यसले दर्शक मनलाई कतिसम्म हल्लाएको थियो भने बारम्बार सबैको हात हातमा मोबाइल फोनको झिसमिसे बत्ती ताल मिलाएर ढल्कँदै गर्दा सम्पूर्ण रंगशाला नृत्यरत देखिन्थ्यो। ठीक पूर्वी आकासमा पूर्ण चन्द्रमा र अर्कोतर्फ मैदानको मध्यमा चम्किलो स्टेज बीचको यो रमणीय दृश्यलाई उनी शब्द र स्वरले झनै सिंगार्दै थिए–
'लेट्स मेक अ नाइट, टु रिमेम्बर
जनवरी, टु डिसेम्बर...'
उनी भन्दै थिए– 'विश्व अब खुला भएको छ, यसलाई संगीतले जोडौं।' ब्रायनले आफ्ना लगभग सबैजसो चर्चित गीतहरू सुनाइसकेका थिए। 'प्लिज फर्गीभ मी', 'एटीन टिल आइ डाइ', 'समर अफ सिक्सटी नाइन' र 'एभ्री थिंग आइ डु, आइ डु इट फर यु'।
अचानक उनले एउटा अनौठो घोषणा गरे। 'यसले हामी सबैलाई रोचक क्षण पनि दिनसक्छ, ' उनी भन्दै थिए, 'अथवा एउटा घातक कदम पनि भइदिन सक्छ।'
उनले रंगशाला भित्रका उत्तेजित दर्शक घेरालाई आफूसँग गीत गाउने प्रस्ताव फाले। 'बेबी ह्वेन यु आर गन' बोलको गीत गाउन कसले सक्छ भनेर सोध्दा सयौं हात उठे। उनलाई विश्वास गर्न गाह्रो भइरहेको थियो। त्यसैले प्रत्येकलाई औंल्याउँदै पटक–पटक सोध्दै थिए– 'के पक्का गाउन सक्छौ? यसका सम्पूर्ण शब्द याद छ?'
उठेका हात मध्येकै एक युवतीलाई उनले स्टेजमा बोलाएर साथै गाए। ब्रायनको यो कदमले साँझलाई थप रोचक बनाएको थियो।
यसैगरी अघि बढ्दै गएपछि एउटा विन्दुमा पुगेर थाकेका उनका वाद्यवादकहरू सबै स्टेजबाट बाहिरिए। तर, ब्रायन फेरि स्टेजमै फर्किए।
'आजको साँझ तपाई र म कति नजिक भयौं भन्ने कुरा मेरा साथीहरूलाई सायद बुझाउन सक्दिन होला,' उनले यति भन्ना साथ गीतार र माउथ अर्गन भिर्दै फेरि सुरु भए–
'गीभ इट टु मी स्ट्रेट फ्रम द हार्ट
टेल मी वी कुड मेक अनोदर स्टार्ट'
बंगलादेशबाट शनिबार दिउँसो काठमाडौं प्रवेश गरेका ब्रायनले तत्कालै सामाजिक संञ्जाल ट्वीटर मार्फत् भनेका थिए– 'नेपालमा आएर कन्सर्ट गर्ने पहिलो अन्तर्राष्ट्रिय पश्चिमेली ब्याण्ड हामी भएका छौं। हाम्रो लागि यो गर्वको कुरा हो। विश्वको चर्चित शिखर सगरमाथाको आकास हुदैं हामी काठमाडौं प्रवेश गरेका छौं।'
यता उनलाई हेर्न दर्शकहरू २ बजेदेखिनै दशरथ रंगशालामा लाइन लागेका थिए। ठूलो भीड नियन्त्रण गर्न नसक्ने स्थानीय प्रहरीको घोषणासँगै नयाँ दिल्लीमा रद्द भएको ब्रायनको प्रस्तुतिले नेपालमा पनि त्यस्तै संभावित खतराको भय तेर्स्याएको थियो। तर, दर्शकलाई पगालेर एकाकार बनाएका ब्रायनले त्यस्ता सबै संभावनालाई पन्छ्याइ दिएको थियो।
'के तपाइहरूलाई थाहा छ,' उनी कार्यक्रमको अन्त्यमा यसो भन्दै विदा भएका थिए, 'हामी आजदेखि साथी भएका छौं।'
कार्यक्रम सम्पन्न भए लगत्तै कारमा चढ्नुअघि नागरिकसँग कुरा गर्दै ब्रायनले आफू फेरि एकपल्ट नेपाल आउने इच्छा प्रकट गरे। 'म फेरि नेपाल आउँछु,' उनले त्यो भ्रमणको रहस्योद्घाटन गर्दै भने, 'तर, अबको यात्रा कसैले थाहा नपाउने गरेर सुटुक्क हुनेछ र सबैतिर घुम्छु।'
ब्रायनलाई गीतारमा साथ दिने किथ स्कटले नागरिकलाई ब्रायन एडम्सको साथमा कन्सर्ट दिँदै हिँडेको ३० वर्षे यात्रामा सबैभन्दा रमाइलो क्षण काठमाडौंमै अनुभव गर्न पाएको बताए।
कन्सर्ट हेर्न प्रवेश गर्नेको भीड। 
ब्रायन चढेको कार रंगशाला प्रवेश गर्दै। फोटोहरुः विजय राई/केशव थोकर/विकास कार्की

No comments:

Post a Comment