Saturday, May 21, 2011

मेट्रो जीन्दगी

गेट वे अफ इण्डिया 
विगत केहि वर्ष यता काठमाण्डौका सडकको अवस्था केहि सुधारिएको छ । कतिपय व्यस्त चोकमा ट्राफिक लाइटको व्यवस्था छ । अनि सवारीलाई व्यवस्थित पार्न ट्राफिक प्रहरीको तैनाथी गरिएको छ । तर यतिहुँदा हुँदै पनि जाम विना काठमाण्डौं शहरमा सवारी यात्रा सम्भव छैन । त्यसैले समयमै गन्तब्यसम्म पुग्न सडक जामको लागि अतिरिक्त समय छुट्टयाएर निस्कनु पर्ने वाध्यता काठमाण्डौवासीमा छ । याहाँ सार्वजनिक सवारीका साधनको त कुरै छाडौ एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक साधन समेत ट्राफिक जामको चपेटामा फसिरहेका हुन्छन् । मुलुकको केन्द्रिय राजधानी शहरको सडकको यो र्दूअवस्थाले दिनहुँ सास्ति खेपिरहेको मलाई नयाँ दिल्लीको चौडा सडक साजालले लोभ्याउनु स्वभाविक थियो । 

दिल्लीको मेट्रो रेल चढेर फर्किदै हामीहरु 
दायाँ वाँया हरियाली सफा र चौडा सडक अनि पर्याप्त फुटपाथको व्यवस्था । सवारी घनत्व बढि हुने ठाउँमा ठूला ठूला ओभरहेड वि्रज । स्पष्ट र टाढैबाट देखिने सडकको नामाकरण । रातको समयमा सडक बत्तिको उचित व्यवस्था र राजधानीका महत्वपूर्ण ठाउँलाई जोड्ने भूमिगत मेट्रो टे्रन दिल्लीका केहि पछिल्ला उपलब्धि हुन् । यी उपलब्धिलाई काखि च्यापेर यो मेट्रो शहर अवका केहि वर्षमा एसियाकै उत्कृष्ट आधुनिक शहरको रुपमा आफुलाई उभ्याउन तम्तयार भएर लागेको भान हुन्छ । भारतले अघिल्लो वर्ष कमनवेल्थ गेमको आयोजना गरेको थियो । यसैको तयारी स्वरुप दिल्लीको पूर्वाधार विकासको क्रम शुरु भयो । यो विकासको क्रम अहिलेसम्म पनि निरन्तर रुपमा अगाडी बढिरहेको छ । विकासको यो गतिलाई थप केहि बर्ष निरन्तरता दिन सक्यो भने अबका केहि वर्ष भित्रै दिल्लीले पश्चिमा मुलुकका विकसित शहरको दाँजोमा आफुलाई उभ्याउने छ । 

यो मेट्रो शहरको रात्री जीवनशैली पनि उत्तिकै आर्कषक छ । मध्यरातसम्म पनि सडकमा सवारीको चाप उत्तिकै देखिन्छ । मानिसहरुको आवत जावत चलिरहेको हुन्छ । बजारहरु व्यस्त रहन्छन् । लाग्छ यो शहर भर्खरै निन्द्राबाट ब्यूँझिएको छ । र यसले आफनो दैनिकी शुरु गर्दै छ । विकासको गति पछ्याउदै अगाडी बढीरहेको दिल्लीका यी र यस्तै विशेषता हेर्दा लाग्छ यो शहर याहाँका बासिन्दालाई मेट्रो जीवनशैलीको अभ्यास गराइरहेको छ । व्यस्त दैनिकी र बढ्दो प्रतिस्पर्धाले यहाँको जीवनलाई प्रगतिशिल बनाएको छ । सँगै सामाजिक र आर्थिक रुपमा थुप्रै उपलब्धिहरु प्नि दिएको छ । दिल्ली भ्रमणका समयमा यस्ता धेरै उदाहरणहरु त्याहाँ देख्न र प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । 
दिल्लीमा बनेका फ्लाइ ओभर 

म पनि मेट्रो शहरको बासिन्दा । करिव एक दशक अघि राजधानी काठमाण्डौलाई मेट्रो शहर घोषणा गरियो । काठमाण्डौ मेट्रो शहर त बन्यो तर यहाँ मेट्रो शहर हुनका लागि आधारभूत त्यस्ता मापदण्डहरु कुरा र कितावमा मात्रै सिमित रहे । मेरो मेट्रो सिटि सम्साँझै सुन सान बन्छ । मध्यरात नपर्दै यहाँका सडकहरु भुस्याहा कुकुरहरुको कब्जामा हुन्छन । सडकमा बत्ति त छ तर विजुली छैन । सडक त छन तर सवारी साधन कुदाउनै मुस्किल हुन्छ । खानेपानीको त कुरै नगरौ जारमा भरेको पानी किनेर खानुपर्ने बाध्यता छ । मेट्रो सहरमा सार्वजनीक शौचालयको पनि उचित व्यवस्था छैन । आँखा छलेर वा लाज पचाएर सार्वजनिक स्थानमै शौच गर्नुको विकल्प छैन । दैनिक जीवन यापनका क्रममा यी र यस्तै अन्य थुप्रै पूर्वाधारहरुको आभाव यहाँ खड्कि रहन्छ । उता दिल्ली मेट्रोको त्यो अवस्था अनि यता मेरो मेट्रो शहर काठमाण्डौको यो र्दूआवस्था १ 

करिव ५ वर्ष अगाडीसम्म दिल्लीको अवस्था काठमाण्डौको भन्दा खासै फरक थिएन । बढ्दो सवारी साधन साँघुरा र अव्यवस्थित सडक अनि अस्तव्यस्त ट्राफिक सम्यन्त्र दिल्लीको चुनौतिको रुपमा थिए । छोटो समयमै दिल्लीले ती चुनौतिलाई घटाएको मात्रै छैन । पुरानो र धमिलिएको पहिचानलाई नयाँ स्वरुप र विकासको उपलब्धिले ढाकिदिएको छ । जसको परिणामस्वरुप अब दिल्ली साँच्चिकै नयाँ दिल्ली बनेको छ । आधुनिक मेट्रो शहर भन्न लायक भएको छ । यो सबै पूर्वाधार विकासकै उपलब्धि हो । छोटो समयमै यतिका परिवर्तन १ झट्ट विश्वास गर्न गाह्रो पर्छ । तर दृढ इच्छा शक्क्ति भए असम्भव भन्ने कुरा रहेनछ भन्ने कुराको यो एउटा दह्रो प्रमाण पनि हो । पूर्वाधार विकासको यो श्रृखलालाई भारतको आर्थिक समृद्धिको सूचकको पनि मान्न सकिन्छ । त्यसैले यसको निरन्तरता भारतका लागि प्रतिष्ठाको विषय पनि हो भन्दा फरक पर्दैन । भनिन्छ दिल्लीको यो कायापलट कमनवेल्थ गेमकै देन हो । विकासका लागि यस्तै कारण चाहिने हो भने नेपालले अहिले मनाइरहेको टुरिज्जम इयर यसको लागि बाहाना बन्न सक्दैन ? 

२०६८ जेठ ७ गते शनिवारको नागरिक दैनिको घुमफिरमा प्रकाशित

3 comments:

  1. AnonymousMay 21, 2011

    Tara Dhakal Says: remain ever n forever in sweet memorenda ............memorable tour

    ReplyDelete
  2. AnonymousMay 24, 2011

    मेरो मेट्रो सिटि सम्साँझै सुन सान बन्छ । मध्यरात नपर्दै यहाँका सडकहरु भुस्याहा कुकुरहरुको कब्जामा हुन्छन । सडकमा बत्ति त छ तर विजुली छैन । सडक त छन तर सवारी साधन कुदाउनै मुस्किल हुन्छ । खानेपानीको त कुरै नगरौ जारमा भरेको पानी किनेर खानुपर्ने बाध्यता छ ।

    ReplyDelete
  3. AnonymousMay 26, 2011

    malai yo story ramro lagiyo. kathmandu sanga dilhi ko comparison pugeyana ki jasto lagiyo. tara je hos lekhai ramro 6

    ReplyDelete