Sunday, May 1, 2011

खाने होइन त बाख्रा दूधबाट बनेको चिज ?

नेपालमा बाख्राको दूधबाट चिज उत्पादन गर्ने यो नै पहिलो र एक मात्र कारखना हो । त्यसैले धेरै मानिस यो कारखना हेर्न र चिज उत्पादनको तौर तरिका बुझनका लागि पनि आउने गरेका छन् । 

नेपालका अधिकाशं मानिसहरु कृषि कार्यमा संलग्न छन् । कृषिसँगै पशुपालन त नेपालीहरुको परम्परा नै बनिसकेको छ । अन्य पशुको तुलनामा पाल्न केहि सजिलो भएका कारण ग्रामिण क्षेत्रका अधिकांश घरमा बाख्रा पाल्ने गरिन्छ । बाख्रा मासुका लागि मात्रै पालिन्छ । तर अलि नयाँ तरिकाले सोच्ने हो भने बाख्राको मासुबाट मात्रै नभएर दु्धबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । झट्ट सुन्दा धेरैलाई बाख्राको दुधबाट पनि आम्दानी गर्न सकिन्छ र भन्ने लाग्न सक्छ । तर मकवानपुरको चित्लाङ गाविसका अशोक कुमार सिंह  ठकुरीले बाख्राको दूधबाट चिज उत्पादन गरि आम्दानीको नयाँ विकल्प पुष्टि गरेका छन् ।
फ्रेन्च सहयोगमा ६ बर्ष अगाडी अर्थात २०६१ सालमा चित्लाङ चन्द्रागिरी चिज उत्पादन समुह स्थापना भएको थियो । दैनिक २ सय लिटर दूध खपत गर्न सक्ने यो कारखनाबाट महिनामा एक क्विन्टल चिज उत्पादन गर्न सकिने साचालक सिता सिंह ठकुरी बताउँछिन् । 
उनका अनुसार तर दूध संकलन कार्य न्यून भएका कारण हाल यहाँ दैनिक १८ देखि २० लिटर मात्रै बाख्राको दूध संकलन हुने गरको छ । जसबाट दैनिक ४ किलो सफ्ट र २ किलो हार्ड चिज उत्पादन हुने गरेको छ ।
गाउँघरमा उन्नत जातको बाख्रा नपालिने हुँदा बाख्राको दूध संकलन गर्न निकै अफ्ठयारो भएको बताउँदै ठकुरीले भनिन्-हामीले क्षमता अनुसार चिज उत्पादन गर्न सकेका छैनौं । उत्पादन न्यून भएकै कारण बाख्राको चिजको मूल्य अन्य चिजको भन्दा केहि महंगो छ । बाख्राको सफ्ट चिज प्रति किलो १२ सय र हार्ड चिज प्रतिकिलो २२ सय रुपैया पर्छ । त्यसैले यो अहिले काठमाण्डौमा मात्रै खपत हुने गरको छ । अन्यत्र पनि बाख्राको चिजको माग छ तर पनि चिज उपलब्ध गराउन नसकिएको ठकुरि बताउँछिन् ।
चिज कारखनाले स्थानीय गाउलेबाट बाख्राको दूध प्रति लिटर ५० रुपैयामा खरिद गर्ने गरेको छ । त्यसैले  चित्लाङमा अहिले स्थानीय गाउँलेहरुले समेत बाख्राको दूध विकि्र गरेर आम्दानी लिन थालेका छन् । गाइ भैसीको भन्दा महंगो मूल्यमा बाख्राको दूध विकि्र हुन थालेपछि स्थानीय गाउँलेका लागि बाख्रा आम्दानीको श्रोत बनेको छ । स्थानीय कान्छि भट्टराइ आफूलॆ  दैनिक २ लिटर बाख्राको दूध विकि्र गर्ने गरेको बताउँछिन् । पहिला त बाख्राको दूध काहाँ खाइन्थ्यो  उनले भनिन् यहाँ भाइले चिज बनाउने कारखना खोलेपछि बाख्राको दुध पनि आम्दानीको श्रोत बनेको छ । भट्टराइले अहिले बाख्राको दूध बिक्रि  गरेर दैनिक एक सय रुपैयाँ आम्दानी गर्ने गरेको समेत बताइन ।
नेपालमा बाख्राको दूधबाट चिज उत्पादन गर्ने यो नै पहिलो र एक मात्र कारखना हो । त्यसैले धेरै मानिस यो कारखना हेर्न र चिज उत्पादनको तौर तरिका बुझनका लागि पनि आउने गरेका छन् । यहाँ आएर बाख्राको चिजको स्वाद लिएका पत्रकार काचन अधिकारी यो चिज अरु भन्दा निकै फरक रहेको बताउँछन् । मैले अहिलेसम्म यति स्वादिलो चिज खाएको थिइन-उनले भने ।

अन्य चिजको भन्दा चिल्लो कम हुने र थुप्रै फाइदा भएका कारण बाख्राको चिजको माग उच्च छ । तर पनि दूध संकलन कार्य कठिन भएका कारण माग अनुसार चिज उत्पादन गर्न नसकिएको साचालक ठकुरी बताउँछिन् । उन्नत जातका बाख्रा पालेर दूध संकलन प्रभावकारी बनाउने हो भने यहाँ व्यवसायिक रुपमा बाख्राको चिज उत्पादन गर्न सकिने सम्भावना रहेको उनको भनाई छ । यो बाख्राको चिज स्वदेशमा मात्रै खपत नगरेर विदेश निर्यात गर्न पनि सकिने बताउँछै ठकुरी यसका लागि सरकारी सहयोगको खाँचो रहेको बताउँछिन् ।
नेपालका हिमाली पाहाडी र तराई सबै क्षेत्रमा परम्परागत रुपमा बाख्रा पालिन्छन् । यी ठाउँमा चिज उत्पादनलाई लक्षित गरि उन्नत जातका बाख्रा पाल्न सके चित्लाङको सिको गर्दै थुप्रै गाउँमा यस्ता चिज कारखना खोल्न सकिन्छ । जसबाट थुप्रलाई रोजगारी मिल्न सक्छ अनि मुलुकको आर्थिक विकास पनि थोर बहुत सहयोग पुग्न सक्छ । 

No comments:

Post a Comment