Sunday, May 15, 2011

यो नै मेरो जीवनको अन्तिम ब्लग हो


"मृत्‍यु अटल छ। सबैलाई थाहा भएकै कुरा भएपनि थाहा नभए जस्तो अभिनय गरेर मान्छे बाँच्छ। यो नै जीवनको सार्थकता हो जस्तो लाग्छ र त्यस्तै हुनुपर्छ। तर कुनै निर्णीत समयमा जीवनको अन्त्यको अनुभव चै कस्तो होला? त्यो भाग्यमानी हो या अभागी ।"







 म मरिसकेको छु र यो नै मेरो जीवनको अन्तिम प्रकाशन हो। जब मेरो शरीर क्यान्सरको अन्तिम सँजाय भोग्ने छ र ‘बन्द’ हुनेछ  तब मेरा परिवार एवं मित्रहरुलाई यो ब्लग पोष्ट गर्न अनुरोध गरेको छु। यसरी यो सक्रिय ब्लगबाट इतिहास बन्ने छ। ‘ डेरेकले आफ्नो ब्लगमा लेखेका छन्।
मे ३, २०११ मा मलाशयको क्यान्सरबाट मृत्‍यु भएका डेरेकका पूर्व-तयार शव्दहरु उनको परिवार र मित्रहरुले  मे ४, २०११मा प्रकाशित गरेका थिए।
मृत्‍यु अटल छ। सबैलाई थाहा भएकै कुरा भएपनि थाहा नभए जस्तो अभिनय गरेर मान्छे बाँच्छ। यो नै जीवनको सार्थकता हो जस्तो लाग्छ र त्यस्तै हुनुपर्छ। तर कुनै निर्णीत समयमा जीवनको अन्त्यको अनुभव चै कस्तो होला? त्यो भाग्यमानी हो या अभागी ।
जीवनका स-साना यात्रा बिछोडहरु त कस्ता हृदयबिदारक हुन्छन् भने चलायमान रंगीन संसार छाडेर भयानक अँध्यारो(या उज्यालो)यात्रा तयारीको अघिल्लो दिन कस्तो होला? माथिका शब्दहरु लेख्दा डेरेकका मानसपटलमा के कस्तो गुज्रियो होला म अनुमान लगाउन खोज्दै छु। उनले अवश्य पनि सोंचे होलान् म जस्ता ब्लगरका बारे जसको अन्तिम ब्लगका बारेमा यस्ता शब्दहरु रचिएका छन्।
जीवनको त्यो अन्तिमा क्षणमा उनले आफ्नो बिद्यार्थीकालको पुरानो साथी (एयरड्री) लाई सम्झेका छन जो पछि जीवनसाथी बनिन्। सँगै पढेको, सँगै काम गरेको, टुटेफुटेका सम्पर्क, प्रेमपत्र, प्रेम प्रसङ्ग र बिवाह सम्झेका छन्। एयरड्रीसंग स्थानीय पार्कमा भेटेको पहिलो दिन सम्झदै डेरेक् लेख्छन्, ‘हाम्रो साथ यस्तो छोटो र जम्मा २३ बर्षको मात्र हुन्छ होला भन्ने लागेको थिएन।  कस्तो छोटो पुग्दै पुगेन, पटक्कै पुगेन।’
डेरेकका यस्ता शब्दहरुले जीवनका तीन महत्वपूर्ण क्षणहरुको पुष्टि गर्दछ- जन्म, बिवाह र मृत्‍यु। पहिलो र अन्तिम आफ्नो बसमा छैन तर मात्र बिवाह एउटा प्राकृतिक देन हो जसमा मनुष्य-बिवेक प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ। यस्तो दैबिक सामर्थ्यता रहेको बिवाहको बारेमा हुने तर्क बितर्क सुन्दा चै मलाई असाध्यै उदेक लागेर आँउछ। भन्न मन लाग्छ- यो पबित्र सम्बन्धलाई अन्य दुई प्राकृतिक सत्यता जस्तै स्वीकार गर किनभने  मृत्‍युको हाराहारी जीवनको अन्तिम स्वाससम्मको तिम्रो यात्रा यसैले सहज बनाउँछ।
डेरेकले आफ्ना छोरीहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘लौरेन र मेरिना, जब तिमीहरु परिपक्व बन्दै आत्मनिर्भर हुनेछौ तब थाहा पाउने छौ कि म तिमीहरुलाई कत्ति माया गर्थें र हरसम्भव असल पिता बन्ने प्रयास गरेको थिएँ।’
‘जीवनमा के कस्तो आइपर्ने हो त्यो थाहा छैन। हामी योजना बनाउँन सक्छौं र त्यही गर्छौं जसमा रमाउँछौं तर आफ्ना योजना सबै सफल् हुन्छन् भन्ने छैन।  कुनै पूरा होलान् भने कुनै अपूरा। कुनै घटना अग्रिम जानकारी दिएर आउँदैन तर त्यो घटेरै छाड्छ। यो राम्रो पनि हैन र नराम्रो पनि हैन तर यथार्थ हो।’
अन्तमा डेरेक लेख्छन- यो संसार असाध्यै रमाइलो छ।  वास्तवमा यो ब्र्हमाण्ड नै रोमांचक छ। मलाई कुनै पश्चाताप छैन। एयरड्री, तिमी मेरो ‘बेस्ट फ्रेण्ड’ र सबैभन्दा नजिकको सम्बन्धी हौ। हामी एक आपसका नभएको भए शायद यो संसार नै उराठ लाग्दो हुन्थ्यो होला। म तिमीलाई असाध्यै माया गर्छु, आई लभ यू, आई लभ यू,आई लभ यू।
डेरेकको ब्लग: www.penmachine.com
यो लेख www.kapurika.com बाट साभार गरिएको हो

1 comment:

  1. डेरेकको यो ब्लग पढेपछि त मलाई केहि पनि लेख्ने जोश जाँगर चलेन किन कि डेरेकले जसरी शब्द चयन गरेका छन् जुन तरिकाले आफ्नो अभिब्यक्ति दिएका छन् त्यो मबाट सम्भव छैन किन कि म यति राम्रो लेख्न सक्दिन

    ReplyDelete