Thursday, October 6, 2011

एप्पलका संस्थापक जब्सको निधन

एप्पलका संस्थापक स्टिभ जब्सको आज बिहान निधन भएको छ। प्रविधिको क्षेत्रमा आइफोनपछि आइप्याड सार्वजनिक गरेर नयाँ युगको घोषणा गरेका जब्सको निधनसँगै सूचना प्रविधिको एक युग समाप्त भएको छ। जब्स लामो समयदेखि क्यान्सरबाट पीडित थिए। पर्सनल कम्प्युटरदेखि माउसको परिकल्पनाकार उनी २१ वर्षको उमेरमा एप्पल कम्पनीको संस्थापक थिए।  उनको ५६ वर्षको उमेरमा निधन भएको हो।

'हामी दुखका साथ आज स्टिभ जब्सको निधन भएको जानकारी दिन चाहन्छौं,' कम्पनीको बोर्ड अफ डाइरेक्टरले विज्ञप्तीमार्फत भनेका छन्, 'स्टिभको क्षमता, धैर्य र उर्जाले नै हाम्रो जीवनमा यस्ता प्रविधिले आइपुगेका छन् जसले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ। स्टिभका कारण विश्वभर अतुलनीय सुधार ल्याएको छ।'  

उनको निधनलगत्तै शोक ब्यक्त गर्नेहरुका वक्तव्य आउन थालेका छन्। सूचना प्रविधिका साम्राट मानिएका बिल गेट्सले उनको निधनमा दुख प्रकट गर्दै टुइट गरेका छन्, 'जब्ससँग काम गर्न पाएकोमा मलाई गर्व छ।' सिलिकन भ्यालीका आइकन मानिएका संसारकै ठूलो प्रविधि कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत रहेका जब्सले गत अगस्टमा उक्त पदत्याग गरेका थिए।पर्सनल कम्प्युटर, आइपड, म्याकबुक, आइफोन, आइप्याडजस्ता संसारकै लोकप्रिय उत्पादन उनकै कार्यकालमा भएका हुन्।

साभार: नागरिकअनलइन 

No comments:

Post a Comment