Saturday, May 15, 2010

चीनले पाँचहजार नेपाली उत्पादनलाई भन्सार रहित प्रवेश दिने (नागरिक)

काठमाडौं, जेठ १ (नागरिक) - चीनले झण्डै पाँचहजार नेपाली उत्पादनलाई बिना भन्सार आफ्नो मुलुकमा प्रवेश दिने भएको छ। काठमाडौंमा शुक्रबार चीनले नेपाली उत्पादनलाई बिना भन्सार प्रवेश दिने विषयमा दुई देशबीच सम्झौता भएको छ।

चीनले नेपालबाट निकासी हुने गलैंचा, बियर, च्याउ लगायतका कृषिजन्य उत्पादनहरु, अगरवत्ति, सलाई, तयारी पोशाक, साबुन स्पाम्पु, मिनरल वाटर बिना भन्सार प्रवेश गर्न दिनेछ।

त्यस्तै, कटनका कपडा, तामाको तार, गरहगना, सेरामिक्सका सामान, रंगरोगन लगायतका वस्तुलाई भन्सार लिनेछैन। फलफुलको रस, छालाका सामान, मार्बल पनि बिना भन्सार चीन जान पाउनेछ। यसले गर्दा नेपाल र चीनबीचको बढ्दो व्यापारघाटा कम हुने अपेक्षा सरकारी अधिकारीहरुको छ।

सम्झौता अनुसार चीनले तीनसय ६१ वस्तु समूहमा पर्ने चारहजार सातसय २१ वटा नेपाली उत्पादनलाई अब भन्सार लिनेछैन। अहिलेसम्म यी वस्तुहरु चीन पठाउँदा १० देखि ३५ प्रतिशतसम्म भन्सार तिर्नुपर्थ्यो।

नेपालले चीनसँग चारसय ९७ वस्तुहरुमा भन्सार बिना निकासी गर्न पाउनेको लागि आग्रह गर्दै आएको थियो। नेपाल र चीनबीच ३२ अर्ब रुपैयाँको व्यापार घाटा छ। नेपालबाट २ अर्ब रुपैयाँ बराबरको सामान चीनमा निकासी भएपनि त्यहाँबाट भने ३४ अर्ब रुपैयाँ बराबरका सामान नेपाल आएका छन्।

चीनले अल्पविकसित मुलुकहरुको उत्पादनलाई आफ्नो देशमा प्रवेश दिने नीति अनुसार नेपाललाई पनि यो सुविधा दिएको हो। सम्झौतामा नेपालको तर्फबाट बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझा र चीनको तर्फबाट राजदूत क्वि गोहाङले सही गरेका छन्।

सम्झौतापछि चिनिया राजदूत गोहाङले विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को प्रावधान चीनले भन्सार महसुल कटौती लगायत अरु देशका उत्पादनलाई प्रवेशमा सहजता बनाउदै गएको बताए। 'व्यापारमा संरक्षणवाद दुबै पक्षको लागि हानीकारक हुन्छ,' उनले भने। आफ्नो देशको उत्पादनलाई संरक्षण नगरि प्रतिस्पर्धामा आउन सक्षम बनाउनको लागि नेपाल लगायत धेरै देशहरुलाई चीनले यो सुविधा दिइरहेको पनि उनले उल्लेख गरे।

आपूर्ति मन्त्रालयका सचिव ओझाले भन्सार सहुलियतले बढ्दो व्यापारघाटालाई कम गर्न सहयोग गर्ने बताए। 'यो सुविधाले नेपाली उत्पादनको बजार पहुँचलाई अझै बढाउनेछ, हाम्रो निम्ति यो एउटा ठूलो अवसर हो,' उनले भने।

सभासद् एवं नेपाल उद्योग परिसंघका अध्यक्ष विनोदकुमार चौधरीले सम्झौताले नेपालमा लगानीका थप अवसरहरु ल्याउने बताए। ...यो एउटा भन्सार छुटको सम्झौता मात्र होइन, यसले नेपालमा लगानीका थुप्रै अवसरहरु ल्याउनेछ,' उनले भने।

नेपालले चारसय ९७ वस्तु समूहलाई बिना भन्सार प्रवेशको सुविधा मागेको थियो। अहिले तीनसय ६१ वस्तुमा भन्सार सुविधा दिएपछि बाँकी एकसय ३६ वस्तुको लागि आगामी दिनमा सुविधा थप्दै जाने चिनिया पक्षले जनाएको छ।

चीनले झण्डै पाँचहजार नेपाली वस्तुलाई बिना भन्सार प्रवेश दिएपनि नेपालको लागि तुलनात्मक लाभका बस्तु भने दुई दर्जनको हाराहारीमा छन्। नेपालले निकासी गरेर अवसरको उपयोग गर्नको लागि नेपालले क्षमता विस्तार र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने व्यापारीहरुले बताएका छन्।

'यो सम्झौताबाट फाइदा लिन दुबै सरकारले कार्यान्वयनमा बढ्ता जोड दिनुपर्छ,' नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अध्यक्ष सुरेन्द्रबीर मालाकारले भने। उनले गुणस्तरीयतामा जोड दिनुपर्ने र प्रतिस्पर्धात्मक क्षमता बढाउन सकेमा मात्र फाइदा लिन सकिने नत्र झनै समस्या आउनसक्ने बताए।

चीनले नेपाल लगायत अल्पविकसित मुलुकको सूचिमा पर्ने ५० मुलुकलाई यो सुविधा दिने नीति लिएको छ।
http://nagariknews.com/economy/industries/13394-2010-05-15-03-45-19.html

No comments:

Post a Comment