Tuesday, July 19, 2016

के शक्ति र पदमा हुनेहरुलाई देशको कानुन लाग्दैन ?

नेपाल प्रहरी समय समयमा उपभोक्तालाई नयाँ नयाँ नारा सहित आफना सेवा र उत्पादन बेच्ने व्यवसायिक संगठन जस्तो हुन हुदैन । त्यसैले कहिले मुस्कान सहितको सेवा त कहिले प्रहरी मेरो साथी भनेर प्रचार प्रसार गर्नु पर्ने आवश्यकता छैन । 


केहि दिन यता राजधानिका सडक पेटीमा एउटा गज्जवको होडिङ बोर्ड देखिन थालेको छ । मूलुकको एउटा सुरक्षा संगठन नेपाल प्रहरीको । बोर्डमा नारा छ प्रहरी मेरो साथी । यो बोर्ड सडक पेटीमा देखिदैगर्दा कास्किको बेगनासमा नेपाल प्रहरीका  जवान गणेशबहादुर विष्टलाई डयूटीका क्रममा सेनाका उच्चपदस्थका आफन्तलाई मापसे गरेर सवारी साधन चलाएकोमा कारवाही गर्दा उल्टै आफै हिरासतमा परेको समाचार बाहिर आइरहेको थियो । (समाचार यस्तो थियो http://setopati.com/samaj/49808/) जुन संगठनमा आफनो कर्तव्य निर्वाह गर्दा ठूलाबढा र पावरवाला हाकिमहरुले गरेको थिचो मिचोको विरोध गर्न पाइदैन त्यो संगठन आम नागरिकको साथी कसरी हुन सक्ला ? यो प्रश्न मनमा खेलिरहयो ।

नेपाल प्रहरी राज्यको एउटा प्रमुख सुरक्षा अंग हो । यहाँ हजारौ जवान र तल्लो तहका अधिकृतहरु छन् जो प्राकृतिक प्रकोपका वेला होस वा आन्दोलनका बेला होस अग्रमोर्चामा रहेर आफनो कर्तव्य निर्वाह गरिरहेका हुन्छन । तीनै प्रहरी जवानहरु आफूभन्दा माथिल्लो तहका अधिकारीहरुबाट यसरी अन्यायमा पर्दा उनीहरुको आफनो संगठन प्रतिको धारणा र उत्साह कस्तो होला ? अनि उनीहरुले कसरी निडर भएर आफनो कर्तव्य निर्वाह गर्न सक्लान ? यो प्रश्न एउटा आम नागरिकका तर्फबाट नेपाल प्रहरीका उपल्लो तहमा रहेकाहरुलाई । 
सुरक्षा निकायका पदाधिकारीहरुका मापसे गरेर गाडी चलाउन पाइने र आफूभन्दा तल्लो दर्जाका कर्मचारीलाई मनलाग्दी गर्न पाइने कानुन भएजस्तो मलाई लाग्दैन । मैले पढेको कानुनका आधारमा सबै नेपाली नागरिकहरु बराबर हुन । कानुनले जात, तह र शक्तिका आधारमा भेदभाव गर्न पाउँदैन । यो मूलुकमा बसेपछि यहाँको कानुनको उलंग्घन गर्ने अधिकार सुरक्षा निकायका हाकिमसावहरुलाई पनि हुँदैन । त्यसैले मापसे गरेर सवारी चलाउने व्यक्तिलाई कारवाही गर्दा आफनै संगठनका जवानलाई ६/७ घण्टा थुन्ने हाकिम साव तपाईले कुन कानुनको आधारमा यसो गर्नु भयो ? एउटा आम नागरिकको तर्फबाट यो जिज्ञासा । 
र अन्तमा,
मेरो विचारमा नेपाल प्रहरी समय समयमा उपभोक्तालाई नयाँ नयाँ नारा सहित आफना सेवा र उत्पादन बेच्ने व्यवसायिक संगठन जस्तो हुन हुदैन । त्यसैले कहिले मुस्कान सहितको सेवा त कहिले प्रहरी मेरो साथी भनेर प्रचार प्रसार गर्नु पर्ने आवश्यकता छैन । यस्ता नाराबाट सस्तो प्रचार त भेटिएला तर आफनै संगठन भित्रका यस्ता विभेदलाई हटाउन सक्यो भने प्रहरी आम नागरिकहरुको सबैभन्दा नजिकको साथी हुनेमा शंका छैन । 

No comments:

Post a Comment