Monday, June 13, 2016

१६ प्रतिशत बालबालिका इटा भट्टामा काम गर्छन


काठमाडौँमा रहेका इँटा भट्टामा कार्यरत ९ सय ३१ कामदार मध्ये ७ सय ४० बालबालिका छन् ।

१६ प्रतिशत बालबालिका इटा भट्टामा कार्यरत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । बालविकास समाजले राजधानीमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनका अनुसार हाल नेपालभर ७ सय ५० वटा इटा भट्टाहरुमा २ लाख भन्दा बढी कामदारहरु कार्यरत रहेकामा १६ प्रतिशत बालश्रमिकले अत्यन्त जोखिमपूर्ण श्रम गरिरहेका छन् । हाल काठमाण्डौ उपत्यकामा १०८ वटा इटा भट्टामा कतिपय कारखानामा वयस्कहरु भन्दा पनि बेसी बालबालिका श्रम गरिरहेको अध्ययन प्रतिवेदनले देखाएको छ । १८ वर्षसम्म उमेर समूहका बालबालिकामा डिसेम्बर २०१४ देखि जुन २०१५ सम्म गरिएको उक्त सर्वेक्षण प्रतिवेदनमा इँटाभट्टामा रहेका बालबालिकाहरु मध्ये सबैभन्दा बढि बालबालिका रहेको पाइयो ।













काठमाण्डौ उपत्यकामा इटा भट्टामा नेपालका ४५ वटा जिल्लाहरुबाट बालश्रमिक आपूर्ति हुने समेत बताइएको छ । जसमा काभ्रेबाट २६।४२ प्रतिशत, रामेछापबाट १७।६५ प्रतिशत, सिन्धूलीबाट ८।४४ प्रतिशत, दाङ्बाट ८।१२ प्रतिशत र रोल्पाबाट ७।७३ प्रतिशत बालश्रमिक उपत्यकाका विभिन्न इटा भट्टामा बालश्रमिका रुपमा आएको पाइएको छ । यी मध्ये सबैभन्दा बढी बालबालिका ३२।११ प्रतिशत ५ बर्षभन्दा कम उमेर समूहका, २८ प्रतिशत बालबालिका ५ देखि १० बर्ष उमेर समूह, २२।५८ प्रतिशत बालबालिका १५ बर्ष उमेर समूहका र १७।३१ प्रतिशत बालबालिकाहरु १५देखि १८ बर्ष उमेर समूहका रहेको पाइएको छ । 
प्रतिवेदन सार्वजनिक गर्दै बाल विकास समाजका कार्यक्रम निर्देशक किरण थापाले बालबालिकाहरु इटा भट्टामा काम गरी उत्पादन तथा आपूर्ति श्रृंखलामा अझैपनि नरोकिएको बताउनुभयो । उत्पादन तथा आपूर्ति श्रृंखलामा बालबालिकाहरुको आपूर्ति रोक्नका लागि रोजगारदाताको विशेष भूमिका भएको थापाले बताउनुभयो ।हाल इटा भट्टाका कामरदारहरुसँग पेश्की प्रणालीको व्यवस्था खारेज गर्न सकेमा पनि बालश्रमिक घट्ने थापाले बताउनुभयो ।
सोही कार्यक्रममा श्रम विभागका महानिर्देशक केदारबहादुर बोगटीले बालश्रमको न्यूनीकरण गर्नको निम्ति कानुनी र नीतिगत रुपमा व्यवस्था भएतापनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । हाल बालश्रमिको संख्यामा कमी आएतापनि प्रभावकारी अनुगमन गर्न नसक्दा यसको आधिकारिता माथि प्रश्न उठ्न सक्ने बोगटीले बताउनुभयो । कार्यक्रममा ब्रिक क्लिन नेटवर्कका महासचिव सुरेन्द्र ढकालले युवाहरुलाई स्वेदशमै श्रममा लाग्न प्रेरित गराउने सके बालश्रमिको संख्या न्यूनीकरण गर्न सक्ने बताउनुभयो । हाल बालश्रमका क्षेत्रमा भइरहेका विभिन्न कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको निम्ति सरकारी, गैरसरकारी तथा नागरिक समाजले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । बाल विकास समाजका महासचिव सुवास गौतमले बालश्रम न्यूनीकरणको निम्ति सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।
काठमाडौँमा रहेका कूल इँटाभट्टामा कार्यरत ९३१ कामदारमध्ये ७४० बालबालिका रहेका छन् । त्यसैगरी ललितपुरमा भने कामदारभन्दा बढी बालबालिकाको सङ्ख्या रहेको र इँटाभट्टामा काम गर्ने अधिकांश कामदारका छोराछोरी विद्यालय नजाने भएकाले काम गर्न सक्ने र नसक्ने दुबै खालका बालबालिका उक्त क्षेत्रमा रमाइरहेका पाइएको बाल विकास समाजका कार्यक्रम निर्देशक किरण थापाले बताउँनु भएको छ ।


No comments:

Post a Comment