Thursday, August 27, 2015

सँगै जाँड खाऔँ

–विपी अस्तु
पथरैया–६ भगरैया, कैलाली

उँ हामी फेरी संगै जाँड खाऔँ
तिमी
ढकियाभरी ढिक्री ल्याउ
टपरीमा बंगुरको मासु ल्याउ
सिन्कीको अचार ल्याउ
सिद्राको चटनी ल्याउ
मुसाको भुटुन ल्याउ

छाप्रोभरी बाबर ल्याउँछुँ
बटुकाभरी फाँडो ल्याउँछु
काक्राको राइतो ल्याउँछुँ
भैसीको दहि ल्याउँछु
सिमीको तरकारी ल्याउँछु


तिम्रै आगनमा बसि फेरी हामी जाँड खाऔँ
तिमी मलाइ बेस्सरी गाली गर
म तिमीलाइ बेस्सरी गाली गर्छु
तिमी मलाइ झापड हान
म तिमीलाइ झपड हान्छुँ
तिमी मलाइ चिमोड
म तिमीलाइ चिमोड्छुँ
तिमी मलाइ पर्वटिया भन
म तिमीलाइ थारु भन्छुँ
र,
अंगालो मारेर बेस्सरी हासौँ
मैले
फरुवा चलाउन तिमीबाटै सिकेको हुँ
डन्लप हाँक्न तिमीबाटै सिकेको हुँ
माटोको महिमा तिम्रै हातबाट सुनेको हुँ
इमान्दारिताको मुक्त कण्ठले प्रशंसा गरेको हुँ
तिमी झुमरी नाच्दा म पनि तिम्रै नक्कल गर्थेँ
तिम्रो मयुरनाचमा मैले पकृति भेटेको हँु
तिम्रो ढकियामा तिम्रो कला देखेर म जिल खान्छुँ
तिमी पनि त भन्थेउ
मैले पनि तिमीबाट थुप्रै सिकेको छुँ
आउ,
फेरी उहि पुग्न तिमी र म सँगै जाँड खाअ‍ौँ
देश भन्नु तिमी र म हाँै
तिमी र म हासे देश हासीहाल्छ
तिम्लाइ मैले कहिल्यै हेपिन
तिमीले मलाइ कहिल्यै हेपेनौ
सरकार त कसलाइ हेप्दैन
सबैलाइ हेप्छ र त उ सरकार छ
आउ सरकारको हेपाइ विरुद्ध हामी सँगै बोलौँ
तर
सँगै जाँड खान्न नभन संघारी
तिम्री डाइले बुनेको ढकियामा
मेरी आमा सुन्तला बेच्न जालीन
मेरा बाजेले बुनेको डालोमा
तिम्री जन्नी सिन्की बेच्न जालीन
तिम्रो डलपमा म दाउरा बोकुँला
हाम्रो डोकोमा तिमी तरकारी बोक
आउ
तिमी थारु मुस्कुराउ
म पर्वटिया मुस्कुराउँछु
बनाइदिउँ गाउँलाइ फुलबारीजस्तै रंगिन
आउ,
तिमी र म फेरी सँगै जाँड खाऔँ
(यो रचना सामाजिक संजालबाट साभार गरिएको हो । समय सान्र्दभिक लागेकाले कपि पेष्ट गरेको हाुँ । सवाृधिकार यसका लेखक जो हुनुहुन्छ उहाँमै छ)

No comments:

Post a Comment