Saturday, December 3, 2011

त्यो युवतीको साहस

मलाई मन परेको लेख 

अभय श्रेष्ठ

एक्काइसौँ शताब्दीमा संसारका साहसी तीन युवती मलाई सर्वाधिक स्मरणीय लाग्छन्। बंगलादेशकी नारीवादी लेखक तसलिमा नसरिन, निर्दोष नागरिकको हत्याविरुद्ध विगत ११ वर्षदेखि आमरण अनशन गरिरहेकी भारत, मणिपुरकी इरोम शर्मिला र गरिब प्यालेस्टेनीको घर जोगाउन सत्याग्रह गर्दागर्दै सहिद भएकी अमेरिकी समाज रुपान्तरण कार्यकर्ता रासेल कोरी। तिनकै सूचीमा अर्की युवती थपिएकी छन्, ल्याटिन अमेरिकी मुलुक चिलीकी केमिला भल्लेजो।
केमिला भल्लेजो एन्टोनियो डाउलिङ विद्यार्थी आन्दोलनबाट उठेकी, शिक्षामा व्यापारीकरणविरुद्ध संघर्षकी अन्तर्राष्ट्रिय प्रतीक भएकी छन्। शिक्षामा संरचनागत परिवर्तन र निःशुल्क सार्वजनिक विश्वविद्यालय शिक्षा आन्दोलनको नेतृत्व गरेर उनी सात महिनायता ल्याटिन अमेरिकामै सर्वाधिक चर्चित, प्रशंसित र परिचित भएकी छन्।
केमिला भल्लेजो

आन्दोलनले'कमान्डर केमिला' लाई किम्बदन्तीकी नायिकाजस्तै लोकिप्रिय बनाइदिएको छ। उनी चिलीको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो शैक्षिक संस्था चिली विश्वविद्यालय विद्यार्थी फेडेरेसनकी सभापति हुन्। यस फेडेरेसनकी सभापति हुने उनी इतिहासकै दोस्री महिला हुन्। सन् २०१० मा सभापति चुनिदादेखि सात महिनाअघिसम्म उनको परिचय विश्वविद्यालयमै सीमित थियो।
आन्दोलनकै बीच यही पदका लागि डिसेम्बरमा हुने चुनावमा उनी फेरि लड्दैछिन्। चिलीका प्रथम राष्ट्रपति आन्द्रे बेलोको स्मरणमा 'बेलोको घर' भनिने यो त्यही विश्वविद्यालय हो जहाँबाट पाब्लो नेरुदा र गाब्रियल मिस्त्रालजस्ता नोबेल विजेता साहित्यकार तथा बीस जना राष्ट्रप्रमुखले उच्च शिक्षा हाँसिल गरेका थिए। उनको आन्दोलनको आँधी धनी झन्झन् धनी र गरिब झन्झन् गरिब हुँदै गएको पुँजीवादी युगमा संसारभरिकै शैक्षिक संस्थामा फैलियो भने अचम्म मान्नुपर्दैन।
शारीरिक उपस्थिति हेर्ने हो भने २३ वर्षे यी युवतीलाई संसारकै सुन्दर नायिकासँग दाँजिदिए हुन्छ। पातलो अग्लो शरीर, रेसमी कपाल, बेदाग सुन्दर अनुहार, कोसा परेका हरिया आँखा, अघिल्ला दुई दाँतपछाडि समानान्तर थोरै अघि बढेका कुकुरदाँत, दाहिने नाकमा टपक्क टाँसिएको बुलाकी र सामयिक भेषभूषाले उनी भुतुक्कै पार्नसक्ने सुन्दरी देखिन्छिन्। तर, नाफाका लागि शारीरिक सुन्दरता लिलाम गर्ने उपभोगवादी युगका नायिकाभन्दा धेरैमाथि छिन् उनी। केमिला जब संघर्षको मैदानमा उत्रन्छिन्, आन्दोलनले बेग्लै लय पाउन थाल्छ। मौरीको गोलो भुनभुनाएजस्तै हरेक ओठ गुनगुनाइरहेको हुन्छ, केमिला, केमिला, केमिला। माइक समाएर बोल्न जब उनी मञ्चमा उक्लिन्छन्, पूरै सभा सियो खसे पनि सुनिनेगरी शान्त र मन्त्रमुग्ध हुन्छ। उनको स्वरमा जादु छ, भाषामा अनुपम लय र हास्यरस। एक हातले माइक समाएर अर्को हातको बुढी र चोर औँला योग गर्न गोलो पारिएजस्तै आकाशतिर हल्लाउँदै लयात्मक स्पेनी भाषामा बोल्दा भाषणको हरेक अन्तरामा गगनचुम्बी ताली बज्छ। त्यसलाई रोक्न उनैले संकेत गर्नुपर्ने हुन्छ। अंग्रेजी सबटाइटलसहित राखिएका उनका चर्चित भाषण र अन्तर्वार्ताका भिडियोहरु युट्युबमा अत्यन्त लोकप्रिय भएका छन्।
केमिला मार्क्सवादी हुन् र शिक्षाजस्तो जनताका आधारभूत आवश्यकताको व्यापारीकरणविरुद्ध आन्दोलनरत छिन्। सबै उमेरका विद्यार्थी र सर्वसाधारणलाई समेत उतारेर उनले चिलीका सबैजसो सडक भरिदिएकी छन्। एक सर्वेक्षणअनुसार ७८ प्रतिशत जनता विद्यार्थी आन्दोलनको पक्षमा छन् भने २२ प्रतिशतमात्र राष्ट्रपति पिनेराको पक्षमा। स्वभावैले केमिला लडाकु छिन्। अक्टोबर १६ मा भएको दमनमा उनी गम्भीर घाइते भइन्। प्रहरीले प्रहार गरेको पानीको फोहोराले उनी आँधीले उडाएको पातजस्तै उडेर सडकमा बजारिइन् र रक्ताम्मे भइन्। सन् १९८८ मा चिलीको राजधानी सान्टियागोको मजदुर बस्ती ला फ्लोरिडामा जन्मेकी केमिला 'जनजागरणका लागि मार्क्सवादी विचार झनै सान्दर्भिक भएको' विचार व्यक्त गर्छिन्। उनका बाबु रेनाल्डो भल्लेजो नाभारो र आमा मारिएला डाउलिङ लियल दुवै चिली कम्युनिस्ट पार्टीका नेता हुन्। केमिलाचाहिँ चिली कम्युनिस्ट युथकी सदस्य।
चिलीको शिक्षा व्यवस्था अत्यन्त असमान र असन्तुलित छ। पाँच प्रतिशत कुलीन विद्यार्थी ल्याटिन अमेरिकाकै सर्वश्रेष्ठ विद्यालयमा पुग्छन्। बाँकी विद्यार्थी राज्यद्वारा अत्यन्त कम बजेटमा सञ्चालित शिक्षण संस्थामा। विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी संख्या ह्वात्तै बढेको छ। त्यही मात्रामा तिनको ऋण चुलिएको छ जसका कारण उनीहरु बीचैमा कलेज छाड्न बाध्य छन्। एक अध्ययनअनुसार त्यहाँ एक विद्यार्थीले स्नातक पूरा गर्दा पूरै परिवार तीस वर्षसम्म ऋणमा चुर्लुम्म डुब्छ। तीन बालबालिका हुने परिवारलाई ९० वर्षसम्म ऋणले थिच्छ। विद्यार्थी आन्दोलन यही व्यवस्थामा आमूल परिवर्तन चाहन्छ। 'हामी शिक्षामा सुधार होइन, ठूलो परिवर्तन चाहन्छौँ। शिक्षालाई उपभोगवादी युगको सामग्री बन्न नदिन र जनताको मौलिक हकका रुपमा स्थापित गर्न त्यसको ग्यारेन्टी राज्यले नै गर्नुपर्छ। हामीलाई किन शिक्षा चाहिन्छ? नाफा कमाउन? व्यापार गर्न? कि सामाजिक र राष्ट्रिय एकताका भाव विकास गर्न?' केमिलाको यही प्रश्न हो जसले चिलीमा आन्दोलनको आँधी ल्याइदियो।
विश्वभरिका सञ्चारमाध्यमले उनको संघर्षलाई अत्यन्त आकर्षक र सम्मानित कभरेज दिएका छन्। राष्ट्रपति पिनेरा पक्षधर चिलीकै केही मिडियाले भने शारीरिक बुनोटसँग जोडेर खिसी गर्दै उनलाई 'कम्युनिस्ट किचकिन्या' भनेका छन्। तिनले उनलाई शरीरका रुपमा मात्र चित्रण गरेर आन्दोलनलाई सर्कस भनेका छन्। आन्दोलनलाई अराजनीतिकरण गर्नु त्यसको एकमात्र उद्देश्य हो। 'तिनले मप्रति अश्लील छेडखानी गरेका छन्,' केमिलाले भन्छिन्, 'कुनै पनि पुरुषबारे यस्तो हुँदैन। यसमा अश्लील कुतर्क छ।'
चिलीकै मिडियामा जे भए पनि केमिलाको समर्थनमा ल्याटिन अमेरिकाका हरेकजसो देशका सडकमा प्रदर्शन हुन थालेका छन्। आन्दोलनको आयतन देखेर ल्याटिबोरोमेट्रोका विचार संकलन अधिकारी (पोलस्टर) मार्टा लागोसले भने, 'आन्दोलनका सबै माग पूरा हुन नसक्लान् तथापि चिलीमा अब पुरानै राजनीति टिक्नै सक्दैन।' आन्दोलनको अतुलनीय दबाबले कानमा तेल हालेर बसेको पिनेरा सरकार आन्दोलनकारीसँग वार्ता गर्न तयार भयो। केही वार्ता भए पनि सफल हुन सकेनन्। केमिलाको हत्या गरेर आन्दोलन तुहाइदिन सल्लाह दिने संस्कृति मन्त्रालयका अधिकारी टाटियाना अकुनालाई बर्खास्त गर्नुपर्‍यो। सर्वोच्च अदालतले विद्यार्थी नेताहरुको सुरक्षा ग्यारेन्टी गर्न आदेश दियो।
प्राणै बाजी राखेर सुन्दरी केमिलाले उपभोगवादी शैक्षिक व्यवस्थाको अँध्यारो जंगलमा डडेलो लगाइदिएकी छन्। एक दिन त्यसमा अवश्य नयाँ पालुवा लाग्नेछ जसको छहारी चिलीका सबै विद्यार्थीले बाँड्न पाउँछन्। सुन्दरता र क्रान्तिकारिताको अनुगम संगम देख्दा हाम्रा कवि गोपालप्रसाद रिमालले उनकै लागि यी पंक्ति लेखिदिएझैँ लाग्छ-

मलाई त प्रेम र क्रान्ति बराबर छ
संक्रान्ति त महिनौँमहिनौँ भई नै रहेछ
मलाई त क्रान्तिसित खेल्ने बानी छ
त्यसैले क्रान्तिले मेरो छहारी सकार्नु छ
म त्यसैको जोडा छु, जोडा हुन्छु
(मेरो प्रेमको कथा/'आमाको सपना' बाट)

नागरिक अनलाइनबाट साभार 

3 comments: