Friday, December 9, 2011

झाँक्री हेर्न ककनी

यात्राको थकान त्यसमाथि जाडोयामको बिहानी ओछयांन छाड्ने मनै छैन । हाम्रो गन्तव्य ओखलढुंगाको ककनी । अझै केही घन्टा पैदलयात्रा बाँकी छ पुग्न । हामीलाई गन्तव्यसम्म पुर्याइदिने सोनाम र डोमा भने यात्राका लागि तयार भइसकेका थिए ।

कात्तिक तेस्रो साता हामी उनीहरुकै घरमा बास बसेका थियौं । झिसमिसै यी शेर्पा दाजु बहिनीले हाम्रा लागि स्यो नुन हालेको चिया तयार गरिसकेका थिए । ओछुनमै बसेर स्यो पिएपछि बल्ल शरीरमा उर्जा मिल्यो । ककनीमा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको थियो ।

छिमेकी घरको कुखुरा बासेर निद्रा खल्बल्याइदिए पनि छर्लंग उज्यालो भइसकेको थिएन । जाडोमा ओछुन छाडेर झिसमिसेमा हिँड्न मन मानेन । साथीहरु उकालो चढ्न हिचकिचाइरहेका थिए । तर डोमा हाम्रो टोलीको नेतृत्व गर्दै अगाडि लागिन् । सोनाम भने साथीहरुलाई बाटो देखाउन पछाडि ।

डोमाको मोबाइलमा शेर्पा भाकाको गीत बज्न थाल्यो । सबैभन्दा अगाडि रहेकी उनको मोबाइलमा बजेको गीत सुनेर हामी उनको पदचाप पहिल्याउँदै पछिपछि लाग्यौं । गीतका सबै शब्दका गेडी अथ्र्याउन नसके पनि डम्फुको धुनले बिहानबिहानै हामीलाई वार्म अप गराएको थियो । विलन्दुको भोटेचौरबाट करिब आधा घन्टा ठाडै उकालो । कस्तो नाकै ठोसिने उकालो ! आधा बाटो उकालोले गलाइसकेको थियो । अझै उकालो होला भनेर मैले सोनामलाई सोधेँ उकालो कति छ ? सकियो । अब सजिलै बाटो छ ।

हिँडेर पसिनै पसिना भएको शरीर शित हुँदैछ । सायद हामी निकै लेकमा आइसकेको हुनुपर्छ । वरिपरि कोणधारी जंगल । पुथ्रापुथ्री बुट्यान अनि भेडीगोठ देखिन थाले ।

चिप्लो र तरपाया तरपाया बाटो पार गर्दै हामी करिब २ हजार मिटरको उचाइमा आइपुगेका थियौं । यहाँबाट आकाश खुलेको समय पूर्वबाट आकाशैमा टुप्लुक्क निस्केको सूर्याेदय र पश्चिम क्षितिजमा मनमोहक सूर्यास्त देख्न सकिँदो रहेछ । यसका लागि चुच्चो पहाडी डाँडा भ्यु टावरका रुपमा उभिएका छन् । हिउँदका बेला हुस्सु र तुवालोले भने सूर्याेदय हेर्ने अवसर पाएनौं ।

लेकमा चिसो निकै बढेको छ । त्यसैले खर्कमा भेडा देखिँदैन । लेकतिरको चलन जाडोमा बेसी झार्ने र गर्मीमा लेक उकाल्ने हुन्छ । त्यसैले भेडालाई चिसोबाट बचाउन बेसी झारेको लर्कन हामीले देख्यौं । बाटोमा सोलुबाट झारिएको भेडीगोठ हामीले पनि भेट्यौं । पन्ध्र दिनदेखि यहाँ राखिएको भेडीगोठ सिन्धुलीतिर झारिँदै रहेछ । यहाँ करिब ५ सय भेडा रहेको गोठाला ललिबहादुर शेर्पाले बताए । उनका अनुसार हिउँदभरि यी भेडा सिन्धुलीको कमलाखुज क्षेत्रमा राखिन्छ । वर्षायाम सुरुवातसँगै यी भेडा फेरि लेक चढ्छन् । भेडा चराउने कतिपय क्षेत्र अहिले सामुदायिक वनका रुपमा विकास भएपछि चरन समस्या भएको शेर्पाले बताए । पहिला हिउँदको समय भेडीगोठ तल बेसीसम्म मात्रै पुर् याइन्थ्यो तर अहिले त्यहाँ पनि भेडा चराउने ठाउँ नै छैनु शेर्पा भन्छन् तराई झार्नुपर्ने बाध्यता छ ।

भोटेचौरबाट ककनीसम्मको यो रुटमा दलीडाँडा तीनतले तालखर्क र तीनछाँगाजस्ता मनमोहक स्थल भेटिन्छन् । यहाँबाट सगरमाथा अमादब्लम नुप्से ल्होत्से नुम्बुर गौरीशंकरजस्ता दर्जन हिमाल देखिन्छन् । आकाश खुलेका बेला यहाँबाट पूर्वमा तामाकोसी र दक्षिणमा सुनकोसीका रमणीय फाँट हेर्न सकिन्छ । केही घन्टाको अन्तरालमा हिमालदेखि पहाड अनि तराईको दृश्यावलोकन गर्न सकिने यो ठाउँले प्रकृतिमा रमाउनेका लागि एउटा राम्रो गन्तव्यस्थलको सम्भावना बोकेको छ ।

पहाडको थुम्कैथुम्का ककनीको यात्रा अनि हुस्सुसँग लुकामारी खेल्दै बेलाबेला देखिने रमणीय दृश्यले हामीलाई थकान अनुभूति गर्न दिएन । भोटेचौरबाट हिँड्न सक्नेका लागि ककनीको पैदलयात्रा जम्मा २ घन्टा मात्रै रहेछ । हामीलाई भने यो दुरी छिचोल्न झन्डै चार घन्टा लाग्यो । अघिल्लो दिन परेको पानीले बाटो केही चिप्लो थियो । जसले हाम्रो यात्राको गतिलाई केही सुस्त बनायो । बाटोमा भेटिने खोलाको चिसो पानीले प्यास बुझाउँदै करिब १० बजे हामी ककनी पुग्यौं । ढुंग्रो अनि पाचेबाजाको धुनले चिसो ककनीको माहोल तातेकॊ छ । सयौं मानिस मेला भर्न र देवीको दर्शन गर्न दर्शनार्थी भेला भइसकेका ।

ककनी विलन्दु र कटुन्जे गाविसको सिमानामा पर्छ । यो ओखलढुंगाको प्रसिद्ध धार्मिकस्थल हो । यहाँ हरेक वर्ष हरिबोधनी एकादशीदेखि पाचमीसम्म ठूलो मेला लाग्छ । दूध दही घ्यु र तामाको त्रिशुल चढाएर ककनीदेवीको पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यही कारण यहाँ ओखलढुंगाबाहेक खोटाङ उदयपुर सिन्धुली सोलुखुम्बु दोलखा र तराईका जिल्लाबाट समेत भक्तजन आउने गरेको स्थानीय शम्भु दाहालले बताए ।

ककनी मेलाको अर्का आकर्षण झाँक्री समूह हो । ढुङ्ग्रो बजाउँदै नाच्दै टाढाटाढाबाट आउने समूह धेरैका लागि आकर्षण केन्द्र बन्छन् । मेलामा पुरुषसँगै महिला झाँक्रीको संख्या पनि उल्लेख्य देख्न सकिन्छ । उनीहरु एकल र समूहगत रुपमा मन्दिर आउँछन् । मन्दिर छेवैमा रहेको झरनामा नुहाएर दर्शन गर्छन् । मुलखर्कबाट आएका झाँक्री दुतमान तामाङ ७१ वर्षका पुगे । उनले २३ वर्षको उमेरदेखि हरेक वर्ष ककनीदेवीको मन्दिरमा आउने गरेको बताए । उनीसँगै अर्का झाँक्री पल्सबहादुर तामाङ पनि ४ वर्षदेखि नियमित झाँक्री बनेर यहाँ आउने गरेका छन् । डाँडाको थुम्कोबाट जंगलबीचमा रहेको ककनीदेवीको मन्दिर पुग्ने बाटो निकै भिरालो र चिप्लो छ । होस गरेर हिँड्दा पनि बल्ड्याङ खाइने ! यस्तो चिप्लो र भिरालो बाटोमा ढुंग्रो बजाउँदै र नाच्दै हिँड्ने झाँक्री भने लड्दैनन् । कस्तो अचम्म !

ककनी धार्मिक दृष्टिले मात्र नभएर प्राकृतिक विविधताका लागि पनि महत्वपूर्ण मानिन्छ । यहाँको जंगलमा २२ प्रजातिका सुनाखरी र लालीगुराँस चिमल बुकिफूल पाइन्छन् । उच्च पहाडी भूभागमा पाइने चाँप काफल चुत्रोजस्ता बोटबिरुवाका अतिरिक्त लौठसल्ला मछिनो बलु चिराइतो पाखनवेद ठूलो ओखती र पाँचऔंले जस्ता बहुमूल्य जडीबुटी यहाँ प्रसस्तै भेटिन्छ । तर यस्ता वनपैदावारको उचित सदुपयोग गर्न सकिएको छैन ।

यहाँ पर्यटन विकासको राम्रो सम्भावना छ । तर यसका लागि आवश्यक पूर्वाधार विकास गर्न सकिएको छैन । बाहिरबाट आउनेका लागि बस्न होटल छैन । नजिकै रहेका बस्ती पुग्न करिब २ घन्टा लाग्छ । त्यसैले स्थानीयले नेपाल पर्यटन बोर्डसँग मिलेर यहाँ होमस्टे विकास गर्ने योजना अघि सारेका छन् ।

ककनी पुग्ने रुट
१। काठमाडौंबाट चरिकोट-मन्थली-साँघुटार-रानीवन-घोराखरी-विलन्दु हुँदै ककनी
२ । काठमाडौंबाट रुम्जाटार एयरपोर्ट-ओखलढुंगा बजार-कोषभन्ज्याङ हुँदै ककनी
३। कटारी-घुर्मी-ओखलढुंगा बजार- कोषभन्ज्याङ हुँदै ककनी
४। सोलु-खिजीफलाँटे-चुली-ताल-खर्क हुँदै ककनी
५। जिरी-पोकली-गाम्नाङ-बतासे-विलन्दु हुँदै ककनी

नागरिक दैनिकमा प्रकाशित 

No comments:

Post a Comment