Saturday, December 3, 2011

स्थानीय विकासमन्त्री रायमाझी अब दौरा सुरुवालमा


स्थानीय विकासमन्त्री तथा माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलाई केही दिनभित्रै दौरासुरुवालसहितको पोसाकमा देख्न सकिने भएको छ। राष्ट्रिय पोसाकबारे चर्को बहस भइरहेको बेला सरकारका मन्त्रीले दौरासुरुवाललाई राष्ट्रिय एकताको प्रतिकको रुपमा चित्रण गर्दै आफू दौरासुरुवाल लगाएर हिँड्ने अठोट गरेका हुन् ।

'टोपी धेरै पटक लगाए पनि मेरो जीवनमा भने दौरासुरुवाल भने एकपटक मात्र लगाएको छु, राष्ट्रिय पोसाक दौरा सुरुवालप्रति घृणा छैन, सम्मान छ, आदर छ,' मन्त्री रायमाझीले भने। 'राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको दौरासुरुवाल सिलाउने फैसला गरेको छु, लगाएर हिँड्छु साम्प्रदायिकता र विखण्डनलाई रोक्न दौरा सुरुवाल र खुकुरी भिर्नेछु', उनले भने- 'व्यक्तिगत स्वतन्त्रता र आवश्यकता महसुस गरेर दौरासुरुवाल लगाउने निधो गरेको हुँ विखण्डनका लागि होइन।'

एक कार्यक्रममा मन्त्री रायमाझीले देशमा राष्ट्रिय सहमति बन्दै गएको, सङ्घीयता, समावेशी र धर्मनिरपेक्षताको कुरा गरिरहेको र त्यो सकारात्मक दिशातर्फ देश अघि बढिरहेको उल्लेख गरे।
तर अलिकता सङ्घीयता र धर्म निरपेक्षताको कुरालाई अपभ्रंश गरेर जातीयताको नाममा सङ्घीयता र साम्प्रदायिक खालका कुरा आएपछि राष्ट्रियताका लागि देशलाई विखण्डनतर्फ जोगाउन आफू क्षेत्री हुनुको नाताले राष्ट्रिय एकताको प्रतीकको रुपमा रहेको दौरा सुरुवाल लगाउने निधोमा पुगेको मन्त्री रायमाझीले बताए।
नेकपा (एमाले) नेता एवम् पूर्व गृहमन्त्री भीम रावलले आफू गृहमन्त्रीको हैसियतले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा दौरासुरुवाल देखेर विदेशी समकक्षीले देखाएको सम्मानभावले आफ्नो गौरव बढेको महसुस गरेको प्रतिक्रिया बताए।
दौरासुरुवाल कुनै जाति विशेषको नभई बाहुन, क्षेत्रीलगायत मुलुकका १४ जातजातिको पुरानो पोसाक भएको बताउँदै नेता रावलले संविधानसभामा आफू दौरासुरुवाल लगाएर जाँदा एनेकपा (माओवादी)का सभासद्ले हेर्ने दृष्टिकोण भने अरुको भन्दा भिन्न पाएको स्मरण गराए।
साभार : नागरिक दैनिक 

No comments:

Post a Comment