Thursday, November 17, 2011

ऐश्‍वर्याको छोरी र हाम्रो पत्रकारिता

ऋषिकेश दाहाल

भारतीय अभिनेतृ ऐश्‍वर्या रायले छोरी जन्माइन्। आज (मंसिर १, २०६८)को गोरखापत्रले यो समाचार पहिलो पेजमा फोटोसहित छाप्यो। उनी आमा बनेलगत्तै हिजो भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा दिनभरि नै प्रमुख समाचारकोरुपमा यो विषयले स्थान पायो। नेपालका चलेका केही अनलाइन पोर्टलले पनि यसलाई मेन न्युजकै रुपमा पस्के। तर, विश्‍व सुन्दरी रहिसकेकी ऐश्‍वर्याको सन्तान प्राप्‍तीको समाचारले भारतीय पत्रकारिताको मोडमा केही परिवर्तनहरुका संकेतहरु देखाएको छ। 

भारतीय मिडियालाई आलोचना गर्नेहरुले प्रमुख तीन कुरामा गाली गर्ने गर्छन्, पहिलो क्रिकेट। क्रिकेटको कुनै पनि स्पर्धामा भारतले जिते जयजयकार र हारे धिक्कार्नु भारतीय 'मिडियाको धर्म' भएकोमा उनीहरुमाथि नकारात्मक टिप्पणी हुने गर्छ। दोस्रो सिनेमा। सिनेमा र टेलिभिजनका रियालिटी सोका अंशहरु घन्टौं प्रसारण गरेर समाचार च्यानलहरुले आफ्नो 'वास्तविक' चरित्र देखाइरहेका हुन्छन्। तेस्रो हो अपराध अर्थात 'क्राइम'। अपराधका घटनालाई यति कथानक बनाइन्छ कि समाचार च्यानलमा समाचार या सिरियल के हेरिँदैछ भन्ने पत्तो पाउन सकिन्न। 

'क्रिकेट, सिनेमा र क्राइम' 'थ्री सी'मा आधारित भारतीय टेलिभिजन पत्रकारितामा ऐश्‍वर्याले छोरी जन्माउँदा कुनै 'कम्पन' ल्याएन। टेलिभिजनका पर्दामा यो सामान्य समाचारभन्दा बढी बनेन्। आखिर किन त ? 
भारतको ब्रोडकास्ट इडिटर्स एसोसिएसनले यो खबरको 'कभरेज'मा एउटा गाइडलाइन नै तयार पारेको थियो। १० बुँदे गाइडलाइन अनुसार उनको सन्तानप्राप्‍तीलाई ब्रेकिङ न्युज कुनै पनि च्यानलले नबनाउने। ज्योतिसलाई उभ्याएर टेलिभिजनले जन्मन नपाउँदैकी बालिकको भविष्यवाणी गर्नसमेत रोक लगायो। उनले सन्तान जन्माएको अस्पताल र अमिताव वच्चन (रायको ससुरा)को घर अगाडी आउटडोर ब्रोडकास्टिङ भ्यानसमेत राख्‍न रोक लगाइयो। 
एसोसिएसनको यो कदमले भारतीय समाचार च्यानलको लोकप्रियताको मात्रा टिआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट) कति तलामाथि भयो, फरक कुरा हो। तर, यसले एउटा अध्याय भने थालेकै हो। 
हालैमात्र भारतीय प्रेस काउन्सिलका अध्यक्षमा नियुक्त भएका मार्कन्ड्य कट्जु पदग्रहण गरेलगत्तै भारतीय मिडियामाथि खनिन थालेका थिए। उनको आरोप गालीगलौजमा आधारित होइन कि मिडियाको चरित्रमाथि थियो। ऐश्‍वर्याको सन्तानलाभको समाचारमा भारतीय मिडिया नउचालिनुको पछाडि यिनकै भूमिका छ भन्दा फरक पर्दैन। '८० प्रतिशत जनता गरिवी, वेरोजगारी, महँगी, उपचार अभावमा जीवन विताइरहेका छन्,' उनले पछिल्लो समय भारतीय मिडियामाथि औल्याउँदै भनेका थिए, 'तिमीहरु मानिसका यस्ता समस्यालाई छाडेर सबैको ध्यान फिल्म स्टार, फेसन परेड र क्रिकेटतिर तानिरहेका छौं।'
उनको यो भनाई नेपाली पत्रकारिताका लागि पनि पाठ 'निशन्देह' हो। 
राजनीतिक विश्रृखलता र अराजकताको बीचमा सरकारी मिडिया गोरखापत्रले ऐश्‍वर्य रायको सन्तानप्राप्‍तीलाई पहिलो पेज दिनुले कट्जुको भनाईलाई ब्यङ्ग्य गरिरहेको छ। यसको मतलब 'समाचार बहिस्कार गर' भनेको होइन। समाचार दिउँ तर त्यसले पाउने स्थान अनुसारकै। 
ऐश्‍वर्य राय-अभिषेक बच्चन(उनका पति)को पहिलो सन्तानको सामाचार भारतीय टेलिभिजनमा सनसनीका रुपमा नआउँदा पनि हुने रहेछ त ! भर्खरै जन्मेकी छोरी हिरोइन बन्छे कि डाक्टर बन्छे भनेर ज्योतिसहरुबीच 'लाइभ' माथापच्ची नगर्दा पनि हुने त रहेछ नि। भारतीय टेलिभिजनहको यो पछिल्लो निर्णयको पाठले के नेपाली पत्रकारितामा केही सिकाउला? 

साभार : नागरिक अँनलाइन 

No comments:

Post a Comment