Thursday, December 16, 2010

रुवेल र सुजाता दुबै डाक्टर !

कृष्ण ढुंगाना, काठमाडौं, पुस १- पारस गोलीकाण्डपछि चर्चामा आएका परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीको पृष्ठभूमि शंकास्पद् पाइएको छ। चौधरी परिवार र आफन्त सञ्चालक रहेको वर्ल्ड पिस एन्ड इकोनमिक डेभलपमेन्ट अर्गनाइजेशन नामक संस्थाको वेबसाइटमा रुबेलले आफूलाई र सासु सुजातालाई पनि डाक्टरका रुपमा चिनाएका छन्। बंगलादेशमा गैरसरकारी संस्थाको रुपमा दर्ता भएको भनिएको सो संस्थाले आफूलाई संयुक्त राष्ट्रसंघमा समेत दर्ता रहेको दाबी गर्दै आधिकारिक वेब साइट तथा ब्रोसरमा राष्ट्रंसघको लोगो प्रयोग गरेको छ।
संयुक्त राष्ट्रसंघका १७ विशेष एजेन्सीले समेत यूएनको लोगो प्रयोग गर्दैनन्। 'राष्ट्रसंघका विभिन्न देशस्थित कार्यालय र एजेन्सी बाहेक अन्यलाई लोगो प्रयोग अधिकार हुँदेन', काठमाडौंस्थित संयुक्त राष्ट्रसंघ कार्यालयका अधिकारीले नागरिकसँग भने- 'यूएनले अन्य अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दा संयुक्त लोगो प्रयोग हुन्छ तर त्यसबारे मुख्यालयले नै निर्णय लिन्छ।' राष्ट्रसंघले कुनै पनि स्थानीय संस्थालाई आफू अन्तर्गत दर्ता गर्ने नगरेको उनले प्रस्ट्याए।
साइटमा रुबेलले आफू, श्रीमती मेलानी तथा सासु सुजातालाई समेत 'डाक्टर' उपाधि दिएका छन्। संस्थाका संस्थापक अध्यक्ष शेरे खाउजाले नेपालका पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग बसेर खिचेका तस्वीर साइटमा छन्।


वर्ल्ड पिस एन्ड इकोनोमिक डेभलोपमेन्ट अर्गनाइजेसनको आधिकारिक ब्रोउसरमा संस्थापकको सूचिमा 'परराष्ट्रमन्त्री डाक्टर कोइरालाले नेपाल हेर्ने' उल्लेख गरिएको छ। रुबेल श्रीमती मेलानी रोजालाई वरिष्ठ उपाध्यक्ष रहेको सो संस्थामा वर्तमान अध्यक्ष मसुद राना चौधरी छन्।



मानव अधिकार संरक्षण, अन्तराष्ट्रिय आतंकवादको विरोध, आणविक हतियार विरोधी अभियान, गृहयुद्धविरोधी अभियान, वातावरण संरक्षण, महिला अधिकार, बाल अधिकार लगायत क्षेत्रमा काम गर्ने उल्लेख गरेको संस्थाले झुक्याउने गरी राष्ट्रसंघीय महासचिव बान की मुनको सन्देश भनेर उनलाई लेखिएको पत्र राखेको छ। सामान्यतः गैरसरकारी संस्थाले डट ओआरजीको डोमन लिएर काम गर्छन तर चौधरी निमित्त अध्यक्ष रहेको वर्ल्ड पिस एन्ड इकोनमिक डेभलपमेन्ट अर्गनाइजेशनको वेब डोमेन डटकम छ। डटकम नाफामुखी कम्पनीहरुले प्रयोग गर्ने डोमन नेम हो।
स्वर्गीय गिरिजाप्रसाद कोइराला तथा अन्य नेताको तस्विर डिस्प्ले यसअघि नेटवर्किङ व्यवसाय गर्ने युनिटीले राष्ट्रपति रामवरण यादवको तस्बिर दुरुपयोग गरेभन्दा फरक छैन। गिरिजाबाबुको सन्देश भनेर तस्बिर राखिए पनि त्यो सेक्सनमा खाली छ। भारतीय पूर्व प्रधानमन्त्रीदेखि बंगलादेशका उच्च अधिकारीसँग रुबेलले खिचेका तस्बिर साइट तथा ब्रोसरमा छन्। यसबारे बुझ्न खोज्दा रुबेल सम्पर्कमा आउन चाहेनन्।

No comments:

Post a Comment