Thursday, December 16, 2010

पूर्वयुवराज हिरासतमा 'नवयुवराज’ ससुरालीमा

खगेन्द्र, प्रवीण/नयाँ पत्रिका
काठमाडौं, २९ मंसिर / सामाजिक सेवा गर्ने भन्दै नेपालमा बसेका बंगलादेशी नागरिक रुवेल चौधरी राजनीतिक विवादमा मुछिएका छन् । मदिरा सेवनपछि भएको विवादका कारण पूर्वयुवराज पारस शाहलाई दुई दिनदेखि प्रहरीले नियन्त्रणमा राखेको छ । तर, त्यही घटनाका अर्का झगडिया रुवेललाई उनकै ससुरालीमा गएर प्रहरीले बयान लिएको छ ।
उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेलले गत आइतबार राति चितवनको सौराहास्थित टाइगरटप्स होटेलमा पूर्वयुवराज पारसले आफूमाथि गोली चलाएको आरोप लगाएका थिए । त्यही आरोपमा प्रहरीले मंगलबार पारसलाई पोखराबाट पक्राउ गरेर बयानका लागि चितवन लगेको छ । थप अनुसन्धानका लागि भन्दै प्रहरीले बुधबार पारसलाई पक्राउको म्याद तीन दिन थप गराएको छ ।
यता, त्यही घटनाका पीडित भनिएका रुवेलसितको प्रहरी व्यवहार भने भिन्न छ । काठमाडौंको मन्डिखाटारस्थित सासू सुजाताको घरमा बसिरहेका रुवेलको बयान लिन प्रहरी त्यहीँ पुग्यो । प्रहरीले बयान लिँदा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलासमेत प्रभाव पार्न मन्डिखाटार पुगे । स्रोतका अनुसार रुवेलका पक्षमा ठूलो राजनीतिक लबिङ सुरु भएको छ ।
प्रहरीले बयानका लागि रुवेललाई पनि घटनास्थल चितवन नै लग्न खोजेको थियो । तर, राजनीतिक संरक्षण पाइरहेका उनले जान अस्वीकार गरेको स्रोतको दाबी छ । राजनीतिक दबाबका अगाडि केही नचलेपछि महाराजगन्ज प्रहरी वृत्तका डिएसपी दीपक थापाको नेतृत्वमा गएको प्रहरी टोलीले सुजातानिवासमै गएर रुवेलको बयान लिएको छ । यद्यपि, प्रहरीले उनीसित बयान लिएको नभएर सोधपुछ मात्रै गरिएको दाबी गरेको छ ।
'बयान होइन, सोधपुछ मात्रै गरिएको हो,' सासू सुजाताको घरमा रुवेलसित झन्डै साढे तीन घन्टा बयान लिएर र्फकने क्रममा डिएसपी थापाले पत्रकारसित भने । प्रहरी स्रोतले 'माथिको निर्देशनअनुसार' रुवेलसित चितवन घटनाबारे बयान लिएको जनाएको छ । बिहान ११ बजे सुजातानिवास प्रवेश गरेको प्रहरी टोली दिउँसो झन्डै पौने तीन बजेमात्रै बाहिरिएको थियो ।

प्रहरी स्रोतका अनुसार बयानमा रुवेलले पारससँग घटना भएको दिन मात्र चिनजान भएको बताएका छन् । आफू बसेको टेबलमा पारस आएर चिनजान गरेको र केहीबेरको कुराकानीपछि पारस आफूमाथि जाइलागेको रुवेलले आफ्नो बयानमा बताएका छन् । प्रहरीले बयान लिँदा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री सिटौला, दिलेन्द्र बडू र रुवेलका तर्फबाट कानुनी सल्लाहकार मदन रेग्मी र राजेश्वर अधिकारीसमेत उपस्थित थिए ।

को हुन रुवेल ?

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी एक मात्र नातिनी तथा उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी मेलानी जोस्टसित सन् २००६ मा प्रेम-विवाह गरेका हुन् रुवेलले । मेलानीसित 'कोर्ट म्यारिज' गरेको केही वर्षपछि उनी यतै बस्न थालेका हुन् । बंगलादेशको राजधानी ढाकास्थित सिएच सिता स्यालेस घर नम्बर ६० डउनमन्डी उनको स्थायी ठेगाना हो ।
रुवेलले नेपाल आउन १४ जुन २०१० मा गैरपर्यटकीय भिसा (प्रवेशाज्ञा) लिएका थिए । ब् ०१६०२४४ नम्बरको बंगलादेशी पासपोर्टमा लागेको उनको भिसाको म्याद १३ जुन २०११ सम्मको छ । अध्यागमन विभाग स्रोतका अनुसार रुवेलले १३ जेठ ०६४ मा 'रिलेसन भिसा' पनि पाएका छन् । जसको म्याद ११ जुन २०१३ सम्म रहेको छ । रुवेलले बुधबार सासू सुजाताको निवासमा जम्मा भएका सञ्चारकर्मीमाझ आफ्नो गैरपर्यटकीय भिसा सार्वजनिक गरेका थिए । जुन अध्यागमन विभागको रेकर्डमा रहेको भिसासित मेल खाँदैन ।
प्रहरीले समेत रुवेलको पासपोर्ट र भिसामाथि शंका गरेका छन् । तर, उनीमाथि राजनीतिक संरक्षण रहेकाले प्रहरी केही बोल्न सकेको छैन । प्रहरी स्रोत भन्छ, 'उसको अहिलेको प्रवेशाज्ञालाई पत्याउने कि, रिलेसन भिसालाई पत्याउने । दोहोरो भिसाले कहीँ न कहीँ गडबड छ भन्ने देखाउँछ ।' स्रोतका अनुसार रुवेलको गैरपर्यटक भिसाको म्याद अब ६ महिना बाँकी छ भने रिलेसन भिसाको म्याद साढे दुई वर्ष बाँकी रहेको देखिन्छ ।
उनी नेपाल आएयता आफ्नी सासू सुजाता अध्यक्ष रहेको सुष्मा कोइराला मेमोरियल ट्रस्टमा 'सिनियर कन्सलटेन्ट' का रूपमा पनि काम गर्छन् । सुजाताकै हस्ताक्षर भएको रुवेलको नियुक्तिपत्र छ । सामाजिक सेवा गर्ने भन्दै आउने विदेशीलाई नेपाली कानुनले जागिर खाने सुविधा दिएको छैन । कुनै पनि विदेशी नागरिकले सरकारसित श्रम इजाजत नलिइकन नेपालमा काम गर्न पाउँदैन । स्रोतका अनुसार रुवेल 'सेक्योर टेक्निकल सोलुसन प्रालि' को नाममा विभिन्न कारोबार गर्छन् । १३ असोज २०६० मा कम्पनी रजिस्टारको कार्यालय काठमाडौंमा दर्ता भएको यस कम्पनीको दर्ता नम्बर २५४३३ हो । तर, कम्पनी रुवेलको नाममा भने दर्ता छैन ।

गैरकानुनी कारोबार

प्रहरी स्रोतका अनुसार रुवेल काठमाडौंमा बसेर गैरकानुनी कारोबारमा समेत संलग्न भएका छन् । प्रहरीसित उनका विरुद्ध यथेस्ट प्रमाणसमेत छ, तर उच्च राजनीतिक संरक्षणमा रहेका रुवेललाई पक्राउ गर्ने साहस प्रहरीले अहिलेसम्म देखाएको छैन ।
तीन महिनाअघि प्रहरीले ललितपुरको खुमलटारबाट कल बाइपास गर्ने अवैध धन्दामा संलग्न तीन बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियो । उनीहरू रुवेलकै लागि काम गरिरहेको प्रहरी स्रोतको दाबी छ । 'उनीहरू (पक्राउ परेका) तीनैजनाले हामीहरू रुवेल बाबुका लागि काम गर्छौं भनेर बयान नै दिएका छन्,' प्रहरी स्रोतको दाबी छ । पक्राउ परेकाहरू अहिले पनि जेलमा सजाय भोगिरहेका छन् ।
प्रहरीले एकपटक रुवेललाई पक्राउ गर्ने प्रयास पनि गरेको थियो । तर, राजनीतिक संरक्षण रहेका रुवेलका अगाडि प्रहरीको केही चलेन । 'प्रहरीले मात्रै गरेर केही हुँदैन यहाँ । ठूला मान्छेहरूकै संरक्षण भएपछि प्रहरीको केही लागेन,' स्रोत भन्छ ।
प्रहरी स्रोतका अनुसार रुवेल बंगलादेशमा पनि टेलिफोन कल बाइपास गर्ने गैरकानुनी काम गर्थे । बंगलादेश सरकारले केही वर्षअगाडि सम्पूर्ण देशभरि एकैचोटि छापा मारेर कल बाइपास गर्नेलाई पक्राउ गर्न थालेपछि उनी बेलायत गएर बसेका थिए । कल बाइपासको पुरानो धन्धालाई पछि उनले नेपालमा पनि सुरु गरेको प्रहरी स्रोतको दाबी छ ।
सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएको नेपाल प्रहरीका लागि अत्यावश्यक सामग्री खरिद गर्दा भएको अनियमिततामा समेत रुवेलको नाम मुछिएको छ । झन्डै ११ करोड अनियमितता भएको सो घटनामा उनी अप्रत्यक्ष रूपमा संलग्न रहेको स्रोतको दाबी छ । सुडानस्थित प्रहरीका लागि तीस करोडको आर्मस् पर्सनल करिअर र पार्टपुर्जासहित पचास करोड रुपैयाँबराबरको सामग्री खरिद गर्दा झन्डै ११ करोड रुपैयाँ अनियमितता भएको प्रतिवेदन संसदीय छानबिन समितिले सार्वजनिक गरिसकेको छ ।

रुवेलसित बयान

चितवनको टाइगर टप्स होटलमा पूर्वयुवराज पारस शाहले गोली हानिएको भनिएका सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीसँग प्रहरीले बुधबार बयान लिएको छ । चौधरी बयानका लागि चितवन जान नमानेपछि प्रहरीले काठमाडांैमा नै उनीसित बयान लिएको हो ।
महाराजगन्ज प्रहरी वृत्तका डिएसपी दीपक थापासहितको टोलीले बुधबार रुवेलसित सुजाता कोइरालानिवास मन्डिखाटारमा गएर बयान लिएको हो । चौधरीसित बयानका लागि ११ बजे कोइरालानिवास प्रवेश गरेको टोलीले झन्डै साढे तीन घन्टासम्म निवासमा बिताएका थिए । निवासबाट बाहिरिएपछि डिएसपी थापाले चौधरीसित बयान नलिएको सोधपुछ मात्र गरिएको जनाएका छन् । तर, प्रहरी स्रोतले भने चौधरीसित गत शनिबार चितवनको टाइगर टप्स होटलमा भएका घटनाको बारेमा भएका घटनाको सबै विवरण सोधपुछसहित बयानसमेत लिएको जनाएको छ ।
बयानमा चौधरीले पारसलाई घटना भएको दिन मात्र चिनजान भएको बताएका छन् । आफू बसेको टेबलमा पारस आएर चिनजान गरेको र केहीबेरको कुराकानीपछि पारस आफूमाथि जाइलागेको चौधरीले आफ्नो बयान दिएका स्रोतले जनाएको छ ।
चौधरीको बयानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, दिलेन्द्र बडू र रुवेलका तर्फबाट कानुनी सल्लाहकार मदन रेग्मी र राजेश्वर अधिकारीसमेत सहभागी भएका थिए । अधिवक्तद्वय रेग्मी र अधिकारीले चौधरी पीडित पक्ष भएको र यो फौजदारी अभियोग भएकाले राज्य आफैँले मुद्दा चलाउने हुँदा चौधरीले कुनै उजुरी दिइरहनु नपर्ने सुझाब दिइएको बताएका छन् ।

पारसलाई चितवनबाट बिदाइ गर्ने तयारी

विष्णु पौडेल/नयाँ पत्रिका

चितवन, २९ मंसिर/ मंगलबार अपराह्न पोखराबाट गिरफ्तार भएका पूर्वयुवराज पारसलाई चितवन प्रशासनले बिहीबार धरौटीमा छाड्ने तयारी गरेको छ । बिहान ११ बजेसम्म उनीमाथिको अभियोगबारे प्रारम्भिक अनुसन्धान गरी राजधानी पठाउने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ ।
बुधबार बेलुकी नै पारसलाई छोड्ने आन्तरिक तयारी भए पनि मुद्दासम्बन्धी केही सरकारी काम बाँकी रहेकाले बिहीबार उनलाई रिहा गरिने भएको छ । पारसविरुद्ध परेको मुद्दाको मिसिल बुधबार सरकारी वकिलकहाँ पुगेको छ । सरकारी वकिलकहाँ मुद्दाको मिसिल ढिला पुगेकाले बुधबार उनलाई नछोडिएको हो ।
बिहीबार बिहान १० बजेसम्म अभियोगपत्र तयार गरिने भएको छ । सरकारी वकिलले तयार पारेको अभियोगपत्रलाई बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालय पुर्‍याउने तयारी भएको छ । त्यसलगत्तै पारससँग बयान लिइनेछ ।
 बयानपछि उनलाई सामान्य धरौटीमा छोडिने पनि स्रोतले दाबी गरेको छ । सार्वजनिक अपराधअन्तर्गत मुद्दा परेकाले ठूलै बहस गर्न नपर्ने अधिवक्ता शिवबहादुर पाण्डेले बताए । सार्वजनिक अपराधसम्बन्धी मुद्दा परेकोले सामान्य अवस्थामा १० हजारसम्मको धरौटीमा रिहाइ गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहन्छ ।
पारसको तर्फबाट अधिवक्ताहरू श्रीप्रसाद पण्डित, गणेश केसी, रामबहादुर कार्की, शिवबहादुर पाण्डे र चूडामणि सापकोटाले मुद्दा लडेका छन् भने वादीको तर्फबाट अधिवक्ता गीता तिम्सेनाले मुद्दा हेरेकी छिन् । यसअघि बुधबार उनलाई मुटुको उपचारका लागि काठमाडौं लगिने भनिए पनि बिहीबार मात्र त्यसतर्फ पठाउने भएको हो ।
काठमाडौंबाट आएका चिकित्सकको टोलीले हाललाई स्वास्थ्यअवस्था ठीकै रहेको बताएपछि उनलाई बिहीबार मात्र उपचारका लागि पठाइने भएको हो । पारसलाई यसअघि सरकारी मुद्दासम्बन्धी ऐन २०४९ को दफा २१ बमोजिम उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको थियो ।
तारेखमा छुटेपछि पूर्वयुवराजलाई चितवनबाट भव्य बिदाइ गर्ने तयारी भएको छ । उनका समर्थकले तालिम केन्द्रबाट प्रशासन कार्यालयसम्म अबिरजात्रासहित पैदलयात्रा गराउने योजना बनाएका छन् । प्रशासन कार्यालयमा पारसलाई सोधपुछ गरेपछि भरतपुरको केन्द्रीय टर्मिनलमा उनले समर्थकलाई सम्बोधन गर्ने कार्यक्रम छ । बिदाइ भव्य गराउन सयौँको संख्यामा युवाहरूलाई तयार पारिएको छ । पहिलोपटक सार्वजनिक मुद्दा खेप्ने पूर्वराजपरिवारको पहिलो सदस्य पारस शाहले दुई रात प्रहरी नियन्त्रणमा बिताएका छन् । हिरासतमा भए पनि प्रहरी तालिम केन्द्र भरतपुरको विशिष्ट कक्षमा राखिएको छ, तर कोठा फोहोर भएको भन्दै उनले गुनासो गरेका छन् ।
पारसको कोठामा टेलिभिजन र टेलिफोन सुविधा छ । मंगलबार साँझ चितवन आएका पारसले बुधबार राति पनि तालिम केन्द्रमा रात बिताए ।
उनी पोखराबाट चारजना सहयोगीका साथ आएका थिए, तर मंगलबार राति एकजनामात्र सहयोगीलाई तालिम केन्द्रमा राख्न प्रशासनले अनुमति दिएको थियो । तीनजना सहयोगी भने नारायणगढको लजमा बसेका थिए । उनीहरू बिहान सबेरै तालिम केन्द्र पुगेको स्रोतले जानकारी दिएको छ ।
प्रहरी घेराभित्र पारसले बन्दकोठामा नै समय बिताएका छन् । भेट्न आएका राप्रपा नेपालका जिल्लास्तरीय नेताहरूलाई मात्र तालिम केन्द्र परिसरमा भित्र पस्न दिएको थियो ।
यसअघि प्रहरी नियन्त्रणमा रहेका पूर्वयुवराज पारस शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले अनुसन्धानका लागि भन्दै तीन दिन म्याद थप गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले मंगलबारदेखि लागू हुने गरी तीन दिन म्याद थपिएको जानकारी दिए ।
म्याद थपसम्बन्धी सुनाएको फैसलामा काठमाडौं महाराजगन्ज निर्मलनिवास निवासी वर्ष ३९ का पारस शाहलाई केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउनका लागि चार दिनको म्याद थप गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय चितवनको निवेदन आए पनि मंसिर २८ गतेदेखि लागू हुने गरी तीन दिन म्याद थप गरिएको भन्ने व्यहोरा उल्लेख गरिएको छ । गौतमका अनुसार सो समयभित्र प्रहरीले प्रशासनसमक्ष मुद्दा पेस गर्नुपर्ने हुन्छ ।

समर्थनमा चितवन बन्द
पारस शाहलाई पक्राउ गरेको विरोधमा राप्रपा नेपालले आह्वान गरेको बन्द चार घन्टापछि फिर्ता लिएको छ । बुधबार धेरैजसो बिहेको लगन परेको र सर्वसाधारणको आग्रहलाई स्वीकार गर्दैर् बन्द फिर्ता लिइएको राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले बताए ।
 घन्टा गरिएको बन्दले बिहान केहीबेर चितवनमा प्रभाव परेको थियो । राप्रपा नेपालका कार्यकर्ताले चितवनको लायन्स चोक, चौबिसकोठीमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा उनीहरूले पारसको समर्थनमा चर्काे नाराबाजीसमेत गरेका थिए ।
मुद्दा नसकी नफर्कन ज्ञानेन्द्रको निर्देशन
पूर्वराजा ज्ञानेन्द्रले चितवनवासीलाई सम्बोधन गरेर मात्र राजधानी र्फकन सन्देश पठाएका छन् । मुद्दामा वारेनामा दिएर बुधबार राजधानी र्फकने कोसिसमा रहेका पारसलाई बाबुले मुद्दा आफैं बोक्न निर्देशन दिएका हुन् ।
ज्ञानेन्द्रले वारेस दिएर काठमाडौं र्फकंदा भागेको भन्ने आरोप लाग्ने हुँदा त्यसो नगर्न सुझाब दिएको पारसका कानुन व्यवसायी शिव पाण्डेले जानकारी दिए । 'पूर्वराजा ज्ञानेन्द्रले मुद्दा टुंग्याएर मात्र काठमाडौं र्फकन पारसलाई भन्नुभएको छ,' पाण्डेले भने ।
ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दैर् पाण्डेले भने, 'जे गर्छन् नेपाली जनताले गर्छन्, जनताको भरमा हिँड्ने हो उनले (पारस) पनि बयान दिन्छन् । यो राजनीतिक मुद्दा भएकाले जे हुन्छ नेपाली जनतालाई भनेर मात्र उनी (पारस) काठमाडौं र्फकन्छन् ।'
ज्ञानेन्द्रको निर्देशनअनुसार नै पारसले काठमाडौं र्फकनुअघि चितवनवासीलाई सम्बोधन गर्ने भएका हुन् । पाण्डेका अनुसार ज्ञानेन्द्र उपचार वा अन्य बहानामा काठमाडौं र्फकने कुरामा सहमत छैनन् ।

हिरासतमा पारसका २४ घन्टा

मंसिर २८ गते मंगलबार
साँझ ५ः२० - पारस, चिकित्सक, सहयोगी र प्रहरी चढेको हेलिकोप्टर भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा अवतरण ।
साँझ ५ः३० - तालिम केन्द्रको विशिष्ट कक्षमा पारस प्रवेश । ६ बजे विशिष्ट कक्षबाट आफ्नो कोठमा प्रवेश ।
साँझ ७ः३०- पारस फ्रेस हुन बाथरुम ।
राति ८ः०० - चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम पारसको कोठामा प्रवेश ।
राति ८ः३० - गौतमसँगको भलाकुसारी पुरा ।
राति ८ः५५ - राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनासँग भेटघाट ।
राति ९ः१० - राजधानीबाट आएको अनुसन्धान टोलीसँग भेटघाट । करिब एक घन्टाको भेटघाटपछि टोली तालिम केन्द्रबाट बाहिरियो ।
राति १०ः०० - पारस शाहद्वारा कालो चियाको माग । चिया खाएलगत्तै सादा खाना ।
राति ११ः०० - पारस शाहको कोठाको बत्ती निभ्यो ।
मंसिर २९ गते बुधबार
बिहान ७ः०० - पारसलाई कालो चिया दिइयो, चियासँगै पाउरोटी ।
बिहान १०ः०० - बा.८च ३७११ नम्बरको गाडीबाट वकिल श्रीप्रसाद पण्डित, गणेश केसी, हरि रेग्मी र रामप्रसाद रिजाल तालिम केन्द्र प्रवेश ।
बिहान १०ः३०- वकिलहरूको समूह तालिम केन्द्रबाट बाहिरियो ।
बिहान ११ः०० - पारसले आफू बसेको कोठामा नै खाना खाए ।
बिहान ११ः३० - भरतपुरका दुईजना मुटुरोग विशेषज्ञ चिकित्सक बा.७च ११८ नम्बरको रातो गाडीमार्फत पारसको कोठामा प्रवेश । दुई घन्टासम्मको स्वास्थ्य परीक्षणपश्चात् चिकित्सकको टोली तालिम केन्द्रको २ नम्बर गेटबाट बाहिरियो ।
दिउँसो ३ः०० - काठमाडौंको नर्भिक अस्पतालबाट दुईजना मुटुरोगका चिकित्सक तालिम केन्द्रमा प्रवेश । केही घन्टा पारससँग छलफल ।
दिउँसो ४ः०० - पारस शाहको नामबाट जिल्ला प्रहरी कार्यालय चितवनमा उपचारका लागि जान दिनु भन्दै निवेदन पेस तर अस्विकार ।
साँझ ६ः०० - पारसलाई कालो कफी दिइयो ।

No comments:

Post a Comment