Tuesday, November 2, 2010

जनता बैंकद्वारा जनता ठगिए

सानिमा विकास बैंकमा जम्मा भएको रकमको ब्याज आठ लाख ६९ हजार एक रुपैयाँ रिलायबल इन्भेस्टमेन्टमा जम्मा भएको रकमको ब्याज चार लाख १२ हजार ६ सय ७९ रुपैयाँ रिलायबलको अर्को खातामा जम्मा भएको रकमको ब्याज ३३ लाख ५१ हजार एक सय ३२ रुपैयाँ ग्लोबल बैंकमा जम्मा भएको रकमको ब्याज ४० लाख २९ हजार आठ सय ३४ रुपैयाँ सर्वसाधारणबाट जम्मा रकमको ब्याज जम्मा एक करोड ४९ लाख ६२ हजार ६ सय ४७ रुपैयाँ हिसाबमा छैन


नयाँ पत्रिका
काठमाडौं, १५ कात्तिक

सञ्चालनमा आउनु चार वर्ष अघिदेखि नै जनता बैंकद्वारा जनता ठगिएको आरोप लागेको छ । बैंक सञ्चालनमा आएको सात महिना मात्र भएको छ ।
बैंक सञ्चालनमा आउनु चार वर्ष अघिदेखि नै सञ्चालकले सर्वसाधारणलाई पनि लगानीकर्ता बनाउने भन्दै पैसा संकलन गरेका थिए । मंसिर ०६३ बाट पैसा उठाए पनि चैत ०६६ बाट मात्र बैंक सञ्चालनमा आयो । तर, यसबीचमा सर्वसाधारणबाट उठाइएको पैसाको ब्याज नै बैंकले दिएन । तर, विभिन्न बैंकमा पैसा राखेबापत आएको एक करोड ४९ लाख ६२ हजार ६ सय ४७ रुपैयाँ भने अध्यक्षलगायतका सञ्चालकले कुनै पनि हिसाबमा देखाएका छैनन् ।
सञ्चालक हुने आशामा पैसा बुझाएका आठ सय ३६ ले ब्याजविना सेयरधनी प्रमाणपत्र पाएका छन् । तर, दुई सय सर्वसाधारणले त प्रमाणपत्र पनि पाएका छैनन् । उनीहरूको त ब्याज मात्र होइन, साँवाकै हिसाब बैंकमा छैन ।
दुई सयजनाको सूचीभित्र प्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपालसमेत छिन् । प्रधानमन्त्री नेपालले सम्पत्ति विवरणमा जनता बैंकमा दुई लाख ६० हजारको संस्थापक सेयर हालेको उल्लेख गरेका छन् । तर, उनी अथवा उनकी श्रीमती बैंकको संस्थापक सेयरधनीमा सूचीकृत छैनन् । प्रधानमन्त्रीले अहिलेसम्म विरोध गरेका छैनन्, सर्वसाधारणको विरोध सुनिएको छैन ।
'लगानीकर्ताहरूले भए सेयरको प्रमाणपत्र नभए आफूले बुझाएको रकम ब्याजसहित फिर्ता गर्न माग गर्छन् तर बैंकका अध्यक्षसहित सञ्चालकहरू मौन बस्छन्,' बैंक स्रोतले भन्यो । 'बैंकमा बुझ्दा सेयरधनीमा तपाईंको नाममा सूचीकृत भएको छैन भन्छन्, अध्यक्षलाई सोध्यो कुनै जवाफ दिँदैनन्, बैंक खोल्ने नाममा सर्वसाधारणको रकम जम्मा गरेर ठगी गर्ने काम भएको छ,' बैंकमा रकम जम्मा गरेका एक लगानीकर्ताले भने । बैंक स्रोतले भने केही लगानीकर्ताले प्रमाणपत्र पाऊँ भन्दै दिएको निवेदन अध्यक्षले लुकाउने गरेको दाबी गरेको छ ।
यस विषयमा अध्यक्ष गुरुप्रसाद न्यौपानेसँग जिज्ञासा राख्दा उनी आक्रोशित भए । 'तपाईंले सबै थाहा पाइहाल्नुहुन्छ नि, नाटक नगर्नुहोस्, राष्ट्र बैंकलाई सोध्नुहोस्,' उनले आक्रोशित हुँदै भने । उनी विगतमा वाणिज्य बैंकको एलसी काण्डमा मुछिएका व्यक्ति हुन् ।
बैंक सञ्चालनका लागि सर्वसाधारणबाट संकलित रकम बैंकको संस्थापक खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरिएको थियो । त्यही माध्यमबाट ब्याज पनि सञ्चालकले खल्तीमा हालेको सर्वसाधारणको आरोप छ । अझ संस्थागत खातामै जम्मा भएको ब्याज पनि बैंकको आयमा नराखी व्यक्तिले नै खल्तीमा हालेका छन् ।
आफ्नो रकम, ब्याज र साँवा नै ठगी भएको थाहा पाएपछि सञ्चालकहरूले अध्यक्ष गुरुप्रसाद न्यौपाने र सञ्चालक चिरञ्जीवी द्वालाई पत्र लेखेका थिए । उनीहरूले बैंक सञ्चालनपूर्व उठाएको रकमको ब्याजमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । बैंकको सञ्चालक समितिमा न्यौपाने, द्वा, केशवबहादुर रायमाझी, धर्मध्वज पराजुली, निर्मलज्योति तुलाधर छन् ।
सञ्चालनमा आउनुअघि अध्यक्ष न्यौपानेसहित तीनजनाले काठमाडौंमा तीनवटा र पोखरामा एउटा गरी चारवटा बैंकमा पाँचवटा खाता सञ्चालन गरेका थिए । त्यसमध्ये रिलायबल वित्तीय संस्थामा दुईवटा, ग्लोबल, एभरेस्ट, सानिमा र कास्की फाइनान्समा एक/एकवटा खाता सञ्चालनमा थिए ।
पाँचवटा खातामध्ये तीनवटा खाता सञ्चालकहरूले संयुक्त रूपमा सञ्चालन गरेका थिए भने एभरेस्ट बैंक र पोखराको कास्की फाइनान्सको खाता व्यक्तिगत रूपमा सञ्चालन गरिएको थियो । पाँचवटै वित्तीय संस्थामा चार वर्षसम्म जम्मा भएको एक अर्ब ४० करोडको साँवा जनता बैंकमा देखाइए पनि ब्याजको भने कुनै हिसाब छैन ।
बैंकका अध्यक्ष गुरुप्रसाद न्यौपाने, सञ्चालकहरू शैलेन्द्र गुरागाईं र केशवबहादुर रायमाझीको संयुक्त सञ्चालनमा रहेको सानिमा विकास बैंक (खाता नं ०४७९५०७) बाट आठ लाख ६९ हजार रुपैयाँ, रिलायबल इन्भेस्टमेन्ट वित्तीय संस्था (खाता नं. ००१००००३६१०) चार लाख १२ हजार ६७९ र (खाता नं. ००१००७९६०९) बाट प्राप्त भएको ३३ लाख ५१ हजार १४२ रुपैयाँ, ग्लोबल बैंक (खाता नं. ०१०७०१०००५२४४) बाट प्राप्त भएको ४० लाख २९ हजार ८३४ रुपैयाँ ब्याज जनता बैंकको आम्दानीमा समावेश गरिएको छैन ।
त्यसैगरी अध्यक्ष न्यौपानेले दुई सय २० जना सेयरधनीबाट जम्मा गरेको २९ करोड ९१ लाख रुपैयाँ एभरेस्ट बैंकमा व्यक्तिगत खातामा जम्मा गरी ब्याज नदेखाएको सञ्चालकहरूको आरोप छ । त्यस्तै सञ्चालक द्वाले ८० जनाभन्दा बढी सेयरधनीबाट जम्मा गरेको १६ करोड रुपैयाँ कास्की फाइनान्समा व्यक्तिगत खाता खोली ब्याज हिसाब नदेखाएको आरोप पनि बैंक सञ्चालकहरूले लगाएका छन् ।
'एभरेस्ट बैंकबाट अध्यक्ष न्यौपानेले सात प्रतिशतका हिसाबले ४० लाख २९ हजार रुपैयाँ र द्वाले कास्की फाइनान्सबाट साढे सात प्रतिशतका हिसाबले २२ लाख ४० हजार रुपैयाँ ब्याज हिनामिना गरेको सञ्चालकहरूले बैठकमा उठाउने गरेका छन्,' स्रोतले भन्यो । तर, अध्यक्षको दबाबबीच यस विषयमा औपचारिक रूपमा छलफल हुन सकेको छैन । 'यही विषयले गर्दा बैंक-सञ्चालकहरूबीच विवाद चर्केको छ,' बैंक स्रोतले भन्यो ।
सञ्चालनपूर्वको हिसाब गोलमाल भएको भन्दै यसलाई पारदर्शी बनाउन केही सञ्चालकले माग गरेपछि ४ मंसिरमा हुने साधारणसभामा अध्यक्षले पेस गर्ने वाषिर्क प्रतिवेदन अहिलेसम्म टुंगो लागेको छैन । 'सञ्चालकहरूबीचको विवाद चर्किएको छ, यस्तो अवस्थामा बैंकको वाषिर्क साधारणसभा कसरी बस्न सक्छ ?' स्रोतले भन्यो ।
बैंक स्रोतका अनुसार सेयरधनीले जम्मा गरेको रकम अध्यक्ष न्यौपानेले श्रीमती, छोरा, बुहारीकोे नाममा बैंकमा लगानी गरेका छन् । 'सर्वसाधारणबाट रकम असुलेर आफ्नो परिवारको नाममा बैंक हत्याउने प्रयासमा अध्यक्ष लागेका छन्,' स्रोतले भन्यो, 'बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने राष्ट्र बैंक थाहा हुँदाहुँदै पनि यस विषयमा मौन बसेको छ ।' गभर्नर युवराज खतिवडाका छोरा तिलकराज खतिवडा बैंकका संस्थापक लगानीकर्ता हुन् ।
राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेले बैंकमा अनियमितता भएको विषयमा कुनै जानकारी नभएको बताए । 'बैंक तथा वित्तीय संस्थाले नियममा रहेर काम गर्नुपर्छ, यस विषयमा हामी छानबिन गर्छौं,' उनले भने ।

No comments:

Post a Comment