Friday, November 5, 2010

नेपाल तीब्र मानव विकास गर्ने मुलुक

काठमाडौं, कात्तिक १९ -शिक्षा र स्वास्थ्यमा भएको विकासका कारण नेपाल ४० वर्षमा मानव विकासका क्षेत्रमा चाँडो प्रगति गर्ने १० मुलुकभित्र परेको छ। मानव विकासका क्षेत्रमा चाँडो प्रगति गर्ने मुलुकमध्ये नेपाल तेस्रो नम्बरमा आएको हो। तुलनात्मक रुपमा आयस्रोत नबढेकाले गरिबी भने घट्न सकेको छैन।



संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले बिहीबार सार्वजनिक गरेको 'मानव विकास प्रतिवेदन २०१०' मा सन् १९७० देखि २०१० सम्ममा नेपालीहरुले शिक्षा, स्वास्थ्य, आयआर्जनलगायतमा उल्लेख्य प्रगति गरेको उल्लेख छ। प्रतिवेदनको २० औं वार्षिक संस्करणका लागि नया" मापदण्ड र तथ्यांकका आधारमा मानव विकास सूचकांकको मूल्यांकन गरिएको थियो।
समग्र मानव विकास सूचकांकमा प्रगति गर्ने हिसाबले नेपाल तेस्रो स्थानमा छ भने गैरआय सूचकांकमा नेपाल दोस्रो स्थानमा पर्छ। यसमा आयलाई समेत जोड्ने हो भने नेपाल उत्कृष्ट १० मा नै पर्दैन।
राजनीतिक अस्थिरता र द्वन्द्व रहेका बेला पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास भएकाले नेपालको मानव विकास सूचकांकमा प्रगति राम्रो देखिएको हो। समग्र मानव विकास सूचकांकका आधारमा सबैभन्दा चाँडो प्रगति गर्ने मुलकको सूचीमा ओमन र चीनपछि नेपाल परेको छ। आयबाहेकका सूचकांकका आधारमा भने नेपाल ओमनपछि दोस्रो स्थानमा छ।
विभिन्न १० प्रकारका मापदण्डका आधारमा तय गरिएको मूल्यांकनअनुसार नेपाल मानव विकास सूचकांकमा कुल १ सय ६९ मुलुकमध्ये १ सय ३८ औँ स्थानमा छ। मानव विकासमा चाँडो प्रगति गरेको भए पनि ४० वर्षअघि निक्कै दयनीय अवस्था रहेकाले अझै नेपालको गरिबी सन्तोषजनक रुपमा नघटेको प्रतिवेदनले औंल्याएको छ।
राष्ट्रिय योजना आयोगले आय आर्जनका आधारमा गरिबी घटेको जनाए पनि समग्र मानव विकास र सेवा सुविधाका आधारमा गरिबी कम नभएको प्रतिवेदनले देखाएको छ।
चालीस वर्षअघिको तुलनामा नेपालीको सरदर आयु, विद्यालय जाने बालबालिकाको संख्या, स्वास्थ्य सेवालगायतमा उल्लेख्य सुधार भएको छ। सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदीशचन्द्र पोखरेलले मानव विकासमा चाँडो प्रगति भए पनि नेपाल अझै विकासमा धेरै पछाडी रहेको देखिएको बताए।
'यो प्रतिवेदनले अझै हामी राम्रो अवस्थामा छैनांै भन्ने देखाएको छ,' उनले भने, 'आय बढे पनि सबैखाले सूचकांकका आधारमा गरिबी घटेको छैन भन्ने यसले देखाउँछ।' उनले यो प्रतिवेदन र योजना आयोगले तयार गरेको प्रतिवेदनका मापदण्ड फरक भएकाले तुलना गर्न नमिल्ने बताए। पोखरेलले प्रतिवेदनले देखाएका विभिन्न क्षेत्रको विकास प्रगतीलाई आधार मानी आगामी योजना बनाइने जानकारी दिए।
कार्यक्रममा युएनडिपीकी कन्ट्री डाइरेक्टर आन इजाबेलले प्राथमिक शिक्षा निःशुल्क गरिनु र समुदायको सहभागितामा शिक्षा क्षेत्रको विकास हुनुले मानव विकासमा नेपालले चाँडो प्रगति गरेको देखिएको बताइन्। उनले अझै पनि खाद्य सुरक्षा, भोकमरीजस्ता समस्याले गर्दा नेपालको उल्लेखनीय प्रगति हुन नसकेको दाबी गरिन्।
युएनडिपीको बिहीबार सार्वजनिक प्रतिवेदन अनुसार नेपालीको सरदर आयु साढे ६७ वर्ष पुगेको छ। यो सबैभन्दा राम्रो स्वास्थ्य सूचकांक भएका जापानीहरूको सरदर आयुको तुलनामा १५.७ वर्षले कम हो। प्रतिवेदनले सन् १९७० को तुलनामा अहिले नेपालीको सरदर आयु २५ वर्ष बढेको देखाएको छ।
अहिले नेपालका प्रत्येक ५ जना विद्यालय उमेरका बालबालिकामध्ये ४ जना प्राथमिक स्कुल भर्ना हुने गरेका छन्। चालीस वर्षअघि प्रति ५ बालबालिकामा १ जनामात्र हुन्थे। प्रतिवेदनले नेपालीको प्रतिव्यक्ति आय २०१० मा १ हजार २ सय १ अमेरिकी डलर पुगेको देखाएको छ। लैंगिक असमानता सूचकांकमा नेपाल १ सय १० स्थानमा छ। प्रति १ लाख जीवित जन्ममा ८ सय ३० नेपालीको मृत्यु हुने गरेको छ।
प्रतिवेदनले १७.९ प्रतिशतमात्र २५ वर्षमाथिका नेपाली महिलाले माध्यमिक तहको शिक्षा लिएको देखाएको छ भने मात्र १९ प्रतिशत नेपाली बालबालिकाको जन्म दक्ष स्वास्थ्यकर्मीको रेखेदेखमा हुने गरेको छ।
समग्र मानव सूचकांकमा प्रगति भएको देखिए पनि युएनडिपी आफैले बनाएको अन्तर्राष्ट्रिय मापण्डअनुसार दैनिक १.२५ अमेरिकी डलर खर्च गर्न नसक्ने नेपालीको संख्या कुल जनसंख्याको ५५.१ प्रतिशत छ। अझै १५.६ प्रतिशत नेपालीहरु सबैखाले मापदण्डको गरिबीको जोखिममा छन्।
प्रतिवेदनले नेपालका मात्र नभई संसारभरकै मानिसहरु पहिलेभन्दा स्वस्थ, शिक्षित र धनी भएको देखाएको छ। प्रतिवेदनअनुसार नर्वे, अस्ट्रेलिया र न्युजिल्यान्ड मानव विकास सूचकांकमा सबैभन्दा अगाडि छन् भने नाइजर, कंगो र जिम्बाबे सबैभन्दा पछाडि छन्।
समग्र मानव विकास सुचकांकमा दक्षिण एसियाली मुलुक मध्ये श्रीलंका सबैभन्दा अगाडी रहेको छ। श्रीलंका पछि क्रमसः माल्दिभ्स, भारत, पाकिस्तान, बंगालादेश, नेपाल र अफगानिस्तान रहेका छन्। भुटानको मानव विकास सुचकांकको भने युएनडिपीले अध्ययन गरेको छैन।

मुलुक मानव विकास सुचकांकका आधारमा स्थान

श्रीलंका ९१

माल्दिभ्स १०७

भारत ११९

पाकिस्तान १२५

बंगालादेश १२९

नेपाल १३८

अफगानिस्तान १५५

-नागरिक-

No comments:

Post a Comment