Sunday, June 27, 2010

वाणिज्य बैंकका शाखा ९ सय ४५

काठमाडौँ । निक्षेप संकलन गर्न खरो प्रतिस्पर्धामा उत्रिएका बैंकहरुको शाखा विस्तारको क्रम पनि तीव्र बनेको छ । वित्तीय कारोबार गरिरहेका २७ वाणिज्य बैंकहरुको कुल शाखा संख्या (केन्द्रीय कार्यालय सहित) ९ सय ४५ पुगेको छ । जसको एकतिहाई उपत्यका केन्द्रित छन् । बैंकहरुबीच प्रतिस्पर्धा बढ्दै जाँदा बढी ग्राहकसम्म पुग्न बैंकहरु शाखा विस्तारको रणनीतिमा होमिएका हुन् ।
नयाँ बैंकहरुले धमाधम आफ्ना शाखा विस्तार थालेपछि पूराना बैंकहरु पनि दबावमा परेका छन् । अझैसम्म सरकारी बैंकहरुकै शाखा र्सवाधिक छ । देशभरि सबैभन्दा धेरै सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या १ सय २५ पुगेको छ । जसको २१ वटा शाखा उपत्यकामा छन् । त्यस्तै, देशकै पूरानो नेपाल बैंक लिमिटेडको शाखा संख्या १ सय ८ पुगेको छ । उपत्यकामा यसका २० शाखा छन् । कृषि विकास बैंकको वित्तीय कारोबार गर्ने १ सय ५ शाखा पुगेका छन् । यो भर्खरै प्राथमिक सेयर निष्कासन गरेर पब्लिक लिमिटेड कम्पनीमा गएको थियो ।
निजी बैंक तर्फशाखा विस्तारको दौडमा सबैभन्दा अगाडि किस्ट बैंक देखिएको छ । फाइनान्स कम्पनीबाट स्तरोन्नति गरेर यो वाणिज्य बैंक बनेको हो । यसका शाखा संख्या ५१ पुगेको छ । किस्टको १९ शाखा राजधानीमा छन् । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ४० शाखा पुगेका छन् । यसका राजधानीमा मात्रै १७ शाखा छन् । नेपाल एसबीआई बैंकको शाखा ३९ पुगेको छ । जसमध्ये ११ शाखा उपत्यकामा छन् ।

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकको ३८ वटा शाखा खुलेका छन् । त्यस्तै माछापुच्छ्रे बैंकको शाखा ३८ पुगेका छन् । यसमध्ये नबिलका १६ र माछापुच्छ्रेका ११ शाखा उपत्यकामा छन् । एभरेस्ट बैंकले आफ्नो शाखा संख्या ३६ पुर्‍याएको छ । त्यस्तै, सनराइज बैंकका ३५, बैंक अफ काठमान्डूका ३३, हिमालयन बैंकका ३० शाखा पुगेका छन् । बैंक अफ एसिया र ग्लोबल बैंकका २९/२९ शाखा छन् । एनआइसी बैंकको शाखा संख्या २५ तथा सिर्द्धार्थ बैंकको शाखा संख्या २४ पुगेको छ ।

कुमारी र लक्ष्मी बैंकले आफ्ना शाखालाई २२/२२ पुर्‍याएका छन् । नेपाल बंगलादेश बैंकका १८ शाखा छन् । त्यस्तै, सिटिजन्स र एनसीसी बैंकका १७/१७ शाखाले वित्तीय कारोबार गरिरहेका छन् । एनएमबीका १५, प्राइमका १४ स्ट्यार्न्र्डड चार्टरका १३ तथा डीसीबीएल बैंकका १२ शाखा पुगेका छन् । बैंकका शाखामध्ये लुम्बिनी बैंकको शाखा संख्या सात मात्र छ । वाणिज्य बैंक मध्ये सबैभन्दा पछिल्लो जनता बैंकका तीन शाखा छन् ।
प्रतिस्पर्धा थपिदैँ जाँदा बैंकहरुले थप शाखा विस्तारको तयारी जारी राखेका छन् । एभरेस्ट बैंकले थप तीन शाखा विस्तार गर्दैछ। यस्तै, थप पाँच वाणिज्य बैंक मेगा, सिभिल,सेन्चुरी, क्रेडिट एन्ड ट्रस्ट तथा स्टेट बैंक अफ नेपाल वित्तीय कारोबार सुरु गर्न नियामक निकाय राष्ट्र बैंकबाट अनुमति कुरेर बसेका छन् । यद्यपि, अझैसम्म देशका २० जिल्लामा एक भन्दा बढी वाणिज्य बैंक पुग्न नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार हाल एक तिहाई जनता मात्र बैंकिङ पहुँच छन् । हाल वाणिज्य बैंकको एउटा शाखा बराबर २९ हजार १ सय जनताको चाप छ ।

No comments:

Post a Comment