Wednesday, May 30, 2012

सावधान ! फेसबुककै कारण जेल परिएला

रोसन पुरी/उज्यालो, काठमाडौं, जेठ १७ - तपाईको फेसबुकलगायत सामाजिक संजालमा कसैलाई अपमानित गरेर कसैले फोटो वा अरु सामग्री ट्याग गरिदिएको छ भने आजै हटाइहाल्नुस् । नत्र अरुले रमाइलोका लागि तपाईको फेसबुकको वालमा ट्याग गरिदिएको फोटो वा सामग्रीका कारण तपाई जेल जानुपर्ने पनि हुन सक्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक दलका नेता, कलाकार लगायतलाई अशिष्ट शव्दमा गाली गलौज गर्ने,  एनिमेसन गरेर बनाइएका फोटो हाल्ने क्रम बढेपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्ने गोप्य तयारी सरकारले गरेको हो ।
केहि महिनायता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुको फोटो एनिमेशन गरेर अपमानित रुपमा फेसबुक, ट्वीटर मार्फत सार्वजनिक गर्ने क्रम बढेपछि सरकारले त्यसको अनुसन्धान गरिरहेको श्रोतको भनाई छ । त्यस्तै कलाकार, पत्रकारलगायतलाई पनि सामाजिक संजाल मार्फत बेईज्जतीपूर्ण रुपमा टिप्पणी गर्ने र अश्लिल फोटो ट्याग गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास सुरु गरिएको गृह मन्त्रालय श्रोतको भनाई छ ।
सार्वजनिक नैतिकता, शिष्टाचार, सम्मान र सार्वजनिक जीवनयापन विरुद्ध तथा अश्लिता एवं सार्वजनिक जीवनमा कुनैपनि किसिमले अपमानित गर्ने काम विरुद्ध यसअघि उजुरी मार्फत कारवाहीको तयारी गरिएको थियो । तर पछिल्लो समय त्यस्ता घटना अनियन्त्रीत ढंगमा बढेको ठहर गर्दै अनुसन्धान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको हो ।

गृहमन्त्रालयका एक अधिकारीले भने ‘सूचना प्रविधिको बिकाससंगै पछिल्लो समय देश भित्र र बाहिर बसेर सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अश्लिल सामग्री, अपमानित गर्ने खालका सामग्री, एनिमेशन गरेका फोटो राख्ने क्रम बढेको छ । त्यसैले अब केहीदिन भित्र कारबाही गरेको सार्वजनिक हुनेछ ।’

के हुन्छ त कारबाही ?
विद्युतीय कारोबार ऐन २०६३ अनुसार त्यस्ता सामग्रीहरु प्रशारण, प्रदर्शन, बिक्री वितरण र प्रवाह गर्नेलाई ऐनको दफा ४७ बमोजिम एक लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजाय हुने उल्लेख छ । गृहमन्त्रालयले पछिल्लो पटक फेसबुक र ट्वीटर मार्फत एनिमेशन हुने फोटो तथा सार्वजनिक जीवनमा असर पुराउने काम नेपाल बाहिरबाट समेत हुने भएपछि कारबाहीको दायरा फरक तरिकाले तय गरेको छ ।
विदेशमा बस्ने नेपालीले त्यस्तो काम गरेमा उनीहरुको भिषा रद्ध गर्ने, नेपाल फिर्ता पठाउन पहल थाल्ने र नेपाल फर्कदा काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर कारबाही गर्नेसम्मको योजना गृह मन्त्रलयले बनाएको छ । गृह मन्त्रालयका सह—प्रवक्ता एकमणी नेपालले पनि सामाजिक सञ्जालमा आइरहेका अश्लिल सामग्री तथा घृणा फैलाउने वा कसैको मानहानी गर्ने सामग्री नियन्त्रण गर्न गृह मन्त्रालयले पहल थालेको बताउनुभयो ।
नेपालले भन्नुभयो ‘नेपाल दुरसञ्चार प्राधिकरण, सुचना तथा सञ्चार मन्त्रालयसँग समन्वय गरेर थालेको यो कामको नतिजा चाँडै देखिनेछ ।’ यसका लागि देशभित्र वा बाहिरबाट कुनैपनि सामाजिक संजाल मार्फत अपमानित गरिएमा गृहमन्त्रालयको शान्ति सुरक्षा शाखा, सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण वा प्रहरी प्रधान कार्यालयमा उजुरी दिन गृह मन्त्रालयले आग्रह गरेको छ ।
साभार उज्यालो अनलाईन

No comments:

Post a Comment