Monday, September 27, 2010

लोकतन्त्रको मापन कार्टुनिस्टको स्वतन्त्रता

भारतका प्रसिद्ध नेता जवाहरलाल नेहरू कार्टुनिस्टलाई आफ्ना सच्चा समालोचक ठान्थे । उनले आफूले गरेका कामबारे कुनै योजनाकारसँग भन्दा पनि त्यसवेलाका चर्चित कार्टुनिस्ट शंकरसँग राय माग्थे ।
व्यंग्यचित्र (कार्टुन) छापिने पत्रपत्रिका गहना लगाएको दुलहीजस्तै देखिन्छ । त्यसैले कार्टुनलाई पत्रपत्रिकाको गहनासँग तुलना गरिएको हो ।

कार्टुन क्यारिकेचर र सेन्स अफ ह्युमरको एउटा मीठो संगम हो । नत्र कार्टुन कार्टुन बन्नै सक्दैन । कार्टुनिस्ट रविन साय्मि भन्छन्, 'दैनिक पत्रिकामा कार्टुन भनेर छापिने सबैलाई कार्टुन भन्न मिल्दैन । थोरै कार्टुन हुन्, धेरै घटना चित्र ।'
समाचार र कार्टुनबारे साय्मिको आफ्नै धारणा छ, 'समाचारले कुनै प्रसंगको यथार्थ चित्रण गर्छ भने कार्टुनले त्यसको अन्तर्वस्तुलाई प्रकाश पारिदिन्छ । पत्रिकामा छापिने कार्टुन देख्नेबित्तिकै पाठक सो प्रसंगको सतही मात्र होइन, अन्तरनिहित यथार्थ बोध गर्न पुग्छन् ।'
व्यंग्य गर्ने र चित्र लेख्ने दुवै कला हुनुपर्छ कार्टुनिस्टसँग । कमै कार्टुनिस्टमा यी दुवै कला निहित हुन्छ । साय्मि भन्छन्, 'कार्टुनिस्ट संसारको दुर्लभ प्राणीमा पर्छन् ।' तिनै दुर्लभमध्येका एक उनी स्वयम् पनि हुन् । साय्मि युवापुस्ताका अब्बल कार्टुनिस्टका रूपमा परिचित छन् । उनले ०४६ पछिको राजनीतिक घटनाक्रमलाई कार्टुनमार्फत व्यंग्य गर्दै आएका छन् । त्योभन्दा अघि उनले स्केच गर्थे । आठ कक्षा पढ्दाताका नै 'सहलह' नामक नेपाल भाषा डाइजेस्टमा उनको कमिक स्टि्रप छापिएको थियो ।
विषयगत घटनालाई कलात्मक ढंगले व्यंग्य गर्न सिपालु छन् रविन । समाजका विविध विकृति र विसंगति कार्टुनमार्फत अभिव्यक्त गर्नु उनी आफ्नो कर्तव्य ठान्छन् । कर्तव्य निर्वाह गर्दा उनले बनाएका कार्टुनले कतिपय न्यायालयको ढोकासम्म पुग्न बाध्य हुन्छन् । तर, उनी कत्ति पनि विचलित छैनन् । सिरहाका एक न्यायाधीश काठ तस्करीमा संलग्न रहेको समाचार प्रकाशित भयो । सोही विषयलाई ४ मंसिर ०४८ को दृष्टि साप्ताहिकमा उनले बनाएको 'लकडी चोर न्यायाधीश' शीषर्ाकृत कार्टुन छापिँदा पत्रिकाका तात्कालिक प्रधानसम्पादक कमल कोइराला, सम्पादक नारायण ढकाल र प्रकाशक शम्भु श्रेष्ठविरुद्ध मुद्दा हालियो । साँचो कुरा कार्टुनमार्फत व्यंग्य गरिँदा मुद्दा हालिएको विषयलाई झनै व्यंग्य गर्दै उनले सोही पत्रिकामा अर्का कार्टुन बनाए- 'श्रीमान् क्षमा पाऊँ, साँचो कुरा लेख्ने छैन ।' कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि व्यंग्य गर्दै बनाएको कार्टुन हिमाल पाक्षिकमा छापिँदा पनि उनीविरुद्ध मुद्दा हालिएको थियो ।

भारतका प्रसिद्ध नेता जवाहरलाल नेहरू कार्टुनिस्टलाई आफ्ना सच्चा समालोचक ठान्थे । नेहरूले आफूले गरेका कामबारे कुनै योजनाकारसँग भन्दा पनि त्यसवेलाका चर्चित कार्टुनिस्ट शंकरसँग राय माग्थे । नेपालका राजनीतिज्ञहरूमा नेहरूको जस्तो चेतना नभएको रविन साय्मिको दाबी छ । साय्मि भन्छन्, 'हाम्रा देशको राजनीतिज्ञमा चेतनाको त्यो स्तर भइदिएको भए मुलुक यो अवस्थामा हुने थिएन ।'
एकताका समीक्षा साप्ताहिक दुई/दुईपटक प्रतिबन्धित भएको थियो । प्रतिबन्धित हुनुको एउटै कारण थियो- कार्टुन । ०३५ मा सोही पत्रिकाले कार्टुनमार्फत तात्कालिक प्रधानमन्त्री कीर्तिनिधि विष्टमाथि व्यंग्य गर्दा १०/१० महिना पत्रिका बन्द गर्नुपरेको मुलुक पनि यही हो । ११ कात्तिक ०४९ को विमर्श साप्ताहिकमा 'टनकपुर सन्धि सम्बन्धमा अदालतको धारणा' शीषर्ाकृत कार्टुन छापिँदा सम्पादक हरिहर विरहीले सात सय जरिवाना र सात दिन जेल सजाय भोग्नुपरेको थियो । तर, रविन साय्मिले भने आजसम्म त्यस्तो दुःख बेहोर्नुपरेको छैन ।
कार्टुनमार्फत व्यंग्य गरेकै कारण जेलनेल भोग्नु, पत्रिकामाथि प्रतिबन्ध लगाइनु भनेको सम्बन्धित देशको प्रजातन्त्रको स्तरमा भर पर्छ । रविन भन्छन्, 'कुनै पनि देशको लोकतन्त्र कति उन्नत छ भनेर बुझ्न त्यो देशको कार्टुनिस्ट कति स्वतन्त्र छन् भनेर हेरे पुग्छ । त्यसकारण कार्टुन लोकतन्त्र मापन गर्ने एउटा साधन पनि हो ।'
'विविध विकृति र विसंगति कार्टुनमार्फत अभिव्यक्त गर्नु मेरो ड्युटी -कर्तव्य) हो । कर्तव्य निर्वाह गर्दा सत्तामा बस्नेकै बढी व्यंग्य गरिँदो रहेछ,' रविनको स्वीकारोक्ति छ । नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि सत्तामा गिरिजाप्रसाद कोइरालाकै राइँदाइँ भयो । तसर्थ, स्वाभाविक रूपमा कोइरालाकै बढी कार्टुन बनाए उनले । उनी भन्छन्, 'मैले पोलिटिकल कार्टुन बनाउन सुरु गरेको नै गिरिजाप्रसाद कोइरालाबाट हो । ०४६ को जनआन्दोलन सफल भएपछि आन्दोलन नेतृत्वकर्ता दुई शक्ति वाममोर्चा र कांग्रेस मिलेर नै देशलाई अगाडि बढाउनुपर्छ भन्ने त्यो वेला एककिसिमको आमसहमति थियो । तर, त्यो सहमति तोड्न कोइरालाको भूमिका अहम् थियो । त्यसको असर अहिले पनि देशले भोग्दै छ । माले, मन्डले, मसाले एउटै हुन् भन्दै कोइरालाले तात्कालिक सयममा गरिएको सहमति तोडेपछि त्यसको विरोधस्वरूप मैले एउटा कार्टुन बनाई दृष्टिमा छपाएँ । जुन पछि गएर मेरा पेसा नै बन्यो ।'
पोलिटिकल कार्टुनमै केन्दि्रत भएपछि राजनीतिज्ञ नै व्यंग्यका निसाना बन्छन् । त्यही निसानामा परेका विभिन्न दलका नेता उनले बनाएको कार्टुनका पात्र बन्छन् । कार्टुन भनेकै व्यंग्य गर्ने विधा भएकाले धेरै नेता रविनसँग नजानिँदो पारामा चिढिएका छन् ।
बहुदल स्थापनापछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समूहबीच चिसोपना बढ्दै जाँदा सडकमा रहेका कांग्रेसका एक समूहले एमालेलाई 'लिफ्ट प्लिज' भन्दै गरेको कार्टुन बनाएका थिए उनले । संयोग नै मान्नुपर्छ त्यो कार्टुन छापिएपछि दुई समूहमा विभाजित कांग्रेस एक भएको थियो । फुट्नै लागेको कांग्रेस जुटेपछि एमाले पोलिटब्युरोको निष्कर्ष थियो- त्यही कार्टुनले गर्दा कांग्रेस जुट्यो । एमालेवृत्तमा त्यही कार्टुनलाई लिएर केही नेतामा तीव्र असन्तुष्टि पैदा भयो ।
कस्तो कार्टुनलाई उत्कृष्ट मान्ने ? कसैले भन्छन्, 'शब्दविहीन ।' कसैको मान्यता छ, सकेसम्म कम शब्द प्रयोग भएको । तर, रविन यी दुवै मान्यतासँग सहमत छैनन् । उनी भन्छन्, 'शब्दविहीन कार्टुन आफैँमा राम्रो मानिएला, तर शब्द नहुँदैमा कार्टुन उत्कृष्ट बन्छ भन्ने होइन । कुनै पनि कार्टुनमा क्यारिकेचर र सेन्स अफ ह्युमर स्ट्रङ छैन भने शब्दविहीन हुँदैमा कार्टुनलाई उत्कृष्ट मान्न सकिँदैन ।'
भारतका कट्टरपन्थी हिन्दू राजनीतिक नेता बाल ठाकरे एकताका सिद्धहस्त कार्टुनिस्ट मानिन्थे । बाल ठाकरेले ६० को दशकमा बनाएका कार्टुन रविनले हेर्न भ्याए । रविनका अनुसार बाल ठाकरेले कोरेका लाइन त्यत्तिकै लोभलाग्दा थिए । राजनीतिमा लागेपछि उनले कार्टुन कोर्न छाडे । त्यतिवेला बाल ठाकरेले कोरेका लोभलाग्दा लाइन सम्भ"mदै रविन भने, 'नेपालमा मनपरी ढंगले लाइन कोरेर कार्टुन बनाइने गरिन्छ ।'
प्रविधिको विकाससँगै नेपालमा रंगीन कार्टुन छापिन थालेको १६ वर्ष नाघिसकेको छ । श्यामश्वेत कार्टुन बनाउँदै आएका कार्टुनिस्ट रंगीन कार्टुन बनाउन हौसिएका छन् । रंगीन हुँदैमा कार्टुन उत्कृष्ट हुने होइन, तर श्यामश्वेतले देखाउन नसक्ने कतिपय कुरा रंगीन कार्टुनमार्फत देखाउन सहज हुने तर्क गर्दै साय्मिले भने, 'अन्तर्राष्ट्रियस्तरको कार्टुनमा जस्तै हामीले पनि अब राम्रो क्यारिकेचरयुक्त कार्टुन बनाउने वेला भइसक्यो । राम्रो क्यारिकेचरले कार्टुनलाई उत्कृष्ट बनाउँछ । सकेसम्म शब्दविहीन कार्टुन बनाउन प्रयास पनि गरिरहेका छौँ । तर, गाह्रो छ । शब्दबाट जस्तो रेखाद्वारा मात्र अभिव्यक्त गर्न त गाह्रै हुन्छ नि ।'
विषयगत हिसाबले नेपालमा दुईकिसिमका कार्टुनको अभ्यास भएको पाइन्छ । ती हुन्- राजनीतिक र सामाजिक कार्टुन । रविन भने धेरैजसो राजनीतिक कार्टुन बनाउनमै रमाइरहेका छन् । मदन भण्डारी र जीवराज आश्रतिको रहस्यम ढंगले हत्या भएपछि भड्केको आन्दोलनमा ७० को ज्यान गयोे । तसर्थ, गिरिजाप्रसाद कोइरालाको शासनशैली रविनलाई मन परिरहेको थिएन । त्यही अवस्थामा कोइरालाको शृंखलाबद्ध कार्टुन बनाए उनले । कोइरालाको अनुहार बिस्तारै मरिचमान बनेको कार्टुन दृष्टिमा छापियो । प्रविधिगत हिसाबले अहिले त्यति गाह्रो होइन, तर त्यसवेला हातले बनाउनुपथ्र्यो, जुन धेरै गाह्रो काम थियो । त्यतिवेला त्यो कार्टुन १५/२० हजारमा खरिद गर्छु भन्नेहरू धेरै निक्लिए । तर पनि बिक्री गरिएन ।
हामीले नै कार्टुनलाई व्यावसायिक रूप दिने हो भन्दै यो विधामा लागेका रविनले त्यतिवेला देखेका सपना अहिले विपनामा परिणत भएको छ । कार्टुन विधालाई व्यावसायिक बनाउँछु भनेर लागिपर्दा सुरुताका उनलाई बुबाले झपारेका थिए । त्यही ठिटो दक्षिण एसियाका कार्टुनिस्टको प्रतिनिधित्व गर्दै डेनमार्कसम्म पुगे । मोहम्मद पैगम्बरको कार्टुन बनाउँदा विश्वभरि विवाद बढेपछि त्यसको निप्टारा लगाउन उनलाई डेनमार्क बोलाइएको थियो । रविन भन्छन्, 'कसैको धार्मिक, जातीय र भाषिक आस्थामाथि बनाइएको 'कार्टुन'ले त्यस समुदायलाई गहिरो चोट पुर्‍याउन सक्छ । डेनमार्कमा मोहम्मदमाथि बनाइएको कार्टुन काण्ड त्यसको एउटा उदाहरण हो । सो काण्ड कुनै पनि रूपमा सही त थिएन, तर ठूलै क्षति बेहोरेर भए पनि उक्त काण्डले कार्टुनको शक्ति भने पुष्टि गरिदिएको छ ।'

No comments:

Post a Comment