भेषराज बेल्बासे
टेलिभिजन सञ्जाल बढ्ने क्रम निरन्तर भए पनि मुलुकको विज्ञापन बजार भने अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । हाल भएको विज्ञापन नै सबैले बाँडेर लिनुपर्ने बाध्यताले चर्को प्रतिस्प्रर्धा बढाएको व्यवसायीहरू बताउँछन् ।
मुलुकको आर्थिक अवस्था खस्कँदो क्रममा रहेको तथ्याङ्कहरूले देखाइरहेका बेला विज्ञापनका लागि गरिने सरकारी तथा निजी क्षेत्रको खर्च खासै बढ्न नसक्नुले विज्ञापन बजार सङ्कटमा छ । हाल भएका र नयाँ खोलिने टेलिभिजनको आर्थिक अवस्था बलियो बनाइराख्न भने सबै च्यानलहरूलाई हम्मेहम्मे पर्न थालेको छ ।
कार्यक्रम देखाउने समय प्रशस्त भएको अवस्थामा मात्र केही समय निकालेर विज्ञापन प्रसारण गर्ने हो तर अहिले लोडसेडिङको समयसमेत बढ्दै जाँदा टेलिभिजन च्यानलहरू सङ्कटग्रस्त बन्ने सरोकारवालाहरू बताउँछन् । खाने मुख बढेर धेरै भए तर खाने रोटीको आकार उस्तै छ, एड्भरटाइजिङ एसोसिएसन अफ नेपाल -आन) का अध्यक्ष निर्मलराज पौडेल भन्नुहुन्छ, वर्षमा ८५ करोड रुपियाँ टेलिभिजन विज्ञापनको आकार छ । नयाँ आउनेहरूले पनि त्यही बाँडेर लिने हो । छापा माध्यमसमेत नेपाली अर्थतन्त्रको कुल विज्ञापन बजार तीन अर्ब ५५ करोड रुपियाँको मात्र रहेको छ । सरकारको दीर्घकालीन सोच देखिएन, किन यसरी लाइसेन्स वितरण भइरहेको
छ ? आनका अध्यक्ष पौडेलले मुलुकमा बढेको अस्थिरताका कारण व्यापारीहरू समेत टेलिभिजनमा लगानी गर्न लालायित भएको बताउनुभयो । एउटा टेलिभिजन च्यानलका लागि २५ देखि ३० करोड लगानी हुने व्यवसायीहरू बताउँछन् । अहिले प्रत्येक टेलिभिजन च्यानलका सञ्चालक व्यापारी नै भएकाले ग्लामरका साथै लगानी पनि सुरक्षित हुने ठानेर यसै क्षेत्रमा आकर्षण बढेको छ ।
मुलुकको सङ्कटपूर्ण राजनीतिक अवस्थासँगै विज्ञापन बजार पनि अस्थिर भएको भन्दै अध्यक्ष पौडेलले अहिलेका लागि लोडसेडिङ पनि विज्ञापन बजारलाई प्रतिकूल बनाउने मुख्य कारक भएको बताउनुभयो । लोडसेडिङ नहुँदा बर्सेनि १५ देखि २० प्रतिशतसम्म विज्ञापन बजार बढ्दै जाने भए पनि हाल १० प्रतिशत मात्र बढेको उहाँ बताउनुहुन्छ । लोडसेडिङको अवस्था सुल्झन नसक्ने हो भने हाल रहेको विज्ञापन बजार घट्न सक्ने उहाँ बताउनुहुन्छ ।
मुलुकमा लोकतन्त्र स्थापनासँगै टेलिभिजन च्यानलका लागि लाइसेन्स लिनेको बाढी नै आएको छ भने टेलिभिजन पत्रकारिता गर्नेहरूको बढ्दो सङ्ख्यासँगै यसको सञ्चालनका लागि अनुमति लिनेको सङ्ख्या हेर्दा यस क्षेत्रमा आकर्षण अझै कायमै रहेको देखिएको छ ।
नेपाल हाल प्रसारण भइरहेका टेलिभिजन च्यानलहरूको सङ्ख्या १५ पुगेको छ भने करिब एक दर्जन च्यानल आउने तयारीमा छन् । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य शाखाका अनुसार हालसम्म ३५ वटा टेलिभिजन च्यानल इजाजत लिएकोमा ११ वटा च्यानलले एक वर्षभित्रमा प्रसारणमा नआएकै कारण रोकिएपछि इजाजत लिनेको सङ्ख्या २४ रहेको छ । विश्वमा छापा माध्यम र रेडियोभन्दा पछिको पुस्ताका लागि टेलिभिजन पत्रकारिताले समाजका हरेक तह र तप्काका मानिसमा मन जित्न सफल भएको हो । श्रव्य र दृश्य दुबै प्रविधिको संप्रेषण एकैसाथ हुने भएकाले टेलिभिजन पछिल्ला दिनमा लोकपि्रय बन्दै आएको छ ।
२०४२ साल पुसमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरू भएको हो । यसपछि २०५८ साल असार १९ मा निजी क्षेत्रबाट सञ्चालन अनुमति पाएको च्यानल नेपालले सुरूमै भू-उपग्रहका माध्यमबाट प्रसारण आरम्भ गर्यो । च्यानल नेपालले प्रारम्भमा थाइल्यान्डको बैङ्ककलाई कर्मथलो बनाएर आˆनो प्रसारण सुरू गर्यो । यसैबाट नेपाली सञ्चारजगत्मा टेलिभिजनतर्फ पनि निजी क्षेत्रको प्रवेश भएको हो ।
त्यसपछि क्रमशः २०६० असार २९ गतेबाट कान्तिपुर टेलिभिजन र इमेज च्यानल दुबैले आˆनो भू-सतहको प्रसारण सुरू गरे । २०६४ असार ३२ गतेदेखि एभेन्यूज टेलिभिजनले आफूलाई पहिलो नेपाली समाचार च्यानलका रूपमा स्थापित गराएपछि क्रमशः सगरमाथा, एबीसी र न्युज २४ टेलिभिजनले पनि समाचार च्यानलका रूपमा प्रसारण आरम्भ गरेका थिए ।
यसअघिदेखि नै भारतबाट प्रसारण हुँदै आएको नेपाल वान पनि समाचार र मनोरञ्जनको स्वाद दिएर प्रसारण अगाडि बढाए । तराई र नेसनल टेलिभिजनले भने समाचार र मनोरञ्जनात्मक दुबै कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । गत महिनादेखि औपचारिक प्रसारण सुरू गरेको फिल्मी टेलिभिजनले भने विशुद्घ फिल्मी तथा मनोरञ्जनका कुरालाई टेलिभिजनबाट प्रसारण गर्ने जनाएको छ । अहिलेसम्म नेपालको सबैभन्दा नयाँ टेलिभिजन मानिएको हिमालय टेलिभिजनले पनि आˆनो औपचारिक प्रसारण सुरू गरिसकेको छ ।
नेपाली टेलिभिजन जगत्मा अन्य कार्यक्रममा भन्दा समाचार र समाचारमूलक कार्यक्रममा बढी प्रतिस्पर्धा हुन थालेको छ । समाचार मात्र प्रसारण गर्ने न्यूज च्यानलबीचको प्रतिस्पर्धा छुट्टै छ, उनीहरूसँगै समाचारमा प्रतिस्पर्धा गर्न अन्य च्यानल पनि अहिले अगाडि सर्न थालेका छन् ।
बढ्दो टेलिभिजन सञ्जालसँगै आफूलाई विशेष र फरक देखाउने होडमा टेलिभिजन च्यानलहरू लागेको देखिन्छ । प्रसारणकै बीच-बीचमा ब्रेकिङ न्युज दिने तथा समाचारमूलक र अन्य विषयमा केन्दि्रत गर्न थालेको देखिन्छ । यता समाचार र समाचारमूलक कार्यक्रमको स्तरमा खासै भिन्नता भने देखिएको छैन । टेलिभिजनको सङ्ख्या धेरै भएता पनि भाषण, घटनामूलक समाचार, बैठक, पत्रकार सम्मेलन आदिमै दायरा सीमित रहेको छ । सीमित बजार स्रोत र अस्वस्थ प्रतिस्पर्धाले टेलिभिजनको गुणस्तरलाई नै खस्काएको महसुस दर्शकबाट हुन थालेको छ । स्पष्ट सरकारी नीतिको अभावका कारण टेलिभिजनको सङ्ख्या अझै बढ्ने पक्का छ । टेलिभिजन प्रसारणका लागि इजाजत दिने प्रणाली असीमित भएता पनि सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य तथा प्रसारण शाखाले नेपालमा भू-सतही माध्यमबाट प्रसारण हुने टेलिभिजनको इजाजतपत्रको लागि निवेदन लिने कार्य स्थगित गरेको जनाएको छ ।
मन्त्रालयको श्रव्यदृश्य शाखाकी उपसचिव शैलजा रेग्मीका अनुसार यो विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न गठन गरिएको कार्यदलमार्फत अर्को सूचना प्रकाशित नभएसम्मका लागि नयाँ इजाजतका लागि स्थगित गरिएको छ ।
काठमाडौँ, मङ्सिर १९ गते ।
No comments:
Post a Comment