दिनेश वाग्ले
नयाँदिल्ली-, मंसिर १८ - नेपालका लागि अमेरिकी राजदूत स्कट डिलिसीले बुधबार परराष्ट्रमन्त्री सुजाता कोइलालालाई भेटेर सम्भावित अप्ठेरो परिस्थितिबारे प्रस्ट पार्न चाहेका थिए । त्यो स्पष्टोक्ति दूतावासले मंगलबारै विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले विश्वभरि आफ्ना दूतावाससँग गरेका पत्रचार गत साता विवादास्प्द वेबसाइटले प्रकाशित गर्न थालेपछि अमेरिका क्ष्ाति नियन्त्रण प्रयासअन्तर्गत विश्वका सरकारलाई सम्पर्क गर्दै प्रस्ट्याएको थियो ।
महत्त्वपूर्ण देशका विदेशमन्त्रीलाई अमेरिकी राजदूतहरूले भेट्नुबाहेक विदेशमन्त्री हिलारी क्लिन्टन आफैंले फोन गरेर सजग गराएकी थिइन् । विश्वभरि अमेरिकी दूतावासले आतिथेय देश -यस सन्दर्भमा नेपाल) मा भएका गतिविधि र सूचनाबारे विदेश मन्त्रालयलाई सुरक्ष्ाित टेलिग्राम या इमेलमार्फत पठाउँछन् । ती पत्रचार -केवल) गोप्य हुने भएकाले तिनमा दूतावासले आतिथेय देशका गतिविधिबारे खुलस्त हुँदै कतिपय सन्दर्भमा ती देशका सरकारी, राजनीतिक नेतालगायत विभिन्न व्यक्तिको कुरा काटेका या प्रशंसा गरेका हुन्छन् । अर्थात्, ती पत्रचारको भाषा कूटनीतिक हुँदैन किनकि तिनलाई राजदूतलगायत दूतावास पदाधिकारीले सार्वजनिक गर्ने उद्देश्यले लेखेका हुँदैनन् । त्यस्तो सार्वजनिक हुँदा अमेरिका लाजलाग्दो अवस्थामा पुग्न सक्छ । ती पत्रचार अमेरिकी विदेशमन्त्रालयले आफ्नोे मात्रै पहुँच हुने सुरक्षित कम्प्युटर सन्जालमार्फत अन्य सरकारी निकायसँग पनि साझेदारी गर्न सक्छ । जस्तो- रक्षामन्त्रालय, जासुसी र प्रतिजासुसी संस्था आदि । अमेरिकी रक्षामन्त्रालयले चलाउने कम्प्युटर सञ्जाललाई सैन्य-इन्टरनेट या सिप्रनेट पनि भनिन्छ । हाल विश्वव्यापी प्रयोगमा आएको इन्टरनेट पनि अमेरिकी सेनाले सुरुमा आफ्नो प्रयोजनका लागि बनाएको थियो ।
अमेरिकी सरकारकै मात्र पहुँच हुने कम्प्युटर सञ्जालका त्यस्ता सूचना केही महिनायता एउटा वेबसाइटले प्रकाशित गरिरहेको छ । लुकाउन खोजेका सूचना सार्वजनिक गर्ने उद्देश्यले खुलेको विकिलिक्सले गत जुलाईमा अफगानिस्तानमा युद्धरत अमेरिकी सेनाले सैन्य मुख्यालय र रक्षा मन्त्रालयलाई पठाएका स्थलगत विवरण र अक्टोबरमा इराक युद्धताकाका त्यस्तै विवरण प्रकाशित गरेको थियो । यसबाट क्रुद्ध अमेरिकाका लागि सातायता दिनहुँजस्तो दूतावास-विदेश मन्त्रालयका पत्रचार सार्वजानिक भएपछि अन्य मुलुकसँग सम्बन्ध बिग्रने चिन्ता छ । लगत्तै विदेशमन्त्री क्लिन्टनले अमेरिकी विदेशनीति राजदूत र दूतावासका अन्य कर्मचारीको व्यक्तिगत अनुभव या दृष्टिकोण समेटिएका अनौपचारिक पत्रबाट तय नहुने प्रस्ट पारिन् । 'विदेशनीति राष्ट्रपति ओबामा र मैले वासिङ्टनमा बनाउँछौं,' उनले भनिन् । उनले अन्य मुलुकका समकक्षीलाई फोन गर्दै सार्वजनिक पत्रचार खासखुसे साउती मात्र भएको र त्यसलाई गम्भीरतापूर्वक नलिन आग्रह गरिन् । एकजना विदेशमन्त्रीले आफूलाई 'भइहाल्छ नि, हामी तपाइर्ंहरूको कुरा काटेको सुन्नुभयो भने तपाईंहरू पनि छक्क पर्नुहुनेछ' भन्नेखालको जवाफ दिएको हिलारीले बताएकी छन् ।
अमेरिकी साउती नै सही तर प्रकाशित भएका पत्रचारहरूले विश्वका कतिपय घटनाक्रमबारे नयाँ जानकारी दिएका छन् । जस्तो- साउदी अरेबियाका राजाले एकजना अमेरिकी कूटनीतिज्ञसँग 'इरानमा अमेरिकाले बम हान्नुपर्यो' भन्ने सुझाव दिएका रहेछन् । त्यस्तै, हिलारी आफंैले भारतलाई सुरक्षा परिषद्को स्थायी समिति सदस्यताका लागि 'स्वघोषित अग्रस्थानको उम्मेदवार' भनी व्यंग्य कसेकी रहिछन् । अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईसँगको अप्ठेरो अमेरिकी सम्बन्ध, उत्तर कोरियाको दक्षिण कोरियासँगको सम्भावित एकीकरणबारे दक्षिणका दृष्टिकोण, रुसी प्रधानमन्त्री र राष्ट्रपतिहरू क्रमशः भ्लादिमिर पुटिन र दिमित्री मेदभेदेवलाई होच्याएर गरिएका अमेरिकी प्रतिक्रिया पनि संसारका लागि रुचिमूलक तर अमेरिकाका टाउको दुखाइका विषय बनेका छन् ।
विश्वभरिका २ सय ७४ अमेरिकी दूतावसासँग विदेश मन्त्रालयले सन् १९६६ देखि २०१० सम्म गरेका २ लाख ५१ हजार २ सय ८७ पत्रचार विकिलिक्सको कब्जामा छन् । तीमध्ये एक सातामा केही हजार केबुल मात्र सार्वजनिक भएका छन् । ती केबुल क्रमशः प्रकाशित गर्दै जाने विकिलिक्सले बताएको छ । काठमाडांैस्थित दूतावाससँगका केबुल शुक्रबारसम्म सार्वजनिक भएका छैनन् । कुन दूतावासका पत्रचार ठ्याक्कै कहिले प्रकाशित हुन्छन् विकिलिक्सले भनेको छैन । अफगानिस्तान युद्धका विवरण सार्वजनिक गर्दा अमेरिकी सेनालाई सूचना दिने स्थानीय व्यक्तको नाम नमेटाएकोमा विकिलिक्सको आलोचना भएको थियो । निर्दोष मानिसहरूको बिनाकारण ज्यान खतरामा पारेको दोष विकिलिक्सलाई लागेको थियो । त्यसैले विकिलिक्सले यसपालि हरेक केबुल मेहनतासाथ पढ्दै नाम सार्वजनिक हुँदा ज्यानकै खतरा पर्न सक्ने मानिसहरूको नाम हटाउँदै एकपछि अर्को केबुल प्रकाशित गरिरहेको छ । अमेरिकालाई रिस उठाउने विकिलिक्स बितेका केही दिनयता आफैं समस्यामा छ । अमेरिकी सरकारप्रति मित्रवत् धारणा राख्ने ठानिएका ह्याकरले आक्रमण गरिरहेपछि वेबसाइट शुक्रबार ६ घन्टा इन्टरनेटबाट हरायो । विकिलिक्सको दर्ता कम्पनी अमेरिकी थियो जसले विकिलिक्समाथि ह्याकरले व्यापक रूपमा आक्रमण गरेकाले आफू सेवा उपलब्ध गराउन असमर्थ रहेको जानकारी दियो । शुक्रबारै विकिलिक्स स्विजरल्यान्ड सर्यो ।
को हुन् जुलियन असान्ज ?
विकिलिक्स साइटभन्दा बढी समस्यामा छन्, त्यसका संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज । अमेरिका र उनको आफ्नै देश अस्ट्रेलियाले केबुल सार्वजनिक गरेको अभियोगमा असान्जलाई मुद्दा चलाउन सकिन्छ कि भनी विचार गरिरहेका छन् । केही महिनाअघिसम्म उनी बसेको देश स्विडेनमा त उनीविरुद्ध एउटा यौन मुद्दै चलेको छ । यसका लागि इन्टरपोलले केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय खोजी थालेको छ । त्यहाँ गत अगस्टमा दुई महिलासँग सहमतिमा तर असुरक्षित यौनसम्पर्क राखेको असान्जले स्विकारेका छन् । तर महिलाले उनलाई आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यसैले स्विडिस अदालतले असान्जविरुद्ध वारेन्ट नै जारी गरेको त छैन तर बयान दिन आउन भनेको छ ।
असान्ज आफैं पनि साइटजस्तै लगभग असाधारण छन् । अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी स्कुल कहिल्यै गएनन् । अमेरिकी पत्रिका न्युयोर्करका अनुसार उनकी आमा छोराछोरीलाई स्कुल पठाउँदा उनीहरुमा अधिकारप्रति अस्वस्थ सम्मान सिर्जना होला भन्ने डर मान्थिन् । असान्जका आमा र बाबु डुलिरहने भएकाले निश्चित स्कुलमा शिक्षा सम्भव भएन । घरमै, पत्राचारमार्फत र पछि विश्वविद्यालयका शिक्षकसँग अनौपचारिक रुपमा पढेका र पढ्न भनेपछि हुरुक्कै हुने असान्जले सानैदेखि विज्ञान र कम्प्युटरमा रुचि देखाए । १६ वर्षको हुदाँ उनले सक्षम ह्याकरका रुपमा स्थापित गर्दै आफूलाई 'मेन्ड्याक्स' नाम दिए । लगत्तै असान्जले दुई अरु ह्याकरसँग 'इन्टरनेसनल सवभर्सिभ' समूह खडा गरे । कम्प्युटर प्रोग्राममा असाधारण क्षमताका असान्जलाई क्यानडेडी फोन कम्पनी नोर्टेलको अस्ट्रेलियास्थित कार्यालयको कम्प्युटर सञ्जालमा अनधिकृत छिरेको आरोपमा त्यतिबेलै मुद्दा चलाइएको थियो । उनले ह्याकिङ थाल्दा इन्टरनेट या अन्य कम्प्युटर सञ्जाल सुरुवाती अवस्थामा थियो । अस्ट्रेलियामा प्रहरी पनि त्यस्तो अपराधबारे सिक्दै थिए ।
निश्चित काम नगरेका र १८ वर्षमै बिहे गरे पनि केही वर्षमै छुट्टएिका असान्जले पूर्वपत्नीबाट छोरामाथिको आधिकारका लागि लामो तर सफल कानुनी लडाइँ लड्नुपर्यो ।
२५ वर्षमै एउटा पुस्तक लेखेका उनले सन् २००६ मा विश्वका लुकेका सूचना सार्वजनिक गरेर संसारलाई थप पारदर्शी बनाउन विकिलिक्स खोलेका थिए । साइट चलाउन उनलाई ज्ञात-अज्ञात थुप्रै मानिसले पैसा, समय र सीप सहयोग गरेका छन् । उनी आफूलाई कुनै जासुरी एजेन्सीहरुले फेला नपारुन् भन्नेमा अत्यन्त सजग छन् ।
No comments:
Post a Comment