Friday, October 22, 2010

अष्ट्रेलियामा नेपाली भाषा पाठशाला

रिब १ महिनाअघिदेखि यहाँको ग्रानभिलमा स्थापना गरिएको सम्झना पाठशालाका सञ्चालक सन्तोष दहालका अनुसार नेपालीका बालबालिकाहरुले नेपाली भाषा भुल्दै गएकाले आफ्नो भाषालाई बचाउन यो अभियानको थालनी गरिएको बताए ।

नेपाली भाषालाई प्रवर्द्धन गर्न लोप हुन नदिन सामुहीक रुपमा अष्ट्रेलियामा नेपाली अध्ययन पाठशाला शुरु गरिएको अहिलेसम्म यहाँ दुइ वटा नेपाली पाठशाला सञ्चालनमा आएका छन्

गुठी संस्थान अष्ट्रेलियाको पहलमा एक नीजि तवरबाट एक गरि दुइ वटा नेपाली पाठशाला सञ्चालनमा ल्याइएको यहाँ सञ्चालित दुई बिद्यालयमा अहिलेसम्म ५० जना नेपाली बालबालिकाहरु अध्ययन गरिरहेका छन् जसमध्ये सबै अष्ट्रेलियामा जन्मिएका बालबालिकाहरु हुन्
करिब महिनाअघिदेखि यहाँको ग्रानभिलमा स्थापना गरिएको सम्झना पाठशालाका सञ्चालक सन्तोष दहालका अनुसार नेपालीका बालबालिकाहरुले नेपाली भाषा भुल्दै गएकाले आफ्नो भाषालाई बचाउन यो अभियानको थालनी गरिएको बताए उनका अनुसार अंग्रेजी समुदायमा हुर्कने भएकाले नेपाली भाषा लोप हुने सम्भवाना बढ्दै गएकोले अभियानको थालनी गरिएको हो
गुठी संस्थान गोर्खा नेप्लिज कम्युनिटीद्धारा महिनाअघि म्यारिकभिलमा सञ्चालन गरिएको शब्दमाला पाठशालाले भने यहाँ नेपाली भाषा सिकाईमा महत्वपुर्ण योगदान गरेको करिब ४० जना बालबालिका अध्ययन गरिरहेको यो पाठशालालाई अष्ट्रेलिया सरकारले यस बर्ष हजार डलर अनुदान प्रदान गरेको यहाँको सरकारले सामाजिक संघसंस्थाहरुलाई प्रत्येक बर्ष सम्मान हौसला स्वरुप केही नगद सहयोग दिने नियमअनुसार यस बर्ष यस बिद्यालयले सहयोग प्राप्त गरेको हो
शब्दमाला पाठशाला सञ्चालक समितिकी उपाध्यक्ष नीलम प्रधानाङ्गले नेपाली बिद्यालय सञ्चालनमा शुरुमा समस्या आएको भएपनि अहिले उत्साहजनक रुपमा बिद्यार्थीहरु आइरहेको बताइन् उनका अनुसार अहिलेसम्म ४० जना नेपाली बालबालिकाहरु पाठशालामा अध्ययन गरिरहेका छन् यहाँ जन्मिएका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न, लेख्न पढ्न नजान्ने भएकाले यस्तो पाठशाला शुरु गरिएको उनको भनाई
यहाँ सञ्चालन भएका पाठशालाहरुले नेपाली पाठ्यपुस्तक नेपालबाटै ल्याउने गरेका छन भने पढाउने बिधि पनि नेपालका बिद्यालयको जस्तै नेपालमा शिक्षण ज्ञान भएका शिक्षकहरु मार्फत अध्ययन हुने यहाँको बिद्यालयले अध्ययन वापत केही रकम समेत लिने गरेका छन् यिनीहरुले बार्षिक सय ५० अष्ट्रेलियन डलरसम्म शुल्क लिने गरेका छन्

एन्टिभाइरस नराखी कम्युटर कसरी जोगाउने ?

काठमाडौं, कार्तिक - भाइरसका कारण कम्प्युटरमा समस्या खेपिरहनु भएको भने केही सावधानी अपनाउँदा ती समस्यालाई टाढै राख्न सकिन्छ। खराब सफ्टवेयरलाई कम्प्युटरमा छिर्न रोक्न सक्ने हो भने कम्प्युटरमा एन्टिभाइरस नभए पनि केही असर पर्दैन। 


हामीले प्रयोग गर्ने सबै ब्राउजरमा सुरक्षाका उपायहरु समेटिएका हुन्छ जस्तो कि एन्टी फिसिङ फिल्टर। यस्ता 'फिचर' उपयोग गर्नाले ठूला समस्या सजिलै समाधान हुन्छन्। 

यद्यपी तपाँईको कम्प्युटरमा एन्टिभाइरस हुनु राम्रो हो, यदि तपाँई धेरै इन्टरनेट चालउनु हुन्छ या पेन ड्राइभहरु धेरै प्रयोग गर्नुहुन्छ भने। तर एउटा एन्टिभाइरसले सबैखाले भाइरसलाई निस्तेज पार्न सक्दैन। अनि सबै खाले एन्टिभाइरस राख्न पनि सकिन्न। एक सबैखाले एन्टिभाइरस राख्दा कम्प्युटर स्लो हुन्छ अर्कोतर्फ त्यसले खर्च पनि बढाउँछ। त्यसैले एन्टिभाइरस भन्दा पनि भाइरसलाई प्रवेश निषेध गराउने उपाय लिनु पर्छ। 

भाइरस रोक्ने हो भने पाइरेटेड सफ्टवेयरको प्रयोग गर्नु हुन्न। किनभने सक्कली सफ्टवेयर कम्पनीहरुले कुनै पनि प्रोग्राम अपडेट गर्दा जोखिम मोल्नुपर्ने हुन्न। नक्कली सफ्टवेयर प्रयोग गर्नेले त्यसलाई अपडेट गर्दा विभिन्न वेवसाइट चहार्ने गर्छन जसबाट भाइरस छिर्ने सम्भावना धेरै हुन्छ। 

एन्टिभाइरसविनाको कम्प्युटर भनेको अन डिमान्ड स्क्यानिङ सुविधा नभएको कम्प्युटर भन्ने बुझिन्छ। त्यसैले अनलाइनबाट कुनै पनि फाइल डाउनलोड गर्दा त्यसमा भाइरस कि छैन भन्ने थाहा पाउन सकिन्न। त्यसले कुनै पनि फाइल डाउनलोड गर्दा त्यसमा भाइरस छिर्ने सम्भावना केलाउनुपर्छ। 

ठूलो एन्टिभाइरस सफ्टवेयर नभएको अवस्थामा अनलाइनमा उपलव्ध निशुल्क अनलाइन भाइरस एन्ड स्पेवेयर स्क्यानिङ टूल प्रयोग गर्न सकिन्छ। जस्तो कि हाउससेलडटट्रेन्डमाइक्रोडटकम या इसेटडटकम/अनलाइनस्क्यान जस्ता निशुल्क अनलाइन एन्टिभाइरस साइटहरु चलाउन सकिन्छ। यस्ता अनलाइनले कम्प्युटरबाट भाइरस क्लिन गर्ने भन्दा पनि भाइरसबाट कति प्रभावित भएको भन्ने जानकारी दिन्छ। 

तपाँईले नचिनेको ठेगाना वा नामबाट आएका इमेलहरु सोझै डिलिट गर्ने हो भने पनि सम्भावित खतराबाट जोगाउन सकिन्छ। त्यस्तै पेन ड्राइभहरुको प्रयोग गर्दा सावधानी अपनाउनु वेस हुन्छ। - एजेन्सीको सहयोगमा

Monday, September 27, 2010

लोकतन्त्रको मापन कार्टुनिस्टको स्वतन्त्रता

भारतका प्रसिद्ध नेता जवाहरलाल नेहरू कार्टुनिस्टलाई आफ्ना सच्चा समालोचक ठान्थे । उनले आफूले गरेका कामबारे कुनै योजनाकारसँग भन्दा पनि त्यसवेलाका चर्चित कार्टुनिस्ट शंकरसँग राय माग्थे ।
व्यंग्यचित्र (कार्टुन) छापिने पत्रपत्रिका गहना लगाएको दुलहीजस्तै देखिन्छ । त्यसैले कार्टुनलाई पत्रपत्रिकाको गहनासँग तुलना गरिएको हो ।

कार्टुन क्यारिकेचर र सेन्स अफ ह्युमरको एउटा मीठो संगम हो । नत्र कार्टुन कार्टुन बन्नै सक्दैन । कार्टुनिस्ट रविन साय्मि भन्छन्, 'दैनिक पत्रिकामा कार्टुन भनेर छापिने सबैलाई कार्टुन भन्न मिल्दैन । थोरै कार्टुन हुन्, धेरै घटना चित्र ।'
समाचार र कार्टुनबारे साय्मिको आफ्नै धारणा छ, 'समाचारले कुनै प्रसंगको यथार्थ चित्रण गर्छ भने कार्टुनले त्यसको अन्तर्वस्तुलाई प्रकाश पारिदिन्छ । पत्रिकामा छापिने कार्टुन देख्नेबित्तिकै पाठक सो प्रसंगको सतही मात्र होइन, अन्तरनिहित यथार्थ बोध गर्न पुग्छन् ।'
व्यंग्य गर्ने र चित्र लेख्ने दुवै कला हुनुपर्छ कार्टुनिस्टसँग । कमै कार्टुनिस्टमा यी दुवै कला निहित हुन्छ । साय्मि भन्छन्, 'कार्टुनिस्ट संसारको दुर्लभ प्राणीमा पर्छन् ।' तिनै दुर्लभमध्येका एक उनी स्वयम् पनि हुन् । साय्मि युवापुस्ताका अब्बल कार्टुनिस्टका रूपमा परिचित छन् । उनले ०४६ पछिको राजनीतिक घटनाक्रमलाई कार्टुनमार्फत व्यंग्य गर्दै आएका छन् । त्योभन्दा अघि उनले स्केच गर्थे । आठ कक्षा पढ्दाताका नै 'सहलह' नामक नेपाल भाषा डाइजेस्टमा उनको कमिक स्टि्रप छापिएको थियो ।
विषयगत घटनालाई कलात्मक ढंगले व्यंग्य गर्न सिपालु छन् रविन । समाजका विविध विकृति र विसंगति कार्टुनमार्फत अभिव्यक्त गर्नु उनी आफ्नो कर्तव्य ठान्छन् । कर्तव्य निर्वाह गर्दा उनले बनाएका कार्टुनले कतिपय न्यायालयको ढोकासम्म पुग्न बाध्य हुन्छन् । तर, उनी कत्ति पनि विचलित छैनन् । सिरहाका एक न्यायाधीश काठ तस्करीमा संलग्न रहेको समाचार प्रकाशित भयो । सोही विषयलाई ४ मंसिर ०४८ को दृष्टि साप्ताहिकमा उनले बनाएको 'लकडी चोर न्यायाधीश' शीषर्ाकृत कार्टुन छापिँदा पत्रिकाका तात्कालिक प्रधानसम्पादक कमल कोइराला, सम्पादक नारायण ढकाल र प्रकाशक शम्भु श्रेष्ठविरुद्ध मुद्दा हालियो । साँचो कुरा कार्टुनमार्फत व्यंग्य गरिँदा मुद्दा हालिएको विषयलाई झनै व्यंग्य गर्दै उनले सोही पत्रिकामा अर्का कार्टुन बनाए- 'श्रीमान् क्षमा पाऊँ, साँचो कुरा लेख्ने छैन ।' कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि व्यंग्य गर्दै बनाएको कार्टुन हिमाल पाक्षिकमा छापिँदा पनि उनीविरुद्ध मुद्दा हालिएको थियो ।

भारतका प्रसिद्ध नेता जवाहरलाल नेहरू कार्टुनिस्टलाई आफ्ना सच्चा समालोचक ठान्थे । नेहरूले आफूले गरेका कामबारे कुनै योजनाकारसँग भन्दा पनि त्यसवेलाका चर्चित कार्टुनिस्ट शंकरसँग राय माग्थे । नेपालका राजनीतिज्ञहरूमा नेहरूको जस्तो चेतना नभएको रविन साय्मिको दाबी छ । साय्मि भन्छन्, 'हाम्रा देशको राजनीतिज्ञमा चेतनाको त्यो स्तर भइदिएको भए मुलुक यो अवस्थामा हुने थिएन ।'
एकताका समीक्षा साप्ताहिक दुई/दुईपटक प्रतिबन्धित भएको थियो । प्रतिबन्धित हुनुको एउटै कारण थियो- कार्टुन । ०३५ मा सोही पत्रिकाले कार्टुनमार्फत तात्कालिक प्रधानमन्त्री कीर्तिनिधि विष्टमाथि व्यंग्य गर्दा १०/१० महिना पत्रिका बन्द गर्नुपरेको मुलुक पनि यही हो । ११ कात्तिक ०४९ को विमर्श साप्ताहिकमा 'टनकपुर सन्धि सम्बन्धमा अदालतको धारणा' शीषर्ाकृत कार्टुन छापिँदा सम्पादक हरिहर विरहीले सात सय जरिवाना र सात दिन जेल सजाय भोग्नुपरेको थियो । तर, रविन साय्मिले भने आजसम्म त्यस्तो दुःख बेहोर्नुपरेको छैन ।
कार्टुनमार्फत व्यंग्य गरेकै कारण जेलनेल भोग्नु, पत्रिकामाथि प्रतिबन्ध लगाइनु भनेको सम्बन्धित देशको प्रजातन्त्रको स्तरमा भर पर्छ । रविन भन्छन्, 'कुनै पनि देशको लोकतन्त्र कति उन्नत छ भनेर बुझ्न त्यो देशको कार्टुनिस्ट कति स्वतन्त्र छन् भनेर हेरे पुग्छ । त्यसकारण कार्टुन लोकतन्त्र मापन गर्ने एउटा साधन पनि हो ।'
'विविध विकृति र विसंगति कार्टुनमार्फत अभिव्यक्त गर्नु मेरो ड्युटी -कर्तव्य) हो । कर्तव्य निर्वाह गर्दा सत्तामा बस्नेकै बढी व्यंग्य गरिँदो रहेछ,' रविनको स्वीकारोक्ति छ । नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि सत्तामा गिरिजाप्रसाद कोइरालाकै राइँदाइँ भयो । तसर्थ, स्वाभाविक रूपमा कोइरालाकै बढी कार्टुन बनाए उनले । उनी भन्छन्, 'मैले पोलिटिकल कार्टुन बनाउन सुरु गरेको नै गिरिजाप्रसाद कोइरालाबाट हो । ०४६ को जनआन्दोलन सफल भएपछि आन्दोलन नेतृत्वकर्ता दुई शक्ति वाममोर्चा र कांग्रेस मिलेर नै देशलाई अगाडि बढाउनुपर्छ भन्ने त्यो वेला एककिसिमको आमसहमति थियो । तर, त्यो सहमति तोड्न कोइरालाको भूमिका अहम् थियो । त्यसको असर अहिले पनि देशले भोग्दै छ । माले, मन्डले, मसाले एउटै हुन् भन्दै कोइरालाले तात्कालिक सयममा गरिएको सहमति तोडेपछि त्यसको विरोधस्वरूप मैले एउटा कार्टुन बनाई दृष्टिमा छपाएँ । जुन पछि गएर मेरा पेसा नै बन्यो ।'
पोलिटिकल कार्टुनमै केन्दि्रत भएपछि राजनीतिज्ञ नै व्यंग्यका निसाना बन्छन् । त्यही निसानामा परेका विभिन्न दलका नेता उनले बनाएको कार्टुनका पात्र बन्छन् । कार्टुन भनेकै व्यंग्य गर्ने विधा भएकाले धेरै नेता रविनसँग नजानिँदो पारामा चिढिएका छन् ।
बहुदल स्थापनापछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समूहबीच चिसोपना बढ्दै जाँदा सडकमा रहेका कांग्रेसका एक समूहले एमालेलाई 'लिफ्ट प्लिज' भन्दै गरेको कार्टुन बनाएका थिए उनले । संयोग नै मान्नुपर्छ त्यो कार्टुन छापिएपछि दुई समूहमा विभाजित कांग्रेस एक भएको थियो । फुट्नै लागेको कांग्रेस जुटेपछि एमाले पोलिटब्युरोको निष्कर्ष थियो- त्यही कार्टुनले गर्दा कांग्रेस जुट्यो । एमालेवृत्तमा त्यही कार्टुनलाई लिएर केही नेतामा तीव्र असन्तुष्टि पैदा भयो ।
कस्तो कार्टुनलाई उत्कृष्ट मान्ने ? कसैले भन्छन्, 'शब्दविहीन ।' कसैको मान्यता छ, सकेसम्म कम शब्द प्रयोग भएको । तर, रविन यी दुवै मान्यतासँग सहमत छैनन् । उनी भन्छन्, 'शब्दविहीन कार्टुन आफैँमा राम्रो मानिएला, तर शब्द नहुँदैमा कार्टुन उत्कृष्ट बन्छ भन्ने होइन । कुनै पनि कार्टुनमा क्यारिकेचर र सेन्स अफ ह्युमर स्ट्रङ छैन भने शब्दविहीन हुँदैमा कार्टुनलाई उत्कृष्ट मान्न सकिँदैन ।'
भारतका कट्टरपन्थी हिन्दू राजनीतिक नेता बाल ठाकरे एकताका सिद्धहस्त कार्टुनिस्ट मानिन्थे । बाल ठाकरेले ६० को दशकमा बनाएका कार्टुन रविनले हेर्न भ्याए । रविनका अनुसार बाल ठाकरेले कोरेका लाइन त्यत्तिकै लोभलाग्दा थिए । राजनीतिमा लागेपछि उनले कार्टुन कोर्न छाडे । त्यतिवेला बाल ठाकरेले कोरेका लोभलाग्दा लाइन सम्भ"mदै रविन भने, 'नेपालमा मनपरी ढंगले लाइन कोरेर कार्टुन बनाइने गरिन्छ ।'
प्रविधिको विकाससँगै नेपालमा रंगीन कार्टुन छापिन थालेको १६ वर्ष नाघिसकेको छ । श्यामश्वेत कार्टुन बनाउँदै आएका कार्टुनिस्ट रंगीन कार्टुन बनाउन हौसिएका छन् । रंगीन हुँदैमा कार्टुन उत्कृष्ट हुने होइन, तर श्यामश्वेतले देखाउन नसक्ने कतिपय कुरा रंगीन कार्टुनमार्फत देखाउन सहज हुने तर्क गर्दै साय्मिले भने, 'अन्तर्राष्ट्रियस्तरको कार्टुनमा जस्तै हामीले पनि अब राम्रो क्यारिकेचरयुक्त कार्टुन बनाउने वेला भइसक्यो । राम्रो क्यारिकेचरले कार्टुनलाई उत्कृष्ट बनाउँछ । सकेसम्म शब्दविहीन कार्टुन बनाउन प्रयास पनि गरिरहेका छौँ । तर, गाह्रो छ । शब्दबाट जस्तो रेखाद्वारा मात्र अभिव्यक्त गर्न त गाह्रै हुन्छ नि ।'
विषयगत हिसाबले नेपालमा दुईकिसिमका कार्टुनको अभ्यास भएको पाइन्छ । ती हुन्- राजनीतिक र सामाजिक कार्टुन । रविन भने धेरैजसो राजनीतिक कार्टुन बनाउनमै रमाइरहेका छन् । मदन भण्डारी र जीवराज आश्रतिको रहस्यम ढंगले हत्या भएपछि भड्केको आन्दोलनमा ७० को ज्यान गयोे । तसर्थ, गिरिजाप्रसाद कोइरालाको शासनशैली रविनलाई मन परिरहेको थिएन । त्यही अवस्थामा कोइरालाको शृंखलाबद्ध कार्टुन बनाए उनले । कोइरालाको अनुहार बिस्तारै मरिचमान बनेको कार्टुन दृष्टिमा छापियो । प्रविधिगत हिसाबले अहिले त्यति गाह्रो होइन, तर त्यसवेला हातले बनाउनुपथ्र्यो, जुन धेरै गाह्रो काम थियो । त्यतिवेला त्यो कार्टुन १५/२० हजारमा खरिद गर्छु भन्नेहरू धेरै निक्लिए । तर पनि बिक्री गरिएन ।
हामीले नै कार्टुनलाई व्यावसायिक रूप दिने हो भन्दै यो विधामा लागेका रविनले त्यतिवेला देखेका सपना अहिले विपनामा परिणत भएको छ । कार्टुन विधालाई व्यावसायिक बनाउँछु भनेर लागिपर्दा सुरुताका उनलाई बुबाले झपारेका थिए । त्यही ठिटो दक्षिण एसियाका कार्टुनिस्टको प्रतिनिधित्व गर्दै डेनमार्कसम्म पुगे । मोहम्मद पैगम्बरको कार्टुन बनाउँदा विश्वभरि विवाद बढेपछि त्यसको निप्टारा लगाउन उनलाई डेनमार्क बोलाइएको थियो । रविन भन्छन्, 'कसैको धार्मिक, जातीय र भाषिक आस्थामाथि बनाइएको 'कार्टुन'ले त्यस समुदायलाई गहिरो चोट पुर्‍याउन सक्छ । डेनमार्कमा मोहम्मदमाथि बनाइएको कार्टुन काण्ड त्यसको एउटा उदाहरण हो । सो काण्ड कुनै पनि रूपमा सही त थिएन, तर ठूलै क्षति बेहोरेर भए पनि उक्त काण्डले कार्टुनको शक्ति भने पुष्टि गरिदिएको छ ।'

Saturday, September 25, 2010

दरबार हत्याकाण्डबारे पारस : मैले नै पत्याउन सकेको छैन

दादाहजुर (दीपेन्द्र) र म सँगै हुर्किएका हौँ । हाम्रो उमेर पनि ६ महिनाले मात्र फरक छ । हामी तीन भाइ -म, दीपेन्द्र र नीराजन) प्रायः सँगै हुन्थ्यौँ । दादाहजुरले आफू जाने कार्यक्रमहरूमा प्रायः हामी दुई भाइलाई पनि लिएर गइबक्सन्थ्यो । दादालाई मैलेजति नजिकबाट सायदै अरूले चिनेको छ । 
दादा र मेरो पढाइ भने सँगसँगै हुन सकेन । म बूढानीलकण्ठमा पढेँ भने दादा इटन कलेजमा पढिबक्स्यो । म अमेरिकाबाट फर्केर आउँदा त दादाको बानी पूरै बदलिइसकेको रहेछ । त्यतिवेला ०४६ सालको आन्दोलन पनि सफल भएको थियो । आन्दोलनबाट अधिकार खोसिएकोमा दादाहजुर गम्भीर होइबक्सेको थियो । त्यतिवेला दादा सेक्सपियरका दुखान्त नाटकहरू खुव मन पराइबक्सन्थ्यो । 
०५९ साल जेठ १९ भन्दा अघिल्लो शुक्रबार हामी दुई भाइ -म र नीराजन) ले अर्को शुक्रबार हाम्रो एउटा कार्यक्रममा जानु छ भनेका थियौँ दादासित । तर, दादाहजुरले यो शुक्रबार तिमीहरू मसँग हुनैपर्छ भनिबक्स्यो । दादाहजुरको कुरालाई नाइँ भन्न सकेनौँ । 
त्यो घटनाबारे हामीप्रति आक्षेप लाग्नेगरी विभिन्न किसिमका कुराहरू बाहिर आउँदा मलाई निकै दुःख लाग्छ । तर, फेरि आफैं सोच्छु, यो घटनाको म आफैं प्रत्यक्षदर्शी छु र त म स्वयंलाई अझै पत्याउन गाह्रो परिरहेको छ भने अरूले कसरी पत्याऊन् ? यस्तो सोचेर मन बुझाउने प्रयास गर्छु । त्यस घटनाले मलाई मानसिक रूपले यति विक्षिप्त बनाइदियो कि त्यसबाट रिकभर हुन नै चार वर्ष लाग्यो । चार वर्षसम्म म मानसिक रूपले निकै विक्षिप्त अवस्थामा थिएँ । 
मलाई लाग्छ, दरबारभित्र रहेका थुप्रै स्वार्थी झुन्ड पनि त्यस हत्याकाण्डमा जिम्मेवार छन् । ती झुन्डहरू एक-अर्काका कडा प्रतिस्पर्धी थिए । एउटा समूहले अर्काको अस्तित्व नै नामेट गर्ने हिसाबले अघि बढिरहेको वेला दादालाई उक्साउने समूहको कुनै कमी थिएन, दरबारमा । दरबारमा युवराज दीपेन्द्रलाई शासनको वागडोर तिम्रै हो, तिमीले नै सम्हाल्नुपर्छ भनेर उकास्नेको पनि कमी थिएन । दादालाई सत्तामा पुग्ने चरम् महत्त्वाकांक्षाले पनि दरबार हत्याकाण्ड भएको हुनसक्छ । प्रेम पनि हत्याकाण्डको एउटा कारक हुनसक्छ । 
मलाई लाग्छ, एक्कासि घटेको घटना होइन त्यो । यसको योजना लामो समयदेखि बुनिएको हुनसक्छ । खासगरी सैनिक तालिम गर्न खरिपाटी जाँदादेखि नै दादाले योजना बुनिसकेको हुनुपर्छ । हतियारको कमिसन पनि हत्याकाण्डको कारण हुनसक्छ । नेपाली सेनाले बेल्जियममा बनेको एसएलआर -सेल्फ लोडिङ राइफल) लाई विस्थापन गर्न खोजिरहेको र दादाले भने जर्मन हेक्लर एन्ड कोच जी- ३६ एसल्ट राइफल मन पराइबक्सेको थियो । दादा एम- १६ को विरुद्धमा होइबक्सिन्थ्यो । तर, ठूलोबुबा भने यसमा सहमत होइबक्सन्नथ्यो । यसैमा दादा र ठूलोबुबाबीच सम्बन्धमा चिसोपना आएको थियो । सेनालाई ५० हजार नयाँ बन्दुक चाहिएकाले दादाका सल्लाहकारहरू बन्दुक किन्ने योजनामा थिए । जुन काम सफल भएको भए करिब ३५ हजार राइफल किनिने थिए । एउटा बन्दुक खरिद गर्दा चार सय ५४ डलरका हिसाबले एक करोड ५० लाख डलर कमिसनस्वरूप आउने थियो । 
अहिले पनि याद आउँछ त्यो रात ! के गर्ने, के नगर्ने भनेर अत्तालिएका थियौँ । बुबाहजुर पनि भोलिपल्ट मात्र आइबक्स्यो । बुबाहजुर नआउँदासम्म सबै दायित्व मेरो काँधमा आएको थियो ।
त्यो शुक्रबार दरबारमा पार्टी थियो । दादाहजुर -दीपेन्द) दिउँसैदेखि नसामा लठ्ठइिबक्सेको थियो । तर, दादाको मुखबाट रक्सीको गन्ध भने आइरहेको थिएन । दादाको पिउने क्रम बेलुकीसम्मै चालू रह्यो । दादा आफैंले महेन्द्र मन्जिलबाट मुमाबडामहारानी रत्नलाई मोटर चलाई कार्यक्रमस्थल त्रिभुवन सदनसम्म ल्याइबक्सेको थियो ।
ठूलोबुबा आफ्नो कार्यालयबाट पार्टीस्थल त्रिभुवन सदन आउँदै गर्दा दादा अचानक जमिनमा ढलिबक्स्यो । त्यहाँ उपस्थित हाम्रो परिवारलाई दादा नसाले ढलेको भान भयो । दादा ढलेपछि भाइ नीराजन, कुमार गोरख, डा. राजीव शाही र मसमेत चारजनाले दादालाई त्रिभुवन सदनभित्रै रहेको दादाको कोठामा पुर्‍यायौँ । सुताउने क्रममा दादाको कम्मरमा रहेको ग्लक पेस्तोल झिक्न खोज्यौँ । तर, नसाले अचेतजस्तै भए पनि दादाले पेस्तोल झिक्नै दिइबक्सेन । दादालाई सुताएर पार्टीस्थलतर्फ फर्किन लाग्दा हाम्रो आँखा झ्वाट्ट सधैं दराजभित्र रहने एम- १६ राइफलमा पर्‍यो, जुन त्यतिवेला बाहिरै टेबुलमा थियो । 
दादालाई माथि सुताइए पनि तलको कार्यक्रम भने जारी रह्यो । पार्टीमा ठूलोबुबा -तत्कालीन राजा वीरेन्द्र), ठूलीमुमा -रानी ऐश्वर्य), जिजुमुमाबडामहारानी रत्न, भाई नीराजन र हामी सबै सहभागी भइरहेका थियौँ । बेलुकी साढे आठ बजे ठूलोबुबा आप\mनो कार्यालयबाट हिँड्दै पार्टीस्थलसम्म आएबक्सेको थियो । ठूलोबुबाले सबैभन्दा पहिले मुमाबडामहारानी रत्नसँग केही मिनेट कुराकानी गरिबक्स्यो । त्यसपछि बिलियार्ड कोठातर्फ लागिबक्स्यो र बल्ल पार्टीको रौनक सुरु भयो । सबैजना आ-आफ्नो धुनमा रमाइरहेका थियौँ । त्यहीवेला दादा अकस्मात् हतियार बोकेर बिलियार्ड कोठासँगै जोडिएको डाइनिङ हलको पूर्वपट्टकिो बैठकबाट जमघटमा प्रवेश गरिबक्स्यो । दादाको काँधमा एम- १६ र सर्टगन झुन्डीएको थियो भने ग्लक पेस्तोल कम्मरमै थियो । 
हामीले हेर्दाहेर्दै दादाले कालो हेक्लर एन्ड कोच एपी- ५ सवमेसिनगनले कोठाको सिलिङ र पश्चिमपट्टकिो भित्तातिर फायरिङ गर्न थालिबक्स्यो । सबैजना अत्तालिए, तर कुनै प्रतिवाद भएन । बिलियार्ड टेबुलको पूर्व छेउतर्फ रहेका दादाले परिवारसँगै रहेका बुबा वीरेन्द्रलाई ताकेर गोली हानिबक्स्यो । बुबालाई तीन गोली हानेर ढालेपछि दादा बाहिर निस्किबक्स्यो । पार्टीमा सहभागी अन्य निम्तालुले रोक्न खोजेका थिए । तर, एकछिनमा दादा फेरि बिलियार्ड कोठामा आएर केही समयअघि मात्र भुइँमा राखेको टेलिस्कोपसहितको एम-१६ राइफल बोकिबक्स्यो । त्यसपछि दादाले पालैपालो आफ्नै ज्वाइँ कुमार गोरखशमशेर राण्ाा, काका धीरेन्द्र र फुपाजु कुमार खड्गविक्रम शाह, बहिनी अधिराजकुमारी श्रुति, फुपूहरू शारदा शाह, शान्ति सिंह, शाहज्यादी जयन्ती शाहलाई गोली हानिबक्स्यो । मेरी मुमालाई पनि दुई गोली लाग्यो । मुमा भुइँमा लडेपछि शान्तिराज्यलक्ष्मी सिंहले रोक्न खोज्दा उहाँलाई पनि दादाले गोली हानिबक्स्यो । मुमा ढलेकाले बाँच्न सफल होइबक्स्यो । मेरी पत्नी हिमानी, पूजा शाही, सीतास्मा शाह, दिलासा राणा छुट्टै कोठामा थिए । त्यसैले उनीहरू बाँच्न सफल भए । त्यसको केहीबेरपछि बगैंचाको तलाउ नजिकैबाट गोलीको आवाज आयो । त्यो नै त्यस भयानक रातको अन्तिम गोलीको आवाज थियो । बगैंचामा दादाले आफैंलाई गोली हानी आत्महत्या गरिबक्सेको रहेछ । बिरालोले राति निकाल्नेजस्तो आवाज दादाले निकालिबक्सेको थियो । 
(पूर्वयुवराज पारससित नयाँ पत्रिका संवाददाता भुवन शर्माले गरेकोे कुराकानीमा आधारित)

Monday, September 20, 2010

नयाँ नेपालको नयाँ पत्रकारिता

कुन चाहिँ पेशा सबैभन्दा बढी बदनाम छ भनेर केही वर्षगाडि अमेरिकामा एउटा मत-सर्वेक्षण गरेका थिए रे । नैतिक हिसाबले सबैभन्दा कमजोर मानिने वकिल रहेछन् । तर कानुन व्यवसायीहरूपछि सबैभन्दा अलोकप्रिय पत्रकारहरू नै परे ।
शायद नेपालमा पत्रकारहरू त्यति बदनाम नै भइसकेका छैनन् होला, तर हाम्रो सामूहिक चरित्र पनि त्यति आशाजनक छ भन्न सकिँदैन । हाम्रा पाठकहरूले हामी धेरैलाई गैरजिम्मेवार, घमण्डी, अरूलाई नगन्ने, नकारात्मक सोच राख्ने र भ्रष्ट भन्न रुचाउँछन् ।
यसो किन भयो ? यसलाई कसरी बदल्ने ? पत्रकार, पत्रिका र पत्रकारिता पढाउनेले के गर्नुपर्छ ? केही चाहिँ गर्नै पर्छ, किनभने हामीलाई थाहा छ, मिडिया बलिया भए मात्रै हाम्रो देशको लोकतन्त्रको जग बलियो हुन्छ । व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता एउटै सिक्काका दुई पाटा हुन् । प्रेस स्वतन्त्रता पत्रकारहरूको मात्र अधिकारको विषय होइन, हामी पत्रकारहरूले त जनताको सुसूचित हुने अधिकारलाई रक्षा मात्र गरेका हौं । हामीले त्यो अधिकार जति इमानदारी साथ पालना गर्छौ । त्यतिकै जनताको शासनलाई बलियो बनाउँछ र मिडियाकै विश्वसनीयता पनि बढ्छ । लोकतन्त्र बलियो भए मात्र विकास, न्याय र शान्तिलाई टेवा पुग्छ ।
स्वतन्त्र पत्रकारितालाई तीनतिरबाट प्रहार भएको अनुभव हामीमाझ छ । सत्ता पक्षबाट त पञ्चायतकालमा प्रजातन्त्रलाई जस्तै प्रेसमाथि पनि अङ्कुश लगाइएको थियो । तर २०४६ सालको प्रजातन्त्रको पुर्नर्बहालीपछि पनि सरकारी समाचारमाध्यमलाई प्रोपोगाण्डाको यन्त्रको रूपमा प्रयोग भयो । राजा ज्ञानेन्द्रको १९ माघको ‘कु’ पछि त झन् हुन्ताको मारमा परेर मिडिया ङ्याँकियो । सिपाहीहरू नै न्यूजरुमभित्र छिरेको यो नेपाली इतिहासमै पहिलो पटक होला । माओवादीहरू निर्वाचित भएर सरकारमा आउँदा पनि नेपालका राष्ट्रियस्तरका पत्रिकाहरू भौतिक कारबाहीमा परे जसरी पहिले जिल्लाका पत्रकारहरू परेका थिए । तर मिडियाले अर्का किसिमको सेन्सरसीप पनि भोग्नुपरको छ, त्यो हो अत्यधिक व्यापारीकरणबाट पत्रपत्रिका, टिभी र रेडियोमा आउने विकृति । धेरै वर्षम्मको प्रजातन्त्र र प्रेस स्वतन्त्रताको अभ्यास भएका मुलुकहरू (जस्तै भारत र अमेरिका) पनि अति-व्यापारीकरणको प्रभावबाट बचेका छैनन् । तेस्रो चुनौती भनेको सेल्फ-सेन्सरसीप हो, जुन अहिले नेपालको मिडियामा व्यापक छ भन्नर्पर्छ । अहिलेको सङ्क्रमणकालमा दण्डहीनताको प्रकोप र विधिको शासन फितलो छ र राजनीतिक तरलताले सरकारविहीन अवस्था छ । यस्तो बेलामा पत्रकारहरू नै निशाना बनेका छन् । राजनीतिको अपराधीकरण र अपराधीहरूको राजनीतिकरणले गर्दा पत्रकारहरूलाई कसले मार्‍यो, अपहरण गर्‍यो, धम्क्यायो भन्न सक्ने अवस्था नहुँदा पत्रकारहरूले व्यक्तिगत सुरक्षाको लागि नै सबै तथ्य सम्प्रेषण गर्न चाहँदैनन् । पेशागत जोखिमले समाज नै ग्रस्त भएको बेला यो मिडियालाई मात्र खतरा बढेको पक्कै होइन, तर पत्रकारहरू फ्रन्टलाइनमा परेका चाहिँ हुन् ।
यस्तो परिस्थितिमा हामीले कसरी पत्रकारितालाई बचाउने र राष्ट्रको चौथो अङ्गको रूपमा खडा गर्ने – सङ्क्रमणकालमा राष्ट्रका अरू तीन अङ्गहरू (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) कमजोर हुन्छन्, त्यसबेला मिडियाको भूमिका अझै महत्त्वपुर्ण हुन्छ । तर यस्तै बेला मिडियामा बढी व्यापारीकरण देखियो, सेल्फ-सेन्सरसीप भयो अथवा पत्रकारहरूलाई तालिम पुगेन र स्तरहीन र सनसनीपुर्ण सामग्री मात्र सम्प्रेषण हुन थाल्यो भने लोकतन्त्र नै धरापमा पर्न सक्छ । विकासको सट्टा विनास ल्याउँछ ।
अहिले हाम्रो जस्तो मुलुकमा एउटा नयाँखालको पत्रकारिताको खाँचो छ । पश्चिमा मुलुकहरूका मिडिया-नियमहरू हामीकहाँ सबै सान्दर्भिक हुँदैनन् । तर पुर्वी एसियामा देखिने प्रेसमाथिको दमन र सरकारको गुणगान मात्रै गर्ने मिडिया पनि हामीले भोगिसक्यौँ र त्यो पनि चाहिएको छैन ।
यो नयाँखालको पत्रकारिता कस्तो हुनुपर्ला ? अहिलेको युद्धपछिको समाजमा त पहिले देशलाई हिंसा र द्वन्द्वबाट मुक्त गर्ने खालको रिपोर्टिङ चाहिएको छ । सङ्क्रमणकालमा जहिले पनि र जहाँ पनि समाधानमूलक पत्रकारिता चाहिन्छ, विकसित र राजनीतिक स्थिरता भएको देशको जस्तो पत्रकारिता हामीकहाँ प्रत्युत्पादक हुन्छन् । झगडियाहरूको मात्र समाचार बन्ने, जसले बढी उग्र कुरा गर्‍यो, जसले बढी करायो, उप्रियो, उसैको कुरा हेडलाइन हुने हो भने हामीकहाँ राजनीतिका झगडा र खिचातानीको कहिल्यै अन्त्य हुँदैन । पत्रकारले मात्र गरेर नेताहरू झगडा गर्न पक्कै छाड्दैनन्, तर अहिले पत्रकारिताले त्यस्तैलाई प्राथमिकता दिएकाले गर्दा मिडिया नै यो समस्या बनेको चाहिँ हो ।
अहिले नेपाली पत्रकारिताको चुनौती र दायित्व जनतालाई नकारात्मक सोच र नैरास्यताबाट माथि उठाउनु र शासक वर्ग र नीतिनिर्माताहरूलाई उत्तरदायी र जिम्मेवारीबोध गराउनु हो । हालका पत्रकारहरूलाई बदल्न गाह्रो होला तर भावी पुस्तालाई हामीले उच्चस्तरको मिडिया र सञ्चारको पढाइ र पत्रकारिताको तालिम दिलाउनुपर्छ ।
अहिले नेपालमा पत्रकारिता “कसरी” गर्ने मात्र होइन कि पत्रकारिता “किन” गर्ने भन्ने कुरा मिडिया पाठ्यक्रममा चाहिएको छ । मलाई पूरा विश्वास छ कि यसले नेपालमा पत्रकारिताको पठनपाठनको प्रवृत्तिले एउटा नयाँ आयाममा प्रवेश गर्नेछ र यसले लोकतन्त्र र समृद्धि पनि ल्याउने छ ।