श्रवण उप्रेती
प्रेस स्वतन्त्रताको उच्चतम प्रयोग हुँदा विश्वको सबैभन्दा शक्तिशाली देशको सर्वोच्च पदमा आसीन व्यक्तिले निरीह भएर सत्ता त्याग गर्नुपर्यो
वाटरगेट काण्ड अमेरिकाको राजनीतिक इतिहासमा निकै चर्चित घटना हो । राजधानी वासिंटन डिसीस्थित वाटरगेट कम्प्लेक्समा रहेको डेमोक्रेटिक नेसनल कमिटी(डीएनसी)को मुख्यालयमा भएको घुसपैठले अमेरिकामा ठूलो तरङ्ग ल्याएको थियो । सन् १९७२ को राष्ट्रपति चुनाव नजिकिँदै गर्दा डेमोक्रेटिक पार्टीको चुनावी कार्यक्रम चोर्न सत्तारुढ राष्ट्रपति सम्बद्ध मानिसले मुख्यालयमा घुसपैठ गरेका थिए ।
सुरुमा अधिकांश मिडियाले यसलाई सामान्य चोरीको घटनाको रूपमा लिए । वासिंटन पोस्टले समेत यो घटनालाई त्यसरी नै हेरेको थियो । त्यसैले घटनाको रिपोर्टिङका लागि पत्रिकाले अपराध बिटका बव वुडवार्डलाई खटाएको थियो । तर, रिपोर्टिङका क्रममा बव र उनका साथी कार्ल बर्नस्टिनले घटना पछाडि ठूलो राजनीतिक शक्ति रहेको पत्ता लगाए ।
सन् १९७२ जुन १७ को मध्यरातमा डेमोक्रेटिक नेसनल कमिटी (डिएनसी)को मुख्यालयमा फोन ट्याप गर्दै गर्दा पक्राउ परेका पाँच व्यक्तिलाई सामान्य चोरी तथा टेलिफोनमा अवरोध पुर्याएको आरोप लागेको थियो । तर, अदालतमा ती पाँच सामान्य 'चोर'को पक्षमा भने निकै महँगा वकिलले वकालत गरिरहेका थिए । यसले नै यस प्रकरणमा केही गडबडी रहेको बवलाई लागेको थियो । पछि बवलाई सघाउन वासिंटन पोस्टले अर्का युवा पत्रकार कार्ल बर्नस्टिनलाई खटायो । यी दुईले आगामी दुई वर्षसम्म यो प्रकरणमा खोज अनुसन्धान गरे । यस क्रममा तिनले उजागर गरेका तथ्यले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिनुपर्ने अवस्था आयो । साथै वाटरगेट काण्डमा दुई वर्ष संलग्न हुँदा वुडवार्ड र बर्नस्टिनले खोज पत्रकारिताको विभिन्न नयाँ आयाम पनि निर्माण गरे । तिनले विकास गरेको शैली आज विश्वभरका पत्रकारिताको कक्षामा पढाइन्छ ।
एक शासकको असुरक्षाको भावनाले निम्त्याएको काण्ड
सन् १९६८ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिचर्ड निक्सनले पपुलर भोटमा झिनो अग्रता पाएको भए पनि ५५.९५ प्रतिशत इलेक्ट्रोरल भोट पाएर राष्ट्रपति जिते । उनको पहिलो कार्यकाल विदेशनीतिका विभिन्न मोर्चामा सफल भएको थियो । निक्सनको पहिलो कार्यकालको उल्लेखनीय सफलतामा शीतयुद्धकालीन प्रतिद्वन्द्वी सोभियत संघसँग सम्बन्ध सौहार्दता विकास गर्न सक्नु र अर्को कम्युनिस्ट मुलुक चीनसँग औपचारिक सम्बन्ध कायम गर्नुलाई मानिन्छ । यसमा उनका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार (पछि विदेशमन्त्री ) हेनरी किसिन्जरले महत्वपूर्ण सहयोग प्रदान गरेका थिए ।
राष्ट्रपति निक्सन
निक्सनले राष्ट्रपति पद सम्हालेको पहिलो वर्ष अमेरिकाले पहिलोपटक अन्तरिक्षमा पाइला टेकेको थियो । अर्थतन्त्रमा केही सफलता, केही असफलता भोगेको र भियतनाम युद्धविरुद्धको गतिरोध कामय रहेको भए पनि उनी लोकप्रिय नै थिए । दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने व्यवस्थाअनुरूप उनी सन् १९७२ को चुनावमा उठेका थिए । उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जर्ज म्याकगर्भन त्यति बलिया प्रतिस्पर्धी थिएनन् । त्यस वर्षको चुनावमा निक्सनले अमेरिकाका ५० मध्ये ४९ राज्यमा जित हासिल गरेका थिए । उनले ९६.६५ प्रतिशत इलेक्ट्रोरल भोटले जितेका थिए । पपुलर भोटमा पनि उल्लेख्य वृद्धि भएको थियो ।
तर, चुनावअघि राष्ट्रपति निक्सनको अभियानका पदाधिकारीमा भने आत्मविश्वास देखिएन । त्यसैले विपक्षीको चुनावी रणनीति थाहा पाउन तिनको कार्यालयमा गैरकानुनी रूपमा जासुसी उपकरण लगाउने हदसम्म उनीहरू अघि बढे । यसबारे निक्सन प्रशासनका उच्च पदाधिकारी र यसलाई कार्यान्वयन गर्ने सुरक्षा संयन्त्रका केही व्यक्तिलाई जानकारी थियो । रिचर्ड निक्सनलाई पुनः निर्वाचित गराउने उद्देश्यले गठित चुनावी समितिका मानिस प्रत्यक्ष जोडिएको यो प्रकरण पूर्ण रूपमा उदांगो हुन दुई वर्ष मिडियाले प्रयास गरिरह्यो । विशेषतः वासिंटन पोस्ट र पोस्टका दुई रिपोर्टर बव वुडवार्ड र कार्ल बर्नस्टिनको प्रयासले वाटरगेट काण्डभित्रको षड्यन्त्र उजागर भयो । र, निक्सनको शासन अवधि लम्ब्याउने उद्देश्यले चालिएको कदम नै उनको शासन छोट्याउने कारण बन्यो ।
वाटरगेट काण्डका सूत्रधारहरू
डमोक्रेटिक नेसनल कमिटीको मुख्यालयमा भएको घुसपैठ राजनीतिक रूपले अभिप्रेरित होला भनेर कसैले पनि सोचेको थिएन। वाटरगेट काण्डअघि अमेरिकामा राजनीतिलाई सम्मानित पेसाको रूपमा हेरिन्थ्यो । त्यसैले पनि धेरैले यसलाई राजनीतिक षडयन्त्रका रुपमा बुझेनन् । विपक्षी डेमोक्रेटिक पार्टीविरुद्ध बृहत् स्तरको जासुसीका लागि सल्लाह दिने पहिलो व्यक्ति ‘कमिटी फर रि–इलेक्सन अफ द प्रेसिडेन्ड(सिआरपी)’का आर्थिक सल्लाहकार गोर्डन लिड्डी थिए ।
निक्सनलाई पुनः निर्वाचित गराउने उद्देश्यले गठित सिआरपीमा त्यो समय स्टुअर्ट म्यागरुडर कार्यवाहक अध्यक्ष थिए । लिड्डीले आफ्नो प्रस्ताव महान्यायाधिवक्ता जोन मिचेल र राष्ट्रपतिका सल्लाहकार जोन डिनलाई पनि बताएका थिए । लिड्डीको सम्पूर्ण योजना अव्यावहारिक हुने भनिए पनि केही पक्ष कार्यान्वयन गरिने भयो । यसअन्तर्गत वाटरगेट कम्प्लेक्सस्थित डेमोक्रेटिक पार्टीको मुख्यालयमा गोप्य रूपमा चुनावी कागजातको फोटो खिच्ने र टेलिफोनमा जासुसी उपकरण जोड्ने योजना स्वीकृति भएको थियो । पछि, जोन मिचेल महान्यायाधिवक्ताको पद छाडी सिआरपीको प्रमुख बनेर आएपछि विपक्षीहरूको जासुसी गर्ने कार्य अघि बढ्यो ।
वासिंटनस्थित वाटरगेट होटेल
यस कामको जिम्मा सिआरपीका सुरक्षा संयोजक जेम्स म्याकोर्डले पाए । म्याकोर्डले वाटरगेट कम्प्लेक्सस्थित डेमोक्रेटिक नेसनल कमिटीको मुख्यालयका फोनमा वायरटेप लगाउने कामको जिम्मा पूर्वएफबिआई एजेन्ट अल्फ्रेड बाल्ड्विनलाई दिए । सन् १९७२ मे २८ मा नेसनल डेमोक्रेटिकको मुख्यालयका दुई फोनमा वायरटेप लगाइयो, जसमध्ये एउटा डेमोक्रेटिक नेसनल कमिटीका अध्यक्ष ल्यारी ओब्रायनको फोनसमेत थियो । खासमा जुन १७ को मध्यरातमा पक्राउ परेका पाँचजना अघिल्लोपटक फोनमा लगाइएका उपकरण चेकजाँच गर्न गएका थिए ।
अधिकांश मिडियाले जस्तै वासिंटन पोस्टले पनि डेमोक्रेटिक नेसनल कमिटिको मुख्यालयभित्रको घुसपैठलाई सामान्य घटनाका रुपमा हेरेका थिए, तर पोष्टका दुई रिपोर्टरले घटना पछाडि ठूलो राजनीतिक शक्ति रहेको पत्ता लगाए ।
तर, सो रात वाटरगेट कम्प्लेक्समा रात्रिकालीन ड्युटी गरिरहेका सुरक्षा गार्ड फ्र्यांक विलिसले भवनका केही ढोकाका स्वचालित छेस्किनीमा टेप लगाएको भेटे । उनले घुसपैठको आशंकामा प्रहरीलाई फोन गरिदिए । लगत्तै स्थानीय क्षेत्रमा गस्ती गरिरहेका प्रहरी घटनास्थल पुगे र ती पाँचजना पक्राउ परे । पक्राउ पर्नेहरू भर्गिलियो गोन्जालेज, बरनार्ड बार्कर, जेम्स म्याक्कोर्ड, युजेनियो मार्टिनेज र फ्र्यांक स्टुर्गिस थिए । तीविरुद्ध चोरी तथा टेलिफोन अवरोधको मुद्दा लगाइएको थियो । डेमोक्रेटिक पार्टीको कार्यालयमा घुसपैठ गर्नेहरूबारे अनुसन्धान गरिरहेको एफबिआईको अनुसन्धान टोलीले पक्राउ परेका बार्कर र मार्टिनेजको एड्रेस बुकमा हवार्ड हन्टको नाम पाएको थियो, जो तत्कालीन समयमा राष्ट्रपति कार्यालयमा काम गरिरहेका थिए ।
मिडियाको भूमिका
वाटरगेट काण्डमा अमेरिकाको राष्ट्रपति कार्यालयको हात रहेको तथ्य सार्वजनिक गर्ने काम अमेरिकी मिडियाले गरेका थिए । यस खुलासाका लागि पत्रकारिता इतिहासमै उत्कृष्टमध्येको एक खोज पत्रकारिताको अभ्यास भएको बताइन्छ । विशेषतः वासिंटन पोस्टको यसमा सबैभन्दा प्रमुख भूमिका रह्यो । वासिंटन पोस्टका दुई पत्रकार बव वुडवार्ड र कार्ल बर्नस्टिन शृंखलाबद्ध रिपोर्टिङमार्फत डिएनसी मुख्यालयको घुसपैठ सामान्य चोरी नभएर राजनीतिक रूपमा प्रेरित घटना भएको उजागर गर्न सफल भए । उनीहरूले त्यसमा राष्ट्रपति निक्सन प्रशासनका उच्च पदाधिकारी र स्वयं निक्सनकै संलग्नता रहेको तथ्य बाहिर ल्याएका थिए ।
अन्य पत्रपत्रिकाले जस्तै वासिंटन पोस्टले पनि सुरुमा डिएनसी मुख्यालयको घुसपैठमा पक्राउ परेकाहरूलाई सामान्य चोरकै रूपमा लिएको थियो । यसैले घटनाको रिपोर्ट तयार पार्नका लागि दुई कनिष्ठ रिपोर्टरहरू बव वुडवार्ड र कार्ल बनस्टिनलाई खटाइएको थियो । यी दुई रिपोर्टरले खोजको सुरुमै अर्थात् सन् १९७२ अगस्ट १ मा निक्सनको चुनावी अभियानका लागि दिइएको २५ हजार डलरको चेक डोनेसन वाटरगेट कम्प्लेक्समा पक्राउ परेका एक व्यक्तिको खातामा जम्मा भएको पाएका थिए ।
त्यसपछि उनीहरूले घटनामा राजनीतिक षड्यन्त्र हुन सक्ने कोणबाट खोजमा लागेका थिए । पछि तिनको खोजमा ‘डिप थ्रोट’ छद्म नामका एक स्रोतले धेरै सूचना दिन सघाएका थिए । पछि ती व्यक्ति तत्कालीन एफबिआई सहनिर्देशक मार्क फेल्ट रहेको खुलासा भयो । डिप थ्रोटलाई व्यक्तिगत रूपमा वुडवार्डले मात्र भेटेका थिए र उनले फेल्टको निधनपछि मात्र उनको पहिचान खुलाउने बताउँदै आएका थिए । तर, सन् २००५ मे ३१ मा ३३ वर्षपछि ‘भ्यानिटी फेयर’ म्यागजिनमा छापिएको एक लेखमा फेल्टले आफ्नो पहिचान आफैँले खुलाए । ‘मानिसहरूले डिप थ्रोट भनेर चिन्ने व्यक्ति मै हुँ’ लेखमा फेल्टले स्विकारेका छन् ।
उनले सहनिर्देशक हुँदा डेमोक्रेटिक पार्टी मुख्यालयसम्बन्धी अनुसन्धानमा प्राप्त भित्री तथ्य वुडवार्डलाई भेटेरै दिएका थिए । वासिंटन पोस्टबाहेक यस प्रकरणलाई न्युयोर्क टाइम्स र टाइम म्यागजिनले मात्र लेखिरहेका थिए । अन्य मिडियाले स्रोतलाई मात्र आधार मानेर यति महत्वको समाचार पछ्याउन नहुने बताइरहेका थिए । केही मिडिया त राष्ट्रपतिको बचाउ गर्न अघि बढिरहेका थिए ।
उता निक्सन प्रशासनले वाटरगेट काण्डमा उसको चुनावी अभियानको कुनै पनि सदस्य संलग्न नभएको तर्क गरिरहयो । वासिंटन पोस्टलाई बदनाम गराउने अभियान चलाउनसमेत ह्वाइट हाउस पछि परेन । वासिंटन पोस्टका तत्कालीन सम्पादक वेन ब्राड्ली डेमोक्रेटिक पार्टीसम्बद्ध नेताहरूसँग नजिक रहेको र केनेडी परिवारसँग उनको पारिवारिकस्तरको सम्बन्ध भएकाले नियतवश रिपब्लिकनलाई बदनाम गराउन खोजेको आरोप लगाइयो । हुन त निक्सन र प्रेसबीच पहिलेदेखि राम्रो सम्बन्ध थिएन, वाटरगेट स्क्यान्डलपछि यो झनै खराब स्तरमा तल झर्यो । टाइम म्यागजिनका अनुसार त्यो समय निक्सनले आफूहरूप्रति नकारात्मक रहेका मिडियाविरुद्ध सरकारी एजेन्सी प्रयोग गर्नेबारे समेत छलफल गरेका थिए ।
महाभियोग र राजीनामासम्मको बाटो
नयाँ तथ्य उजागर हुँदै जाँदा निक्सनविरुद्ध लेख्ने मिडियाको संख्या बढ्न थाल्यो र जनमत पनि निक्सनविरुद्ध बलियो हुँदै गयो । प्रकरण चर्किंदै जाँदा निक्सनका सल्लाहकार जोन अर्लिकम्यानले महान्यायाधिवक्ता रिचर्ड क्लेइनडेइन्स्टलाई डेमोक्रेटिक पार्टी मुख्यालयमा भएको घुसपैठबारे ह्वाइट हाउसका कसैलाई पनि पूर्वजानकारी नभएको प्रस्टीकरण दिए । यसले पनि विवाद साम्य भएन ।
निक्सनले यो प्रकरणबाट उम्कने अन्तिम प्रयासका रूपमा मिडियामा वाटरगेट काण्डसँग नाम जोडिएका ह्वाइट हाउसका केही उच्च पदाधिकारीसँग राजीनामा मागे । यसमा एचआर हाल्डेम्यान, अर्लिकम्यान र जोन डिनजस्ता निक्सनका दाहिने हात मानिने पदाधिकारीसमेत थिए । तर, यसअघि जोन डिन र राष्ट्रपति निक्सनबीच राष्ट्रपति कार्यालयमा घटनाबारे वार्ता भएको थियो । छलफलका क्रममा डिनलाई आफूहरूको कुरा रेकर्ड भइरहेको आशंका लाग्यो । अप्रिल १५ मा जोन डिन र राष्ट्रपतिबीच छलफल भएको थियो । डिनका अनुसार भेटमा राष्ट्रपतिले अनौठो व्यवहार देखाएका थिए । यसैले डिन त्यो सम्बाद रेकर्ड भएको निष्कर्षमा पुगे । डिनले यो कुरा सिनेटको छानबिन समितिमा बताए । डिनको यो खुलासाले वाटरगेट काण्डमा नयाँ मोड ल्याइदियो । यो खुलासापछि निक्सनविरुद्ध उनकै पार्टीभित्र आवाज उठ्न थाल्यो ।
सिनेटको छानविन समितिले ह्वाइट हाउसभित्रका छलफलसमेत रेकर्ड हुने विषयमा दबाब दिएपछि ह्वाइट हाउसले दर्जनौँ अडियो सिनेटसमक्ष बुझायो । तर, धेरै अडियो सम्पादन भएको भेटिएपछि मुद्दा अमेरिकी सर्वोच्च अदालतमा पुग्यो । यसबीच सन् १९७३ अक्टोबर ३० बाट निक्सनविरुद्ध महाभियोग प्रक्रिया सुरु भयो । अमेरिकाको इतिहासमा निक्सनअघिका राष्ट्रपति एन्ड्रयु ज्याक्सन र निक्सनपछिका बिल क्लिन्टन र डोनाल्ड ट्रम्पविरुद्ध मात्र औपचारिक रूपमा महाभियोग प्रक्रिया अघि बढेको छ ।
कुनै पनि घटनामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रक्रियाले राष्ट्रपतिलाई हटाएको भने छैन । निक्सनको समयमा उनीविरुद्ध महाभियोग सुनुवाइ पास हुने पक्काजस्तो भएको थियो, त्यसैले उनले राजीनामा दिए ।
१९७४ जुलाई २४ मा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई वाटरगेट काण्डसँग जोडिएका सबै अडियो विनासम्पादन सार्वजनिक गर्न आदेश दियो । यो आदेशपछि राष्ट्रपति कार्यालयले सम्पूर्ण अडियो रेकर्ड विनासम्पादन सार्वजनिक गर्नुपर्यो । वाटरगेट काण्डबारे निक्सनलाई सुरुतिरै जानकारी रहेको प्रस्ट पार्ने एक अडियो रेकर्ड अगस्ट ५ मा सार्वजनिक भयो । यसपछि उनकै पार्टीका धेरै सिनेटर पनि उनीविरुद्ध महाभियोगको पक्षमा उभिन थाले ।
‘स्मोकिङ गन’ नामक टेपमा वाटरगेट घटनालगत्तै निक्सन र एचआर हाल्डम्यान कुराकानी गरेको सुनिन्छ । त्यसमा उनीहरू एफबिआईले यस प्रकरणमा गरिरहेको अनुसन्धानलाई कसरी रोक्ने भन्ने विषयमा कुरा गरिरहेका थिए । अडियोमा दुई नेता यो घटना राष्ट्रिय सुरक्षासँग सम्बन्धित भएको भनेर सिआइएलाई भन्न लगाउने र एफबिआईको अनुसन्धान रोक्न लगाउने विषयमा बोलिरहेका सुनिन्थे । यो अडियो बाहिरिएपछि वाटरगेटस्थित डेमोक्रेटिक कार्यालयमा भएको घुसपैठलाई लुकाउने सम्पूर्ण प्रयासबारे निक्सन पहिलेदेखि नै जानकार रहेको प्रस्ट भयो । त्यसको पाँच दिनपछि निक्सनले राष्ट्रपति पदबाट राजीनामा दिए । अमेरिकाको इतिहासमा राष्ट्रपति पदबाट राजीनामा दिने एक मात्र राष्ट्रपति रिचर्ड निक्सन मात्र हुन् ।
अमेरिकामा संविधानको पहिलो संशोधनले प्रेस स्वतन्त्रतालाई प्रतिरक्षा गर्छ । प्रेस स्वतन्त्रताको उच्चतम प्रयोग हुँदा विश्वको सबैभन्दा शक्तिशाली देशको सर्वोच्च पदमा आसीन व्यक्तिले निरीह भएर सत्ता त्याग गर्नुपर्यो । यो प्रकरणले अमेरिकी नागरिकलाई राजनीतिको कुरूपताप्रति साक्षात्कार गराएको मानिन्छ । राज्य सञ्चालन गर्नेहरू आफूलाई शक्तिमा टिकाइराख्न कुन हदसम्म जान सक्छन् भन्ने एउटा उदाहरण हो यो । साथै शासकहरूले गल्तीलाई स्विकार्नुको साटो ढाकछोप गर्न केन्द्रित हुँदा संकट झन्झन् गहिरिँदै जान्छ भन्ने प्रमाण पनि हो । यस प्रकरणको सकारात्मक पक्ष प्रेस स्वतन्त्रतासँग जोडिएको छ ।
साभारः नयाँपत्रिका २०७७ साउन १८
No comments:
Post a Comment