दादाहजुर (दीपेन्द्र) र म सँगै हुर्किएका हौँ । हाम्रो उमेर पनि ६ महिनाले मात्र फरक छ । हामी तीन भाइ -म, दीपेन्द्र र नीराजन) प्रायः सँगै हुन्थ्यौँ । दादाहजुरले आफू जाने कार्यक्रमहरूमा प्रायः हामी दुई भाइलाई पनि लिएर गइबक्सन्थ्यो । दादालाई मैलेजति नजिकबाट सायदै अरूले चिनेको छ ।
दादा र मेरो पढाइ भने सँगसँगै हुन सकेन । म बूढानीलकण्ठमा पढेँ भने दादा इटन कलेजमा पढिबक्स्यो । म अमेरिकाबाट फर्केर आउँदा त दादाको बानी पूरै बदलिइसकेको रहेछ । त्यतिवेला ०४६ सालको आन्दोलन पनि सफल भएको थियो । आन्दोलनबाट अधिकार खोसिएकोमा दादाहजुर गम्भीर होइबक्सेको थियो । त्यतिवेला दादा सेक्सपियरका दुखान्त नाटकहरू खुव मन पराइबक्सन्थ्यो ।
०५९ साल जेठ १९ भन्दा अघिल्लो शुक्रबार हामी दुई भाइ -म र नीराजन) ले अर्को शुक्रबार हाम्रो एउटा कार्यक्रममा जानु छ भनेका थियौँ दादासित । तर, दादाहजुरले यो शुक्रबार तिमीहरू मसँग हुनैपर्छ भनिबक्स्यो । दादाहजुरको कुरालाई नाइँ भन्न सकेनौँ ।
त्यो घटनाबारे हामीप्रति आक्षेप लाग्नेगरी विभिन्न किसिमका कुराहरू बाहिर आउँदा मलाई निकै दुःख लाग्छ । तर, फेरि आफैं सोच्छु, यो घटनाको म आफैं प्रत्यक्षदर्शी छु र त म स्वयंलाई अझै पत्याउन गाह्रो परिरहेको छ भने अरूले कसरी पत्याऊन् ? यस्तो सोचेर मन बुझाउने प्रयास गर्छु । त्यस घटनाले मलाई मानसिक रूपले यति विक्षिप्त बनाइदियो कि त्यसबाट रिकभर हुन नै चार वर्ष लाग्यो । चार वर्षसम्म म मानसिक रूपले निकै विक्षिप्त अवस्थामा थिएँ ।
मलाई लाग्छ, दरबारभित्र रहेका थुप्रै स्वार्थी झुन्ड पनि त्यस हत्याकाण्डमा जिम्मेवार छन् । ती झुन्डहरू एक-अर्काका कडा प्रतिस्पर्धी थिए । एउटा समूहले अर्काको अस्तित्व नै नामेट गर्ने हिसाबले अघि बढिरहेको वेला दादालाई उक्साउने समूहको कुनै कमी थिएन, दरबारमा । दरबारमा युवराज दीपेन्द्रलाई शासनको वागडोर तिम्रै हो, तिमीले नै सम्हाल्नुपर्छ भनेर उकास्नेको पनि कमी थिएन । दादालाई सत्तामा पुग्ने चरम् महत्त्वाकांक्षाले पनि दरबार हत्याकाण्ड भएको हुनसक्छ । प्रेम पनि हत्याकाण्डको एउटा कारक हुनसक्छ ।
मलाई लाग्छ, एक्कासि घटेको घटना होइन त्यो । यसको योजना लामो समयदेखि बुनिएको हुनसक्छ । खासगरी सैनिक तालिम गर्न खरिपाटी जाँदादेखि नै दादाले योजना बुनिसकेको हुनुपर्छ । हतियारको कमिसन पनि हत्याकाण्डको कारण हुनसक्छ । नेपाली सेनाले बेल्जियममा बनेको एसएलआर -सेल्फ लोडिङ राइफल) लाई विस्थापन गर्न खोजिरहेको र दादाले भने जर्मन हेक्लर एन्ड कोच जी- ३६ एसल्ट राइफल मन पराइबक्सेको थियो । दादा एम- १६ को विरुद्धमा होइबक्सिन्थ्यो । तर, ठूलोबुबा भने यसमा सहमत होइबक्सन्नथ्यो । यसैमा दादा र ठूलोबुबाबीच सम्बन्धमा चिसोपना आएको थियो । सेनालाई ५० हजार नयाँ बन्दुक चाहिएकाले दादाका सल्लाहकारहरू बन्दुक किन्ने योजनामा थिए । जुन काम सफल भएको भए करिब ३५ हजार राइफल किनिने थिए । एउटा बन्दुक खरिद गर्दा चार सय ५४ डलरका हिसाबले एक करोड ५० लाख डलर कमिसनस्वरूप आउने थियो ।
अहिले पनि याद आउँछ त्यो रात ! के गर्ने, के नगर्ने भनेर अत्तालिएका थियौँ । बुबाहजुर पनि भोलिपल्ट मात्र आइबक्स्यो । बुबाहजुर नआउँदासम्म सबै दायित्व मेरो काँधमा आएको थियो ।
त्यो शुक्रबार दरबारमा पार्टी थियो । दादाहजुर -दीपेन्द) दिउँसैदेखि नसामा लठ्ठइिबक्सेको थियो । तर, दादाको मुखबाट रक्सीको गन्ध भने आइरहेको थिएन । दादाको पिउने क्रम बेलुकीसम्मै चालू रह्यो । दादा आफैंले महेन्द्र मन्जिलबाट मुमाबडामहारानी रत्नलाई मोटर चलाई कार्यक्रमस्थल त्रिभुवन सदनसम्म ल्याइबक्सेको थियो ।
ठूलोबुबा आफ्नो कार्यालयबाट पार्टीस्थल त्रिभुवन सदन आउँदै गर्दा दादा अचानक जमिनमा ढलिबक्स्यो । त्यहाँ उपस्थित हाम्रो परिवारलाई दादा नसाले ढलेको भान भयो । दादा ढलेपछि भाइ नीराजन, कुमार गोरख, डा. राजीव शाही र मसमेत चारजनाले दादालाई त्रिभुवन सदनभित्रै रहेको दादाको कोठामा पुर्यायौँ । सुताउने क्रममा दादाको कम्मरमा रहेको ग्लक पेस्तोल झिक्न खोज्यौँ । तर, नसाले अचेतजस्तै भए पनि दादाले पेस्तोल झिक्नै दिइबक्सेन । दादालाई सुताएर पार्टीस्थलतर्फ फर्किन लाग्दा हाम्रो आँखा झ्वाट्ट सधैं दराजभित्र रहने एम- १६ राइफलमा पर्यो, जुन त्यतिवेला बाहिरै टेबुलमा थियो ।
दादालाई माथि सुताइए पनि तलको कार्यक्रम भने जारी रह्यो । पार्टीमा ठूलोबुबा -तत्कालीन राजा वीरेन्द्र), ठूलीमुमा -रानी ऐश्वर्य), जिजुमुमाबडामहारानी रत्न, भाई नीराजन र हामी सबै सहभागी भइरहेका थियौँ । बेलुकी साढे आठ बजे ठूलोबुबा आप\mनो कार्यालयबाट हिँड्दै पार्टीस्थलसम्म आएबक्सेको थियो । ठूलोबुबाले सबैभन्दा पहिले मुमाबडामहारानी रत्नसँग केही मिनेट कुराकानी गरिबक्स्यो । त्यसपछि बिलियार्ड कोठातर्फ लागिबक्स्यो र बल्ल पार्टीको रौनक सुरु भयो । सबैजना आ-आफ्नो धुनमा रमाइरहेका थियौँ । त्यहीवेला दादा अकस्मात् हतियार बोकेर बिलियार्ड कोठासँगै जोडिएको डाइनिङ हलको पूर्वपट्टकिो बैठकबाट जमघटमा प्रवेश गरिबक्स्यो । दादाको काँधमा एम- १६ र सर्टगन झुन्डीएको थियो भने ग्लक पेस्तोल कम्मरमै थियो ।
हामीले हेर्दाहेर्दै दादाले कालो हेक्लर एन्ड कोच एपी- ५ सवमेसिनगनले कोठाको सिलिङ र पश्चिमपट्टकिो भित्तातिर फायरिङ गर्न थालिबक्स्यो । सबैजना अत्तालिए, तर कुनै प्रतिवाद भएन । बिलियार्ड टेबुलको पूर्व छेउतर्फ रहेका दादाले परिवारसँगै रहेका बुबा वीरेन्द्रलाई ताकेर गोली हानिबक्स्यो । बुबालाई तीन गोली हानेर ढालेपछि दादा बाहिर निस्किबक्स्यो । पार्टीमा सहभागी अन्य निम्तालुले रोक्न खोजेका थिए । तर, एकछिनमा दादा फेरि बिलियार्ड कोठामा आएर केही समयअघि मात्र भुइँमा राखेको टेलिस्कोपसहितको एम-१६ राइफल बोकिबक्स्यो । त्यसपछि दादाले पालैपालो आफ्नै ज्वाइँ कुमार गोरखशमशेर राण्ाा, काका धीरेन्द्र र फुपाजु कुमार खड्गविक्रम शाह, बहिनी अधिराजकुमारी श्रुति, फुपूहरू शारदा शाह, शान्ति सिंह, शाहज्यादी जयन्ती शाहलाई गोली हानिबक्स्यो । मेरी मुमालाई पनि दुई गोली लाग्यो । मुमा भुइँमा लडेपछि शान्तिराज्यलक्ष्मी सिंहले रोक्न खोज्दा उहाँलाई पनि दादाले गोली हानिबक्स्यो । मुमा ढलेकाले बाँच्न सफल होइबक्स्यो । मेरी पत्नी हिमानी, पूजा शाही, सीतास्मा शाह, दिलासा राणा छुट्टै कोठामा थिए । त्यसैले उनीहरू बाँच्न सफल भए । त्यसको केहीबेरपछि बगैंचाको तलाउ नजिकैबाट गोलीको आवाज आयो । त्यो नै त्यस भयानक रातको अन्तिम गोलीको आवाज थियो । बगैंचामा दादाले आफैंलाई गोली हानी आत्महत्या गरिबक्सेको रहेछ । बिरालोले राति निकाल्नेजस्तो आवाज दादाले निकालिबक्सेको थियो ।
(पूर्वयुवराज पारससित नयाँ पत्रिका संवाददाता भुवन शर्माले गरेकोे कुराकानीमा आधारित)
No comments:
Post a Comment