विहान करिव ६ बजेको हुँदो हो, हामी (मात्रिका दाई, राजेश दा, बैनि र म ) निन्द्रामा थियौ । मंमि पसल जानु भएको रहेछ । कराउँदै आउनु भयो । लौ राजा रानीलाई मारि सके रे तिमिहरु चै सुति राख । मंमिको यो कुरा सकिन नपाउँदै हामीहरु जाराक जुरुक उठ्यौ । रेडियोमा समाचार आउने वेला भएको थियो । रेडियो खोलियो । टु...... गरेको धुन मात्रै बजिराछ । टेलिभिजनमा नि दृष्य हैन सप्तरंगि धर्का र एक तमासको सितार वादनको धुन छ ।
घटनाबारे थाहापाउन दाइहरु बानेश्वर जाने भए । मिनभवन क्याम्पस नजिकै हाम्रो कोठा थियो । हतार हतार मुख धोएर चिया समेत नखाई दाजुहरुसँगै म नयाँ बानेश्वर चोक तिर हान्निए । चोकमा सवारी साधन कमै मात्र देखिन्थे । सयौ मानिसहरु चोकमा जम्मा भएका थिए । सुरक्षा कर्मीको तैनाथी पनि उल्लेख्य थियो । वास्तविक घटनाका बारेमा सुरक्षा कर्मि पनि बेखवर थिए । मानिसहरु मmुण्ड झुण्ड बनाएर अनुमान लगाउँदै थिए । माओवादी जनयुद्धको चरमोत्कर्ष वेला थियो त्यो । त्यसैले धेरैले माओवादीले दरवार कब्जा गरेर यो वितण्डा मच्चाएको तर्क अगाडी सारे ।
विहान करिव ८ बजेतिर कान्तिपुर र अरु केहि दैनिक पत्रिका आइपुग्यो । मानिसहरुको त्यो भिडमा पत्रिका हारालुछ भयो । एक छिन पछि त पत्रिकाको फ्रण्ट पेज फोटो कपि भएर ५ रुपैयाँमा विक्रि शुरु भयो । दरबार हत्याकाण्डको समाचार थियो । तर कसले त्यो घटना भयो भन्ने बारेमा त्याहाँ उल्लेख थिएन । दरबारमा दूर्घटना क्षतिको एकिन विवरण आउन बाँकि सायद यस्तै शिर्षकमा त्यो समाचार थियो । विहान ११ बजेसम्म चोकमा बसियो तर यर्थाथ घटना थाहा पाउन सकिएन । दिउँसो करिव २ बजे पछि मात्रै दरबार हत्याकाण्डको बारेमा केहि समाचारहरु बाहिर आउन थले । देश पुरै शोकमा डुब्यो ।
आज त्यो घटना भएको १२ वर्ष वितिसकेछ । तर पनि घटनाको यर्थाथ विवरण अहिलेसम्म पनि आउन सकेको छैन । नेपालीमा एउटा भनाई छ बाह्र वर्षमा त बगेको खोला पनि फर्किन्छ । यदी यो भनाई साँचो भइदिएको भए दरबार हत्याकाण्डको रहस्य आजका दिनसम्म बाहिर आइसक्नु पर्ने हो । खै बगेको खोला कहिले फर्किने होला ?
No comments:
Post a Comment