रोसन पुरी/उज्यालो, काठमाडौं, जेठ १७ - तपाईको फेसबुकलगायत सामाजिक संजालमा कसैलाई अपमानित गरेर कसैले फोटो वा अरु सामग्री ट्याग गरिदिएको छ भने आजै हटाइहाल्नुस् । नत्र अरुले रमाइलोका लागि तपाईको फेसबुकको वालमा ट्याग गरिदिएको फोटो वा सामग्रीका कारण तपाई जेल जानुपर्ने पनि हुन सक्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक दलका नेता, कलाकार लगायतलाई अशिष्ट शव्दमा गाली गलौज गर्ने, एनिमेसन गरेर बनाइएका फोटो हाल्ने क्रम बढेपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्ने गोप्य तयारी सरकारले गरेको हो ।
केहि महिनायता राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुको फोटो एनिमेशन गरेर अपमानित रुपमा फेसबुक, ट्वीटर मार्फत सार्वजनिक गर्ने क्रम बढेपछि सरकारले त्यसको अनुसन्धान गरिरहेको श्रोतको भनाई छ । त्यस्तै कलाकार, पत्रकारलगायतलाई पनि सामाजिक संजाल मार्फत बेईज्जतीपूर्ण रुपमा टिप्पणी गर्ने र अश्लिल फोटो ट्याग गर्ने प्रवृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्ने प्रयास सुरु गरिएको गृह मन्त्रालय श्रोतको भनाई छ ।
सार्वजनिक नैतिकता, शिष्टाचार, सम्मान र सार्वजनिक जीवनयापन विरुद्ध तथा अश्लिता एवं सार्वजनिक जीवनमा कुनैपनि किसिमले अपमानित गर्ने काम विरुद्ध यसअघि उजुरी मार्फत कारवाहीको तयारी गरिएको थियो । तर पछिल्लो समय त्यस्ता घटना अनियन्त्रीत ढंगमा बढेको ठहर गर्दै अनुसन्धान गरी विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने निश्कर्षमा सरकार पुगेको हो ।