Thursday, November 10, 2011

मुस्ताङ गाडीमा मनमौजी यात्रा

हरिबहादुर थापा


सस्तो 'मेड इन नेपाल' मुस्ताङ गाडीमा बाबुराम भट्टराईले प्रधानमन्त्री पदको शपथ लिएपछि शासकीय संयन्त्र 'मितव्ययी' बाटोमा जानेछ भन्ने आशा धेरैले लिएका थिए । त्यति मात्र होइन, भट्टराईको प्रतिबद्धतामा विश्वास गर्नैपर्ने माहोल पनि सिर्जना भएको थियो । तर जब मंगलबार मन्त्रिपरिषद् ४६ सदस्यीय पुर्‍याए र हत्याका अपराधीलाई आममाफी दिने निर्णय लिए, यसले धेरैको आशामा तुषारापात गरेको छ । हुन त उनले प्रधानमन्त्री भएपछि मितव्ययी र शासकीय सिद्धान्तविपरीतका अन्य केही क्रियाकलाप नगरेका होइनन् तर सकारात्मक बाटामा हिँड्छन् भन्ने सकारात्मक अपेक्षासहित ती गलत निर्णयहरू 'गौण' मानिएका थिए ।

नेपाली राजनीतिमा बाबुराम 'सकारात्मक पात्र' का रूपमा चित्रित थिए । प्रधानमन्त्री बनेको प्रारम्भिक दिनमा उनीविरुद्ध कसैले नकारात्मक धारणा व्यक्त गर्‍यो भने त्यही मानिस नै आलोचनाको पात्र बन्थ्यो । 'भट्टराईलाई काम गर्न देऊ' भन्ने टिसर्टमा युवाहरू लामबद्ध उभिँदै थिए । तर यतिबेला आशा उमारेर लहलह बनाइसकेपछि छिमल्ने बाटामा आफैं लागेका छन्- प्रधानमन्त्री भट्टराई । उनी बिनाहिचकिचाहट विवादित निर्णयहरू गर्ने, शासकीय दृष्टिकोणअनुरूप आवश्यक निर्णयहरू नगर्ने र गलत निर्णय लिने मन्त्रीहरूलाई कारबाही गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
मन्त्रिपरिषद् विस्तार गर्नु व्यावहारिक तथा राजनीतिक दुवै हिसाबले उचित थिएन । अझ यति ठूलो आकारमा पुर्‍याउनु उनकै निम्ति घातक निर्णय हो । उनी आफैं भन्दै थिए- 'यही मन्त्रिपरिषद्लाई राष्ट्रिय सहमति सरकारको स्वरूप प्रदान गर्छु ।' मन्त्रिपरिषद् विस्तार गरेर ४६ सदस्यीय पुर्‍याएपछि कांग्रेस र एमालेलाई कहाँ राख्ने ? अर्कातिर सातबुँदे सहमतिमा चाँडै राष्ट्रिय सरकार बनाउने घोषणा गरिसकेपछि छोटो अवधिका निम्ति मन्त्री र राज्यमन्त्री थप्नुको कुनै अर्थ थिएन । यसबाट भट्टराईको मितव्ययी नीति केवल ढोँग मात्र हो भन्नेहरूलाई स्पष्ट आधार मिलेको छ ।
संसदीय इतिहासमा ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएका कांग्रेस नेता शेरबहादुर देउवा अझै गम्भीर अभियोग खेपिरहेका छन् । यो विस्तारपछि देउवाले राहत महसुस गरेको हुनुपर्छ- जम्बो मन्त्रिपरिषद्को 'प्रधानमन्त्री' को पगरी गुथ्नेमा मितव्ययी प्रधानमन्त्री भट्टराईले साथ दिएपछि । नत्र १६ वर्षदेखि उनी एक्लै चारै कोणबाट 'जम्बो मन्त्रिपरिषद्' प्रणेताको पगरी गुथिरहेका थिए । २०५२-०५३ त्रिशंकू संसद्कालमा पद आकांक्षीहरूको निरन्तर साथप्राप्तिका निम्ति देउवाले एकपटक ४८ सदस्यीय मन्त्रिपरिषद् पुर्‍याएका थिए । दलीय संयोजन गरी स्थिर सरकारका निम्ति ठूलो मन्त्रिपरिषद् बनाउनुपर्ने बाध्यता उनले दर्साएका थिए । उनको त्यो क्रियाकलाप सर्वत्र आलोचित बन्यो ।
अब निश्चित छ कि देउवाभन्दा भट्टराई मन्त्रिपरिषद्को आकार ठूलो हुनेछ । राजनीतिक भागबन्डाका आधारमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र (लोकतान्त्रिक) को पनि समानुपातिक प्रतिनिधित्व गराउँदा मन्त्रिपरिषद्मा कम्तीमा चार सदस्य थप्नुपर्नेछ । फोरम लोकतान्त्रिकबाट रक्षा मन्त्रीको जिम्मेवारी अझै प्रदान भएको छैन । तीन साताअघि शरतसिंह भण्डारीलाई हटाएपछि रक्षा मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारकै काँधमा छ । यतिबेला गणतान्त्रिक अध्यक्ष तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता विदेश भ्रमणमा भएकाले उनको पार्टीबाट प्रतिनिधित्व हुन बाँकी छ । सबै हिसाबकिताबमा यो मन्त्रिपरिषद् ५० सदस्यीय बन्ने देखिन्छ ।
मन्त्रिपरिषद्को ४६ सदस्यीय आकार लिएपछि पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले खल्लो अनुभूति गरे । 'यो मन्त्रिपरिषद् विस्तारले बाबुराममाथि नराम्रो दाग लगायो,' पोखरेल भन्छन्, 'सुरुमा सुशासनको आशा देखाएका थिए, पछिल्लो निर्णयले थुप्रै आशंका जन्मायो । मन्त्रिपरिषद् विस्तार गरेर राजनीतिक रूपमा सत्तामा टिकिरहन चाहेको देखिन्छ । तर पद जोगाउन गरिएको यो निर्णय राजनीतिक हार हो । इतिहासले त्यही रूपमा मूल्यांकन गर्नेछ ।'
पछिल्लो मन्त्रिपरिषद् विस्तार निकै अनपेक्षित रह्यो । यतिबेला मन्त्रिपरिषद् विस्तार गर्न कतैबाट दबाब परेको देखिएको थिएन । अर्कातिर सातबुँदे सहमतिसँगै 'राष्ट्रिय सरकार' गठन गर्ने 'जेन्टलमेन एगि्रमेन्ट' भएको तथ्य उनै भट्टराईबाटै आएको थियो । संविधानसभा म्याद थप्दाकै बखत राष्ट्रिय सरकारको स्वरूप आउनुपर्ने हुन्छ, त्यसो नभए विगतमा जस्तै संविधानसभाको म्याद थपमा बखेडा हुने निश्चित छ । यो पृष्ठभूमिमा २० दिनका निम्ति मन्त्री बनाउनुको अर्थ आफ्ना सभासदलाई खुसी पार्नुबाहेक केही देखिँदैन । उनले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बाध्यता देखाएर मन्त्रिपरिषद् विस्तारलाई टाल्न र टार्न
सक्थे । पछिल्लो कदमले उनमा पदीय महत्त्वाकांक्षा तीव्र भएको देखाउँछ । पार्टीबाट चर्काे दबाब परेको भए उनले 'बरु राजीनामा दिन्छु, मन्त्रिपरिषद् विस्तार गर्दिनँ' भनी अडान लिन सक्थे । विस्तार टार्न उनीसँग प्रशस्त आधार थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वदेश नरहेको अवस्थामा पार्टीभित्रकै फरक मत राख्नेलाई समन्वय नगरी मन्त्रिपरिषद् विस्तार भएको छ । यसर्थ केवल आफ्ना गुटका सभासदलाई रिझाउने उद्देश्य देखिन्छ । आफ्नो गुटलाई बलियो पार्न राज्यस्रोतको दुरुपयोग गरिनु शासकीय दृष्टिकोणले अनुचित क्रियाकलाप हो । 'सभासदलाई खुसी पार र सत्ता टिकाऊ' को रणनीतिमा लागेबाट स्पष्ट भएको छ, प्रधानमन्त्री भट्टराईको 'मुस्ताङ गाडी' देखावटी मात्रै हो, उनको रूप र कार्यशैली विगतका प्रधानमन्त्रीहरूभन्दा फरक छैन ।
एक्कासि २६ जना मन्त्री थपिएपछि सिंहदरबारभित्रका उच्च अधिकारीको 'सातो' गएको थियो । मन्त्रीका निम्ति गाडी सुविधा उपलब्ध गराउन गृह मन्त्रालयसँग त्यतिविधि गाडी थिएन । उसले सम्बन्धित मन्त्रालयलाई गाडी व्यवस्था गर्न आग्रह गर्नुपर्ने बाध्यता सिर्जना भयो । त्यसपछि सिंहदरबारभित्र उच्च अधिकारीहरूको भागदौड चलेको थियो ।
यतिविधि राज्यमन्त्री किन चाहियो ? एउटा मन्त्रालयमा मन्त्री र राज्यमन्त्री हुनु भनेको झगडाको अखडा बन्नु हो । मन्त्रीको मुख्य काम नीतिगत निर्णय लिने हो तर हामीकहाँ सरुवादेखि ठेक्कापट्टासम्म उनीहरू अग्रसर हुन्छन् । अनुचित लाभका निम्ति मन्त्रालयलाई विकृत तुल्याउँछन् । मन्त्रालय टुक्रिँदा-टुक्रिँदा विरूप बनिसकेका छन्, मन्त्रीका निम्ति कार्यकक्षको व्यवस्था भए पनि राज्यमन्त्रीलाई कोठासम्म दिन सक्ने हैसियतमा मन्त्रालयहरू छैनन् । विगतमा पनि राज्यमन्त्री र सहायकमन्त्रीले सहसचिवका कोठा हडपेका
थिए । अर्कोतर्फ मन्त्री र राज्यमन्त्रीको दोहोरो निर्देशनका कारण शासकीय संयन्त्रमै अप्ठ्यारो स्थिति सिर्जना हुन्छ । मन्त्रीले सरह सुविधा र सम्मान नपाएपछि राज्यमन्त्रीले डाह गर्न थाल्छन् । त्यसपछि रायका निम्ति आएका फाइलहरू लुकाइन्छन्, समयमै निर्णय हुन नसक्दा त्यसको मार राज्यले खेप्नुपर्छ । त्यसमाथि मन्त्री सकेसम्म राज्यमन्त्रीलाई जिम्मेवारी हस्तान्तरण गर्न चाहँदैनन् । त्यसपछि राज्यमन्त्रीको काम हिटर तापेर बस्नुमा सीमित हुन्छ । मन्त्री र राज्यमन्त्री गुटमा मन्त्रालय विभाजित हुन पुग्छ । उनीहरूका निम्ति राज्यले बोक्नुपर्ने दायित्व पनि अनेक छन् । एक अनावश्यक मन्त्रीको व्यहभार सिंगो राज्यलाई कतिसम्म पर्न सक्छ भन्ने ज्ञान अर्थतन्त्रका ज्ञाता डा. भट्टराईलाई नभएको होइन ।
यस बीचमा भएका हरेक प्रशासकीय अध्ययनहरूले मन्त्रालयको संख्या १८ मा सीमित गर्न सुझाएका छन् । राजनीतिक बाध्यता दर्साउँदै मन्त्रालय थप्ने प्रवृत्ति पनि अहिले निरन्तर कायम छ । भट्टराईले कम्तीमा 'एक मन्त्रालय एक मन्त्री' नीति लागू गर्न सकेका भए उनी मितव्ययी नीतिका प्रबर्द्धक मानिने थिए । त्यसविपरीत उनी इतिहासमै ठूलो मन्त्रिपरिषद् निर्मातामध्ये दोस्रो हुनपुगेका छन् । निश्चय नै मन्त्रिपरिषद्ले पूर्णता प्राप्त गरेपछि देउवालाई पनि उछिनेर पहिलोमा स्थापित हुनेछन् ।
भट्टराईले राज्यसंयन्त्रलाई असर पार्ने अरू पनि थुप्रै निर्णय गरेका छन् । भट्टराईले आफू प्रधानमन्त्री हुनासाथ लडाकु कार्यकर्ता खुसी पार्न १५ सय रुपैयाँ बढाए जसबाट शिविरमा रहेका १९ हजार २ जना लडाकु कार्यकर्तालाई खुसी तुल्याए । यसबाट राज्यकोषमा झन्डै ३ करोड रुपैयाँ व्ययभार पर्‍यो । उनी 'मुस्ताङ' चढिरहेका थिए, यसबाट मुलुक नै रोमाञ्चित थियो । उनले सुशासन नियमावली परिवर्तन गरी सल्लाहकारका निम्ति आवश्यक पर्ने 'शैक्षिक योग्यता' तल झारे । मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीसरह नियुक्त हुने प्रधानमन्त्रीका सल्लाहकारका निम्ति कम्तीमा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने व्यवस्था थियो । योग्यता नभएका राजनीतिक नेता र कार्यकर्तालाई नियुक्त गर्ने प्रवृत्ति बढेकाले लोकतन्त्रपछि सुशासन ऐन आएको थियो । भट्टराईले पार्टीका आफ्ना मानिसलाई सल्लाहकार बनाउन शैक्षिक योग्यतालाई स्नातक तहमा झारे । अर्थात् नियममा भएको व्यवस्थाअनुरूपको मानिस खोज्नुपर्नेमा मानिसको योग्यताअनुरूप नियमावली संशोधन गर्ने परिपाटी भित्र्याए । उद्योग मन्त्रालय मातहतका उदयपुर र हेटौंडा सिमेन्टमा दुई-दुई महाप्रबन्धक राखेर बिजोग बनाइएको छ, त्यो विकृति रोक्नमा प्रधानमन्त्रीको ध्यान गएको छैन । आफ्नै पूर्वप्रतिबद्धताअनुरूप संवैधानिक अंगमा पदाधिकारी नियुक्ति गर्नेमा पनि पछिल्लो समय उनको खासै सक्रियता देखिएको छैन ।
भट्टराईले एकै दिन मन्त्रीको संख्या मात्र बढाएनन्, विधिको शाससनको उपहास हुने अर्काे गम्भीर प्रकृतिको कार्य गरेका छन्- सर्वाेच्च अदालतबाट हत्यारा ठहरिएका सभासद बालकृष्ण ढंुगेलको मुद्दा फिर्ता लिने निर्णय गरेर । दुवै निर्णय उनी माल्दिभ्स सार्क शिखर सम्मेलनका लागि उड्नुभन्दा केही घन्टाअघि -मंगलबार) भएको थियो । आफू फकिर्ंदा यी विषय मत्थर बनिसक्छन् र कहीँकतै जवाफ दिनु नपर्ला भन्ने मनस्थितिसहित यो निर्णय लिएको देखिन्छ ।
अपराधी ठहर भएकालाई राज्यले त्यही रूपमा व्यवहार गर्नुपर्छ, जसरी अन्य व्यक्तिहरूलाई गरिन्छ । हत्या अपराधीलाई 'माफी' दिने निर्णयसहित उनले अन्तिम कार्यान्वयनका निम्ति राष्ट्रपति समक्ष पेस गरेका छन् । यो प्रस्तावले राष्ट्रपतिलाई पनि विवादको घेरामा तान्नेछ । मन्त्रिपरिषद्बाट प्रस्तावित निर्णयमा तलमाथि गर्नासाथ 'नागरिक सर्वाेच्चता' को नारा लाग्नेछ । राष्ट्रपतिले यो निर्णयलाई अन्तिम रूप दिने हो भने उनीमाथि 'दण्डहीनता' लाई प्रश्रय दिएको गम्भीर आरोप लाग्नेछ । भट्टराई मन्त्रिपरिषद्को यो निर्णय लोकतान्त्रिक पद्धति र कानुनी शासनको बर्खिलापमा छ । आममाफीको निर्णयपछि पीडित परिवारलाई अझ थप पीडा दिएको छ । पीडित परिवारले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन भएमा राष्ट्रपति भवनअगाडि नै 'आत्मदाह गर्ने' सम्मको चेतावनी दिएका छन् । तर प्रधानमन्त्री भट्टराई पीडित परिवारको पीडाभन्दा आसेपासे संख्या बढाउनमा मोहित देखिन्छन् ।
उनले हत्या अपराधजस्तो गम्भीर विषयमा यसरी सहजै निर्णय लिन्छन् भने अन्य सवालमा उनीबाट सम्पादित काम सफा हुन्छ भनी अपेक्षा राख्न सकिँदैन । स्वच्छ शासकीय मसिहाका रूपमा चित्रित भट्टराईका 'स्वच्छन्द क्रियाकलाप' ले गैरकानुनी र अराजक गतिविधिलाई बढावा दिनेछ । हात्तीका देखाउने र खाने दाँत फरक हुन्छन् । प्रधानमन्त्रीले 'मुस्ताङ म्याक्स' लाई मितव्ययी देखाउने दाँतका रूपमा प्रयोग गरेर राज्यको ढुकुटी र विधिको शासनलाई क्षयीकरण उन्मुख बनाएका छन् । 
साभार: कान्तिपुर अनलाइन 
saavar 

No comments:

Post a Comment