Friday, October 7, 2011

उनको अब्यक्त प्रेम र म

कथा 
भाग -एक 
औसत नेपाली केटीहरुको उचाई, मिलेको जिउडाल र लोभलाग्दो हाँसो यस्तै यस्तै केहि देखिने गुण । सायद त्यसैले होला साथीहरुले दिक्षालाई कक्षाका राम्री केटीमध्येमा गन्थे । कक्षामा करिव ७ दर्जन विद्यार्थी थिए जसमा केटीहरुको संख्या मुस्किलले एक दर्जन । पढाईकै क्रममा उ मेरो नजिककी साथी भई । दिनहुँ कक्षामा आए पनि दिक्षा मसँग नोट माग्थी र भन्थी तिमी राम्रो नोट बनाउँछौ ।
हुन त म औसत विद्यार्थी तर पनि मेरो लेखाई राम्रै थियो । सायद उसलाई मेरो त्यहि लेख्नॆ शैली मन परेको हुनुपर्छ । कक्षाकै अरु केटी साथीहरुले पनि मेरो नोट माग्थे तर दिक्षाले लगे पछि मात्रै मेरो त्यो नोटले पाउँथे । उ नोटमाथी हक जमाउथी तर किन मलाई थाहा थिएन । 

सरकारी कलेज त्यसमाथि दिउँसोको पढाई । भर्खरै विद्यालयबाट कलेज छिरेका हाम्रा लागि यो भन्दा बढी स्वतन्त्रता अरु केहि थिएन । पढ्न मन लागे पढ्ने नभए फिल्म हेर्ने वा घुम्न जाने । यी हाम्रा नियमित कि्रयाकलाप नै थिए । हाम्रो मिल्ने साथीहरुको समूहमा केटाहरुको बाहुल्यता थियो । झण्डै ८ जना थियौ हामी । त्यसबाहेक मेरो मिल्ने साथीमा दिक्षा र उसका मिल्ने तीनजना केटीसाथीहरु पनि थिए ।
हामी कलेज बंक गरेर फिल्म हेर्न जान्थ्यौ । फिल्म हेर्न जाने थाहा पाएर दिक्षा अरु केटीसाथीहरुका साथ हामीसँगै फिल्म हेर्न जाउ भन्थिन । तर हामी केटाहरु केटी लिएर फिल्म हेर्न जादैनथ्यौं । फिल्ममा हिरोले हिरोइनलाई के के गर्छ काहाँ केटी लिएर फिल्म हेर्न जाने लाज लाग्छ । केटाहरु मात्रै जाउँ साथीहरु यसै भन्थे । त्यसैले दिक्षासँग फिल्म हेर्न गइएन । तर किन किन उ मलाई असाध्यै केयर गर्थि । 

करिव २ बर्षसँगै पढियो । आइ।ए। को पढाई सकिए पछि सबै आ आफनै धुनमा लागियो । म पनि आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने मान्यताका साथ काम गर्न थाले । मैले काठमाण्डौ बाहिर बसेर काम गर्नु पर्ने भो । म तयार भए । बुबा आमाले काठमाण्डौ बाहिर काम गर्न नगए हुन्थ्यो भन्ने सल्लाह दिनु भयो । तर आफुले पढे अनुसारको काम सिक्न पाइने लालसामा मैले उहाँहरुलाई पनि मनाए । र काम गर्न बाहिर गए । त्यो बेला माओवादी जनयुद्ध चरमोत्कर्षमा थियो । अहिलेको जस्तो मोवाईलको विकास भइसकेको थिएन । इमेल इन्टरनेटको त कुरा परै छाडौं टेलिफोन पनि सर्वसुलभ थिएन । कामको सिलसिलामा म जहाँ थिए त्याहाँ माओवादीहरुले टेलिफोन सेवा अवरुद्ध बनाएका थिए । संचारका लागि  चिठ्ठिको विकल्प थिएन । त्यसैले यो समयमा कलेजका कोहि पनि साथीहरुसँग सम्पर्क हुन सकेन । दिक्षासँग पनि सम्पर्क भएन । 

कलेजमा साथीहरुसँग विताएका क्षणहरु याद आउँथ्यो । म समय समयमा काठमाण्डौ आइरहन्थे । त्यो वेलामा पनि साथीहरुसँग भेट हुदैनथ्यो । करिव ३ बर्ष मैले बाहिर बसेर काम गरे । काम र पढाईलाईसँगै अगाडी बढाउन समस्या भयो । त्यसैले म पढाइ सक्न काम छाडेर काठमाण्डौं फकिए । कलेज भर्ना भए फेरी विद्यार्थी जीवन शुरुवात गरे । 

कलेजमा एक दिन अचानक दिक्षाकै मिल्ने साथी निकितासँग भेट भयो । उनले मेरो खवर सोधिन । निकिताले दिक्षाको विवाह भएको बताइन । विवाहको कुरा चलेपछि दिक्षाले मलाई सम्पर्क गर्न निकै प्रयास गरिछन । तर मसँग सम्पर्क हुन सकेन छ । निकितासँगको उक्त भेटबाट दिक्षाले मलाई मनपराएको पहिलो पटक थाहा पाए । म अवाक भए ।

तर मैले उनलाई त्यो रुपमा कहिल्यै हेरेको थिइन । निकिताको कुरा सुने पछि म छक्क परे । करिव एक महिना पछि सिउँदोमा सिन्दुर अनि गलामा रातो पोते लगाएकि तीनै दिक्षा मेरो अगाडी आइन । कलेजको गेटमै उनीसँग भेट भयो । निकिताबाट सबै कुरा थाहा पाएको मैले उनीसँग खुलेर कुरा गर्नै सकिन । उनी पनि मसँग अफ्ठयारो मानि मानि कुरा गरिरहेकी थिइन । अरु कसैको भइसकेकी भएर होला कलेज पढ्दा त्यति स्पष्ट बोल्ने उनी अहिले धक मानि मानि बोलिरहेकी थिइन । मैले उनको हालखवर सोधे बैबाहिक जीवनको बारेमा सोधे । 

तिमीले मलाई मन पराएको कुरा पहिला किन भनिनौ दिक्षा ? मैले मन मनै उनलाई यो प्रश्न सोधे । उनी मौन बसिन । सायद अव यो प्रश्नको कुनै अर्थ थिएन । यहि मौनतामा सायद उनले पनि मलाई मनमनै प्रश्न सोधिन होला के तिमीले मलाई मन पराएका थिएनौ ? म पनि मौन थिए । हाम्रो अब्यक्त प्रेमको अन्त्य भइसकेको थियो । हामी दुवैको मौनताले सायद यहि कुरा बताइरहेको थियो ।

1 comment:

  1. its really heart touching yar suman ...

    ReplyDelete