त्रिशूली नदीमाथिको जीर्ण तुइन तर्ने वेलामा रवीन्द्र नेपाललाई सधैँ दुई वर्षअगाडिको घटनाको याद आउँछ । विद्यालय जाने क्रममा तुइन तर्दा रवीन्द्र तुइनबाट खसेर त्रिशूलीमा परेका थिए । पौडी खेल्न जानेका कारण केही तल पुगेर पार लागे । भन्छन्, ‘के गर्नु यही थोत्रो तुइन नतरी सुख पनि छैन । झोलुंगे पुल खोज्दै जाँदा दुई घन्टाभन्दा बढी घुम्नुपर्छ ।’
त्रिशूलीवारि घर, पारि विद्यालय । घर–विद्यालय जोड्ने पुल छैन । घुमेर गए भन्डै एक घन्टा हिँडेपछि झोलुंगे पुल भेटिन्छ । विद्यालय पुग्न जम्मा दुई घन्टा लाग्छ । तर, धादिङको खरमटारका विद्यार्थी तुइनकै भरमा विद्यालय जान्छन् ।
तुइन तरिसकेपछि १० मिनेटमै विद्यालय पुगिन्छ । तर, तुइन जीर्ण भएका कारण दिनमा दुईपटक ज्यान धरापमा पर्ने गरेको छ । तुइन चलाउँदा चलाउँदै हात गलेर छोडिँदा नदीमा खस्नु, तुइनले आँैला च्यापिनु र किताब–कापी नदीले बगाउनु सामान्य भइसकेको छ । धन्न अहिलेसम्म त्यस्तो अनर्थ सोच्नुपरेको छैन खरमटारबासीले ।