(गुणराज लुइँटेलले लेख्नु भएको यो लेख नागरिक डट कम बाट साभार गरिएको हो ।)
लोकतन्त्र जनताका लागि जनताद्वारा गरिने जनताको शासन हो भने पत्रकारिता जनताबारे गरिने काम हो। त्यसैले अहिलेको नयाँ मिडियामा जनताको प्रतिनिधित्व हेर्ने प्रयास भइरहेको छ। परम्परागत मिडियाले पनि जनताकै बारेमा लेख्ने वा बोल्ने हो भने नयाँ मिडियाले झन् व्यक्तिलाई समेत बोल्ने मञ्च दिन्छन्।
परम्परागत हुन् वा नयाँ मिडिया पत्रकारिताको आधारभूत स्वरुप भने उही हो। पत्रकारिताको काम नागरिकलाई जानकार बनाउने हो। त्यो पनि तिनकै बारेमा बोलेर वा लेखेर। माध्यमका बारेमा धेरै अल्मिलिनु भन्दा पनि प्राप्त माध्यमको अधिकतम उपयोग सुसूचनाका लागि हो। फरक यति हो नयाँ माध्यममा जस्तोसुकै सूचना बेरोकतोक जान सक्छ। तर, परम्परागत मिडियाको सुन्दरता भनेको यसको 'गेटकिपिङ'को काम हो। यसले सूचनालाई सार्वजनिक उपभोगका निम्ति पठाउनु अघि त्यसको शुद्धताको परीक्षामात्र गर्दैन त्यो सूचना दिनु हुन्छ वा हुँदैन भन्ने विचारसमेत गर्छ।
अचेल फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालको चर्चा धेरै छ। तिनले मानवीय सेवादेखि अपराध कर्ममा समेत प्रभाव पार्ने गरेका छन्। हालैमात्र प्रश्नपत्र फेसबुकमा राखेका कारण त्यसका दोषीसम्म पुग्न प्रहरीले सफलता हासिल गरेको थियो। इन्डोनेसियामा गरिएको एउटा अनुसन्धानमा फेसबुकका कारण किशोरकिशोरीले चाँडो बिहा गर्न थालेको तथ्य फेला परेको छ।
हाम्रो भूभौगोलिक यथार्थ र इन्टरनेटको पहुँचका आधारमा भने अझै यस्ता सामाजिक सञ्जाल प्रभाव सबैतिर पुगिसकेको छैन। रेडियो अझै हाम्रो सूचनाको महत्वपूर्ण माध्यम हो। इन्टरनेटमा इपेपर पढ्नसक्ने क्षमता धेरैको छैन। तर, हामीकहाँ रेडियोमा पढिने समाचार दुर्गम गाउँमा बस्नेका निम्ति समेत सूचनाको राम्रो स्रोत हो।